नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जानकारी दिएको हो।    महाशाखाले भनेको छ, ‘आज मिति २०८३ असोज १७ (3rd October, 2026) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट बाहिरिएको छ।’   मौसमविद्का अनुसार मनसुन एकैचोटि पूरै देशबाट बाहिरिँदैन। यो प्रणाली देशको पश्चिमी क्षेत्रबाट क्रमश: हट्दै हट्दै पूर्व कोसी प्रदेशबाट बाहिरिन्छ। मनसुन देशभरबाट पूर्ण रूपमा बाहिरिन केही दिन लाग्छ।  नेपालबाट वर्षा यामको मौसम प्रणाली मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। यद्यपि यो औसत मिति मात्र भएकाले मनसुन ठ्याक्कै यही दिन नेपालबाट बाहिरिँदैन, यसको केही दिन अघि वा पछि बाहिरिन्छ। यसपटक औसत मितिको भोलिपल्ट अर्थात् अक्टोबर ३ तारिखका दिन देशका केही प्रदेशबाट मनसुनको प्रभाव हटेको हो। अब केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।    नेपालमा मनसुन भित्रिने औसत मितिचाहिँ जुन १३ तारिख हो। यस वर्ष मनसुन यो मितिभन्दा ६ दिन ढिला जुन १९ तारिख (असार ५ गते) कोसी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमश: फैलिँदै जुन ३० तारिख (असार १६ गते) सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो अर्थात् देशव्यापी भएको थियो।    मनसुन अवधिमा नेपालमा मनसुनी अर्थात् पूर्वी वायु चल्छ भने यसको अन्त्यपछि पश्चिमी वायुको प्रभाव बढ्छ।     मनसुन पूर्ण रूपमा अन्त्य भएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। अनि डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ।    अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ।   यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ।    मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।   आजका लागि यस्तो छ मौसम प्रक्षेपण २०८३ असोज १७ गते (शनिबार)   दिउँसो : कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी तथा देशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।   राति : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग तथा देशका तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानपख हुस्सु लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ साल असोज १६ गते रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो।   प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले तालचोक क्षेत्रमा ५ वटा, वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले लेकसाइड–राष्ट्रबैंक चोक क्षेत्रमा १ वटा, वडा प्रहरी कार्यालय बगरको टोलीले नदीपुर क्षेत्रमा ३ वटा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अमर सिंहचोक क्षेत्रमा २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   प्रहरीले सवारी साधनमा अनधिकृत रूपमा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने कार्य नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ६८८ वटा सवारी साधन र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।   प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन नगर्न तथा प्रचलित कानुनविपरीत ध्वनि प्रदूषण हुने गरी सवारी नचलाउन आग्रह गरेको छ।

काठमाडौं ।  त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।   कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो ।   अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।   सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो ।   चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।    युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो ।   प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहनेछ ।   प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्  ।    प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा ।    विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ ।   पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा हरिनास गाउँपालिकालाई हराउँदै गल्याङले उपाधि जितेको हो ।   प्रतियोगिताबाट शुक्लागण्डकी–१२ ले सान्त्वना स्थान हाँसिल गर्याे । उपाधि जितेको गल्याङले नगद १ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने उपविजेता बनेको हरिनास गाउँपालिकाले ५० हजार रुपैयाँ तथा सान्त्वना स्थान हाँसिल गरेको शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गल्याङका उमेश सेन्चुरी पुरस्कृत भएको खेलकुद संयोजक पीताम्बर सुनारले जानकारी दिए ।   उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा हरिनास गाउँपालिका–६ का सुनील मानन्धर, बेस्ट ब्लकरका रुपमा हरिनास गाउँपालिकाकै सञ्जित मानन्धर, बेस्ट डिफेन्डरका रुपमा गल्याङका सुशील विश्वकर्मा र बेस्ट सर्भरका रुपमा शुक्लागण्डकी–१२ का विशाल ठाकुरी उत्कृष्ट कोचमा गल्याङका श्याम विश्वकर्मा घोषित हुँदै जनही २ हजार रुपैयाँ प्राप्त गरे ।   समापन समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले विश्वकर्मा समाज केवल एउटा समुदायको नाम नभई श्रम र सीपबाट सिर्जित पहिचान भएको धारणा राखिन् ।   समाज निर्माणमा महत्वपूर्ण योगदान दिने सीपयुक्त हातहरूको सम्मान गर्नुपर्ने उनले बताइन् ।   गौतमले भलिबल प्रतियोगिता केवल जित र हारको प्रतिस्पर्धा मात्र नभई युवाहरूलाई जोड्ने माध्यम, प्रतिभा उजागर गर्ने अवसर तथा अनुशासन र सहकार्य सिकाउन मद्दत पुग्ने उल्लेख गरिन् ।   आयोजक संस्थाका अध्यक्ष बेलबहादुर विश्वकर्माले नवौं संस्करणको प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण रहेपनि प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन समाजका सबै तहबाट सहयोग भएकै कारण सफल भएको बताए ।   उनले युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो।   बाढीमा घाइते भएका २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।   फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनसहितका आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित) गरिएको छ।   शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।   बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।   हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ५५  जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४२ जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ।

