पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक भित्रिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार एक्कासी पर्यटकको घुँइचो बढेपछि व्यवस्थापन गर्न कठिन भएको छ । घान्द्रुक जाने योजना बनाएका पर्यटकहरुले सम्पर्क गरेर मात्रै जानुपर्ने रोधिं क्लबका उपाध्यक्ष अमृत लामा गुरुङले सुझाए । ‘घान्द्रुकमा अहिले पर्यटकको चाप निकै बढेको छ । बिदा र घुमघामको सिजन भएकै कारण घान्द्रुकमा आउने आन्तरिक र बाह्य पर्यटकको घुइचो भएको हो, उनले भने, ‘यदी तपाइहरु पनि घान्द्रुक आउने योजना बनाउनुभएको छ भने यहाँका व्यवसायी वा समितिलाई सम्पर्क गरेर मात्रै आउनुहोला ।’ पछिल्लो समय घान्द्रुकमा मात्रै नभएर पोखराको लेकसाइडमा पनि पर्यटक भरिभराउ भएका छन् । तिनैमध्ये केही पर्यटक पर्यटकीय गाउँहरुपमा निस्कन थालेपछि घान्द्रुक जस्ता लोकप्रिय गाउँहरुमा पाहुनाको भीड लाग्न थालेको उनले बताए । घान्द्रुकमा होटल तथा होमस्टेले एकरातमा करिब ३ हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने क्षमता रहेको रोधिं क्लबका अध्यक्ष लक्षिण गुरुङले बताए । घान्द्रुकमा पर्यटकीय गतिविधि बढेसँगै सवारी साधनको चाप पनि बढेकाले क्लबले नै व्यवस्थापन गरिरहेको उनले बताए । ‘गाउँमा पाहुनाहरु धेरै आएपछि गाडीहरुको पनि चाप बढेको छ । त्यसैले हामी क्लबका साथीहरु मिलेर पार्किङको व्यवस्थापनमा जुटेका छौं’, उनले भने । उनले घान्द्रुक भित्रिने सडकको स्तरोन्नती तथा मर्मत संभारमा समेत क्लबले पहल गर्दै आएको बताए । आन्तरिक पर्यटकहरु हरेक वर्ष दशैं, तिहार तथा बिदाको छेको पारेर अत्याधिक मात्रामा पर्यटक घान्द्रुक पुग्ने गरेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँ संस्कृति र प्रकृतिमा निकै धनि छ । घान्द्रुकबाट एबीसी ट्रेक (अन्नपूर्ण आधार शिविर), हिडन लेक लगायतका एसियाकै लोकप्रिय पदमार्ग जान सकिन्छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि रु. २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । आगामी जेठ २० गते घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा प्रदान गरिन्छ । प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ रहेका थिए । सदस्यहरूमा पत्रकार तथा आयोजक समितिका कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी तथा पदेन सदस्यका रूपमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए । यसअघि उक्त पुरस्कारबाट पत्रकारहरू बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली तथा रोहितराज पराजुली सम्मानित भइसकेका छन् । पत्रकार भुपाल गुरुङको जन्म स्याङ्जाको वालिङ नगरपालिका–३ राम्चे (साविक माझकोट शिवालय गाविस–२) मा भएको हो । उनी हाल पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा बसोबास गर्दै आएका छन् । वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिमसमेत प्राप्त गरेका छन् । उनले गोर्खाली रेडियोमा तीन वर्ष, युनाइटेड राष्ट्रिय दैनिकमा पाँच वर्ष सहसम्पादक, सगरमाथा टेलिभिजनमा गण्डकी प्रदेश प्रमुखका रूपमा नौ वर्ष तथा विगत आठ वर्षदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत रही पत्रकारिता गरिरहेका छन् । पत्रकारिता क्षेत्रमा योगदान पु¥याएबापत गुरुङ विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, टंकदेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९ तथा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ लगायतका पुरस्कार प्राप्त गरेका छन् । हाल उनी नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिव रहेका छन् । साथै आदिवासी जनजाति पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च गण्डकी, नेपाल प्रेस युनियन, चलचित्र पत्रकार संघ लगायत विभिन्न संस्थामा आबद्ध छन्
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित भएका हुन् । बुधबार भएको निर्वाचनमा प्रतिष्पर्धी हरिशरण केसीलाई ५ सय ६६ मतान्तरले पराजित गर्दै सिटौला अध्यक्षमा विजयी भए । विजयी भएका सिटौलाले १ हजार ३० मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी केसीले ४ सय ६४ मत प्राप्त गरे । यसअघिको कार्यसमितिमा सिटौला वरिष्ठ उपाध्यक्ष थिए । ७ उपाध्यक्षमा चन्द्रा ओझा ७८३, डम्बरराज पन्त ६९३, आत्माराम थापा ६३१, कान्छाराम थिङ ६१०, कान्छाराम बल ५८५, जितबहादुर भारती ५५६ र रामप्रसाद सुवेदी ५३९ मत ल्याएर विजयी भए । उपाध्यक्षमा १३ जनाबीच भएको प्रतिस्पर्धा भएको थियो । महासंघको उपाध्यक्ष (मालवाहक)मा यादवलाल श्रेष्ठ ७६ मत प्राप्त गरेर विजयी भए भने पराजित नविन प्रजापतीले ६३ मत प्राप्त गरे । महासचिवमा डेकनाथ गौतमले ६ सय ९८ मत ल्याएर विजयी भए । ३ उपमहासचिवमा देविन श्रेष्ठ ८४१, भानुभक्त बराल ७६१ र पुरुषोत्तम सिंखडाले ६१३ मत ल्याएर विजयी भए । ३ सचिव पदमा उमेश केसी ५९९, चेतप्रसाद गौतम (अर्जुन) ७६१ र टंकप्रसाद बस्यालले ६१३ मत ल्याएर विजयी भए । सचिवमा ७ जनाबीच भएको प्रतिस्पर्धा भएको थियो । कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए । महासंघको १४ सदस्यमा समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ, गोपाल कार्की, दीपक बोहोरा, अशोककुमार चौधरी, प्रकाश तिवारी, कृष्णप्रसाद सुवेदी, गणेशराज पाण्डे, पदमराज सापकोटा, गणेशबहादुर गुरुङ, हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई, भुपेन्द्र खड्का र हेमराज दाहाल विजयी भए । यस्तै वर्गीय संयोजक (ढुवानी) मा मनोज कुमार रसाइली र वर्गीय संयोजक (ट्याक्सी) मा प्रकाशमणी तिवारी निर्वाचित भएका छन् ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) सिक्लेस, मादी गाउँपालिकाको सहयोगमा ताङ्तिङ क्रपुडाँडा सबुपोखरी मिजुरेडाँडा ट्रेकिङ रुटमा २ दिने हाइकिङ गरिएको कार्यक्रम संयोजक तथा मादी ५ का जनप्रतिनिधि ओमप्रकाश गुरुङले जानकारी दिए । उनका अनुसार २ दिने हाइकिङमा पोखराका पर्यटन व्यवसायी, टान गण्डकीका प्रतिनिधि, गुरुङ पर्यटन व्यवसायी संघका प्रतिनिधि, हाइकर्स क्लब नेपालका प्रतिनिधि, पोखराका ट्रेकर्स ग्रुप, एक्यापका प्रतिनिधी र मादी गाउँपालिका वडा ८, ९, १०, १२ लगायतका जनप्रतिनिधहरु तथा स्थानीय गरि १३६ जना सहभागी थिए । हाइकिङको उद्घाटन गर्दै मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले सिंगो मादी गाउपालिकाकोे पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राखेका थिए । उनले पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै प्रचारप्रसारकै कारण ओझेलमा परेको बताएका थिए ।
