आज काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन हुने भएको छ । मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका तीन स्थानमा प्रदर्शन गर्ने भएका हुन् । राप्रपले बल्खुमा विरोध कार्यक्रम गर्दै छ भने नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा र सहकारी तथा लघुवित्तपीडितले शान्तिवाटिकामा प्रदर्शन गर्दैछन् । यसैबिच, नेपाल प्रहरीले सूचना जारी गर्दै सवारी आवागमनलाई सहज बनाउन सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जनाएको छ । मङ्गलबार बिहान एक सूचना जारी गर्दै नेपाल प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरुबो जानकारी दिएको छ । खसिबजार – मकालु – कलङ्की चोक– बाफल बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर । कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।
नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ । करको दायरामा नपर्न व्यवसायीले कवाड (प्रयोग भएका कापी किताब, फलाम, टिन, प्लास्टिक, सिसीलगायतका वस्तु) सङ्कलन गरी अवैध रूपमा भारत निकासी गर्ने गरेकाले नेपाली उद्योग कच्चा पदार्थको अभावमा धरासायी बन्दै गएको बाँकेको बैजनाथ गाउँपालिका–१ मा सञ्चालित पश्चिमाञ्चल एग क्यारेट एण्ड फुड उद्योगका सञ्चालक पुनित शाहले बताए । “उद्योगलाई आवश्यक कच्चा पदार्थ भारत तस्करी भएपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ, कच्चा पदार्थ अवैध रूपमा भारत गइरहे पनि नियामक निकायले चासो दिएको पाइएको छैन”, उनले भने, “कच्चा पदार्थको अभावमा उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसक्दा मजदुरले काम पाएका छैनन, उद्योग धरासायी बन्दै गएको छ ।” रु पाँचदेखि रु १० प्रतिकेजी भन्सारदर रहेको कवाडजन्य वस्तु दैनिक अवैध रूपमा भारततर्फ निकासी हुँदा सम्बन्धित निकायले एकअर्कालाई देखाउँदै नियमनबाट पन्छिँदा त्यसको असर नेपाली उद्योगलाई परिरहेको उनको भनाइ छ । “मेरो उद्योगलाई महिनामा १२० टन कच्चा पदार्थ चाहिन्छ तर अहिले त्यसको आधामात्रै पाउने गरेको छु, त्यसैले उद्योगलाई पूर्ण रूपमा सञ्चालन गर्ने वातावरण हुनसकेको छैन”, सञ्चालक शाहले भने, “यो क्षेत्रमा सङ्कलन हुने कवाडजन्य वस्तु अवैध रूपमा भारत निर्यात नभए कच्चा पदार्थ पर्याप्त रूपमा उपलब्ध हुन्छ, तर यसमा राज्यका निकायले बेवास्ता गर्दै आएका छन् ।” बाँकेलगायत जिल्लामा सङ्कलित कवाड वस्तु खरिद गरी राज्यलाई कर तिर्नुका साथै रोजगारीसमेत सृजना गरेका बाँकेलगायत विभिन्न जिल्लामा सञ्चालित उद्योग कच्चा पदार्थका रूपमा प्रयोग हुने कवाड सामान खरिद गर्न नपाएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनको गुनासो छ । प्रयोग भइसकेको कवाड फलाम नेपालमा नै खरिद हुने भए पनि अन्य कागजन्य कापीकिताब, डप्टी, प्लाष्टिकजन्य वस्तु, व्याट्री, आल्मुनियमलगायत वस्तु भारत तस्करी हुँदै आएको छ । कवाड वस्तु निकासीमा प्रतिकेजी रु १० भन्सार राजस्व शुल्क भए पनि व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारततर्फ निकासी गर्ने गरेको पाइएको छ । भारतीय उद्योगीले कवाड वस्तु केही महँगो दरमा खरिद गर्ने भएकाले नेपाली कवाड व्यवसायीले भन्सार छलेर अवैध रूपमा भारत निकासी गर्ने गरेका छन् । दैनिक साइकलबाट कवाडजन्य वस्तु भारत निकासी हुने गरेको छ । सङ्कलित कवाडको ठूलो अंश बाहिरिने भएकाले यहाँका उद्योगले पुनः त्यही कवाड दोब्बर मूल्यमा आयात गर्नुपर्ने बाध्यता रहेको शाहको भनाइ छ । कवाडसम्बन्धी वस्तुलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योग भैरहवादेखि धनगढीसम्म सय बढी छन् । बाँकेमा २० को हाराहारीमा कवाड व्यवसायी रहेका छन् । उनीहरूमध्ये कतिपयले बाँकेसँगै अन्य जिल्लाबाट कवाड सङ्कलन गरी भण्डारण गरेर भारत पठाउन थालेपछि कवाडसँग सम्बन्धित उद्योगले कच्चा पदार्थ पाउन छाडेको कवाड व्यवसायी सङ्घ बाँकेका अध्यक्ष मोहम्मद उमर हलवाईले बताए ।
