पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘मिडिया उद्योग व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले लोकतन्त्रमा प्रश्न गर्ने संस्कृति र जिम्मेवार खबरदारीले नै शासन व्यवस्थालाई बलियो बनाउने उल्लेख गरे । प्रदेश सरकारले सञ्चार क्षेत्रको नियमन र विकासका लागि ‘गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८०’ र ‘गण्डकी प्रदेश आमसञ्चार नियमावली, २०८२’ जारी गरिसकेको जानकारी दिँदै उनले यी कानुनी व्यवस्थाले सञ्चार क्षेत्रलाई थप उत्तरदायी र मर्यादित बनाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री पाण्डेले सञ्चार माध्यमहरूलाई सूचना प्रवाह गर्ने संस्थाका रूपमा मात्र नभई दिगो र आत्मनिर्भर मिडिया उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले बजार अनुसन्धान, आयस्रोतको विविधीकरण र दीर्घकालीन रणनीतिलाई सञ्चार उद्योगको अनिवार्य पक्षका रूपमा औल्याए । ‘विज्ञापनका लागि मात्र गरिने पत्रकारिता क्षणिक हुन सक्छ, नागरिकको विश्वास जित्ने सामग्री मात्र दीर्घकालीन हुन्छ’ उनले भने, ‘कन्टेन्ट किङ’ भन्ने सोचलाई आत्मसात् गर्दै गुणस्तरीय सामग्रीमा जोड दिनुपर्छ ।’ उनले पत्रकार, प्राविधिक र व्यवस्थापकहरूको क्षमता विकासमा लगानी गर्न सञ्चार गृहहरूलाई आग्रह गर्दै भने ‘जनशक्ति विकास अब विकल्प होइन, आवश्यकता हो ।’ डिजिटल मिडियाको बढ्दो प्रभावका बीच परम्परागत मिडियाले पनि डिजिटल प्लेटफर्मसँग जोडिएर आफ्नो पहुँच र आम्दानीको नयाँ आधार तयार गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले सुझाए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार सञ्चार माध्यमलाई नियन्त्रण गर्ने नभई जिम्मेवार र व्यावसायिक बनाउन सहजीकरण गर्ने पक्षमा रहेको प्रष्ट पारे । मिडिया हाउसहरू सरकारी विज्ञापनमा मात्र निर्भर नभई प्रतिस्पर्धी र आत्मनिर्भर व्यावसायिक प्रतिष्ठानका रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिएका थिए । उक्त गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सञ्चालित मिडिया हाउसका सञ्चालक, सम्पादक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ । यसअघि वैशाख १८ गतेका लागि तय गरिएको उक्त कार्यक्रम विशेष कारणवश मसान्तमा सारिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मञ्चका अध्यक्ष मानबहादुर घर्तीमगर एमबी आस्थाले कार्यक्रमको तयारी तिब्र पारिएको बताए । उनका अनुसार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने सो कार्यक्रममा ९ वटा विधामा अवार्ड प्रदान गरिनेछ । हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने यस कार्यक्रममा वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/क्लब, स्पेसल अवार्ड र उत्कृष्ट खेल पत्रकार गरी कुल ९ विधामा अवार्ड प्रदान गरिने अध्यक्ष मगरले बताए । यसपटक ‘पिपुल्स च्वाइस’ र ‘स्पेसल अवार्ड’ थप गरिएको छ । पिपुल्स च्वाइस अवार्डका लागि ‘गुरुङ गहना घर’ र स्पेसल अवार्डका लागि ‘नेलम्बो नेपाल’ले प्रायोजन गरेका छन् । खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीहरूको मनोबल उच्च राख्ने उद्देश्यले वि.सं. २०७२ सालदेखि मञ्चले निरन्तर यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रम भव्य बनाउन उपसमिति गठन अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) को संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा उपाध्यक्ष द्वय राजाराम पौडेल र उमा आले रहेकी छिन् । यस्तै अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा सन्देश श्रेष्ठ, प्रचारप्रसारमा परशुराम शर्मा, अन्तर्राष्ट्रिय समन्वयमा प्रेमनारायण न्यौपाने, स्वागत तथा अतिथि सत्कारमा दिननाथ बराल, क्विक रेस्पोन्सम उमा आले, मञ्च तथा सांस्कृतिकमा राजु गिरी, आर्थिक