पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा जेठ ८ गतेदेखि हनि हन्टिङ महोत्सव हुने भएको छ ।  लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज (मंगलबार) पोखरामा पत्रकार सम्मलेन गर्द...

पोखरा:    नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनको स्मृति प्रतिष्ठान सञ्चालनमा आएको छ। संस्थापक अध्यक्ष पुनमगरको स्मृतिमा ‘हेमबहादुर पुन स्मृति प्रतिष्ठान’ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएर सञ्चालनमा आएको हो।   प्रष्ठिानका सचिव मेजन पुनका अनुसार संस्थापक अध्यक्ष पुनको २० औँ स्मृति दिवसको अवसरमा गत भदौ ३१ मा नेपाल मगर संघको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमले प्रतिष्ठान सञ्चालनमा ल्याउने निधो गरेको थियो। सोही निर्णय बमोजिम संस्थापक अध्यक्ष पुन मगरका छोरा पूर्वमन्त्री उत्तम पुनको संरक्षकत्वमा प्रतिष्ठान विधिवत दर्ता भएर सञ्चालनमा आएको हो। क्याप्टेन रविन्द्र पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहने सचिव पुनले जानकारी दिए। प्रतिष्ठानले संस्थापक अध्यक्ष पुन मगरले देखाएको बाटो फराकिलो पार्दै लैजाने अठोट गरेको सचिव पुनले जानकारी दिए। ‘हेमबहादुर पुन मगर ज्यूले मगर जातिको उत्थानमा गर्नु भएको लगानी त हामीले पूरा गर्न सक्दैनौँ। तर उहाँले देखाउनु भएको बाटो, मगर जातिलाई जागरुक बनाउन प्रतिष्ठानले जति सक्छ प्रयास गर्ने छ,’ उनले भने।   संस्थाले सामाजिक कल्याणका लागि गरिब दिनदुखीको हितका लागि पनि काम गर्ने उनले जानकारी दिए।   संस्थापक अध्यक्ष पुनमगर ब्रिटिश आर्मीबाट अवकाश भएपछि नेपाल आर्मीमा सेकेण्ड लेफ्टिनेन्टमा भर्ती भएका थिए। पुन मगरको विस १९७५ बैशाख ६ गते म्याग्दीको तत्कालिन शिख, हाल अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा जन्म भएको थियो।

काठमाडौं:  गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्।    अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। वैशाख ५ गते विवाह तय भएको विष्णुले जानकारी दिए। झापाबाट उनीहरूको विवाह हुन लागेको हो।    दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तोसमेत गरिसकेका छन्।    झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।    एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। 'के माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु' जस्ता गीतहरू उनका निकै चलेका गीत हुन्। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनी गीतसंगीतमा समेत सक्रिय छन्। 

 म्याग्दी:   दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर  घ्वार्र‘ घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन हराउँदै गएको हो ।   करिब एक दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या बाक्लै थियो । कुनै समय गोठमा रहेका पशुचौपाया र ठेँकी हेरेर घरको हैसियत आकलन गरिन्थ्यो । अहिले समय, परिवेश फेरिएको छ । समयसँगै मानिस गाउँ छोडेर सहर र सहर छोडेर विदेश पस्न थालेका छन् । गाउँमा पशुपालन गर्ने, रैथाने सीपमा आधारित ठेकाठेकी बनाउने चुँदारा व्यवसाय पनि हराउँदै गएको स्थानीय बताउँछन् । रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइने ठेकाठेकी बिक्न छोडेपछि अहिले आफ्नो पेसा नै सङ्कटमा पर्ने अवस्था आएको जिल्लाका चुँदारा व्यवसायीले बताएका छन् ।   गाउँघरमा कतैकतै मही पारे पनि प्लास्टिकका ठेँकीको प्रयोग हुन थालेको ५० वर्षदेखि काठका ठेकाठेकी बनाउँदै आउनुभएका बुर्तिबाङका नोठबहादुर विकले बताए । रैथाने काठका सामग्रीलाई आयातित प्लास्टिकका सामग्रीले विस्थापित गरेको उनको भनाइ छ । काठबाट ठेका बनाउन विश्वकर्मा समुदायका मानिस सिपालु मानिन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिएको विकले बताए । कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी पनि सङ्कटमा पर्न थालेका उनको भनाइ छ ।   ‘व्यवसाय नै परिवर्तन गर्ने अवस्था आएको । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग घट्दै गएपछि जीविकोपार्जन गर्नसमेत समस्या हुन लागेको छ’, विकले भने ।   वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका बेनी नगरपालिका(५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले यो पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । १०र१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसालाई आफूले निरन्तरता दिएको भन्दै उनले दरबाट बनेका ठेकाठेकी बिक्न छोडेपछि जीविकोपार्जनमा समस्या हुन थालेको बताए ।   आफूले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायत ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको श्रीकृष्णलालको भनाइ छ ।   केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक रू २५ र ३० हजारसम्म आम्दानी हुने गरेको भन्दै पछिल्लो समय मेलापर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका उनले बताए ।   अहिले मुस्किलले मासिक रू पाँचरसात हजार मात्र कमाइ हुने गरेको श्रीकृष्णलालले बताए । उनले भने, ‘प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।’   बजारमा काठका सामानको बिक्री घट्दै जानु, आयातित प्लास्टिकका सामग्रीको प्रयोग बढ्नु, गाउँघरमा काठका सामान बनाउन कच्चा पदार्थको अभाव हुनुलगायत कारणले परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ ।   मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारहरुले बताउँछन् ।   विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायत समान बनाउने गरेका विश्वकर्माले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गर्दछन् ।