भक्तपुर: भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेग’ (माछा मार्ने)जात्रा मल्लकालीन परिवारलाई दर्शाउने जात्रा हो । तान्त्रिक विधियुक्त जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने, ठूलालाई आदर सत्कार, सानालाई मायाप्रेम, सामाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरिएको छ । तान्त्रिक विधिको माध्यमबाट मानव शरीरमा देवत्व प्रतिष्ठापित गरी बोलेरभन्दा निश्चित भाव सङ्केतद्वारा संवाद प्रस्तुत गरी मनाइने जात्राले मल्लकालीन समयको संयुक्त परिवारलाई इङ्गित गर्ने नाचका रुपमा ङालाकेगु जात्रालाई लिन मिल्ने इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । “नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुसरणको सङ्केत नाचमा प्रस्तुत गरिएको छ, सबै देवगणलाई देवगृहमा भित्र्याउने, निष्कासित गर्ने दायित्वसँगै नेवार समुदायमा मानिसको जन्मदेखि मृत्युसम्मको संस्कारमा नंकी (घरमूली)ले संस्कार निभाउने भावप्रधानयुक्त नाच हो”, उहाँले भन्नुभयो, “जात्राले मल्लकालीन समयमा नेवार समुदाय र संस्कारमा नंकी प्रधान भन्ने मूल सन्देश जात्रामा देखाएको छ ।” नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिरलाई सिफोद्यः (महालक्ष्मी)को प्रतीकका रुपमा लिइन्छ । नाचमा भैरव, महाकाली, बाराही, ब्रह्मयणी, महेश्वरी, कुमारी, भद्रकाली, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्हदुम्ह (नन्दीभृंगी) गरी १३ मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ । त्यसबाहेक खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । नाचमा सबै दैत्यहरुको संहार गरी रगत थाप्ने विशेष खालको महापात्र (खप्पर)लाई त्रिपुरासुन्दरीको प्रतीक मानिन्छ । नाचमा मुबाहा (सुँगुरबली)को रगतमा चिउरा मिसाएर बनाएको (धौबजी)लाई प्रसादका रुपमा देवगणले ग्रहण गर्छन् । यो विधि भैरव महाकालीले गर्छ । जात्रामा उनीहरुलाई गणका आमाबुबाका रुपमा लिइन्छ । महाकालीले धौबजी वितरण गर्दा महेश्वरीले लिइँदैन । महेश्वरीलाई बर्खी बाँडेकी देवीका रुपमा पुजिन्छ । माघे सङ्क्रान्तिको भोलिपल्ट सुजमारीबाट सुरु गर्ने जात्रा नगरका २१ स्थानलगायत काठमाडौँको जयबागेश्वरी, थिमी, बनेपा, पनौती, साँखु, चाँगुनारायण, साँगा, श्रीखण्डपुर, टोखा, नालामा प्रदर्शन गरिन्छ । जात्रा सुरु गर्नु एक दिनअगाडि वापी पाछाकिगु जात्रा भनी सुजमारी टोल परिक्रमा गरेर राति खःप्याखं प्रदर्शन गरी मुःवाहा जात्रा गर्ने परम्परा छ । जात्रामा प्रदर्शन गर्ने नाच भैरवनाथको नाचबाट जात्रा सुरु गरिन्छ । गीतको बोल, बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, शाकाहारी, मांसाहारी जस्ता विषयवस्तुहरुमा नाच प्रदर्शन गरिन्छ । भैरवको बाहुलीबाट पूजा गर्ने, बलि दिने, समयबजीका साथ मुबाहालाई लखेटेर मुबाहा ल्यगु (लखट्ने) नाच सुरु गरिन्छ । नाच सुरु गर्न मुबाहा अगाडि खुल्ला ठाउँमा छोडी, लियो लियो पायो पायो भन्दै लखट्दै समातेर सिफोद्यः अगाडि लगी बलि दिन्छ । त्यसपछि क्रमिक रुपमा महेश्वरीले बाहेक सबै गणले रगत खाएपछि भैरव, काली र गणेशको नाच प्रदर्शन गरिन्छ । धान रोपाइँ नाच ब्रह्मायणी, महेश्वरी, कुमारी र भद्रकालीले धान रोपाइँ नाच देखाइन्छ । सृष्टिकर्ताका रुपमा रहेका बह्मायणीबाट नाचबाट सुरु गरिन्छ । कुमारीले परिवारमा चेलीबेटीले गरिने व्यवहारको नाच प्रदर्शन गर्छ । सरसफाइ गर्ने, शृङ्गारहरु गर्ने, खाना पकाउने र बाँडेर खुवाउने कार्य कुमारीले देखाउँछ । नाचमा अरूलाई बाँडेर खुशी हुने कुमारीलाई भैरवले खाली पात्र दियो भनी चित्त दुःखाइ कुमारी तुलेगु (कुमारी