व्यवस्थापनमा विमल तिवारी, फोटो तथा भिडियोमा गीता रानालाई जिम्मेवारी दिइएको अध्यक्ष घर्तीमगरले जानकारी दिए । यस वर्षको अवार्डको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रालिको उत्पादन ’रारा तयारी चाउचाउ’ रहेको छ । सह–प्रायोजकमा गुरुङ गहना घर र केल्मी नेपाल रहेका छन् । त्यस्तै, भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र हस्पिटालिटी पार्टनरका रूपमा प्लाजा होटल ग्रुपको साथ रहेको छ । कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत विभिन्न स्थानीय तह र विदेशमा रहेका संघसंस्थाहरूले समेत सहयोग गरेका छन् । कास्की जिल्लाबाट सुरु भएको यो मञ्च हाल गण्डकी प्रदेशकै एक सशक्त र स्वायत्त संस्थाका रूपमा स्थापित छ ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरेका हुन् । उनले सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको उपचारमा सघाउ पुग्ने उल्लेख गरे । उक्त अस्पतालले अन्य अस्पतालहरुसँग सहकार्य गरेर विशेषज्ञ सेवा दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पाण्डेले प्रदेशको बजेटमध्ये हरेक आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउदै आएको बताए । उनले प्रदेश स्थापना भएयता ३४ वटा प्रहरी युनिटको भवन निर्माण सम्पन्न गरी सकेको बताउदै १ वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । मुख्यमन्त्री पाण्डेले प्रहरीको समायोजन हुन नसकेको बताउदै केही प्रशासनिक त्रुटीहरु देखिएको स्मरण गरे । उनले प्रहरी तथा प्रदेश सरकारको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउनका लागि संविधानको मर्म अनुसार प्रहरी समायोजन अपरिहार्य रहेको बताएका थिए । मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका प्रदेश प्रहरी अस्पतालको भवन ५ तले बन्नेछ । यद्यपी अहिले भने भ्याटसहित कुल ४ करोड ८४ लाख ९६ हजार १ सय ४७ रुपैयाँमा २ तले भवन निर्माण भएको छ । निर्माणको जिम्मा पाएको काभ्रेको एनसी निर्माण सेवाले २०८१ साल असार २० गते सम्झौता गर्दै निर्माणको काम अघि बढाएको थियो । त्यसपछि उक्त निर्माण कम्पनीले तोकेकै अवधिमा निर्माण सम्पन्न गरेको हो । नवनिर्मित सो भवनको पहिलो तलामा इमर्जेन्सी, दर्ता चलानी, ४ वटा ओपिडी, फार्मेसी, ओपिडी, ल्याब र ओटी रुम रहेको छ । यस्तै दोस्रो तलामा नर्सिङ स्टेसन, कार्यालय प्रमुख कक्ष, अल्ट्रासाउण्ड रुम, वार्ड रुम, चेन्जिङ रुमसहित आधुनिक शौचालय रहेका छन् ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्टामा १ सय २२ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरुले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्म सञ्चालन गरेको थियो । सोही क्रममासमाजमा अशान्ति फैलाउने, टोल गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातिको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको हो । यस अभियानका लागि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट १०० जना प्रहरी परिचालन गरिएको थियो । प्रहरीले पोखरा महानगरका वडा नम्बर १, २, ३, ४ र ५ अन्तर्गत पर्ने कसरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा र प्रस्याङ क्षेत्रबाट ९ जना पक्राउ परे । यस्तै, वडा नम्बर ६ को लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट सबैभन्दा धेरै ३५ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार वडा नम्बर ८ का बगाले टोल, सभागृह चोक र शिवालय चोकबाट ६ जना पक्राउ परेका छन् । वडा नम्बर ९ र १० का पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पतालचोक क्षेत्रबाट २० जना समातिएका छन् । वडा नम्बर ११, १२ र १३ का तुलसीघाट, शीतलादेवी, काँहुडाँडा र काँहुखोला क्षेत्रबाट ८ जना पक्राउ परेका छन् भने वडा नम्बर १४ र १५ का विमानस्थल, फुलबारी, खसीबजार