काठमाडौं: नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ। हमासले ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका जोशीको शव इजरायललाई बुझाउने भएको हो। इजरायलको अखबार (जेरुसेलम पोस्ट)ले यसअघि अज्ञात रहेका भनिएका जोशीको निधन भएको र शव आजै बुझाउने तयारी भएको उल्लेख गरेको हो। हमासले विपिनसँगै बगाय इलुज, योसी शाराबी र ड्यानियल पेरेजको शव बुझाउन लागेको समाचारमा उल्लेख छ। इजरायलसँग युद्धबिराम भएसँगै हमासले सोमबार आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धक पनि बुझाएको थियो।
काठमाडौं: गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ । सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइएको हिब्रु भाषाका मिडियाहरूले जनाएका छन्। यससँगै अब हमासको नियन्त्रणमा कुनै पनि जीवित बन्धक बाँकी नरहेको जनाइएको छ। उता नेपाली युवक विपिन जोशीको अवस्थाबारे अहिलेसम्म मृत्यु भएको या जीवित रहेको खुलेको छैन । उनका दाजु किशोर जोशीले इजरायली अधिकारीसँगको कुराकानीका आधारमा बताएअनुसार विपिनलाई हमासका सदस्यले अझै सुरूङभित्र खोजिरहेका छन् । तर अहिलेसम्म उनी जीवित या मृत रहेको केही खुलेको छैन । हमासले पनि विपिनलाई जीवित या मृत दुवै सूचीमा राखेको छैन । यस्तो अवस्थामा उनको वास्तविक अवस्था खुल्न नसकेको हो । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले केही सञ्चारमाध्यधलाई इजरायली अधिकारीहरूले विपिनको निधन भइसकेको भनेर अन्तर्वार्ता दिएका छन् । तर विपिनको एकीन अवस्था के हो भन्ने जवाफ हमासले अहिलेसम्म दिन सकेको छैन । हालसम्म इजरायली रक्षा बल ९आईडीए० र रेडक्रसले यसबारे औपचारिक पुष्टि गरेका छैनन्। हमासले दक्षिणी गाजाबाट बाँकी १३ जीवित बन्धकहरू हस्तान्तरण गरेको हो । २८ जना बन्धकका शवहरू अझै पनि उक्त हमासको नियन्त्रणमा छन् । केहीको शव सोमबार नै इजरायलमा हस्तान्तरण गर्ने योजना छ । मुक्त गरिएका २० जना बन्धक एल्काना बोहबोट, माटान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ–हाइम ओहाना, एलोन ओहेल। एभ्यातार डेभिड, गाइ गिल्बोआ–दलाल, रोम ब्रास्लाभ्स्की, गाली बर्मान, जिभ बर्मान, एइतान मोर, सेगेभ काल्फोन, निम्रोड कोहेन, म्याक्सिम हर्किन र एइतान होर्न।
रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ । सोही जिल्लाको राजदेवी नगरपालिका–८, लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राधनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी बेपत्ता भएका थिए । सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूको शव खाल्डोबाट बाहिर निकालेको हो । उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिताकुमारी बैठालाई भने स्थानीय बासिन्दाहरूले सकुशल उद्धार गरेका छन् ।
काठमाडौं: सम्झौताअन्तर्गत इजरायलले अझै जीवित रहेको विश्वास गर्ने गाजामा बन्दी बनाइएका २२ जना जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएको २० जनाको सूचीमा नेपाली नागरिक विपीन जोशीको नाम समावेश छैन । उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न भएको हो । यी बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको ऐतिहासिक आक्रमणका क्रममा अपहरणमा परेका थिए । उक्त आक्रमणलाई इजरायलको इतिहासकै सबैभन्दा घातक घटना मानिन्छ । हमासको सशस्त्र शाखाले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत रिहा हुने बन्धकहरूको नामावली सार्वजनिक गरेको छ । नामावलीमा समावेश २० जना मध्ये अधिकांशलाई हमासले गाजा पट्टीका विभिन्न स्थानमा बन्दी बनाएको थियो । तीमध्ये केही सैनिक, केही नागरिक र केही