काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ः०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ । निक्षेप सङ्कलनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने छ । निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ । न्यूनतम रु १० करोड र अधिकतम रु पाँच करोड गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिने छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ । एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी आवेदन पनि पेस गर्न सक्ने जनाइएको छ । राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन समय–समयमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ ।
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ । महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेको एवं सोमबार समेत मौसम एवं दर्शकले साथ दिएपछि पछिल्ला दिनमा त्यहाँ कारोबार ह्वात्तै वृद्धि भएको हो । त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारिक स्टल छन् । प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ । सोमबार मात्रै ५ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए । उनले हालसम्म सबैभन्दा बढी ८ सय केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए । सामान्यतया २० देखि ३० केजीसम्म आलु किन्ने ग्राहक धेरै आउँछन् । कास्कीका छिमेकी पालिका लगायत चितवन, मकवानपुर, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जा, म्यादी, मुस्ताङबाट समेत आलु खरिदका लागि मानिसहरु आउने गरेको उनको भनाइ छ । 'हेमजाको निलो आलु मिठो छ, चाँडो पनि पाक्छ, अन्य स्थानको तुलनामा स्वास्थ्यकर पनि मानिने भएकाले आफूहरु आलु खरिदकै लागि आएको' सोमबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ शुक्लागण्डकीकी रमिला सुनारले बताइन् । यतिबेला आलु महोत्सव स्थल विष्णुपादुका खेल मैदानका अलावा हेमजा स्थित स्थानीयका घरघरबाट समेत आलु तथा अन्य कृषि उपजको बिक्रीवितरण दर बढेको छ । महोत्सवमा सोमबार कलाकारहरु पुरुषोत्तम न्यौपाने, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, कृष्टिना क्षेत्री, प्रकाश विक्रम राजमाझी लगायतले प्रस्तुति राखे । त्यस्तै हास्यकलाकारहरु राजेन्द्र गिरी 'जादुगर गुन्द्रुके', मनोज गोर्खाली लगायतले पेटमिचीमिची हँसाए । त्यस्तै गुरुकुल विद्यासदन मावि नयाँबजार, स्नो भ्यू बोर्डिङ स्कुल हेमजाले पनि प्रस्तुति देखाए । त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली, ब्रोसिस व्यान्ड लगायत अंकित श्रेष्ठले प्रस्तुति राख्दै दर्शकलाई नचाए । महोत्सव अन्तर्गत मंगलबार नयाँ वर्षको दिन त्यहाँ कलाकारहरु शिव हमाल, राजु ढकाल, कुमार पुन, ममता तामाङ, सुभद्रा श्रेष्ठ, भूमिका पंगेनी, प्रजिता सुनार लगायतका प्रस्तुति रहने सांस्कृतिक उपसमिति सदस्य परशुराम अधिकारीले जानकारी दिए । त्यस्तै महोत्सवमा सोमबार जनकल्याण आमा समूह, कमल जौंसी आमा समूह एवं प्रगति आमा समूहले रत्यौली प्रतियोगिता अन्तर्गत आ–आफ्ना प्रस्तुति राखे । महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवं कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज बिउ बिजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन् । सोमबारसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा ३४ हजार रुपैयाँ घटेको छ । गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ । आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ । निगमले निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई÷तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आउनुभएको छ । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ । यसैगरी, परिस्थितिमा बझाङको बुँगलका शङ्कर पनि जीविकोपार्जनको नयाँ सम्भावना खोज्दै परिवारसहित कञ्चनपुर झर्नु भएको हो । तराईमा आएपछि उहाँले नयाँ पेसा रोजेनन्, बरु पुर्खौंदेखि गर्दै आएको धातुजन्य सामग्री निर्माण गर्ने परम्परागत सीपलाई नै जीवनयापनको आधार बनाउनु भएको छ । हाल उहाँ फुलेलीमा करिब डेढ कट्ठा जग्गामा कच्ची घर बनाएर बस्दै आउनुभएको छ । घरकै छेउमा सानो आरन सञ्चालन गरेर शङ्करले विभिन्न प्रकारका कृषि तथा घरायसी प्रयोगका सामान बनाउने काम गर्दै आउनुभएको छ । उहाँले आरनमा फलाम तताएर पिट्दै विभिन्न आकारका सामग्री तयार गर्नु हुन्छ । शङ्करले किसानलाई आवश्यक पर्ने हँसिया, बञ्चरो, चक्कु, दाउ, माना, पाथीलगायतका कृषि औजार बनाउने गर्नुहुन्छ । घरायसी प्रयोगका लागि कडाही, पानी बोक्ने फोला, चरु, कुडीलगायतका सामान पनि आरनमै तयार हुन्छन् । आरनमा तयार गरेका सामग्री स्थानीय बासिन्दाका घरघरमा पुगेर उहाँले बिक्री गर्नुहुन्छ । शङ्करका अनुसार पहाडमा बस्दा आरनमा बनाइने सामानको राम्रो माग थियो । गाउँका किसान र सर्वसाधारणले स्थानीय रूपमा बनाइएका बलिया र टिकाउ सामान प्रयोग गर्न रुचाउँथे । तर पछिल्लो समय बजारमा कारखानामा बनेका सस्ता र सजिलै पाइने सामान बढ्दै जाँदा परम्परागत आरन पेसा सङ्कटमा परेको उहाँको भनाइ छ । “पहाडमा बस्दा हामीले बनाएका सामान सजिलै बिक्री हुन्थे,” उहाँले विगत सम्झँदै भन्नुभयो, “हामीले बनाउने सामान बलियो र टिकाउ हुन्छन्, तर बजारमा रेडिमेड सामान सजिलै पाउन थालेपछि ग्राहक खोज्नै गाह्रो हुन थाल्यो ।” पहाडमा आरनमा बनाइने सामानको माग घट्दै गएपछि उहाँ जीविकोपार्जनको खोजीमा तराई झर्नु भएको हो । तराईमा बजार ठूलो हुने र सामान सजिलै बिक्री हुने अपेक्षा गरेका भए पनि यहाँको वास्तविकता भने फरक देखिएको उहाँ बताउनुहुन्छ । “यहाँ बजार त ठूलो छ,” शङ्करले भन्नुभयो, “तर कारखानामा बनेका सस्ता सामान धेरै पाइन्छन्, हामीले हातैले धातुलाई पिटेर बनाउने सामान बनाउन धेरै मेहनत लाग्छ, त्यसैले लागत पनि बढी पर्छ ।” “आरनको काम निकै मेहनतिलो हुन्छ, फलामलाई आगोमा तताएर हातौडाले पिट्दै आवश्यक आकार दिनुपर्छ,” उहाँ भन्नुहुन्छ, “त्यसपछि धार लगाउने, घिसार्ने र प्रयोगयोग्य बनाउने प्रक्रिया हुन्छ, यो काममा शारीरिक श्रम र अनुभव दुवै आवश्यक पर्छ ।” सामान तयार भएपछि शङ्करले श्रीमतीसँगै ती सामान टाउकोमा बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्नु हुन्छ । कहिलेकाहीँ धेरै टाढासम्म पैदल हिँडेर पनि सामान बेच्न जानुपर्ने हुन्छ । आरनमा तयार पारिएका धातुका सामान बिक्री गरेर लुहारले महिनामा करिब रु १० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्ने गरेका छ् । तर यो आम्दानी स्थिर भने नहुने गरेको उहाँको अनुभव रहेको छ । ग्राहक कम हुँदा आम्दानी निकै घट्ने गरेको उहाँ बताउनुहुन्छ । “कहिलेकाहीँ ग्राहकले सामान नै किन्दैनन्, बिक्री हुँदैन्,” शङ्करले भन्नुभयो, “त्यस्तो बेला थोरै कमाईमै चित्त बुझाउनुपर्छ, यही कामबाट आउने पैसाले घरको चुलो बलिरहेको छ, बालबालिका र जहान पालिएका छन् ।” यस काममा शङ्करलाई उहाँकी श्रीमती किर्रा लुहारले पनि साथ दिँदै आउनुभएको छ । सामान तयार भएपछि उहाँ दुवै जना गाउँ–गाउँ पुगेर बिक्री गर्नुहुन्छ । किर्राका अनुसार कतिपय ठाउँमा सामान नगदमा बिक्री हुन्छ भने कतिपय ठाउँमा अझै पनि साटासाट ९विनिमय० प्रणाली प्रचलनमा छ । “कहिलेकाहीँ नगद पाइन्छ,” किर्राले भन्नुभयो, “तर कतिपयले अन्न वा बाख्रासँग साटेर सामान लिन्छन्, त्यसैले हामी दुवै जना सँगै जानुपर्छ ।” लुहार दम्पतीका पाँच छोरा र दुई छोरी छन् । उहाँहरूले आरन चलाएरै कमाएको पैसाले दुई छोरा र एक छोरीको विवाह सम्पन्न गर्नुभएको छ । परिवारको अधिकांश खर्च यही पेसाबाट आएको आम्दानीले धानिएको उहाँ निसङ्कोच बताउनुहुन्छ । तर, पछिल्लो समय आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि उहाँका एक छोरा रोजगारीका लागि भारत गएका छन् । “यो काममा मेहनत धेरै छ, कमाई कम,” शङ्करले भन्नुभयो, “त्यसैले नयाँ पुस्ता यो पेसामा बस्न चाहँदैन ।” उहाँ भन्नुहुन्छ, “सरकारले आरन सुधारका लागि आधुनिक मेसिन तथा उपकरण अनुदानमा उपलब्ध गराए काम गर्न निकै सहज हुने थियो ।” “मेसिन भए काम छिटो हुन्छ श्रम कम गर्नुपर्ने हुन्छ,” शङ्करले भन्नुभयो, “लागत पनि घट्छ र बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।” तर अहिलेसम्म कुनै सरकारी निकाय वा सम्बन्धित संस्थाले परम्परागत पेसा जोगाउने कार्यमा लागेकाहरूको अवस्था बुझ्न चासो नदेखाएको गुनासो उहाँले गर्नुभयो । “आफ्नै पौरख गरेर कमाउनेलाई कसैले हेर्दैन,” शङ्करले भन्नुभयो, “हाम्रो सीपलाई जोगाउन सरकारले सहयोग गरिदियो भने राम्रो हुन्थ्यो ।” शङ्करका अनुसार अहिलेको नयाँ पुस्ताले परम्परागत पेसा छोडेर अन्य रोजगारी खोज्न थालेका छन् । कम आम्दानी र धेरै श्रमका कारण युवापुस्ताले आरनको काममा चासो देखाउन छाडेका छन् । शुक्लाफाँटा नगरपालिका–८ का वडा सदस्य लालबहादुर महराले वडामा रहेका आरन सुधारका काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शङ्कर लुहारको परिवार वडामा आएको डेढ वर्ष मात्रै भएकाले आगामी दिनमा आरन सुधारका लागि सहयोग गर्ने योजना बनाइनेछ । “वडामा रहेका धेरै आरन सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन्,” महराले भन्नुभयो, “लुहार परिवारका लागि पनि आगामी दिनमा सहयोग गर्ने प्रयास गरिनेछ ।” परम्परागत सीप र श्रममा आधारित आरन पेसा अहिले आधुनिक उद्योग र बजार प्रतिस्पर्धाबीच अस्तित्व जोगाउन सङ्घर्षरत छ । शङ्कर लुहार जस्ता कारिगरहरूको सीप संरक्षण गर्न सकेमा स्थानीय उत्पादन, परम्परागत ज्ञान र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवाला बताउँछन् ।
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्फत व्यवसायीहरुले जिवनभर आफुलाई उपयुक्त हुने ज्ञान हासिल गर्न सक्ने र व्यवसायीक जिवनमा सफलता हासिल गर्न सकिने बताए । उनले व्यवसायीक जिवनमा कसैले खोट लगाउन नसक्ने स्वभिमानी जिवन बाँच्नको लागि विभिन्न किसिमका करहरुसम्बन्धी जानकारी हुनुपर्ने र कर तिर्नु हरेक नागरिकको कर्तव्य समेत भएकाले नियतवश कर छल्ने कार्य गर्दा भोलीका दिनमा कसैले पनि सहयोग गर्न नसक्ने अवस्था आउनेतर्फ सजग गराए । कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायीक जिवनमा अझै सफल बनाउने उद्धेश्यले र कर गणना, कर विवरण भर्ने, कर चुक्ता लिने, आय विवरण बुझाउने, करसम्बद्ध झन्झटहरु मिसम्याचमा पर्ने, ननफाइलर रहने जस्ता विषयमा व्यवसायीले भोगेका समस्याहरु निराकरणका लागि तालिमको आयोजना गरिएको बताइन् । उनले राष्ट्रको समृद्धि, विकास र सुशासन कर प्रणालीको पारदर्शिता तथा जनताको