विलाप गर्ने) नाच प्रदर्शन गरिन्छ । नाचमा कुमारीलाई लक्ष्मी र सरस्वतीका रुपमा समेत पूजा गरिन्छ । त्यसपछि भद्रकालीले कृषि कार्यको प्रतीकको नाच देखाइन्छ । कुनै प्राणी बाँच्नका लागि खानपान आवश्यक पर्छ भन्ने भाव नाचमा प्रस्तुत गरिन्छ । गणमा महेश्वरीलाई शाकाहारी देवीका रुपमा पुजिन्छ । शान्तिको प्रतीकका स्वरुप यिनलाई गङ्गाजस्तो पवित्र मानी छुट्टै पहिचान भएकी देवीका रुपमा पुजी नाच देखाइन्छ । बाराही नाच बाराहीले घरको महिलाको नाच प्रदर्शन गरिन्छ । बेलविवाह, सूर्यविवाह, बुहारीमा हुनुपर्ने व्यावहारिक ज्ञान, घरपरिवारमा नारीले निभाउनुपर्ने व्यवहार, आदर, सम्मान, शिष्टतालगायत नाच प्रदर्शन गरिन्छ । सिम्हदुम्हको ङालाकेगु जात्रा जात्रामा सिम्हदुम्हलाई भीमसेन र द्रौपदीका रुपमा पुजिन्छ । दुम्हले बालबालिकाहरुका गतिविधिका साथै भीमसेनको भूमिका निभाउँछ भने सिम्हले द्रौपदीको भूमिका निभाउँछ । जात्रामा सिम्हदुम्ह दुवैले ङालाकगु गर्ने टोलमा पैसा माग्न जान्छ । पैसा माग्ने कार्य सकेपछि श्रीमान् श्रीमतीबीच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचारयुक्त सिम्हदुम्हको ङालाकेगु जात्रामा गरिन्छ । जात्रा गर्दा स्थानीय टोलटोलमा तीन पटकसम्म ङालाकेगु गर्छ । महाकाली नाच सिम्हदुम्हको ङालाकेगु जात्रापछि युद्धको भूमिका, नारी र तीन नेत्रको क्रोधयुक्त नाच महाकालीले देखाइन्छ । गणमा महाकालीलाई सबैभन्दा क्रोधी देवीका रुपमा प्रस्तुत गरिन्छ । नाचमा देवीहरुको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको प्रदर्शन गरिन्छ । नाचमा आफूले बलि नपाउँदा रिसाइ फर्कने क्रोधी देवीका रुपमा देखाइन्छ । श्वेतभैरवको खास्टो लुट्ने फिर्ता गर्ने नाच यो नाच महिषासुरको वध गरेपछि रगताम्य महाकालीले वस्त्र सफा गरी रहेको बेला श्वेतभैरवले सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको देखाइन्छ । आफूलाई लुकीछिपी हेरेर जिस्काए भन्दै क्रोधित महाकालीले श्वेतभैरवसँग खास्टो लुटेर लिने नाच देखाइन्छ । त्यसपछि खास्टो फर्काउन श्वेतभैरवले महाकालीलाई मायाले फकाए पनि मान्दैन । जति मायाले फकाए नि महाकाली नमानेपछि स्वेतभैरवले बाटोमा पैसा मागेर महाकालीलाई चढाएर मनाउन खोज्छ । क्रोधित महाकालीले भाले कुखुरा खाने इच्छा प्रकट गर्छ । श्वेतभैरवले त्यही पैसाले भाले किनेर महाकालीलाई चढाउँछ । महाकालीले खुसी भई मुखबाट भालेको टाउको छुट्याइ बलि लिन्छ र भैरवलाई खास्तो फिर्ता गर्छ । यस कथालाई जीवन्त दिँदै नाच प्रदर्शन गरिन्छ । श्वेतभैरवको ङालाकेगु जात्रा खास्तो फिर्ता गरेपछि सिम्हदुम्ह, बालकुमारी, श्वेतभैरव र महाकालीबीच विशेष पूजा गरी गरिन्छ । त्यसपछि श्वेतभैरवले बोक्ने पुलुको सबै कुनामा माछा राखेर श्वेतभैरवको नाच देखाइन्छ । माछा राख्न सकेपछि पुलुले श्वेतभैरवलाई हावा हम्काई ङालाकेगु जात्रा गरिन्छ । यो जात्रा टोलटोलमा तीन पटकसम्म गरिन्छ । श्वेतभैरवको पेट दुख्ने नाच माछा मार्ने जात्रा सकेपछि श्वेतभैरवलाई पेट दुखेर छटपटिरहेको नाच देखाइन्छ । सिम्हदुम्हलाई भनेर इन्द्रायणीलाई बोलाउन पठाई अक्षता छरेर निको पारिन्छ । यसपछि श्वेतभैरव र इन्द्रायणीको नाच प्रदर्शन गरिन्छ । नाचमा स्वेतभैरवले सिम्हदुम्हको सहयोग लिई लुगा धुन लगाउँदा लुगा फालिदिन्छ । फालिदिएपछि सिम्हदुम्हलाई गाली गरी आफैँले लुगा धुने नाच देखाइन्छ । समापन नाच समापन नाच राति देखाइन्छ । यस नाचमा श्वेतभैरवको नाच देखाइन्छ । लगत्तै सम्पूर्ण देवगणहरुले सामूहिक नाच प्रदर्शन गरिन्छ । त्यसपछि स्थानीयवासीका हर्षोल्लासका साथ बाजागाजा अगाडि राखेर जयजयकारका साथ धूप, अगरबत्ती बाली देवगृह पु¥याई जात्रा सम्पन्न गरिन्छ । प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण, उत्साह उमङ्ग छाएको