पोखरा:   लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् ।  फाउण्डेशनका संस्थापक गुर...

मुस्ताङ:   वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको  हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षोल्लासमय रूपमा मनाएका छन् । ‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो ।  बर्खायाममा उवा र जौं लगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ । यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदीयौँदेखि मनाइने गरिएको हो । यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ । खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उहाँले बताउनुभयो । खिङ्गाबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ । सोमबार खिङ्गा गाउँमा सबै घरका स्थानीय नागरिक समाजघरमा एकतृत भएका थिए । समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए । गुम्बामा पुजारीद्वारा पूजापाठ सकेपछि पुनः समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाइ छ । स्थानीय पुरुष तथा महिलाको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए ।  अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरुले धार्मिक तथा सांस्कृतिक प्रचलनअनुसार यार्तुङ पर्वलाई आत्मसात् गर्दै खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पूरा गरेका थिए । पुरुषहरू वेशभूषामा चिटिक्क सजिदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए । महिलाले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस र सबैतिर शान्ति छाओस् भन्ने कामना गरेको खिङ्गा गाउँकी स्थानीय सेर्केनी गुरुङले उल्लेख गर्नुभयो । यार्तुङमा गाइने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको स्थानीय सेर्केनी गुरुङको भनाइ छ । यहाँको खिङ्गा गाउँबाट दर्जनौँ घोडाको लावालस्करसहित निस्किएको टोलीले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरी पुराङ रानीपौवामा फर्किएको थियो । खिङ्गा गाउँका युवाले मुक्तिनाथस्थित पुराङ रानीपौवामा साहसिक रूपमा घोडा दौडाएका थिए । गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाइलो गरेका थिए ।  स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउनैपर्ने प्रचलन रहेको बताउनुभयो । “यार्तुङमा घोडा नचढेमा यार्तुङ पर्वको कुनै अर्थ हुँदैन, यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएरमात्र यार्तुङ पर्वको औचित्य हुने गुरुङले बताउनुभयो । यार्तुङ पर्वमा गाउँका पुजारीले भोजन गरेपछि मात्रै गाउँले भोजन गर्न पाउने सांस्कृतिक प्रचलन रहेको उहाँले उल्लेख गर्नुभयो । यहाँको खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको करिब पाँच किलोमिटर दूरीमा घोडाका लस्कर निस्किएको थियो । घोडाको लस्कर निस्किँदा दुर्घटनाको जोखिम हुने भएकाले करिब एक घण्टा मुक्तिनाथ सडकमा सवारी चलाउन रोक लगाइएको थियो ।

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयकी सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिनुभयो ।   आदिवासी जनजाति आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सिफारिस गरेको थियो ।   २०७८ को जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ छ । त्यसमध्ये ४ लाख ६४ हजार ३ सय १० (१८.८ प्रतिशत) मगर र २ लाख ७२ हजार २ सय ७० (११ प्रतिशत) गुरुङ समुदायका छन् ।   देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरक्त मगर र गुरूङ भाषाको लागि प्रयोग लिपिलाईसमेत सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नुपर्ने विधेयकमा उल्लेख छ ।    सरकारी कामकाजको भाषा प्रयोगलाई मानकीकरण, आधुनिकीकरण, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आवश्यक उपकरण, भाषा अनुवादसम्बन्धी प्रविधि र यन्त्रको आवश्यक व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने विधेयकमा उल्लेख छ ।         

गण्डकी:  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिला सहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिनुभयो । “हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उहाँले भन्नुभयो, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।” घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उहाँहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिनुभयो । उहाँहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

पोखरा:    जिल्ला कारागार कार्यालय कास्कीमा कैदीबन्दीहरु आन्दोलित भएका छन् ।    कारागारको आन्तरिक चौकीदारमा  आफुहरुको अनुकुल भन्दा बाहिरको मान्छे  नियुक्त गरिएको भन्दै 'क' ब्लकका कैदीबन्दीहरु आन्दोलित भएका हुन् ।   कारागारभित्र आइतबार दिउसोदेखि आन्दोलित कैदीबन्दीहरुले नाराबाज सहित टायर बालेर प्रदर्शन गरिएको थियो । भने, कारागार अगाडी प्रहरीहरु तैनाथ गरिएको छ ।   कारागारको चौकीदारमा कैदीबन्दीहरुको माग बमोजिमको न‍भई असक्षम, अलोकप्रिय चौकिदार नियुक्त गरिएको उनीहरुको आरोप छ।    कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।