विदेशी नागरिकता भएका इजरायली रहेका छन् । रिहा हुने बन्धकको नाम मतन एङ्ग्रेस्ट, गली र जिव बर्मन, एल्काना बोबोट, रोम ब्रास्लाभस्की, निम्रोद कोहेन, डेभिड र एरियल कुनियो, इभ्यातार डेभिड, गाइ गिलबोआ दलाल, म्याक्सिम हर्किन, इटन हर्न, सेगेव काल्फोन, बार कुपरस्टीन, ओमरी मिरान, एटान मोर, योसेफ हैम ओहाना, एलोन ओहेल, अविनातन ओर र मतन जाङ्गाउकर । यी सबै व्यक्ति हमासद्वारा विभिन्न समयमा सार्वजनिक गरिएका भिडियोहरू र प्रत्यक्षदर्शी बयानहरूमा देखिएका थिए । उनीहरू मध्ये धेरैजना सुपरनोभा सङ्गीत महोत्सवका सहभागी, सैनिक वा सीमावर्ती क्षेत्रका बासिन्दा थिए । इजरायली अधिकारीले बन्धकहरूको सुरक्षित फिर्तीका लागि आफ्नो कूटनीतिक प्रयास जारी रहेको बताएका छन् । इजरायली राष्ट्रपतिका अनुसार युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा यी २० जनाको रिहाइ हुनेछ भने बाँकी बन्धकहरूको फिर्तीका लागि छलफल अघि बढ्नेछ । हमास र इजरायलबीचको यो सम्झौता सन् २०२३ अक्टोबरमा सुरु भएको दुई वर्षभन्दा बढीको युद्ध अन्त्यतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । ट्रम्पले प्रस्ताव गरेको २०–बुँदे शान्ति योजनाको प्रारम्भिक कार्यान्वयनका रूपमा यो आदानप्रदान सम्पन्न हुन लागेको हो । रिहा हुने बन्धकहरूका परिवारहरू तेल अभिव र जेरुसेलममा भेला भई आफ्नो प्रियजनको सुरक्षित फिर्तीका लागि आभार व्यक्त गरिरहेका छन् । इजरायली सरकारका अधिकारीहरूका अनुसार ‘यी नागरिकहरूको फिर्ती हाम्रो सामूहिक दृढता र अन्तर्राष्ट्रिय साझेदारीको परिणाम हो । गाजाबाट आफ्ना प्रियजनहरू सुरक्षित फर्कँदा देशभर राहत र खुसीको वातावरण छाएको छ ।” २४ वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत हुनुहुन्थ्यो । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन जोशी घाइते भएर अपहरणमा पर्नुभएको थियो । रासस/ एएफपी
पोखरा: दक्षिण कोरियाको छाङवोन शहरमा अक्टोबर २४, २५ र २६ गते २०औं बहुसांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। ख्यानाम इजुमिन सेन्टर छाङवनद्वारा आयोजित यस कार्यक्रममा १६ देशका प्रतिनिधिहरूले आ–आफ्नो मौलिक संस्कृति, भेषभूषा र कलाको झल्को दिनेछन्। नेपालतर्फबाट यसपटक विशेष रूपमा नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) प्रस्तुत गरिनेछ। परेड तथा स्टेज कार्यक्रममार्फत यो सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रदर्शन गरिने तयारी भइरहेको छ। कार्यक्रममा विशेष अतिथि कलाकारका रूपमा नेपालकी चर्चित गायिका मिलन नेवार सहभागी हुँदैछिन्। उहाँले सांगीतिक प्रस्तुतीमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनेछिन्।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। अंकबिहीन कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा निश्चित गर्ने लक्ष्य नेपालको छ। नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ। सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ। सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्। सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान चारचार अंक छ। रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन्। कतार र सामाओ भने अंकबिहीन छन्।