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । पारिवारिक स्रोतका अनुसार उनी माइतीघरबाट रामबजारस्थित आफ्नो घर फर्किने क्रममा अमरसिंह चोक आसपासबाट अचानक सम्पर्कविहीन भएकी हुन् । साँझको करिब ६ देखि ७ बजेको समयमा उनी हराएको बताइएको छ । करिब ४ फिट १० इन्च उचाइकी उनी कालो पाइन्ट र रातो टी–शर्ट लगाएकी थिइन् । उनी लामो समयसम्म घर नफर्किएपछि उनको परिवारले सबैलाई खोजि गर्न आग्रह गरेको छ । परिवारले रितुलाई कहिकतै देखेको खण्डमा मोबाइल नम्बर ९८४६६०३२८५ मा सम्पर्क गर्न आग्रह गरको छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनिएका हुन् । सो कार्यसमितिको उपाध्यक्षमा विष्णु गुरुङ निर्वाचित भए । यस्तै सचिवमा दिलु लामा मोक्तान दोहोरिएकी छिन् । भने, सह–सचिवमा बबिता कार्की र कोषाध्यक्षमा भोजबहादुर गुरुङ (भोज गुरुङ) चुनिए । कार्यसमिति सदस्यहरूमा प्रकाश गुरुङ, मन बहादुर गुरुङ र अमिर शर्मा चयन भए । जिवन गुरुङको नेतृत्वमा गठित ११ सदस्यीय कार्यसमितिमा ३ जनालाई भने बैठकबाट मनोनित गरिनेछ । नवनिर्वाचित अध्यक्ष गुरुङले पोखरा क्षेत्रका लोक दोहोरी रेस्टुरेन्ट व्यवसायीहरू तथा सम्पूर्ण कलाकारहरुको हकहितको पक्षमा काम गर्दै आएको स्परण गराउँदै पुनः संस्थालाई सकरात्मक बाटोमा डोर्याउने प्रतिबद्धता जनाएका थिए । नवनिर्वाचित नेतृत्वले कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्ताएको रात्रिकालीन दोहोरी व्यवसायलाई थप चलायमान बनाउनुका साथै लोक संस्कृतिको जगेर्ना गर्न सघाउ पुर्याउने व्यवसायीहरूको अपेक्षा छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने गरेको, अनुमतिपत्र नलिई उद्योग संचालन गरेको, लेबल अपूर्ण र अनुमतिपत्र नलिई खाद्य व्यवसाय संचालन गरेको पाइएपछि मुद्दा चलाएको हो । कार्यालयलाई खाद्य तथा दाना ऐनअनुरुप सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा चलाउने कानुनी हक छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको आयोजनामा चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक प्रगति विवरणबारे समीक्षा गोष्ठीका क्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले चालु आवको अवधिमा ७ मुद्दा दायर गरिएको जानकारी दिएका हुन् । संघ सरकारअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहित गण्डकी प्रदेशका २ डिभिजन कार्यालय (दमौली र बागलुङ) ले समय–समयमा खाद्य बस्तुको अनुमगन तथा निरीक्षण गर्दै आएको छ । श्रेष्ठका अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नमुना संकलन गरी प्रयोगशालामा पठाउने गरिन्छ । नेपाल सरकारले तोकेको अनिवार्य मापदण्डमा यदि परेन भने थप अनुसन्धान गरी मुद्दाको प्रक्रियामा अघि बढाइने गरिँदै आएको छ । उनले प्रगति प्रतिवेदन सार्वजनिक गर्दै मानिसको स्वास्थ्यलाई ध्यानमा राखी कार्यालयहरुले गण्डकी प्रदेशका विभिन्न बजार, उद्योग, होटल, रेष्टुरेन्टलगायतको नियमित अनुगमन तथा निरीक्षण गर्दैआएको पनि जनाए । प्रमुख अतिथि उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले उपभोक्ताका लागि भनी खाद्य, कृषि, मासु, स्वास्थ्य, यातायात, शिक्षासमेत १० क्लष्टर रहेकामा तीमध्ये उपभोक्ताको स्वास्थ्यसँग सिधैँ सरोकार राख्ने खाद्य महत्वपूर्ण भएको बताए । उनले भने, ‘स्वास्थ्य बिरामीलाई मात्र भयो, शिक्षा पढ्नेलाई मात्र भयो, तर महिला, बालबालिका, केटाकेटी, बुढाबुढी सबैको निम्ति चाहिने भएकाले खाद्य स्वच्छ हुनु जरुरी छ ।’ जसबाट स्वच्छ समाज सिर्जनासहित समग्र देश विकासमा योगदान दिन सकोस्, उनले भने । ‘बदमासी गर्नेले लुकाउन चाहन्छ, बदमासी नगर्नेले देखाउन चाहन्छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मिडियासामु यसरी आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गर्नु पारदर्शीको नमुना हो,’ प्रमुख अतिथि कोइरालाल भने, ‘यसको अनुशरण अरु कार्यालयले पनि गर्नु जरुरी छ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका योजना तथा अनुगमन महाशाखा प्रमुख प्रतिमा श्रेष्ठले विभागले विभिन्न सचेतनाका कार्यक्रम ल्याउन लागेको जानकारी दिइन् । विभागलाई मात्र ७३ करोड बजेट बिनियोजन भएको उल्लेख गर्दै स्थानीय पालिकाले पनि खाद्य निरीक्षण पनि राख्न सकेमा अझ प्रभावकारी कार्यक्रम गर्न सकिने बताइन् । सो अवसरमा दमौलीस्थित डिभिजन कार्यालयबाट खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य, बागलुङस्थित डिभिजन कार्यालयबाट खाद्य अधिकृत सुमन लामिछानेसमेतको उपस्थिति थियो ।
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्यटन प्रवर्द्धनसम्बन्धी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ। समितिले गण्डकी प्रदेशसँगै देशका विभिन्न जिल्लामा पुगेर पोखराको पर्यटन प्रवर्द्धन, आन्तरिक पर्यटन विस्तार तथा व्यवसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको जनाएको छ। यसअघि शुक्रबार बागलुङ बजारमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले पोखरा र बागलुङबीच पर्यटन सहकार्य, प्राकृतिक तथा धार्मिक गन्तव्यहरूको प्रवर्द्धन, पर्यटकको बसाइ अवधि लम्ब्याउने रणनीति र सेवा गुणस्तर सुधारका विषयमा धारणा राखेका थिए। कार्यक्रममा “प्रकृतिसँग रमाऔं” भन्ने अवधारणालाई केन्द्रमा राख्दै पोखराको प्राकृतिक सौन्दर्य, तालतलैया, हिमश्रृंखला तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेकोमा जोड दिइएको थियो। होटल व्यवसायलाई समयानुकूल व्यवस्थित र प्रतिस्पर्धी बनाउन संयुक्त पहल आवश्यक रहेको सहभागीहरूको भनाइ थियो। पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले पर्यटन पुनरुत्थान, अन्तरजिल्ला सहकार्य र पोखरालाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। आज मुसिकोट र रुकुमकोटमा हुने अन्तरक्रिया कार्यक्रममा स्थानीय होटल व्यवसायी, पर्यटनकर्मी, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयहरूबाट खटिएको टोलीले विशेष खोजतलास अभियानका क्रममा २० जना पुरुष र ७ जना महिला गरी कुल २७ जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाही तथा जरिवाना असुलउपर गर्नका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए । प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ४ वर्ष १५ दिन कैद सजाय भुक्तान हुन र ४८ लाख १ हजार ८ सय ८० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी चेक अनादर कसूरका १२ जना र केही सार्वजनिक अपराध कसूरका ५ जना रहेका छन् । यसैगरी अंश मानाचामल सम्बन्धी कसूरका ४ जना, लेनदेन बिगो सम्बन्धी कसूरका २ जना तथा बैंकिङ कसूरका २ जना प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान सम्बन्धी कसूर र अभद्र व्यवहार सम्बन्धी कसूरका १–१ जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