ढोरपाटन:   ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ ।  विशेषगरी साउने सङ्क्रान्ति पर्वसँग साइनो जोडिएको थाम रामलाई स्थानीयले संरक्षणमा जोड दिएका छन् । स्थानीयको भाषामा ‘थाम’को अर्थ तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने र ‘राम’को अर्थ मेला भन्ने बुझिन्छ ।  हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै फूल टिप्न लेक पुगेका उनीहरु साँझ गाउँ फर्किएर सङ्क्रान्ति मनाउने गर्छन् । भोलिपल्ट थामडाँडामा जम्मा भएर तरुनीतन्नेरीलाई लेकबाट लिएको फूल लगाइदिने, नाचगान गर्ने र हात समातेर दौडिने गर्छन् । हात समाएर दौडिने संस्कृतिलाई स्थानीयले थाम खेल्ने भन्छन् । थाम खेल्नेमा युवायुवतीदेखि बूढाबूढीसम्म सहभागी हुन्छन् । यो संस्कृतिलाई नयाँ पुस्ताले पनि चासो दिएका छन् । यसरी थाम खेल्दा देवीदेवता खुसी हुने धार्मिक मान्यता छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार पहिलेपहिले थाम खेल्ने जोडीले मायाप्रेम गर्ने र विवाह गर्ने गर्थे । तर पछिल्लो समय त्यो चलन भने कम भएको छ । थाम राम युवायुवतीको जमघट हुने माध्यसमेत रहेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।  “थाम राम यो क्षेत्रको ऐतिहासिक संस्कृति हो, यसमा मगर समुदायको पहिचान जोडिएको छ, लेकमा फूल टिप्न जाँदा देउरालीमा ध्वजा बाँध्ने, फूल चढाउने र पूजा गर्ने गरिन्छ, यसरी फूल चढाउँदा पितृ खुसी हुने जनविश्वास छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “लेकमा फूल टिप्ने र थाम खेल्ने चलन त धेरै पहिलादेखि मनाइँदै आएको छ, हामीहरू पनि यसलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ ।” यो संस्कृति द्वन्द्वकालमा हटेको थियो । विसं २०५७ देखि रोकिएको संस्कृति स्थानीयले गत वर्षदेखि पुनः मनाउन थालेका छन् । स्थानीय ६८ वर्षीय नैनसिंह बुढामगरले यो संस्कृति कहिलेदेखि मान्न सुरु भएको भन्ने यकिन नभएपनि बूढापाकाले भनेअनुसार बाइसेचौबीसे राजाका पालादेखि सुरु भएको हुनसक्ने बताउनुभयो । थाम रामले वर्षौँदेखि टाढिएका प्रेमीप्रेमिका, आफन्त जमघटको अवसर जुटाउने उहाँको भनाइ छ ।  बुढामगरले भन्नुभयो, “थाम राम पुरानो संस्कृति हो, यसबेला फूल टिप्ने, तरुनी तन्नेरीलाई लगाइदिने, नाचगान गर्ने र मनका वेदना पोख्ने गरिन्छ, पहिलेपहिले अहिलेको जस्तो फोनको जमान थिएन, तरुनीतन्नेरी भटे हुनका लागि कुनै मेला महोत्सव हुनुपथ्र्यो, त्यसका लागि स्थानीयले लेकमा गएर फूल टिप्ने र थाम खेल्ने एउटा समय तोके सोहीअनुसार अहिले चल्दै आएको भन्ने लाग्छ, त्योसँगै धार्मिक आस्थासँग पनि यसको महत्व जोडिएको छ ।” यहाँको रिग युवा क्लबले थाम राम संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ । युवालाई एकीतृत गर्ने र पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास गरिएको छ । युवालाई बूढापाकासँगै राखेर सिकाउने कार्य गरेको क्लबका अध्यक्ष भुवनसिंह घर्तीमगरले जानकारी दिनुभयो । युवाले चासो नदिए संस्कृति नै लोप हुने उहाँको भनाइ छ ।

काठमाडौँ:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।   मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।   कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   शुक्रबार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ मा एक बालकको शव फेला परेको छ ।   शुक्रबार बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला परेको हो ।   उक्त शव बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।   रत्ननगर नगरपालिका १५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए । 

रुकुम पूर्व:   भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा ।     मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब तीन घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ ।           

पोखरा:    विगत २१ वर्षदेखि लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित पोखाराको चिप्लेढुंगामा सञ्चालित निरमाया दोहोरी साँझका कलाकारहरुले मानवसेवा आश्रमलाई खाद्यान्नका समाग्री सहयोग गरेको छ ।   दोहोरी साँझको २१ औँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका १७ स्थित संचालनमा रहेको आश्रमलाई करिब २५ हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो ।   कला, संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा पनि क्रियाशिल हुनुपर्ने हेतुका साथ सहयोग गर्न मानव आश्रम पुगेको निरमाया दोहोरी साँझका कलाकार प्रमुख गुप्त गुरुङले जानकारी दिए ।   उनका अनुसार पोखरामा छुट्टै छवि बनाउन सफल निरमाया दोहोरी साँझले हरेक वर्ष वार्षिकोत्सबको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।   सोही अनुसार यस वर्षपनि असार १५ देखि २० गतेसम्म राष्ट्रियस्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारहरुले वार्षिकोत्सबको अवसरमा प्रस्तुती राखेका थिए ।   सोही कार्यक्रममार्फत संकलित रकममध्येबाट आश्रमलाई सहयोग हस्तान्तरण गरेको उनले बताए ।    कलाकार प्रमुख गुरुङका अनुसार सहयोग हस्तान्तरण कार्यक्रममा टेक क्षेत्री, टस गुरुङ, गुप्त गुरुङ, पाण्डव गुरुङ, किसान नेपाली, मनोज नेपाली, लक्ष्मण ठकुरी, प्रशान्त तामाङ, यम नेपाली, सञ्जय गायक, निकेश बिक, इन्द्रा गुुरुङ, बत्ति थापा मगर, चिना थापा मगर, ललिता पुन, सुनिमा गुरुङ, पुजा तामाङ, निरुता थापा मगर, निशा गुरुङ, सरिता राई कलाकारहरुको उपस्थिति रहेको थियो ।   गुप्त गुरुङ नेतृत्वको उक्त कलाकार समूहले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।