बागलुङ: यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् । यहाँको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ५५ हजार ६०० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यसवर्ष उत्पादनमा कमी आएको उनको भनाइ छ । उनका अनुसार गत वर्ष तीन हजार ७०० हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो भने ५६ हजार २४० मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ८४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो । किसानले उत्पादन गरेको आलु प्रतिकेजी ३५ रुपैयाँमा बिक्री भएको अधिकारीले बताए । ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड ६० लाख रुपैयाँ, २०८१/०८२ मा एक करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ । यहाँ उत्पादित आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेको छ । किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकेजी ४० र बर्खे आलु प्रतिकेजी ५० रुपैयाँमा बिक्री गरे पनि यस वर्ष ३५ रुपैयाँमात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ । आलु लगाउने बेला लामो समय खडेरी पर्दा यसवर्ष उत्पादनमा थोरै गिरावट आएको हो ।
काठमाडौं: इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि हुनुहुन्छ । उहाँलाई जीवित रहेको विश्वास गरिएको छ । चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत हुनुहुन्थ्यो । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा पर्नुभएको थियो । विपीनका परिवारका अनुसार उहाँ गाजामा जीवित रहनुभएको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उहाँकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहनुभएको छ । अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उहाँ पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौँ आउन आठ–आठ घण्टाको बस यात्रा गर्नुभयो । गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् । विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उहाँका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गर्नुभएको थियो । इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ । विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किनुभयो भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’ इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकहरूको नामावली यस्तो छ ? मातान एङ्ग्रेस्ट (२२), गली बर्मन (२८), जिव बर्मन (२८), एल्काना बोबोट (३६), रोम ब्रास्लावस्की (२१), निम्रोद कोहेन (२१), अरिएल कुनियो (२८), डेविड कुनियो (३५), एव्यातार डेविड (२४), गाइ गिलबोआ–दलाल (२४), मक्सिम हार्किन (३७), इटन होर्न (३८), विपीन जोशी (२४), सेगेव काल्फोन (२७), बार कुपरस्टीन (२३), ओमरी मिरान (४८), एटान मोर (२५), तामिर निमरोदी (२०), योसेफ–चेइम ओहाना (२५), एलोन ओहेल (२४), अविनातन ओर (३२) र मातान जाङ्गाउकर (२५) । रासस/एपी
काठमाडौं: नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको छ। यो सँगै नेपालले महत्वपूर्ण २ अंक जोड्यो। नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ। नेपालको जितमा आसिफको अर्धशतक अनि दीपेन्द्र सिंह ऐरीको सानदार बलिङ जितलो प्रमुख कारण बन्यो। जितको लागि १ सय ४१ रनको चुनौती पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो। नेपालले बलिङमा राम्रो सुरुवात गर्यो। पहिलो ओभरमा ललित राजवंशीले मेडन ओभर बलिङ गरे। दोस्रो ओभरमा सोमपाल कामीले मुहम्मद वासिमलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए। वासिम १ रनमा आउट भए। चौथो ओभरको युएईले समाप्तिमा १ विकेट गुमाएर १४ रन बनाएको थियो। पाँचौं ओभरको दोस्रो बलमा नन्दन यादवको बलमा अलिसन सराफुको ब्याटमा कनेक्ट हुन नसकेको बलमा दीपेन्द्र र कप्तान रोहित पौडेलले क्याच छुटाए। त्यसपछि सराफुले सोही ओभरमा छक्का र चौका प्रहार गरे। उनी क्रिजमा जमे।