हुन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइको सामना गर्नुपर्छ । नेवार समुदायमा वर्षदिनको चाड घण्टाकर्णदेखि सुरु भई सिथी नखाःमा समापन हुन्छ । घण्टाकर्णसँगै नवदुर्गा उत्पत्ति भई सिन्हाज्या सुरु गरिन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप सुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट ग्रसित हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो । नवदुर्गागणको नाचबारे प्रचलित किंवदन्तीअनुसार भक्तपुर नगरको पूर्वमा अवस्थित नालागाउँमा एउटा ब्रह्मायणी जोल भन्ने जङ्गल थियो । सो जङ्गलको खोँचमा एउटा मन्दिर छ । उक्त मन्दिरबाट नवदुर्गागण प्रकट भई नाच्ने, जङ्गलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगबलि लिने कारण जनजीवन भयावह अवस्था आयो । एकपल्ट नालाकै एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो हुँदै जाँदा नवदुर्गाले भोगबलि लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै गणको दर्शनपूजन गर्न पाउँ भनी बिन्तीभाव गर्दा गणले मानेपछि आचाजुले सबै देवगणलाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली (नेवार समुदायान पूजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई नालास्थित आफ्नै घरमा लगेछ । आचाजु जीवत भएसम्म नित्य पूजा भयो तर मृत्युपछि पूजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगबलि लिन थाले । भोगबलिकै लागि नवदुर्गाले मनुष्यको रुपधारण गरी नालाका मानिसहरुलाई जङ्गलमा लाने र भोगबलि लिन थाले । यस्तो भएपछि नालामा पुरुष नहुने स्थिति आयो । एक दिन नालामा नवदुर्गाले भोगबलि लिएका मानिसको कर्मकाण्ड गर्न सोमराज नाम गरेका एकजना ब्राह्मण गएछन् । कारणवश ब्राह्मण आचाजुको घरमा पुगेछन् । घरको अवस्था देखेर उहाँले आचाजुको घरमा खोजीनिति गर्दा एउटा कोठामा कलाली भेटाएछ । ब्राह्मणले तान्त्रिक मन्त्रद्वारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर आफ्नो बासस्थान सोमला गल्लीमा लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित नित्यकर्म पूजापाठ गर्न थाले । एक दिन ब्राह्मण स्नान गर्न गएका बेला उहाँको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेर्दा देवगणले चाल पाएर कोप भई त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट कोप भई गएपछि इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुँगुरको भोगबलि लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुनः फर्कन आग्रह गर्छन् । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनुपर्छ भनी सबै गण समावेश भएको गणखा (वनमाला समुदाय)लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टीका) धारण गरेपछि देव प्रतिनिधि हुन पाउनेछन् । यसकारण नवदुर्गाको मुबाहाका रुपमा सुँगुरलाई लिएको मानिन्छ । आठ महिना सञ्चालन हुने यो जात्रा नगरको तुलाछेस्थित त्रिपुरासुन्दरी, तुछिमला, इच्छुबाहेक बाहिर जिल्लाका पनौती र बनेपा गरी पाँच ठाउँमा बाँकी रहेको छ । खाली पेटमा जाँड र रक्सीको भरमा नाङ्गो खुट्टाले नाच्नुपर्ने कठोर नाचको नियम पालना गर्दै जात्रालाई जीवन्त राख्दै आएका वनमाला समुदायको संरक्षण र संवद्र्धनका लागि गुठी संस्थान, भक्तपुर नगरपालिकालगायत राज्यले विशेष बन्दोबस्त गरिदिनुपर्ने जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका पूर्वसचिव रत्नमान वनमालाले बताउनुभयो ।
