काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ । आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ । निगमले निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई÷तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।
ढोरपाटनः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले ११ केभी विद्युत् लाइन ढोरपाटन पुर्याएको जानकारी दिनुभयो । अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरेको भन्दै बिहीबारदेखि नियमित विद्युत् प्रसारण भएको उहाँको भनाइ छ । रु १५ करोड लागतमा ढोरपाटनमा विद्युत् पुर्याएको प्रमुख मरासिनीले बताउनुभयो । ढोरपाटनसम्म लाइन पुगेपछि अब स्थानीयका घरघरमा पुर्याउने उहाँको भनाइ छ । ढोरपाटन जोड्ने ११ केभी प्रसारण लाइन बिहीबारदेखि चार्ज गरिएको उहाँ बताउनुहुन्छ । प्रमुख मरासिनीले भन्नुभयो, “पश्चिम बागलुङको बुर्तिबाङमा केन्द्रीय लाइन पुगेको केही वर्षमात्रै भयो, त्यसभन्दा माथि अधिकारीचौरसम्म दुई वर्ष अगाडि पुगेको थियो, यसपालि ढोरपाटनसम्मै पुर्याएका छौँ, अब सानो हाइड्रोपावरबाट विद्युत् सेवा पाएका नागरिकले केन्द्रीय लाइन बाल्न पाउनेछन् ।” ढोरपाटन क्षेत्रमा एक बजार बढी घर दूरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनामार्फत विद्युतीय सेवा लिँदै आएका थिए । विसं २०६८ मा सञ्चालनमा आएको गर्पाखोला लघुजलविद्युत् आयोजना र पाँच वर्ष अगाडि आएको ढोरपाटन भुजीखोला लघुजलविद्युत आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले सास्ती भोग्दै आएको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो । केन्द्रीय लाइन आएपछि अब सहज हुने उहाँको भनाइ छ । अध्यक्ष घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ, खाल्डेखुल्डेलगायत करिब २५० बढी घरमा अहिलेसम्म विद्युत् नै नपुगेको बताउनुभयो । स्थानीयले माग गरेपछि हामीले सहजीकरण गरेर लाइन जडान गर्ने उहाँ बताउनुहुन्छ । “ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था छ, स्थानीयले टुकी र दियालो बालेर रात कटाउँदै आएका छन्, केन्द्रीय लाइन आयो, अब सहज हुनेछ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “अब कोही पनि नागरिकले विद्युत सुविधा लिनबाट वञ्चित हुनुपर्ने छैन ।” ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जलविद्युत्बाट पर्याप्त विद्युत् उत्पादन नहुँदा विद्युतीय मेसिन चलाउन नपाएको भन्दै अब कपडा धुने मेसिन, हिटरलगायत उपकरण चलाउन सकिने बताउनुभयो । ढोरपाटनमा अत्यधिक चिसो हुने हुँदा बाह्रै महिना हिटर चलाउनुपर्ने अवस्था रहे पनि अहिलेसम्म स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा चलाउन नपाएको पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय ढोरपाटनमा पर्यटकको आकर्षण बढेको छ, होटल व्यवसाय सञ्चालन गर्नेहरूका लागि केन्द्रीय विद्युत् नहुँदा निकै समस्या थियो, चिसो पानीमा कपडा धुनुपर्ने बाध्यता थियो, ठूलो मेसिन चलाउन पाएका थिएनौँ, अब सजिलो हुने भयो, पर्यटकले पनि लाभ लिन सक्ने भए ।” विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय, आर्मी ब्यारेक र विद्यालयहरूमा पनि लाइन जोडिने भएको छ । ढोरपाटनमा पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय कुलबहादुर विकले स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा ढोरपाटनभरका बस्तीमा विद्युत् नपुगेको बताउनुभयो । अब हरेक स्थानीयको घरका विद्युत् पुग्ने आस पलाएको उहाँको भनाइ छ । यहाँका अधिकांश स्थानीय बर्खायाममा ढोरपाटन र हिउँदमा