करप्रतिको सकारात्मक भावना विकास गर्न तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । उक्त अवसरमा तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले व्यवसायीले भोगेका समस्याहरु निराकरणका तालिमको आयोजना गरिएको बताउँदै कर डराउनुपर्ने विषय नभई जान्नुपर्ने विषय भएकाले उद्यमी/व्यवसायीहरुलाई सचेत बनाउन र पालना गर्नुपर्ने न्यूनतम नियमहरु पालना गराउनका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए । यस्तै संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले व्यवसायीहरुमा करलाई प्राथमिकता र महत्व नदिइएका कारण विभिन्न समस्या भोगिरहनुपरेको र राज्यको ऐन कानुन एवं कर नितिको बारेमा ज्ञान भएन भनेर उन्मुक्ति नपाईने भएकाले यस विषयमा सचेत गराउन तालिम प्रभावकारी हुने बताए । उनले प्रत्येक आर्थिक वर्षको शुरुवातसँगै परिवर्तन भईरहने कर नितिको विषयमा पनि व्यवसायिहरुले आफुलाई अद्यावधिक राख्नुपर्ने बताए । ७० भन्दा वढि उद्योगि/व्यवसायीहरुको सहभागिता रहेको तालिममा विवेक एण्ड एशोसिएट्सका सञ्चालक सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए ।
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १८ हजार ८०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख कायम भएको छ। यसअघि माघ १५ गते सुनको मूल्य ३ लाख ३९ हजार ३०० पुगेको ऐतिहासिक रेकर्ड कायम गरेको थियो। यस्तै चाँदी भाउमा पनि उच्च गिरावट आएको छ। महासंघका अनुसार यसदिन १ हजार ६५ रुपैयाँले घटेर एक तोला चाँदीको भाउ ५ हजार ५०० पुगेको छ। शुक्रबार चाँदी एकतोलाको ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हुँदै गइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थोरैमा मासिक रु १५ हजारदेखि दुई लाख बढीसम्म कमाउने दूध व्यवसायी यहाँ रहेका छन् ।” यसअघि दैनिक एक हजार ६०० लिटर दूध बिक्री हुँदै आएकोमा अहिले एक हजार ७०० लिटर दूध सङ्कलन भइरहेको छ । दूधबाट राम्रै आम्दानी हुने देखेपछि किसान उत्साहित भएर गाई थप्दै जाँदा बेमौसमी सिजनमा दूधको परिणाम बढेको उहाँले बताउनुभयो । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखराको सुजल डेरी प्रालिमा बिक्री गर्ने गरिएको छ । उत्पादन गरिएको दूध बिक्रीका लागि बजारको कुनै समस्या नभएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षति भएर लागेका हुन् । दमौली बजारमा सञ्चालनमा ल्याइएको दुई पसलबाट दैनिक ७०० लिटर दूध खपत हुने गरेको छ भने एक दिन बिराएर सुजल डेरीले दुई हजार लिटर दूध पोखरा लैजाने गरेको छ । यहाँका व्यासायिक पशुपालनले परिवारको मात्रै नभई सिङ्गो समाजको मुहारमा परिवर्तन ल्याएको संस्थाका सचिव मेघनाथ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानका लागि थप उत्प्रेरण जगाउने कार्य गरिएको आभास गर्न थालिएको छ ।” यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घर खर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् । कृषकको खरिद मूल्यअनुरुप अहिले दैनिक रु एक लाख ३४ हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्रति लिटर रु तीन र व्यास नगरपालिकाबाट रु दुई अनुदान सहकारीमार्फत पाउने गरेका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । गाउँमै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न सहज भएको छ । नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान प्रदान गर्दै आएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