र रामबजार क्षेत्रबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, पोखराका अन्य क्षेत्रहरु बाटुलेचौर र लामाचौरबाट २ जना, चिसापानी र मेथलाङबाट २ जना पक्राउ परेका छन् । पोखरा–२७ र २८ का दिपाङताल र रिठेपानी क्षेत्रबाट ६ जना, वडा नम्बर २९ र ३० का भण्डारढिक, सैनिक बस्ती, पटनेरी र तावामुख क्षेत्रबाट १२ जना तथा वडा नम्बर ३२ का राजाचौतारा र लामेआहाल डम्पिङ साइडबाट ३ जना पक्राउ परेका छन् । पोखरा बाहिर माछापुच्छ्रे गाउँपालिका क्षेत्रबाट ३ जना र अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव तथा छुवाछुत मुद्दामा उच्च अदालत पोखराले दोषी ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको हो । उच्च अदालतका न्यायाधीश द्वय अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले कास्की जिल्ला अदालतले यसअघि गरेको जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम ४ महिना १५ दिन कैद र ७५ हजार जरिवानाको फैसलालाई सदर गर्ने आदेश दिएको हो । २०७९ साल पुस १८ गते वडा कार्यालयमा लक्षित वर्गको बजेट र सीपमूलक तालिमको विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारी र सोही वडाकी दलित महिला सदस्य मैया नेपालीबिच जातीय छुवाछुतको विषयमा विवाद भएको थियो । त्यसपछि नेपालीले आफूमाथिको दुव्र्यवहार र विभेद विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले अधिकारीलाई दोषी ठहर गरेको थियो । उक्त फैसला विरुद्ध वडाध्यक्ष अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए । तर, उच्च अदालतले पनि उनलाई दोषी नै ठहर गरिदिएको छ ।
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्वमा यही १७ गतेदेखि २४ गतेसम्म माछापुच्छ्रे ४ को जोगिचौर मणि परिसरमा महायज्ञ हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । उक्त महायज्ञ सोही क्षेत्रमा क्रियाशिल आमा समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्य आयोजना हुने मूल समारोह समितिका संयोजक अनेरी क्याप्टेन डम्बरसिंह गुरुङले जानकारी दिए । उनका अनुसार माछापुच्छ्रे ४ र ५ को सिमानामा पर्ने ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पातिखोला गुफाको प्रचारप्रसारसँगै धार्मिक क्षेत्र पूर्वाधार विकासमा उक्त महायज्ञबाट संकलित रकम खर्च गरिने छ । ‘यस ठाउँमा वर्षको तीन पटक मेला लाग्ने गर्दथ्यो हाल ति मेलाले निरन्तरता पाएको छैन’ संयोजक गुरुङले भने, ‘यस ठाउँमा पूर्वाधार विकास गरी व्यवस्थित बनाई मेलालाई पुन निरन्तरता दिने र यस ठाउँलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो उद्देश्य छ ।’ करिब २ करोड आर्थिक संकलन गर्ने लक्ष्यसहिलत आयोजना हुने उक्त महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले प्रवचन दिने प्रचार प्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले बताए । उनका अनुसार महायज्ञमा ५ हजार भन्दा धेरै दान गर्ने दानवीको नामा शिलालेखमा अङ्कित गर्ने, १० हजार भन्दाबढी दान गर्ने सहयोगी दातालाई दोसल्ला ओढाई सम्मान गर्ने, २० हजार भन्दाबढी दान गर्नेलाई दोसल्ला तथा आकर्षण सम्मान पत्र प्रदान गरिने, ५० हजार भन्दा धेरै दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र र मायाको चिनो प्रदान गरिनेछ । यस्तै १ लाख भन्दा बढी रकम दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान गरिने गुरुङले बताए । यस्तै ५ लाख भन्दा बढी दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई आकर्षक डोलीमा चढाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान गरिने उनले बताए । माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता तथा वडा २ का वडाध्यक्ष गणेश आचार्यले महायज्ञले पातिखोला क्षेत्रको प्रचारप्रसारमा धार्मिक प्रवद्र्धनमा सधाउ पुग्ने धारणा राखे । यस्तै माछापुच्छ्रे गाउँपालिका वडा ४ का वडाध्यक्ष मधुसूदन अधिकारीले ऐतिहासिक तथा धार्मिक रूपमा परिचित यस स्थानमा हुन लागेको महायज्ञलाई सफल बनाउनका लागि तयारी तीव्र पारिएको जानकारी दिए । पातिखोला गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्त्व रहेको बताउँदै प्रचार प्रसारका कारण ओझेलमा परेको बताए । अब उक्त महायज्ञपछि सो क्षेत्रको पूर्वाधार विकाससँगै व्यापक प्रचारप्रसार हुने अपेक्षा गरे । पोखराको टुँडिखेल बगरबाट १० किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको समयावधिमा महायज्ञ स्थल पुग्न सकिन्छ । महायज्ञ अवधिभर पोखराको हरिचोक र माछापुच्छ्रे गाउँपालिकाको सबै वडाबाट महायज्ञ स्थलसम्म जानका लागि आयोजकले यातायातको व्यवस्था गरेको छ ।
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवमा रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोबार हुन सफल भएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । त्यहाँ आलुको परिकारको एउटा स्टलका अलावा कृषितर्फ ३० तथा एक सय बढी व्यापारिक स्टल थिए । त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको पनि आयोजकको भनाइ छ । शनिबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजा तथा समग्र पोखरा क्षेत्रकै ब्रान्ड बनेको बताउँदै स्थानीय कृषि उपजलाई प्रवर्द्धन गर्न महोत्सव सफल भएको जनाए । पोखरा महानगरले पर्यटनसँगै कृषिलाई सँगसँगै जोडेको उल्लेख गर्दै प्रवक्ता तिम्सिनाले महोत्सवसँगै कृषिमा होमिन हौसला मिलेको भनाइ राखे । सबैको सद्प्रयासले महोत्सव सफल भएको उनले स्पष्ट पारे । पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले आलु महोत्सवले निरन्तरता पाउनु खुसीको कुरा भएको सुनाउँदै हेमजालाई तरकारी साथै मौरी क्षेत्र बनाउन महानगर लागि परेको उल्लेख गरे । महोत्सवका माध्यममार्फत बजारको पैसा कृषकको हातहातमा पुगेको उनको भनाइ छ । आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवाला सबैले जिम्मेवारी पूरा गरेका कारण महोत्सव सफल भएको उल्लेख गर्दै क्लबले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । महोत्सव अन्तर्गत भएको रत्यौली गीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौंसी आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय तथा खुट्टेगौंडा लामाचौतारा आमा समूह र चापाघाट आमा समूह सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ती समूहले क्रमशः नगद १० हजार, ८ हजार, ५ हजार साथै ३ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यसैगरी कृषि झाँकी र्याली संघसंस्थातर्फ नेवा खलः पहिलो, मातृकेश्वर एकता भजन समूह दोस्रो, आराध्या भजन समूह तेस्रो भए । आमा समूहको कृषि झाँकीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, लालीगुराँस आमा समूह तेस्रो, लक्ष्मी आमा समूह र तीब्रकोट आमा समूह क्रमशः सान्त्वना हुन सफल भएको जनाइएको छ । त्यस्तै नृत्यतर्फ जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो । महोत्सवमा शनिबार कलाकारहरु प्रकाश सपुत, प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङ लगायतका प्रस्तुति रहे । यसपालि हेमजामा आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छ्रे गाउँपालिका, स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट मानिसहरु पुगेका थिए । 'सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक' भन्ने मूल नाराका साथ महोत्सव गरिएको हो । महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार रहेका थिए । त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका दैनिक प्रस्तुति साथै विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको थियो । महोत्सव मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम मूल आयोजक समितिका महासचिव विकल थापाले संचालन गरे ।
