कास्की: गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो । उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । “गत भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपश्चात् कारागारबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेका थियौँ । तर सो समयभित्र हाजिर नभएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खोजतलास सुरु गरिएको हो”, उहाँले भन्नुभयो । पक्राउ परेकाहरूमा जबर्जस्ती करणी मुद्दा र लागुऔषध मुद्दाका १६–१६ जना छन् । चोरी मुद्दाका २५, कर्तव्य ज्यान मुद्दाका आठ, ज्यान मार्ने उद्योगका नौ, अभद्र व्यवहारका चार, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका प्रहरीले जनाएको छ । जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माले प्रदर्शनका क्रममा भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै दुई सय बढी फरार रहेका जानकारी दिनुभयो । कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म फर्कन समय दिइएको थियो । तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको हो । उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ । प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा भने सुरक्षित छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताउनुभयो ।
पोखरा: पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाई सँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने भएको छ । पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने विश्वास लिइएको छ । प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार एमएमए फाइटमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराउने तयारी भएको हो । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनेछ । हामीले विदेशमा केज फाइट भएको टिभि वा अहिले सोसल मिडियामा हेरिरहेका छौं तर, अब त्यो पोखरामै हेर्न पाइने छ ।’ आगामी पुषको दोस्रो साता लेकसाइडमा हुने प्रतियोगितामा अहिले सम्म विभिन्न राष्ट्रका फाइटरले सहभागिता जनाइ सकेका छन् । नेपालसहित हालसम्म स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका राष्ट्रको सहभागिता रहेको छ । विश्वभर व्यावसायिक मार्शल आट्र्सका उत्कृष्ट स्वरूपमध्ये एक मानिने एमएमए (मिक्स मार्शल आट्र्स) यसपटक पोखरामै प्रत्यक्ष हेर्न पाउने क्षेत्रले बताए । प्रतियोगितामा प्रवेश निशुल्क गरिएको उनले जानकारी दिए ।
झापा: गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौं: आईसीसी टी२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जित निकालेको छ। आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालसँग पराजित भएपछि ओमानको अपराजित यात्रामा पूर्णविराम लागेको छ। बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो। योसँगै नेपालले छनोटमा अपराजित यात्रालाई कायम राखेको छ। जितसँगै ४ खेलबाट नेपाल ८ अंक बटुलेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट ६ अंक भएको ओमान दोस्रो स्थानमा झरेको छ। ४ खेलबाट ४ अंक भएको युएई तेस्रो छ। नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो। ओमानलाई रोक्न नेपालका लागि गुल्सन झाले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट झारे। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। ओमानका लागि विनायक शुक्लाले ३२ र मोहम्मद नदिमले २५ रन बनाए। कप्तान जितेन्द्र सिंहले १४ रन बनाए। आर्यन विष्टले ११ रन थपे। त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा जितेन रामानन्दीको बलमा एलबीडब्लु धरापमा परे। पहिलो विकेटका लागि कुशल र आशिफ शेखले ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। अर्का ओपनर आशिफ शेख २० बलमा २ चौका र १ छक्का सहयोगमा २४ रन बनाउँदा नदिम खानको बलमा बोल्ड आउट भए। गुल्सन झा १० बलमा २ छक्का सहयोगमा १८ रन बनाउँदा क्याच आउट हुन पुगे। १५ बलमा ३ चौका सहयोगमा १६ रन बनाएका मोहम्मद आदिल आलम सुफयान मेहमुदको बलमा क्याच आउट हुन पुगे। कुशल मल्ल ७ रन बनाउँदा नदिम कै बलमा क्याच आउट हुन पुगे। कप्तान रोहित पौडेल १ बलमा नदिम खान कै बलमा बोल्ड आउट भए। नन्दन यादव ९ रन बनाउँदा रन आउट हुन पुगे। अलराउण्डर दिपेन्द्र सिंह ऐरि २ रन बनाउँदा नदिम खानको बलमा एलबीडब्लु धरापमा परे। लोकेश बम शून्य रनमा नै पेभेलियन फर्के। सोमपाल कामी १ रनमा अविजित रहे। ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्प्लमा २० रन दिदा ४ विकेट झारे। सुफयान मेहमुद र जितेन रमानन्दीले समान २ विकेट झारे। यसअघि आज नै भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई ३ विकेटले तथा युएईले सामोयालाई ७७ रनले हराएपछि नेपाल र ओमान दुई खेल अघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।
काठमाडौं: नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी(२० विश्वकपको टिकट काट्न सफल भएको हो । नेपालसँगै इस्ट एसिया प्यासिफिक क्वालिफायरको आयोजक टोली ओमानले पनि विश्वकपको यात्रा तय गरेको छ। जारी प्रतियोगितामा नेपाल र ओमानको समान ६ अंक छ । तर नेट रनरेटका आधारमा ओमान अगाडि छ । यस्तोमा बुधबार नै नेपाल र ओमानबीच भिडन्त हुँदैछ । बुधबार भएको खेलमा यूएईले साओमालाई पराजित गरेसँगै नेपाल र ओमानले दुई खेल खेल्नुअघि नै विश्वकप यात्रा तय गरेका हुन् । विश्वकप छनोटको ट्रफी जित्न नेपाल ओमानलाई जित्नै पर्ने दबाबमा छ। बुधबारको प्रतिस्पर्धा ‘डु एण्ड डाइ’ जस्तै भएको भन्दै कप्तान रोहित पौडेलले बताएका हुन्। समूह चरण र सुपर सिक्समा अपराजित रहँदै दुवै टिमले तालिकामा ६–६ अंक जोडेका छन् । रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । कप्तान पौडेलले ट्रफी जित्न ओमानलाई हराउनुपर्ने र त्यसका लागि सबै खेलाडी उत्सकु भएको प्रष्ट पारेका छन् । उनले नेपाली खेलाडीमा ओमानविरुद्ध जित निकाल्ने भोकसमेत रहेको प्रष्ट पारेका छन् । नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी–२० विश्वकप खेल्नेछ।