बागलुङ:   मध्यपहाडी लोकमार्गअर्न्तगत बागलुङको निसीखोला गाउँपालिका ६ को जाउलेपानी यात्रुबस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।  प्रहीका अनुसार घटनास्थलमै  ७ जनाको र उपचारका लागि बुर्तिवाङ लैजाने क्रममा १ गरी ८ जनाको मृत्यु भएको हो ।    दुर्घटनामा परी  २५ जना घाइते भएका छन् । सो बसमा चालकसहित ३३ जना सवार रहेको खुलेको छ । मृतक मध्ये ५ जना पुरुष र ३ जना महिला छन् । उनीहरुको सनाखत भने हुन सकेको छैन । रुकुम पश्चिमबाट आज बिहान साँढे ११ बजे काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रु बस साँझ ५ बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।  

पोखरा:  पोखराको काहुँडाँडामा भीषण डढेलो लागेको छ । सोमबार दिउँसोदेखि काहुँडाँडा ंजंगलमा  भीषण डढेलो लागेको हो ।   आगलागीबाट केही घर जोखिममा रहेको बताइएको छ ।  यतिबेला आगो नियन्त्रणका लागि दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र स्थानीय बासिम्दाहरु लागिरहेका छन् । यद्यपी आगौ फैलिएकालो नियन्त्रणमा भने आउन कठिन रहेको छ ।   आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।  

म्याग्दी:  म्याग्दीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।    पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार  मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् ।   खोप्राबाट झरेका तीन जना पर्यटक लिन गएराती उक्त जीप पालिका केन्द्र पोखरेबगरबाट पाउद्वार गाउँ गएको थियो ।   जीप सडकदेखि करिब ५० मिटर तल खसेको म्याग्दी प्रहरीले जनाएको छ ।    

गलकोट:    बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ । उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका–३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ ।  साल तथा कटुसको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको हो । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको मगर महिला समूहले जनाएको छ ।  रु तीन लाख लागतमा सञ्चालनमा ल्याइएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कुसुम बुढाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।  उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालन ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुसी व्यक्त गर्नुभयो ।  धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ । दुनाटपरी  रेस्टुराँमा प्रयोगमा आउन थालेको छ । २८ जनाको महिला समूहले बङ्गुरपालन व्यवसाय गर्दै आएकामा गत वर्षको अफ्रिकन स्वाइन फिवरका कारण बङ्गुर मरेपछि दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको उद्यमशील मगर महिला समूहका अध्यक्ष बलकुमारी पुनले जानकारी दिनुभयो ।  काठमाडौँदेखि दुनाटपरी बनाउने रु एक लाख ९२ हजारको औजार खरिद गरेर भाडामा सटर लिएर दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको पुनको भनाइ छ । अहिले महिला समूहले दुनाटपरी बनाउनका लागि प्रशिक्षण लिइराखेको उहाँको भनाइ छ ।  “झन्डै रु २२ लाखको लगानीमा खोलिएको बङ्गुरपालन व्यवसायबाट नोक्सानी भयो, महिला समूहले राम्रो आम्दानी गर्दै आएको बङ्गुरपालन व्यवसाय धराशायी भएपछि अहिले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका छौँ, विशेषगरी सालको पातलाई सुकाएर मेसिनमा राख्दा सोझै दुनाटपरी बनेर निस्कन्छ,” पुनले भन्नुभयो, “बागलुङमा पोखरा र बुटवलबाट दुनाटपरी आयात भएको देखेपछि महिला समूहले सामूहिक रूपमा दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो, उक्त उपकरणले पाँच थरी साइजका दुनाटपरी बनाउन सक्नेछ ।” महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याए पनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाइ छ । उद्यमशील मगर महिला समूहले रु १५ लाख सङ्घीय सरकारको अनुदान र महिला समूहको रु सात लाख लगानीमा खाल्टेखेतमा बङ्गुरपालन गर्दै आएको थियो । गत वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण बङ्गुर फार्ममा रहेका छ सय बङ्गुर मरेपछि मगर महिला समूहले यस वर्ष दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो ।  बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेस्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग उच्च रहेको र आयातित दुनाटपरीलाई प्रतिस्थापन गर्न दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।   दुनाटपरी उद्योगले मगर महिला समूहले रोजगारी पाउने अपेक्षा गरिएको छ । दुनाटपरीलाई रु दुईदेखि रु आठसम्ममा बजारमा बिक्री गर्न सकिनेछ । बागलुङको भीमगिठेमा यसअघि नै दुनाटपरी उद्योग सञ्चालनमा आएको थियो ।