पाँचौं ओभरमा ११ रन र छैटौं ओभरमा १५ रन जोडेर युएईले पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा ४० रन जोड्यो। सराफुले ३४ बलमा नन्दनलाई छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनले अर्धशतक बनाउने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे। सराफु र जोनाथन फिगीले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे। १९ रनमा ओपनर जोनाथन दीपेन्द्रको बलमा आउट भए। त्यसपछि दीपेन्द्रले नै सराफुको महत्वपूर्ण विकेट लिए। उनी १४ औं ओभरको पहिलो बलमा बोल्ड आउट भए। ४० बलमा ५८ रन जोडेर पबिलियन फर्किए। लगतै हर्षित कौशिक २ रनमा गुलशन झाको बलमा नन्दनद्वारा क्याच आउट भए। त्यतिखेर युएईले ४ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो। १६ औं ओभर रोमाञ्चक बन्यो। यो ओभरमा नेपालले २ विकेट झार्यो। ७ रन बनाएका राहुल चोपरालाई दीपेन्द्रले उत्कृष्ट शैलीमा रन आउट गरे। लगत्तै अर्को बलमा बसिल हमिद सन्दीप लामिछानेको बलमा क्लिन बोल्ड आउट भए। १५।३ ओभरमा युएईले ६ विकेट गुमाउदा युएईको ९६ रन थियो। युएईलाई यतिखेर जितको लागि २६ बलबाट ४५ रन जरूरी थियो। जहाँ १७ औं ओभरमा युएई १५ रन जोड्न सफल रह्यो। नन्दनको १९ औं ओभरमा युएईले १२ रन जोड्दा नेपाल दबाबमा आयो। तर अन्तिम ओभर अत्यन्त रोमाञ्चक बन्यो। अन्तिम ६ बलमा युएईलाई जितका लागि १० रनको आवश्यकता थियो। अन्तिम ओभरमा दीपेन्द्र बलिङमा आए। तेस्रो बलमा परासरले छक्का प्रहार गरे। बाँकी ३ बलमा ३ रन जरुरी थियो। जुन संभव हुन सकेन । चौथो बलमा परासर ३२ रन बनाएर सन्दीप जोराद्वारा क्याच आउट भए। पाँचौ बलमा हैदरलाई जोराले रन आउट गराए। अन्तिम बलमा जाहिद अली १ रन लिएर अर्को रन लिने क्रममा रन आउट भएको छ। यो सँगै नेपालले १ रनको जित हात पारेको छ। बलिङमा दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। सन्दीप, गुलशन र सोमपाल समान विकेट लिंदा युएईका ३ खेलाडी रन आउट भए। त्यसअघि ओमान क्रिकेट एकेडेमीको मैदानमा कप्तान रोहितले टस जितेर ब्याटिङको निर्णय गरे। नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन रन बनायो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो पावर प्लेमा ४५ रन जोडे। नेपालले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि ५६ रनको साझेदारीपछि कुशल आउट भए। २६ बलमस २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर हर्षित कौशिकको बलमा एलबिडब्लु धरापमा परे। त्यसपछि रोहित क्रिजमा छिरे। आसिफसँग मिलेर ३९ रनको साझेदारी गरेपछि रोहित २० रनमा आउट भए। उनी मोहम्मद रोहिदको बलमा मोहम्मद फारूकको बलमा क्याच आउट भए। त्यसपछि ४५ बलमा आसिफले अर्धशतक बनाए। ४७ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित ५१ रन जोडेर आउट भए। उनी धुव्र परासरको बलमा बोल्ड आउट भए। यतिखेर नेपालले १६ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ३ रन बनाएको थियो। त्यसपछि बाँकी ४ ओभरमा नेपालले ३७ रन जोड्यो। दीपेन्द्र मात्र १ ,गुलशन १४ र कुशल मल्ल १० रनमा आउट भए। गुलशनले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे। सन्दीप जोर ४ र सोमपाल ६ रनमा नटआउट रहे। बलिङमा जुनेद सिद्दिकी, मोहम्मद रोसिद, जाहिद अलि, हैदर अलि, हरिश कौशिक र धुव्र परासरले समान विकेट लिए। सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ। युएई र कतारको २ अंक छ। अब नेपालले भोलि कतारसँग खेल्नेछ। आज भएको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले हराउँदै महत्वपूर्ण २ अंक जोडेको छ। ओमानले २० ओभरमा ६ बिकेट गुमाउँदै १ सय ७२ रन जोड्यो। जवाफमा १ सय ७३ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो।