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो।   नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो,सहज र सेवामुखी बनाउनेछ। ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुनेछ।   पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।   सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैं छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ। यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो।   प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको छ।   नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु भएपछि प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको छ।

काठमाडौँ।  मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।   शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेको टेन्टमाथि ठूलो हिमपहिरो खसेपछि दुवै जना सम्पर्कविहीन भएका थिए। खोजी तथा उद्धार टोलीले उनीहरूका शव करिब सात फिट गहिरो हिउँमुनि पुरिएको अवस्थामा फेला पारेको हो।   अभियान आयोजक कम्पनी मकाउ एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालका अनुसार खराब मौसमकाबिच गुहा र शेर्पा क्याम्प–२ बाट क्याम्प–३ तर्फ अघि बढेका थिए। त्यही क्रममा उनीहरू बसेको टेन्टमाथि हिमपहिरो खसेको थियो।   अभियानमा सहभागी अन्य ६ जना पर्वतारोहीले भने मौसम बिग्रिएपछि क्याम्प–२ बाटै फर्किने निर्णय गरेका थिए। उनीहरू सुरक्षित रहेको बताइएको छ।   दुवैसँग अन्तिमपटक शनिबार राति सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन नसकेपछि उद्धार टोली क्याम्प–३ पुगेको थियो। टोलीले खोजी गर्दा दुवैका शव हिउँमा पुरिएको अवस्थामा फेला पारेको हो।   हाल उद्धार टोलीले शवलाई क्याम्प–३ बाट बेसक्याम्पतर्फ ल्याउने प्रयास गरिरहेको छ। मौसम अनुकूल भए सोमबार बेसक्याम्पबाट शव काठमाडौं ल्याउने तयारी गरिएको छ।   ध्रुव ज्योति गुहा भारतीय मूलका जर्मन पर्वतारोही थिए र जर्मनीमा बस्दै आएका थिए। उनी मनास्लु आरोहणका लागि नेपाल आएका थिए। उनका गाइड फुरसेम्बा शेर्पा मकालु क्षेत्रका अनुभवी नेपाली पर्वतीय गाइड रहेको बताइएको छ।   यस पर्वतारोहण सिजनमा मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको अभियान आयोजकले जनाएको छ। यसअघि सिंगापुरका एक पर्वतारोही र नेपालका एक गाइडको पनि अलग–अलग घटनामा मृत्यु भएको थियो।

पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे ।   जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बुटवलबाट यात्रु लिएर पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवातर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आइतबार दिउँसो साढे ३ बजे तानसेन नगरपालिका–८ भोलेबासमा दुर्घटनामा परेको थियो ।   दुर्घटनामा गम्भीर घाइते भएकी खाम्चाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।     दुर्घटनामा खाम्चासहित ६ जना घाइते भएका थिए । दुर्घटनामा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २९ वर्षीय चालक नरबहादुर राना, सोही ठाउँका ५६ वर्षीय कृष्णबहादुर मगर, पूर्वखोला–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवती टोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उनका ७ वर्षीय छोरा साहिर सारु र ५ वर्षीया सायरा खाम्चा घाइते भएका छन् ।   घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त गाडी सडकबाट अन्दाजी २० मिटर तल खोलामा खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।