काठमाडौं: गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने ‘तमु पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा गुरुङसँगै ६ जना पत्रकार पुरस्कृत भएका छन् । एक जना गुरुङ समुदाय र अर्को एक जना अन्य समुदायका पत्रकारलाई प्रदान गरिने पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्काबाट अन्य समुदायतर्फ श्यामकृष्ण श्रेष्ठ (काठमाडौं) सम्मानित भए । उक्त पुरस्कारबाट सम्मानित गुरुङ र श्रेष्ठलाई जनही २० हजार १ रुपियाँ र सम्मानपत्र प्रदान गरिएको थियो । तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट इच्छा गुरुङ (काठमाडौं) पुरस्कृत भएकी छिन् । उक्त पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ र सम्मानपत्र रहेको छ । त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट खुसीमाया गुरुङ (लमजुङ), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सुचना गुरुङ (चितवन), सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रविन गुरुङ (सुनसरी) पुरस्कृत भएका छन् । यी ३ पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद र सम्मानपत्र रहेको छ । कार्यक्रममा गुरुङ न्युज डटकम पत्रिकाको लोकार्पण पनि गरिएको थियो ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखोला गाउँपालिका–१ अमरभूमी भुस्कातका कोषाध्यक्ष गौरीमाया गुरुङले यही पुस १० देखि १५ गतेसम्म विविध कार्यक्रमको साथ ल्होसार पर्व मनाउन लागेको बताईन् । ‘हामीले केही वर्षपछि भुस्कातमा ल्होसार पर्व मनाउन लागेको छौं, पुस १५ गते गुरुङ समुदायको मुख्य पर्व पनि हो,गुरुङले भनिन्, ‘यसवर्षदेखि हामीले गुरुङ समुदायको भाषा, कला र संस्कृति जगेर्ना गर्ने उद्धेश्यसहित विविध कार्यक्रमका साथ ल्होसार पर्व मनाउँदै छौं ।’ उनका अनुसार ल्होसार पर्वको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगिता, सामुहिक लोकनृत्य प्रतियोगिता,झ्याउरे लोक गीत प्रदर्शन प्रतियोगिता, खुल्ला वडास्तरीय धनुषबाण प्रतियोगिता, महिला रस्साकस्सी प्रतियोगिता प्रतियोगिता,पञ्चेबाजामा आमा समूहको नृत्य प्रतियोगिता र क्यारम वोर्ड प्रतियोगिता आयोजना गरिएको छ । खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख १० हजार ५ सय र उपविजेताले ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागी हुन एक समूहलाई ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँसहित बोका र उपविजेताले १५ हजार रुपैयाँसहित बोका, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागितालाई एक समूहलाई ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस प्रतियोगितामा ३२ वर्ष उमेर पूरा भएको खेलाडी मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । यस्तै सामुहिक लोक नृत्य र झ्याउरे लोक गीत प्रदर्शनका विजेताले समान २५/२५ हजार र उपविजेताले १५/१५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला वडास्तरीय धनुषवाण प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिला रस्साकस्सी प्रतियोगिता र पञ्चेबाजामा आमा समूहको नृत्य प्रतियोगिताको विजेताले समान १०/१० हजार र उपविजेताले समान ५/५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै क्यारम बोर्ड प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ल्होसार/ल्होछार केःहो ? गुरुङ अर्थात् तमुहरुको नयाँ वर्ष ल्होसार/ल्होछार । गुरुङ भाषामा ल्हो भनेको वर्ग (वर्ष) र सार भन्नाले शुरुवात अर्थात आरम्भ भन्ने जनाउँछ । गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ गतेका दिन ल्होसार÷ल्होछार पर्व मनाउने गर्छन् । चक्रिय रुपमा विभिन्न १२ जना वटा जनावर र चराचुरुङ्गीको प्रतिक स्वरुप रहने गर्दछ । जसलाई गुरुङ भाषामा ल्हो (वर्ग) भन्ने गर्दछ । यस वर्ष अर्थात पुस १४ गतेसम्म सप्री ल्हो (सर्प वर्ग) छ भने, पुस १५ बाट त ल्हो (घोडा वर्ग) प्रारम्भ हुनेछ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् । पुरस्कार स्थापना गर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गरे । उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । पुरस्कृत व्यक्तित्व कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गतको समाधान न्युज डटकमका सम्पादक छन् । स्याङ्जा पुतलीबजारका कोइरालाले विसं २०५९ देखि काठमाडौंमा रहेर अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरु गरेका थिए । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले विसं २०६५ देखि पोखरालाई कर्मथलो बनाएर सक्रिय छन् । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा अध्यापन समेत गराउँछन् । उनी संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् भने गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भएर पनि काम गरेका थिए । यसअघि उनले पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । पुरस्कार ग्रहणपछि पत्रकार कोइरालाले निजी क्षेत्र सबल भए मात्र यस क्षेत्रले लोकतन्त्रको पहरेदार मानिने पत्रकारिताको महत्व बुझ्ने बताए । त्यसपछि पत्रकारिता क्षेत्रको सबलीकरण हुने उनको भनाइ थियो । ‘एक सबल र नैतिकवान् निजी क्षेत्रविना व्यावसायिक पत्रकारिताको आर्थिक मेरुदण्ड बलियो हुन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्रको लगानीकै कारण रोजगारी सिर्जना भएको र सरकारको आम्दानी बढेको सकारात्मक पक्षलाई नजर अन्दाज गरिएको छ । जतिसुकै आदर्शका कुरा गरे पनि यो समय पुँजीवादी अर्थ व्यवस्थाकै समय हो ।’ निट डेण्टलले फोनिज गण्डकीसँग सहकार्य गरेर यो पुरस्कार स्थापना गर्नुलाई मैले निजी क्षेत्रको विवेकपूर्ण र सकारात्मक कदमका रूपमा लिएको उनले सुनाए । कार्यक्रममा उनले पत्रकारिता अहिले संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा बताए । ‘विज्ञापन बजार खुम्चिएको छ। धेरै मिडिया हाउसहरू बन्द हुने वा जनशक्ति कटौती गर्ने अवस्थामा छन्’ उनले भने, ‘गण्डकीमा पनि अनलाइनहरूको संख्या बढेको छ, तर गुणस्तरीय र दिगो सामग्री पस्किने चुनौती यथावत छ ।’ यस्तो अवस्थामा पोखरामा रहेर पत्रकारिता गर्दा काठमाडौंका राष्ट्रिय मुद्दाको नक्कल गर्नुभन्दा पोखराका स्थानीय ’इश्यु’ लाई प्रधानता दिनुपर्ने उनको सुझाव थियो । कार्यक्रमका मेयर आचार्यले आदिवासी जनजाति पत्रकार (फोनिज) ले स्थापना गरेको पुरस्कारबाट अन्य समुदायका पत्रकारलाई सम्मान गरी फोनिजले समावेशीताको सन्देश दिएको बताए । जताततै खत्तम देखिरहेको समाजमा जनतालाई सही सूचना सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारलाई सम्मान गरिएको उनले खुसी व्यक्त गरे । पत्रकारलाई हौसला प्रदान गर्न पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने निट डेण्टलले पनि उल्लेखनीय काम गरेका उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले फोनिजले स्थापना गरेको पुरस्कार पहिलोपटक गैरफोनिज पत्रकारमा प्राप्त गर्नुले सकारात्मक सन्देश दिएको बताए । पौडेलले भने, ‘पोखरामा वेलनेस टुरिजम विकास हुँदै गएको छ, विश्वमै महँगो मानिने दाँत उपचारमा निटले गण्डकीकै आफूलाई स्थापित गर्न सकोस् ।’ निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) ले आफू खास धनाढ्य भएर नभई केही नयाँ गरौं भन्ने सोचले पुरस्कार स्थापना गरेको प्रस्ट पारे । रानाले पत्रकारको हितमा अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘यसबापत पत्रकारिता क्षेत्रबाट आफूले त्यस्तो लाभ लिने सोच छैन ।’ प्रतिभा छनोटका लागि फोनिजका संघीय सचिव एमबि आस्थामगरको संयोजकत्वमा समिति गठन गरिएको थियो । समिति सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर थिए । संयोजक आस्थामगरले पुरस्कार वितरणको मापदण्ड र छनोट प्रक्रिया र पुरस्कृत पत्रकारबा बारेमा प्रकाश पारेका थिए । फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष धनबहादुर गुरुङ र सञ्चालन महासचिव सुरज थापामगरले गरेका थिए । पोखरामा महेन्द्रपुल सञ्चालित नट डेन्टलले वार्षिकोत्सवका अवसरमा कम्पनीमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूलाई सम्मान पनि गरेको थियो ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर र तराई–पहाड जोडेको सालझण्डी–ढोरपाटन सडकले बागलुङका सयौँ गाउँ बस्ती जोडेसँगै विकट गाउँ पनि सुगम हुँदैछन् । गाउँ–गाउँमा राष्ट्रिय तथा शाखा सडक पुगेपछि नागरिकको जीवनशैलीमासमेत परिवर्तन आउँदैछ । सडकका आसपासमा तीव्ररुपमा बस्ती विस्तार हुँदैछन् तर पछिल्लो समय बन्ने संरचनामा मौलिकता हराउँदैछ । गाउँसम्मै कङ्क्रिटका भवन बन्दैछन् । परम्परागत घुमाउने, ढुङ्गेघर विस्थापित हुने अवस्थामा पुगेका छन् । सडकले पाटीपौवा, धर्मशाला, चौतारालगायतका