नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

रसुवा:   माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।    आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबार थप शव फेला पारेको हो। सुरुङभित्र नेपाली सेना र प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली खोज तथा उद्धारमा खटिएको छ।    संयुक्त उद्धार टोलीले खोजी गर्दा कंक्रिटिङको लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलिङ ढल्किएको अवस्थाका शव भेटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। हालसम्म अडिट-३  क्षेत्रबाट निकालिएको शवको संख्या ३७ पुगेको छ।    अडिट-३ क्षेत्रबाट निकालिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्बास्वास्थ्य परिसरमा राखिएको छ। मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत गर्ने कार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय, नुवाकोटले सूचनामार्फत अनुरोध गरेको छ।   स्थल खोजीका लागि सर्च डग (तालिम प्राप्त कुकुर) सहितको टोलीले उद्धार कार्य जारी राखेको छ। साथै, कम्पनीको दुईतर्फी टनेलको मिनि एक्साभेटर प्रयोग गरि उद्धार तथा खोजी कार्य पनि जारी राखिएको छ।   गत भदौ १० गतेको भोटेकोसी बाढीपछि यस आयोजनामा कार्यरत अझै ४५८ सम्पर्कविहीन छन्।

काठमाडौं ।  अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका–१६ सतुङगल बस्ने २७ वर्षीय शुभम गुप्ता, काठमाडौं महानगरपालिका(३ बस्ने रामेछाप घर भएका १९ वर्षीय राजन मोक्तान र ललितपुर च्यासल बस्ने काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन् ।   काठमाडौं उपत्यकाको विभिन्न वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) को भण्डारण तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।   काठमाडौं महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र सोही महानगरपालिका–६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदामबाट २ हजार ७ सय ७० थान विद्युतिय चुरोट (भेप) फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरी । सप्तकोशी नदीको जल सतह विहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा छ ।   कोशी परियोजनाद्वारा जारी सूचनाअनुसार विहान ११:१५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गए रातिको तुलनामा कम हो ।   अहिले सप्तकोशी ब्यारेजबाट विहारतर्फ पानी बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि २६ ढोकासम्म खोलिएको थियोे ।

भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।   नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो त्रिशूली–१ र त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा पावरहाउस तथा सुरुङ क्षेत्रमा खोजी जारी राखेका छन् ।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली थ्री ‘बी’ मा एक्साभेटर र ब्याकहो लोडर प्रयोग गरी आवासगृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गर्दै पावरहाउसतर्फ खोजी केन्द्रित गरिएको छ । त्यसै गरी रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली थ्री ‘ए’ र त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी राखेको हो ।   नेपाली सेनाले हालसम्म हवाई माध्यमबाट मात्र चार हजार १७७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् ।   रसुवागढी जलविद्युत् आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङ तथा आयोजनाका अन्य संरचनामा खोजी गरिरहेको छ । लाङटाङ जलविद्युत् आयोजनामा ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरिए पनि हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ । त्यसै गरी चिलिमे जलविद्युत् आयोजनामा भने खोजी कार्य थप कठिन बनेको छ ।    संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी सुरुङमा थुप्रिएको करिब एक सय मिटर माटो तथा भग्नावशेष हटाएको छ । सुरुङभित्र पानी भेटिएपछि पानी हटाउने कामसँगै उद्धार टोलीले डोरीको सहायताले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ ।

पोखरा ।  माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन् ।   पोखरा ट्रेडमलस्थित क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको छ । पोखरामा मंगलबारका शोसमेत थपिएका छन् । क्युएफएक्सले दैनिक ६ शो, मिडटाउन सिनेमाजले ५ शो र श्रीकृष्ण चलचित्र मन्दिरले ३ शो सञ्चालन गरिरहेका छन् । चलचित्रका सबै शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।   सोमबार ‘पेन्सन पट्टा’का कलाकार दयाहाङ राई, पुस्कर गुरुङ, सोल गुरुङ, विश्वास गुरुङ, माया गुरुङ, मनिका गुरुङ, डिबी गुरुङ लगायतका कलाकार पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । निर्देशक एवम् लेखक माओत्से गुरुङसहितको टोलीले दर्शकसँग चलचित्रको प्रतिक्रिया लिएको थियो ।   मिडटाउन सिनेमाज र पोखरा ट्रेडमलस्थित क्युएफएक्सका दुई शोमा पुगेर नायक दयाहाङ राईले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । दर्शकको प्रतिक्रिया लिँदै उनले आफूले व्यक्तिगत रूपमा सोचेको भन्दा पछिल्लो समय चलचित्रले राम्रो माया पाइरहेको बताए ।   रसुवाको बाढी र ग्यासको समस्याका कारण मनोरञ्जनका लागि हल पुग्ने दर्शकको संख्या कम हुनसक्ने आफूले सोचेको भए पनि त्यसो नभएको दयाहाङले उल्लेख गरे । चलचित्रमा आफूले निभाएको ‘राजन’ पात्रलाई दर्शकले आफ्नै परिवार वा सामाजिक परिवेशभित्रको पात्रका रूपमा पाएको उनको भनाइ छ ।   कलाकार पुस्कर गुरुङले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटी निकै सकारात्मक र बढ्दो रहेको बताए । पोखरा मात्र नभई काठमाडौंका हलमा समेत आफू पुग्दा दर्शकले दुई–दुई पटकसम्म चलचित्र हेर्न आएको उनले उल्लेख गरे । ‘हिजोभन्दा आज र आजभन्दा भोलि अझ धेरै पेन्सन पट्टाको माहोल बढ्दै गएको छ,’ पुस्करले भने ।   नायिका सोल गुरुङले पहिलो पटक दर्शकको प्रतिक्रिया लिन हलहलमा पुग्दा उत्साह थपिएको बताइन् । नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दो देख्दा खुशी लागेको उनको भनाइ छ ।   निर्देशक माओत्से गुरुङले पोखरा मात्र नभई बुटवल, चितवन, लमजुङ, तनहुँ, झापा र काठमाडौंका केही स्थानमा समेत चलचित्रले राम्रो दर्शक सहभागिता पाइरहेको बताए । चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको र फिल्म समीक्षकबाट समेत सौहार्दपूर्ण समीक्षा आएकाले पछिल्लो समय दर्शक हलमा पुगिरहेको उनले उल्लेख गरे । ‘रिलिजको तेस्रो दिनसम्म काठमाडौंमा दर्शकको कमी थियो । तर चौथो दिन सोमबारबाट काठमाडौंमा समेत दर्शकको भीड बढ्दो छ,’ माओत्सेले भने । काठमाडौंका विभिन्न मल्टिप्लेक्समा चलचित्रलाई समय उपलब्ध गराइएको र ती हलमा दर्शकको उपस्थिति राम्रो रहेको उनको भनाइ छ ।   कास्कीको ताङतिङ र त्यसैको सेरोफेरोमा आधारित ‘पेन्सन पट्टा’ सामाजिक यथार्थवादी कथामा निर्माण भएको चलचित्र हो । परिवार, प्रेम, त्याग, समर्पण र लाहुरे परिवेशको कथाले दर्शकलाई आफ्नै जीवन र सामाजिक परिवेशसँग जोडेको निर्माण पक्षको भनाइ छ ।   चलचित्र हेर्न परिवार नै बोकेर हल पुग्ने दर्शकको संख्या बढ्दो रहेको छ । कतिपय दर्शकले पाँच पटकसम्म चलचित्र हेरेको समेत निर्माण पक्षले जनाएको छ । लाहुरे परिवेशको कथा भएकाले भूपू सैनिक तथा लाहुरेका परिवारले समेत चलचित्रलाई विशेष माया दिइरहेका छन् । गुरुङ समुदायका मात्र नभई विभिन्न समुदायका दर्शक हलमा उपस्थित भइरहेका छन् ।   