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच बिहीबार सम्झौता भएको हो । पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक संस्थाका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा बोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरुमासमेत सहभागीता जनाएको स्मरण गरे । हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले १० औं संस्करणमा टाइटल स्पोन्सरमा रहेर सहकार्य गर्न पाउँदा खुसी लागेको सुनाए । पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मान बहादुर घर्ती (एमबी आस्था) मगरले हिमश्री फुड्स प्रालिले विगतका संस्करणहरुमासमेत साथ र सहयोग गर्दै आइरहेको बताउँदै १० औं संस्करणमा टाइटल स्पोन्सर गरी थप हौसला प्रदान गरेको भन्दै हिमश्री फुड्का प्रालिप्रति आभार प्रकट गरे । हिमश्री फुड्द्धारा उत्पादित दक्षिण एशियामै नुडल्समा पहिलो रारा तयारी चाउचाउ नेपालमै निकै लोकप्रिय इन्स्टयान्ट नुडल्स मध्येको एक हो । अहिले रारा तयारी चाउचाउ संगै रारा हट एण्ड स्पाइसी चाउचाउ समेत उत्पादन गर्दै आइरहेको छ । हिमश्री फुड्सले स्थानीय स्वादलाई ध्यानमा राखेर खाद्य उत्पादन गर्दै आइरहेको हिमश्री फुड्स प्रालिका महा प्रवन्धक शिव गिरीले बताए । विभिन्न आठ विधामा अवार्ड प्रदान गरिँदै छ । जसमा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु पर्दछ, नत्र भने जीन्दगी व्यर्थ छ बाटुली, शीरमा शिरवन्दी, एैना हेर्दा हेर्दै, बाला पनको उमेर, जुन जस्ती रे, ममताकी खानी लगायतका दर्जन बढी गीत उनले त्यहाँ गाइन । प्रस्तुतिका क्रममा उनलाई दर्शकले मिठो साथ दिए । यतिसम्मकी आफ्ना गीत गाउन लाग्दा दर्शकले उनका गीत फटाफट आफै गाएर छमछमी नाचे । मैदानमा धुलो उडेर पानी नै हाल्नुपर्ने अवस्था सिर्जना भयो । समीक्षा जस्तै बुधबार महोत्सवमा कलाकारहरु कुमार पुन, तुलसा क्षेत्री, नवराज अधिकारी, दुर्गा क्षेत्री लगायतले पनि दर्शकलाई नचाए । त्यस्तै रत्यौली प्रतियोगितातर्फ गौरीशंकर आमा समूह, देवीस्थान आमा समूह र राधाकृष्ण आमा समूहले विभिन्न अभिनय मार्फत दर्शकलाई पेट मिचीमिची हसाए । त्यसका अलवा नृत्यतर्फ अम्बिका मा.वि, धवलागिरी बोडिङ, स्नो भ्यू स्कुल, अंकिता सुनार लगायतले पनि आफू सँगसँगै दर्शकलाई नचाए । महोत्सवमा बिहीबार कलाकारहरु श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली सुरेश थापा, गंगा परियारका प्रस्तुतिहरु रहने सांस्कृतिक उपसमिति संयोजक सुशिल श्रेष्ठले जानकारी दिए । महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा पनि बृद्धि भएको छ । महोत्सवको छैटौं दिन बुधबारसम्म करिव ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा कुल ५ हजार ३ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी त्यहाँ घरयासी सामग्री, लत्ताकपडा, भाडाकुडा किन्नेको संख्या बढी छ । त्यहाँ आलुको परिकारको एउटा स्टल, कृषितर्फ ३० तथा अन्य १ सय बढी व्यापारिक स्टल रहेका छन् । सबै स्टलबाट व्यापार राम्रै भइराखेको छ, महोत्सव अन्तिम तिर भएकाले किनमेलका लागि घुइचो जस्तै लागेको छ, हामीहरु स्टल संचालकको निरन्तर सम्पर्कमा पनि छौं, बुधबार साँझसम्म गरी २ करोड ८० लाख बढीको कारोवार भएको अनुमान छ, आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने । त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् । बुधबार साँझसम्म २६ लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ । हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।महोत्सव बाहेक हेमजाका अन्य स्थानहरुबाट समेत यतिवेला आलु लगायत कृषि उपजहरुको कारोवार भइरहेको छ । यही चैत २७ बाट सुरु महोत्सव बैशाख ५ गतेसम्म चल्नेछ ।