नवलपुर: सुस्ता गाउँपालिका- ५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुंगे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् । एक वर्षअघि यहाँ झोलुंगे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् । यहाँ निर्मित झोलुंगे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता- ५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताए । ‘यहाँ झोलुंगे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ । हालसम्म होमस्टे (घारवास) तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ । स्थानीयले स-साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ,’ उनले बताए । वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकी मुलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून संख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेको बताए । दैनिकी एक हजारभन्दा बढी पर्यटक झोलुंगे पुल अवलोकन गर्न आउन थालेका जनाउँदै उनले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख गरे। सुस्तामा झोलुंगे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनाराण उपाध्यायले बताए । हाल स-साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरवास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उनको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताए । उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे । कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए।
ललितपुर: बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेलीस्थित कान्ती लोकपथ सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ हजार ८० ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी रक्सौल नगर–५ पछियाटोल घर भएका २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी टुमरिया ग्राम पञ्चायत–५ घर बताउने २० वर्षीय समिर आलम, भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी राजाबजार नगर–३३ घर बताउने ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी पलानवा ग्राम पञ्चायत–९ घर बताउने ४५ वर्षीय नोर्जान खातुन रहेका छन् । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको थियो । एम्बुलेन्समा सवार समिर आलम, मोहम्मद मुन्ना अन्सारी र नोर्जान खातुनलाई पक्राउ गरेको थियो भने तत्काल फरार चालक मोहम्मद उमर सिद्दिकीलाई बागमती गाउँपालिका–३ सार्वजनिक सडकबाट शनिबार बिहान पक्राउ गरेको हो । सो विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन्। अरनिको राजमार्गसँग जोडिएको दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे खण्डअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल खण्ड स्तरोन्नति भइरहेको हो। बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (एएफ) आयोजना कार्यान्वयन इकाई भक्तपुरमार्फत ६.५ किलोमिटर सडक विस्तार भइरहेको आयोजना कार्यालयले जनाएको छ। गत असोजको बाढीपहिरोले करिब १.५ किमी सडक क्षतिग्रस्त बनाएपछि उक्त क्षेत्रमा नयाँ डिजाइन गर्नुपर्ने आयोजना कार्यालयका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए। नयाँ डिजाइन नहुँदासम्म यो क्षेत्रमा काम गर्ने अवस्था नरहेको उनको भनाइ छ। श्रेष्ठका अनुसार विस्तारित सडकमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी सातादेखि ग्रेडिङको काम गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको उनले बताए। एसियाली विकास बैंक (एडिबी)को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले २०८० चैत १३ गते दुई वर्षमा सम्पन्न गर्नेगरी रु १२ करोडमा ठेक्का लिएको थियो। हालसम्म २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षभित्र असपाल्ट प्रविधिबाट कालोपत्र गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ। यसैबीच, गत साता बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्सालले निर्माणाधीन सडक अनुगमन गरी तोकिएको समयभित्रै काम सम्पन्न गर्न आयोजना तथा निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका थिए। हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल सडकअन्तर्गत हबेली–सापिङ खण्डमा कालोपत्र सुरु गरिएको छ। प्रदेश सरकारको बजेटबाट स्तरोन्नति थालिएकामा शुक्रबार ‘प्राइम’ हालेपछि आजदेखि पिच बिछ्याउने काम थालिएको निर्माण कम्पनीका व्यवस्थापक प्रदीप गौतमले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा तीन किमी २०० मिटर असपाल्ट प्रविधिबाट कालोपत्र र चार सय मिटर ढलानको काम हुनेछ। र नौ करोड ३२ लाख ६५ हजार ५०० मा पूर्वाधार विकास कार्यालय धुलिखेलले गत मङ्सिरमा पिएसके–एभरेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो। उक्त आयोजना आगामी मङ्सिरसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ।
चैतेदसैँको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । चैतेदसैंको मुख्य दिन शनिबार अष्टमीको दिनमात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन रु ११ लाख ८१ हजार भेटीसमेत सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । पछिल्लो समय प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा वृद्धि भइरहेको खड्काले बताउनुभयो । उहाँले मुस्ताङ हिँडेका धार्मिक पर्यटक कालिका दर्शनलाई आउने गरेको बताउँदै चैतेदसैँको मुख्य दिनएकै पटक एक हजार चारपाङ्ग्रे सवारीसाधनले बाङ्गेचौर खेल मैदान भरिएको जानकारी दिनुभयो । चैतेदसँै सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरे पनि मुख्य दिन बिहानै ४ बजेदेखि एक किलोमिटरभन्दा लामो लाइनमा भक्तजनले लामबद्ध भएर कालिका मन्दिर दर्शन गरेका थिए । “अहिलेसम्मकै बढी भक्तजन कालिका मन्दिरमा भित्रिएको अनुनमान छ, सिसी क्यामेरा, फूलप्रसाद बिक्रीको सङ्ख्या, भेटीको सङ्ख्या र एक किलोमिटरभन्दा लामो लाइन दिनभर भएकाले चैतेदसैँको मुख्य दिनमात्र तीन लाख दर्शनार्थी र चैतेदसैँभर छ लाख पर्यटक भित्रिएका छन्”, अध्यक्ष खड्काले भन्नुभयो, “चैतेदसैँमा बलीको सङ्ख्या घटे पनि नगद भेटी चढाउनेको सङ्ख्या बढेकाले एकैदिन रु ११ लाख भेटी सङ्कलन भएको हो ।” नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैतेदसैँ मेला यस वर्ष चैतको २० देखि २५ गतेसम्म चलिरहेको छ । नवरात्रको चौथो दिनदेखि नै कालिका मन्दिरको पार्किङस्थलले नथेगेपछि धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा पठाइएको थियो । चैतेदसैँ मेलामा रु तीन करोडभन्दा बढीको आर्थिक कारोबार हुने मन्दिर व्यवस्थापन समितिको अपेक्षा रहेको छ । कालिका मन्दिरका कारण बागलुङको पर्यटन व्यवसाय फस्टाउँदै गएको पर्यटन व्यवसायी एञ्जिल शाक्यले बताउनुभयो । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकाको मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ । चैतेदसैँ मेलामा घरायसी प्रयोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुहरुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ ।
जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुमपश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रुकुमपश्चिम र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरुमा सामान्य चिरा परेको एवं भवनहरु चर्किएको विवरण जनाएको छ । अधिकांश व्यक्तिहरु बसिरहेका भवन संरचना भत्किएरभन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हामफाल्दा, असावधानीपूर्वक घरबाहिर अत्तालिएर भाग्न खोज्दा घाइते भएका पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज जारी गरेको सूचनामा भनिएको छ, “भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, अब उप्रान्त भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरुको अनुशासनपूर्वक पालना गर्न सबैमा प्राधिकरण विशेष अनुरोध गर्दछ ।”