दर्शकको बाक्लो उपस्थितिसँगै पोखराका हलले मंगलबारका शोसमेत बढाएका छन् । बढ्दो माउथ पब्लिसिटी र दर्शकको सकारात्मक प्रतिक्रियाले ‘पेन्सन पट्टा’को प्रदर्शन यात्रा थप उत्साहजनक बन्दै गएको छ ।   माओत्से गुरुङ फिल्मस ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, डिबी गुरुङ, मनिका गुरुङ, सोल गुरुङ, सुरज तमु लगायतका कलाकारको अभिनय रहेको छ । दर्शकको माया, हलमा बढ्दो भीड र थपिँदै गरेका शोले ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै गएको छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।   सो समितिको वरिष्ठ उपाध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा सुबेदार मेज मन्त्रीजंग गुरुङ, सचिवमा सुबेदार मेजर अनेरी क्याप्टेन मन्त्रीजंग गुरुङ, सहसचिवमा सपना गुरुङ, कोषाध्यक्षमा क्याप्टेन जमबहादुर गुरुङ र सहकोषाध्यक्षमा सुबेदार जयबहादुर गुरुङ चयन भए ।   त्यस्तै सदस्यहरूमा क्याप्टेन भक्तराज गुरुङ, हवल्दार दिलबहादुर गुरुङ, हेमबहादुर गुरुङ, रूपबहादुर गुरुङ, नैना सिंह गुरुङ, देवबहादुर गुरुङ, शकुन्तला गुरुङ, मेघबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, हवल्दार डिलबहादुर गुरुङ, सुबेदार उमरजंग गुरुङ, सुबेदार ईरबहादुर गुरुङ र शेरबहादुर गुरुङ चयन भए ।   यसअघि कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एकताको सुुत्रमा बाँध्न समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् । उनले एकतामा शक्ति हुने बताउँदै भनिन्, ‘हामी समाजको शक्तिलाई विश्वास गर्ने समुदाय हो । त्यसैले समाजको एकता आजको आवश्यकता हो ।’     अधिवेशनले अनुराधा गुरुङको अध्यक्षतामा १५ सदस्यीय महिला उपसमिति र थमन गुरुङको अध्यक्षतामा १५ सदस्यीय युवा उपसमिति पनि सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमिति, महिला उपसमिति र युवा उपसमितिका पदाधिकारी तथा सदस्यहरूले अधिवेशनकै क्रममा सपथ ग्रहण गरे ।   कास्कीको मादी गाउँपालिका–२, ताङतिङ स्थायी घर भई पोखरामा बसोबास गर्दै आएका तमु समुदायका व्यक्तिहरूद्वारा स्थापित ताङतिङ दूधपोखरी तमु समाजले पोखरामा रहेका ताङतिङबासीबीच आपसी एकता, सहकार्य, सामाजिक सद्भाव तथा विभिन्न सामाजिक गतिविधिलाई अघि बढाउँदै आएको छ ।   नवनिर्वाचित अध्यक्ष चन्द्रमाया गुरुङले समाजलाई थप उचाइमा पुर्याउन अनवरत कसरत गर्ने प्रतिबद्धता जनाएकी थिइन् । महिलाको नेतृत्वसँगै समाजका गतिविधिमा महिला तथा युवाको सहभागिता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको उपचारका क्रममा मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिका–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी नगरपालिका–४ हर्रे आइपुग्दा बेहोस भएका थिए ।  उनी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि निजको उद्धार गरिएको थियो । 

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली  ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् ।  का सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । यसैबीच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन् । उनीहरूबाट नगद रु ५५ हजार पनि बरामद भएको छ ।

काठमाडौं:    स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९००ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो ।  यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२  र चाँदीको  मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।