बेँसी क्षेत्रमा बस्ने गर्छन् । बर्खाभरि अँध्यारोमा बस्न बाध्यता रहेको भन्दै अब उक्त समस्या समाधान हुने अपेक्षा लिएको विकले सुनाउनुभयो ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी भइरहेका बेला उनलाई अचानक हृदयघात भएको थियो । कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठकमा थापाले आफ्नो मन्तव्य राखिरहेका थिए । उनले करिब १० मिनेट सम्बोधन गरेपछि अचानक मञ्चमै ढलेका थिए । घटनालगत्तै उनलाई उपचार लागि तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याएपछि उपचारकै क्रममा उनको मृत्यु भयो । घटनाबारे एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले जानकारी दिएका छन् । 'पार्टी बैठकमा बोल्दाबोल्दै थापा अचानक ढलेपछि तत्काल अस्पताल पुर्याइएको थियो', बरालले भने । उनले थापाको उपचारकै क्रममा निधन भएको बताए ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमपोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागुऔषध सेवनकर्ताले गएराति बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहागरपालिका–१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन् । दुवै घाइतेको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरिएको छ ।
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो । सूचना अधिकारी न्यौपानेले उहाँका अनुसार प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत प्राप्त गरेको छ । नेकपा (एमाले)ले एक लाख ५२ हजार ५८७ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ५५६ मत र श्रम संस्कृति पार्टीले १८ हजार ९९ मत प्राप्त गरेको छ । प्रदेशमा राष्ट्रिय जनमोर्चाले सात हजार ७७०, राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार २२६, मङ्गल नेसनल अर्गनाजेसनले दुई हजार ८५५, प्रगतिशील लोकतान्त्रिक पार्टीले दुई हजार ५४८, नेपाली जनता संरक्षण पार्टीले एक हजार ९४९, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले एक हजार ४१९, नेपाल कम्युनिष्ट पार्टी माओवादीले एक हजार ३७८, नेसनल रिपब्लिक नेपालले एक हजार ३४४ र जनमत पार्टीले एक हजार २११ मत प्राप्त गरेका छन् ।
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आउनुभएको छ । सहज जीवनयापनको खोजीमा पहाडबाट तराई झर्नेहरूको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ । यसैगरी, परिस्थितिमा बझाङको बुँगलका शङ्कर पनि जीविकोपार्जनको नयाँ सम्भावना खोज्दै परिवारसहित कञ्चनपुर झर्नु भएको हो । तराईमा आएपछि उहाँले नयाँ पेसा रोजेनन्, बरु पुर्खौंदेखि गर्दै आएको धातुजन्य सामग्री निर्माण गर्ने परम्परागत सीपलाई नै जीवनयापनको आधार बनाउनु भएको छ । हाल उहाँ फुलेलीमा करिब डेढ कट्ठा जग्गामा कच्ची घर बनाएर बस्दै आउनुभएको छ । घरकै छेउमा सानो आरन सञ्चालन गरेर शङ्करले विभिन्न प्रकारका कृषि तथा घरायसी प्रयोगका सामान बनाउने काम गर्दै आउनुभएको छ । उहाँले आरनमा फलाम तताएर पिट्दै विभिन्न आकारका सामग्री तयार गर्नु हुन्छ । शङ्करले किसानलाई आवश्यक पर्ने हँसिया, बञ्चरो, चक्कु, दाउ, माना, पाथीलगायतका कृषि औजार बनाउने गर्नुहुन्छ । घरायसी प्रयोगका लागि कडाही, पानी बोक्ने फोला, चरु, कुडीलगायतका सामान पनि आरनमै तयार हुन्छन् । आरनमा तयार गरेका सामग्री स्थानीय बासिन्दाका घरघरमा पुगेर उहाँले बिक्री गर्नुहुन्छ । शङ्करका अनुसार पहाडमा बस्दा आरनमा बनाइने सामानको राम्रो माग थियो । गाउँका किसान र सर्वसाधारणले स्थानीय रूपमा बनाइएका बलिया र टिकाउ सामान प्रयोग गर्न