सम्पदा पुरिएका छन् । यस्ता मौलिक सम्पदाको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । मौलिक गाउँका रुपमा परिचित तमानखोला गाउँपालिका–३ तमान गाउँ २०६७ सालमा सडकले जोडिएको थियो । सडकका कारण यहाँका धेरै मौलिक सम्पदा नासिएको स्थानीय रनबहादुर रोकाले बताउनुभयो । सडकले गाउँमा धेरै विकास भए पनि पुराना सम्पदा संरक्षण भने हुन नसकेको उहाँको भनाइ छ । दैनिक गाउँमा गाडी गुड्न थालेपछि स्थानीयले सहर बजारकै सहनसहन गर्न थालेको भन्दै घर भवन पनि त्यस्तै बनाउन थालेको रोकाले बताउनुभयो । पहिले बनेका रातोमाटो, सेतो कमिरोले पोतिएका घरकोस्वरुप फेरेर धेरैले आयातित रङ प्रयोग गर्न थालेको रोकाको भनाइ छ । उहाँले भन्नुभयो, “सडकले गाउँलाई सहर बजारसँग जोड्यो, विकाससँग जोड्यो तर हाम्रा मौलिक संस्कृति र परम्परालाई भने विस्तारै टुटाउँदैछ, सडकले पानीका मूल सुके, थकाई मार्ने चौतारा मासिए, पूजाआजा गर्ने थान मासिए । अहिले त देश विदेशका चालचलन गाउँ भित्रियो, गाउँलेले मौलिकता बिर्सिन थाले, हामी हुँदासम्म पुराना परम्परा रहलान्, हामीपछिका पुस्ताले संरक्षण गर्दैनन्, उनीहरुलाई आयातित संस्कार संस्कृतिकै चासो छ ।” राजमार्ग आसपासमा थपिँदै कङ्क्रिटका घर जिल्लाको निसीखोला गाउँपालिका सडकले जोडिएको डेढदशक भयो । मध्यपहाडी लोकमार्गको धेरै खण्डपर्ने यस क्षेत्रमा २०६७ साल अगाडि कङ्क्रिटका भवन भेट्याउन मुस्किल पथ्र्यो तर अहिले हरेक बस्तीमा ‘सिमेन्टेड’ भवन छन् । जिल्लाकै विकट मानिने निसीखोलामा लोकमार्गका कारण सुगम बनेको छ । आफ्नै मगर खाम भाषा, विभिन्न कला संस्कृति र परम्परा रहेको यस क्षेत्रमा पछिल्लो समय विस्तारै सङ्कटमा पर्न थालेको निसीखोला गाउँपालिका–६ का थमबहादुर बुढा मगरले बताउनुभयो । एक दशक अगाडिसम्म निसी, भल्कोट तथा आसपासका गाउँमा पुराना शैलीका एकतले काठ, ढुङ्गा र माटोले बनेका मात्रै घर हरेको स्मरण गर्दै अहिले पूरै फेरिएको उहाँको भनाइ छ । आफ्नो पुस्तासम्मले मगर खाम भाषा बोल्ने भए पनि नवयुवाहरु कम बोल्ने गरेको बुढा मगर बताउनुभयो । गाउँमा हुने संस्कृतिसमेत लोप हुँदै गएको उहाँले सुनाउनुभयो । बुढामगरले भन्नुभयो, “पहिले हामी निकै विकटमा थियौँ, सडक थिएन, जिल्ला सदरमुकाम पुग्न झण्डै सात दिन लाग्थ्यो, तर अहिले चार घण्टामै बागलुङ बजारमा पुग्न सक्छौँ, सडककै कारण अहिले हाम्रो जीवनशैली फेरियो, तर हामीहरुले हाम्रो मौलिकता बिर्सिदै गयौँ, अब त संरक्षण लागि निकै गाह्रो पर्ने देखिन्छ, मौलिकता जोगाउन एउटाको प्रयासले हुँदैन सिङ्गो समुदायनै लाग्नुपर्छ ।” अचेल बन्ने घरमा भेटिदैन मौलिकता ढोरपाटन नगरपालिका–८ का तमबहादुर विकले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताउनुभयो । अहिले बन्ने अधिकांश घरहरु नयाँ शैलीका हुने गरेको उहाँको भनाइ छ । नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमिरोले पोत्न छोडेर विभिन्न थरिका रङ लगाउन थालिएको विक बताउनुहुन्छ । आफूहरुको पालामा बिहान उठ्ने, घर लितपोत गर्ने र बल्ल अरु काम गर्ने गरेको स्मरण गर्दै अहिले उक्त चलनसमेत हराएको उहाँले बताउनुभयो । पहिले गाउँका अबै घर ढुङ्गा माटोको गारो र छानो पनि ढुङ्गैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको विकको भनाइ छ ।“अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घर पनि नयाँनयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै विस्तारै हराउँदै गएका छन्,” विकले भन्नुभयो, “पहिला गाउँका पूरै घर ढुङ्गाले छाएका थिए, उतिबेला सडक आएको थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुङ्गाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुनाकाप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले ।” राष्ट्रिय राजमार्गले जोडिएका ग्रामीण क्षेत्रबाहेक अन्य ठाउँमा पनि मौलिक घर विस्तारै घट्दै छन् । पछिल्लो समय बन्ने अधिकांश घर तथा भवनहरु आधुनिक शैलीमा बन्न थालेका छन् । गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकार प्रकारको बनाउने भएको हो । तमान गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने नीति लिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । मौलिकता जोगान स्थानीय सरकारको चासो आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँले बताउनुभयो । पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातित वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरको भनाइ छ । अहिले गाउँले सहर बजारको सिको गरेर आधुनिकताका नाममा आफ्नो पहिचान गुमाउँदै गएको उहाँ बताउनुहुन्छ । अब बन्ने हरेक घर परम्परागत शैलीमा बन्ने अध्यक्ष बुढा मगरको भनाइ छ । “तमान गाउँ निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर भवन पुरानै शैलीका छन्, गाउँको संस्कार, संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिँदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरु लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो” अध्यक्ष बुढामगरले भन्नुभयो, “अब गाउँमा कसैले पनि बजारका जस्ता ठूला–ठूला सिमेन्टका घर बनाउन पाउने छैन, गाउँपालिकाले एउटा मापदण्ड बनाउँछ, त्यही अनुसार गराउनुपर्छ, यो गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।” अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रुपमासमेत विकास गरिने बताउनुभयो । घरका छेउछाउमा स्लेट ढुङ्गा विच्छ्याउने, घरमा लगाइने रङ, ढुङ्गाको छानो पनि एकै प्रकारको बनाइने उहाँको भनाइ छ । तमान गाउँ देशको दश नमूना सहरमध्येको एक पर्ने बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा पुग्न सकिन्छ । बोङ्गादोभान र खुङ्खानी दुबैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ । गलकोट नगरपालिका–२ तोरीखोला गाउँ अहिले पनि बाक्लो मगर बस्ती छ । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर छन् । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौँ पुराना घरहरु अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घरहरु पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेपछि नगरपालिकाले यसको संरक्षणम चासो दिएको छ । घरको आँगनमै आएको सडकका कारण स्थानीयलाई सहजता दिलाए पनि त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढेको स्थानीय सुनाउँछन् । तोरीखोला गाउँ जस्ता मौलिकता बोकेका गाउँ बागलुङमा थुप्रै थिए, तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ । बढ्दो सहरीकरण र आधुनिकताले परम्परा हराउन थालेपछि गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’का रुपमा विकास योजना अगाडि सारेको हो ।गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्ने योजना बनाएको बताउनुभयो । यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोतसाधन प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्ट प्रयोग गरिएका घर बनाउन रोक लगाउने बताउनुभयो । अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रोतोमाटो र सेतो कमेरोले रङ्ग्याउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताउनुभयो । तोरीखोलामा वर्षौँ पुराना कला, संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँगाउँमा मोटरबाटो पुगेपछि पक्की घर भवन धमाधम बनिरहेका छन्, हामीहरुले गाउँको सुन्दरता र पहिचानलाई जोगाउन थालेका छौँ, तोरीखोला गाउँ निकै पुरानो र मौलिकता बोकेको गाउँ भएको हुँदा यसलाई ‘मौलिक गाउँ’कै रुपमा राख्नुपर्छ, अहिले गाउँमा प्रविधिले सबै मौलिकता हराउन थालेका छन्, यहाँ अहिले पनि होमस्टे (घरबास) सञ्चालनमा छन्, धेरै कला संस्कृति पनि प्रचलनमा रहेको हुँदा युवा पुस्तालाई यसप्रति आकर्षण गर्ने र संरक्षणमा टेवा पुर्याउने हिसाबले कामको सुरुआत गरेका छौँ, तोरीखोला गाउँको सुन्दरता र मौलिकतालाई जोगाइराख्न हामीहरु गम्भीर बनेका छौँ, पर्यटक भित्र्याउनका लागि पनि प्रयास थालेका छौँ ।”
पोखरा: लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् । फाउण्डेशनका संस्थापक गुरुङले आज आफ्नो जन्मोत्सवको अवसरमा पोखरा महानगरपालिका स्थित पोखरा वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन शाखामा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएका हुन् । जन्मोत्सवको अवसरमा फजुल खर्च भन्दा सामाजिक क्षेत्र सेवा गर्दै आएको फाउण्डेशनका संस्थापक गुरुङले बताए । ‘मैले आफ्नो जन्मोत्सवको अवसरमा विगत ८÷९ वर्षदेखि पोखरा वृद्धाआश्रममा आएर जन्मोत्सव मनाउँदै आएको छु, उनले भने, ‘यो सहयोग भन्दा पनि बाहिर गर्ने खर्च भन्दा सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने सन्देश हो, वृद्धाआश्रम र मानवसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर जन्मोत्सव मनाउन पाउँदा छुट्टै आनन्द हुन्छ ।’ पोखरा वृद्धा आश्रममा ४० जना र मानवसेवा आश्रम छोरेपाटनमा ९४ जना आश्रीत रहेका छन् । यस्तै गुरुङले विगत ४ वर्षदेखि जन्मोत्सवको अवसरमा नै पोखरा महानगरपालिका–१४ का मृगौला पीडित नरबहादुर तामाङ र शारीरिक अपाङ्गता बिनिता तामाङलाई खाद्यान्नसँगै आर्थिक सहयोग गरेका छन् । मृगौला पीडित तामाङले हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका छन् । भने, बिमला तामाङ शारीरिक अपाङ्गता छिन् । फाउण्डेशनका संस्थापक गुरुङ सामाजिक तथा खेलकुद विकासको क्षेत्रमा काम गर्दै आएका छन् ।
पोखरा: मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको दिन मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त प्रदान गरिनेछ। फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो । छनोट समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र सचिव देविका तामाङ हुनुहुन्थ्यो । सम्मानित हुन लागेका २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफ।एमबाट प्राविधिकका रुपमा काम गरी सञ्चार क्षेत्रमा प्रवेश गर्नुभएका गुरुङ एफएम रेडियो हुदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आउनुभएको छ । हाल उहाँ समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस)सँग आवद्ध हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ कास्कीमा सहसचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव, र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव हुनुहुन्छ । उहाँ यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट सम्मानित भईसक्नुभएको छ ।
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरूले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्रि सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको वराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधीपूर्वक तानिएको हो । खेती किसानी र पशुुपालन गर्ने स्थानीयवासीहरूले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुुक्ल पूूर्णीमाका दिन प्रकृतिलाई खुसी पार्न सामुुहिक रूपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताउनुभयो । “कात्तिक पूर्णिमाका दिन तिनचुुले वराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुुने र शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने जनविश्वास रहेको छ,” उहाँले भन्नुभयो “चार वटा टोलबाट सामुहिक र भाकल पूरा भएकाले व्यक्तिगत रूपमा तोरण ल्याएर तार्ने चलन छ ।” बैकुुण्ठ चर्तुुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकीर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि वराहतालको पुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ । बाबियोको डोरी बाटेर थरिथरिका फुलहरू गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुगेका भक्तजनहरू बैकुण्ठ चर्तुुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकीर्तन गर्ने गर्छन्। यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पुुजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुुर घर्तीले जानकारी दिनुभयो । तोरन तार्न र पुजाआजाका लागि आएका भक्तजनहरुलाई समितिले निःशुल्क प्रसाद र चिया वितरण गरेको थियो । ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुलेतर्फ तोरन लैजानुुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो । पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र वराह ताल परिक्रमा गरिइएको थियो । म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताउनुभयो । ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उहाँले बताउनुभयो । सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ ।
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। सो क्रममा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार ५ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। दुर्घटनामा परेका अन्दाजी ५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको हाे । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बस चालक र बस वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा छ।