पोखरा:   मृगौला पीडित विवेक गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आर्थिक सहयोग गरेका छन् । फाउण्डेशनका संस्थापक गुरुङले देश तथा विदेशबाट संकलन भएको ९० हजार ५ सय ५  रुपैयाँ मृगौला पिडित गुरुङलाई आज निवासमै पुगेर हस्तान्तरण गरे ।  कास्कीको मादी गाउँपालिका–७ घर भई पोखरा बस्दै आएका २५ वर्षीय विवेक गुरुङले विगत एक वर्षदेखि डायलासिस गर्दै आएका छन् ।  परिवारको आर्थिक अवस्था कमजोर भएपछि गुरुङको उपचारार्थमा सहयोग पु¥याउने उद्धेश्यले सहयोग संकलन गरेर आर्थिक सहयोग गरेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए ।  ‘लामा अमृत फाउण्डेशन घान्द्रुकले खेलकुददेखि सामाजिक कार्यमा सहयोग गर्दै आएको छ’, संस्थापक गुरुङले भने, ‘मृगौला पिडित विवेक गुरुङको परिवारले उपचारमा सहयोग गर्न अपिल गरेपछि सहयोग संकलन गरेर परिवारलाई हस्तान्तरण गरेको छु । र सबैलाई सक्दो सहयोग गर्नसमेत अपिल गर्दछु ।’ मृगौला पीडित विवेकको उपचारका लागि देश तथा विदेशमा रहेका नेपाली दाजुभाईबाट सहयोग संकलन गरेर हस्तान्तरण गरेको फाउण्डेशनका संस्थापक गुरुङले बताए ।  परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न विवेककी आमा चुनमाया गुरुङले अपिल गरिन् ।  ‘छोरा भर्खर २५ वर्ष पुगेको छ, कमाउने उमेरमा छोरालाई यस्तो रोगले समायो’, गुरुङले भनिन्, ‘म आफै मृगौला पीडित छु, दुईवर्ष अगाडि एउटा मृगौला फाले, छोराको उमेर छ कमाउला भन्ने आशा छ, छोराको मृगौलाको उपचारको लागि सहयोग गर्न सबैलाई अपिल गर्छु ।’ मृगौला पीडित विवेक गुरुङलाई सहयोग गर्न प्रिती गुरुङको लक्ष्मी सनराइज बैंकको खाता नम्बर ११००६७८१९४२२५००१ मा सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

