प्रेस स्वतन्त्रता र महासंघका मागबारे कास्कीमा छलफल
पाेखरा | मंसिर ७, २०८३
पोखरा । नेपाल पत्रकार महासंघले आफूले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत महासंघ कास्की र गण्डकी शाखाले सञ्चारसम्बद्ध विभिन्न संघसंगठनहरुसँग छलफल गरेको छ ।
वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको भन्दै त्यसको विरोधमा छलफल आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिए ।
छलफलका क्रममा महासंघ र सम्बद्ध संघसंगठनहरुका प्रतिनिधिहरुले समाचार कक्षभित्रै प्रहरी पसेर पत्रकारमाथि धरपकड गरिएको तथा सञ्चारमाध्यममा अनाधिकृत रूपमा गाडी तेस्र्याउनेहरुमाथि हालसम्म कारबाही नगरिएको विषयमा गम्भीर असन्तुष्टि जनाएका थिए ।
त्यस्तै, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको भन्दै उनीहरूले त्यसप्रति विरोध गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले वर्तमान सरकारले पत्रकार जगतसहित समाजका सम्पूर्ण क्षेत्रलाई उपेक्षा गरेको बताए । सरकारले प्रेस जगतमाथि आर्थिक र सूचनाको नाकाबन्दी लगाएको आरोप उनले लगाए । उनले अस्तित्व रक्षाका लागि पत्रकारहरू संगठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघको केन्द्रले ल्याएका कार्यक्रमहरू अपेक्षाकृत सशक्त हुन नसकेको अनुभूति सुनाउँदै कार्कीले सरकारको ध्यानाकर्षण गराउन नसकिए अन्तर्राष्ट्रिय जगतको समेत ध्यान तान्ने गरी कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।
उनले तत्कालको कठिन परिस्थितिमा धैर्यता नगुमाई संगठित भएर आफ्ना मुद्दाहरू बुलन्द गर्न पत्रकारहरूलाई आग्रह गरे ।
पूर्व अध्यक्ष पूण्य पौडेलले देशमा कानुनी शासनको अभाव र स्वतन्त्रतामाथिको संकुचनका कारण पत्रकारिता क्षेत्र खुम्चिँदै गएको बताए । कानुनी शासनको बहाली गर्नका लागि समेत स्वतन्त्रता अनिवार्य सर्त रहेको उनले उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठले महासंघ कमजोर बन्दै गएको बताए । उनले अब छलफलका लागि मात्र छलफल नगरी आन्दोलनका ठोस कार्यक्रम तय गर्नुपर्नेमा उनको जोड थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारको मिडियाप्रतिको दृष्टिकोण निरंकुश रहेको र सरकार मिडियामैत्री नभएको बताए । सरकारले विज्ञापन रोकेर मिडियामाथि आर्थिक नाकाबन्दी लगाउँदै ‘साइजमा ल्याउने’ प्रयास गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्र, प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष दीननाथ बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगर, नेपाल पर्यटन पत्रकार संघका अध्यक्ष अध्यक्ष हरी बास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, सचिव भूपाल गुरुङलगायतले पत्रकारको अस्तित्व रक्षाका लागि एकजुट हुनुपर्ने बताएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२ औं लेखनाथ महोत्सव आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ ...
पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ को तयारी पुरा भएको छ । फेवा मल्टिप्रोडक्ट पोखराको ...
काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।...