रुचाउँथे । तर पछिल्लो समय बजारमा कारखानामा बनेका सस्ता र सजिलै पाइने सामान बढ्दै जाँदा परम्परागत आरन पेसा सङ्कटमा परेको उहाँको भनाइ छ । “पहाडमा बस्दा हामीले बनाएका सामान सजिलै बिक्री हुन्थे,” उहाँले विगत सम्झँदै भन्नुभयो, “हामीले बनाउने सामान बलियो र टिकाउ हुन्छन्, तर बजारमा रेडिमेड सामान सजिलै पाउन थालेपछि ग्राहक खोज्नै गाह्रो हुन थाल्यो ।” पहाडमा आरनमा बनाइने सामानको माग घट्दै गएपछि उहाँ जीविकोपार्जनको खोजीमा तराई झर्नु भएको हो । तराईमा बजार ठूलो हुने र सामान सजिलै बिक्री हुने अपेक्षा गरेका भए पनि यहाँको वास्तविकता भने फरक देखिएको उहाँ बताउनुहुन्छ । “यहाँ बजार त ठूलो छ,” शङ्करले भन्नुभयो, “तर कारखानामा बनेका सस्ता सामान धेरै पाइन्छन्, हामीले हातैले धातुलाई पिटेर बनाउने सामान बनाउन धेरै मेहनत लाग्छ, त्यसैले लागत पनि बढी पर्छ ।” “आरनको काम निकै मेहनतिलो हुन्छ, फलामलाई आगोमा तताएर हातौडाले पिट्दै आवश्यक आकार दिनुपर्छ,” उहाँ भन्नुहुन्छ, “त्यसपछि धार लगाउने, घिसार्ने र प्रयोगयोग्य बनाउने प्रक्रिया हुन्छ, यो काममा शारीरिक श्रम र अनुभव दुवै आवश्यक पर्छ ।” सामान तयार भएपछि शङ्करले श्रीमतीसँगै ती सामान टाउकोमा बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्नु हुन्छ । कहिलेकाहीँ धेरै टाढासम्म पैदल हिँडेर पनि सामान बेच्न जानुपर्ने हुन्छ । आरनमा तयार पारिएका धातुका सामान बिक्री गरेर लुहारले महिनामा करिब रु १० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्ने गरेका छ् । तर यो आम्दानी स्थिर भने नहुने गरेको उहाँको अनुभव रहेको छ । ग्राहक कम हुँदा आम्दानी निकै घट्ने गरेको उहाँ बताउनुहुन्छ । “कहिलेकाहीँ ग्राहकले सामान नै किन्दैनन्, बिक्री हुँदैन्,” शङ्करले भन्नुभयो, “त्यस्तो बेला थोरै कमाईमै चित्त बुझाउनुपर्छ, यही कामबाट आउने पैसाले घरको चुलो बलिरहेको छ, बालबालिका र जहान पालिएका छन् ।” यस काममा शङ्करलाई उहाँकी श्रीमती किर्रा लुहारले पनि साथ दिँदै आउनुभएको छ । सामान तयार भएपछि उहाँ दुवै जना गाउँ–गाउँ पुगेर बिक्री गर्नुहुन्छ । किर्राका अनुसार कतिपय ठाउँमा सामान नगदमा बिक्री हुन्छ भने कतिपय ठाउँमा अझै पनि साटासाट ९विनिमय० प्रणाली प्रचलनमा छ । “कहिलेकाहीँ नगद पाइन्छ,” किर्राले भन्नुभयो, “तर कतिपयले अन्न वा बाख्रासँग साटेर सामान लिन्छन्, त्यसैले हामी दुवै जना सँगै जानुपर्छ ।” लुहार दम्पतीका पाँच छोरा र दुई छोरी छन् । उहाँहरूले आरन चलाएरै कमाएको पैसाले दुई छोरा र एक छोरीको विवाह सम्पन्न गर्नुभएको छ । परिवारको अधिकांश खर्च यही पेसाबाट आएको आम्दानीले धानिएको उहाँ निसङ्कोच बताउनुहुन्छ । तर, पछिल्लो समय आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि उहाँका एक छोरा रोजगारीका लागि भारत गएका छन् । “यो काममा मेहनत धेरै छ, कमाई कम,” शङ्करले भन्नुभयो, “त्यसैले नयाँ पुस्ता यो पेसामा बस्न चाहँदैन ।” उहाँ भन्नुहुन्छ, “सरकारले आरन सुधारका लागि आधुनिक मेसिन तथा उपकरण अनुदानमा उपलब्ध गराए काम गर्न निकै सहज हुने थियो ।” “मेसिन भए काम छिटो हुन्छ श्रम कम गर्नुपर्ने हुन्छ,” शङ्करले भन्नुभयो, “लागत पनि घट्छ र बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।” तर अहिलेसम्म कुनै सरकारी निकाय वा सम्बन्धित संस्थाले परम्परागत पेसा जोगाउने कार्यमा लागेकाहरूको अवस्था बुझ्न चासो नदेखाएको गुनासो उहाँले गर्नुभयो । “आफ्नै पौरख गरेर कमाउनेलाई कसैले हेर्दैन,” शङ्करले भन्नुभयो, “हाम्रो सीपलाई जोगाउन सरकारले सहयोग गरिदियो भने राम्रो