गण्डकी:     ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ ।  समुद्री सतहबाट एक हजार छ सय ५० मिटरको उचाइमा रहेको यो गाउँको प्राचीन मौलिकतालाई जगेर्ना गर्दै गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सती घाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई जोगाएर राखिएको छ । गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पसगाउँमा विसं २०६० देखि घरवास९होमस्टे० सञ्चालन गर्दै आइएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष एवं क्होलासोँथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । “पर्यटनको विकासलाई लक्षित गरी प्रकृति र संस्कृतिलाई होमस्टेमार्फत जोड्ने गरी निरन्तर लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्राचीन मौलिकताको जगेर्ना गर्दै पर्यटनको विकाससँगै स्थानीयको आजआर्जन वृद्धि गरी समृद्धि हासिल गर्नु हाम्रो लक्ष्य छ ।”  होमस्टेमा प्रत्येक दिन एक सयसम्म पर्यटक राख्न सकिने होमस्टेका अध्यक्ष गुरुङले बताउनुभयो । “स्थानीय मौलिकतालाई जोगाउनका लागि ढुङ्गाले छाएका घरलाई संरक्षण गरिएका छन् । गाउँका चोक तथा बाटो पनि ढुङ्गाले छापिएका छन्”, उहाँले भन्नुभयो । यहाँका एक सय ५३ घरधुरीमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका स्थानीय चन्द्रबहादुर गुरुङले बताउनुभयो । विगतमा यहाँ भेडापालन राम्रो हुने गरे पनि पछिल्लो समय कृषिप्रतिको अनिच्छासँगै भेडापालनमा कमी आएको उहाँको भनाइ छ । पछिल्ला समय युवा जनशक्ति विदेशिने क्रमको असर रमणीय गाउँहरूले भोगिरहेको बताउँदै चन्द्रबहादुरले यसबाट पसगाउँ पनि अछुतो नबनेको उल्लेख गर्नुभयो ।  यहाँको मौलिकता जोगाउनका २०६० सालदेखि होमस्टे एकजुट भएर लागिरहेको बताउँदै ७८ वर्षीय पदमबहादुर गुरुङले गाउँको शिरको क्होंमे्रडाँडा, पुछारमा रहेका कलात्मक प्राकृतिक शिला, भ्वाँभ्वाँ बाजालगायत वस्तुले यहाँको पहिचान बनाएको उल्लेख गर्नुभयो । कैलाश पर्वत जस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई पनि उजागर गरेको पदमबहादुरले बताउनुुभयो । गाउँ भन्दा तल रहेका प्राकृतिक शिलाको अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै यी शिलालाई गाउँको पर्यटनसँग जोड्नु अपरिहार्य रहेको उहाँले बताउनुभयो । शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वास रहेको भन्दै पदमबहादुरले प्रत्येक साउने सङ्क्रान्तिमा लुतो फाल्ने समयमा यस भिरमा बन्दुक पड्काउने प्राचीन विश्वास रहेको उल्लेख गर्नुभयो । “मैले बाल्यावस्थामा साउने सङ्क्रान्तिको दिन साँझ लुतो फल्ने समयमा बन्दुक पड्किएको प्रत्यक्ष अनुभूति गरेको छु”, उहाँले भन्नुभयो ।  यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेको उल्लेख गर्दै पदमबहादुरले पूजा गरेमा मनले चिताएको पुग्ने विश्वास रहेकाले यहाँको धार्मिक महत्व झनै बढेको बताउनुभयो । यहाँस्थित ढुङ्गाको प्वालमा फुकेर भ्वाँभ्वाँ गरी बजाउने प्राकृतिक बाजा पनि अर्को महत्वपूर्ण आकर्षण रहेको स्थानीय पदमबहादुरको भनाइ छ । ढुङ्गाको प्वालबाट फुक्दा वरपरका गाउँसम्म सुनिने गरी भ्वाँभ्वाँ बज्ने भएकाले यसलाई भ्वाभ्वाँ बाजा भनिएको उहाँले जानकारी दिनुभयो । गाउँमा होमस्टे सञ्चालनमा आएसँगै पोखरालगायत विभिन्न स्थानबाट पर्यटक आउने गरेका पसगाउँ सामुदायिक होमस्टेका पूर्वअध्यक्ष बलराम गुरुङले बताउनुभयो । गाउँमा कूल एक सय ५३ घरमध्ये अधिकांश गुरुङ समुदायका रहेका बताउँदै उहाँले हाल २१ घरमा होमस्टे सञ्चालन भइरहेको जानकारी दिनुभयो ।  सुरुमा तीना घरबाट होमस्टे सुरु गरिएको भन्दै बलरामले यहाँ आएका पर्यटक खुसी भएर फर्कने गरेको अनुभव सुनाउनुभयो । पसगाउँ आइपुग्न अझै पनि बाटो राम्रोसँग व्यवस्थित भइनसकेको बताउँदै उहाँले बाटोलगायतका पूर्वाधार निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । पसगाउँ आउन विभिन्न बाटा रहेका छन् । लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ । पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारीसाधन सञ्चालन हुन्छन् ।  पोखराहुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो व्यवस्थित नहुँदा यात्रुले समस्या भोग्दै आएका यातायात व्यवसायी अनिल गुरुङले बताउनुभयो । मादीतर्फका केही खण्डमा सडक व्यवस्थित गर्न सकेमा नियमित आवतजावत सहज बन्ने उहाँको भनाइ छ ।  प्रकृति र संस्कृतिले सम्पन्न पसगाउँसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्न राज्यको ध्यान पुग्नु जरुरी रहेको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । “प्रकृति र संस्कृतिले सम्पन्न गाउँमा पर्यटक पुग्नका लागि सडक सञ्जाल व्यवस्थित हुनु अपरिहार्य छ”, उहाँले भन्नुभयो, “राज्यले सडक व्यवस्थित गरिदिएमा यहाँका स्थानीय पर्यटकीय गतिविधि बढाउन थप अग्रसर हुनेछन् ।” प्रचारप्रसार र प्रवर्द्धनका माध्यमबाट रमणीय गाउँलाई पर्यटनसँग जोड्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोख्रेलले बताउनुभयो । स्थानीयको जागरुकतासँगै पर्यटन प्रवर्द्धनमा बोर्डका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।