पोखरा: होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै अध्यक्ष सुवेदीले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे । महोत्सवका विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको महोत्सवका संयोजक एवं संघका उपाध्यक्ष गणेशराज पहारीले जानकारी दिए । महोत्सवमा तिहारको महत्व, दिपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिइने पनि संयोजक पहारीले बताए । तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको छ । पौने तीन बजे सुरु हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मिडियाकर्मीलाई संघले अनुरोध गरेको छ । गोर्खा वियर र सोमरसबीले महोत्सवलाई सघाएका छन् । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबद्र्धन गर्दै छन् । अनलाइन पार्टनरमा रिभेल रहेको छ ।
पोखरा: कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत स्थानीयस्तरमा हुने कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति सम्बन्धित स्थानीय तहबाट लिनुपर्नेमा कतिपय कार्यक्रम पूर्वस्वीकृति नलिई र स्थानीय प्रशासनलाई समेत पूर्व जानकारी नदिई सञ्चालन गरिएको पाइएको भन्दै अनुमति लिएर मात्र गर्न आग्रह गरेको हो । कास्की जिल्लाभित्र कुनै पनि सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदिको आयोजना पूर्व अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृतिरअनुमति लिएर मात्र आवश्यक शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । निवेदन दिँदा कार्यक्रम अवधिभर आवश्यक शान्ति, सुरक्षाको व्यवस्थापनका लागि आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी सङ्ख्यासमेत स्पष्ट खुलाउनुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै निवेदनमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपिलगायतका कागजात पेस गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
मुस्ताङ: मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरकरफरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताउनुभयो । यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यसवर्ष छ हजार १०८ मेट्रिकटन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा रु ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताउनुभयो । साथै ७६३ मेट्रिकटन अर्थात् रु ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ । अब ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ । यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ । यहाँ स्थानीय स्याउ रु ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो । हाइब्रिडतर्फ रु ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी रु १३० र हाइब्रिड स्याउ प्रतिकेजी रु २०० मा बिक्री भइरहेको छ । यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ । गतवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिकटन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व घटेको छ । यसैगरी गतवर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यसवर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ । यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व एघार दशलव ८७ मेट्रिकटन रहेको केन्द्रले जनाएको छ । यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताउनुभयो । यसवर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो । गतवर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो । यसैगरी गतवर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।
ढोरपाटन: बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताउनुभयो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । तर सात वर्ष अगाडि नगरपालिकाले ताल वरपर डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको उहाँको भनाइ छ । पुनले भन्नुभयो, “पहिले रुद्राताल ठूलो थियो, धार्मिक आस्थाका हिसाबले यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता थियो, यहाँको जलले स्नान गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन भन्थे, अहिले त पानी सुकेर हिलोमात्र छ, जब यहाँ डोजर लगाएर सम्याउने काम भयो, त्यसपछि तालको पानी सुक्यो, अहिले त नामको मात्र ताल छ, तालमा पानी छैन ।” जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल ६ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानको भनाइ छ । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उहाँ बताउनुहुन्छ । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू अचम्मित भएको किसानले बताउनुभयो । “पाँच–छ वर्ष अगाडि पानीले भरिभराउ ताल अहिले पूरै रित्तै छ, ताल ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्र्यौँ”, उहाँले भन्नुभयो, “तालमा डोजर लगाउनु हुँदोरैनछ, पानी रोक्नलाई गाउँपालिकाले सिमेन्टको पर्खाल लगायो, तर तालको पानी सबै सकियो ।” तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै ताल नै सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यसवरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने बताउनुभयो । पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताउनुभयो । त्यसैगरी, बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराहतलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकीय गन्तव्य बनेको छ । अन्य तालका तुलनामा यसमा पानी अलि बढी छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् । बागलुङ र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् । तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।