हुन्थ्यो ।” शङ्करका अनुसार अहिलेको नयाँ पुस्ताले परम्परागत पेसा छोडेर अन्य रोजगारी खोज्न थालेका छन् । कम आम्दानी र धेरै श्रमका कारण युवापुस्ताले आरनको काममा चासो देखाउन छाडेका छन् । शुक्लाफाँटा नगरपालिका–८ का वडा सदस्य लालबहादुर महराले वडामा रहेका आरन सुधारका काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शङ्कर लुहारको परिवार वडामा आएको डेढ वर्ष मात्रै भएकाले आगामी दिनमा आरन सुधारका लागि सहयोग गर्ने योजना बनाइनेछ । “वडामा रहेका धेरै आरन सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन्,” महराले भन्नुभयो, “लुहार परिवारका लागि पनि आगामी दिनमा सहयोग गर्ने प्रयास गरिनेछ ।” परम्परागत सीप र श्रममा आधारित आरन पेसा अहिले आधुनिक उद्योग र बजार प्रतिस्पर्धाबीच अस्तित्व जोगाउन सङ्घर्षरत छ । शङ्कर लुहार जस्ता कारिगरहरूको सीप संरक्षण गर्न सकेमा स्थानीय उत्पादन, परम्परागत ज्ञान र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवाला बताउँछन् ।
म्याग्दी: वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यटकीय गाउँ हुन् । यी दुवै गाउँलाई जोड्ने ढोडेनी खोला माथि बनेको ३८८ मिटर लामो झोलुङ्गे पुल स्थानीयको सुविधाको माध्यम त बनेको छ नै पर्यटकीय आकर्षणको केन्द्र समेत बन्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर लम्बाइ तथा १७० मिटर उचाइ भएको यो झोलुङ्गे पुलमा रमाई प्राकृतिक दृश्यावलोकन गर्न म्याग्दीको रत्नेचौर र बागलुङको पञ्चकोट तथा कुडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि आएका पर्यटकहरू आउने गरेका रत्नेचौरका सुशीला भण्डारीले बताउनुभयो । तीन वर्षअघि २०७९ सालमा सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ढोडेनी खोलामाथि रु तीन करोड ५० लाखको लागतमा निर्माण गरेको यो पुलले दुई जिल्ला जोड्नाका साथै कृषि उपजको बिक्री र पर्यटन विकासमा पनि महत्वपूर्ण सहयोग पुगेको बेनी नगरपालिका–१ का वडाअध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । “पहिला पहिला कुडुले पुग्न एक डेढ घण्टा हिँड्नु पथ्र्यो । पुल बनेपछि डेढ घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ,” वडाअध्यक्ष थापाले भन्नुभयो, “पुलले सुविधा मात्रै दिएको छैन, रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र बागलुङको पञ्चकोट, कुडुलेको शालग्राम सङ्ग्रहालयको अवलोकनका लागि आएका धार्मिक पर्यटक र रत्नेचौरको भाइरल रोड, तोरीबारी र ज्यामरुककोटमा आएका पर्यटकहरू समेत पुलमा पुगेर रमाउँदै म्याग्दी, बागलुङ र पर्वतका प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाएका छन् ।” बेनी–बागलुङ सडक खण्डको पूर्वतर्फ रत्नेचौरस्थित श्रीलक्ष्मीहरि मन्दिर नजिकै निर्माण भएको यो पुलले अर्जम, रत्नेचौर, ज्यामरुककोट, फापरखेत, खबरा, फेदी, कुडुले, बान्द्रे, भान्सालगायतका गाउँका बासिन्दाले उत्पादन गरेका कृषि उपजको बजारीकरण र आर्थिक कारोबारमा पनि सुविधा पुगेको रत्नेचौरका मेखबहादुर बोगटीले बताउनुभयो । “पुलकै कारण बागलुङ आएका पर्यटकहरू रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुगेको छ ।” म्याग्दीमा तीन सय मिटरभन्दा लामा तीनवटा पुल निर्माण भएका छन् । यसअघि उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने ३६५ दशमलव ८० मिटर लामो र १४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । त्यसैगरी, पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् । तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।

