पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैया आर्थिक सहयोग गरेको हो । महतगौडाचोकमा आयोजित एक कार्यक्रमका बीच आमा समुहका अध्यक्ष जुना मल्लले सितापाईला घाट व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालालाई नगद रकम हस्तान्त्रण गर्नुभयो । आमा समुहले माघे संक्रान्ति ढुङ्गेसाँघु मेलामा शेलरोटी तरकारी विक्री गरेर आर्जन गरेको रकम र समाजमा हुने विभिन्न शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलित रकम घाट निर्माण जस्तो पुण्य कार्यको लागि सहयोग गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख आर्थिक सहयोग र स्थानीय स्तरमा संकलन गरिएको नौ लाख गरि कूल १९ लाख रुपैयाको लागतमा घाटसम्म जाने कच्चि मोटर बाटो निर्माण गरिएको छ । वाटो निर्माण समितिका सचिव विक्रम बाबु भण्डारीका अनुसार सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने सो बाटोसंगै सुरक्षाका हिसावले एकतर्पिm नाला र फलामे रेलिङ्गवार निर्माण गर्न अपरिहार्य भएको हुँदा आवश्यक रकम संकलनका लागि घरदैलो कार्यक्रम समेत सञ्चालन गरिदै आएको छ । सो घाटको संरक्षणका लागि मोटर वाटोको दुवैतर्पm ग्याभिन जालि भर्ने काम भई रहेको बताउँदै उहाँले भन्नुभयो, धार्मिक क्षेत्रको विकास स्थानीयले देखाएको उत्साहले त आँट म पु¥याउछु भन्ने युक्ती चरितार्थ भएको छ । सो वाटो निमाणले माघे सक्रान्तिका दिन नदीमा स्नान गर्न जाने श्रदालु भक्तजनलाई प्रत्येक्ष सुविधा पुगेको थियो ।
काठमाडौं: निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । ‘फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेका छौँ । मनोनयनपत्र दाखिल गरेपछि बीचमा चुपो लागेर बस्ने हो ? भन्ने लाग्न सक्छ । त्यो, होइन, उनले भने । निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलोमा मतदाता भेट्न सक्ने, रायसुझाव लिन सक्ने उनले बताए । ‘तर, दलगत रूपमा उमेदवारहरूले ठूलो आमसभा, गोष्ठि, सेमिनारलगायतका विषयवस्तु गर्न पाइँदैन,’ उनले भने,’आचारसंहिता लागु भएको छ । मनोनयनपत्र दाखिल गर्न यसरी जानुपर्छ भनेर आह्वान गरेका थियौँ । आचारसंहिता उलंघन भएको उजुरी आएमा छानबिन गर्ने, निर्णय लिने आयोगको क्षेत्राधिकारभित्र पर्छ ।’ प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि पनि प्रतिनिधिसभाको उमेदवार बनेकाले रिक्त स्थानमा फागुन २१ पछि निर्वाचन गरिने बताए ।
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ । उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको छ । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
म्याग्दी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।
काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए । तर मन्त्री पुन भने आफ्नै अभियानमा सक्रिय हुनका लागि राजीनामा दिएका हुन्। यसअघि मन्त्री पुनले शिक्षामा आमुल परिवर्तन गर्ने भन्दै केही नितिहरु पास गराउने प्रयास गरेपनि सफल नभएको बताउँदै आएका थिए।
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना जारी गर्दै त्यसको तयारीमा जुटेका हुन् । उम्मेदवार छनोटका लागि सोमबार दिनभर नै आन्तरिक छलफल गरी दलहरूले उम्मेदवारी तय गरेका हुन् । दलहरूले कास्की क्षेत्र नं १ मा पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्र रामघाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् भने क्षेत्र नं २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइडमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् । त्यस्तै क्षेत्र नं ३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुुसार दलहरूले उम्मेदवारी दर्ता गर्न आउने समयबारे पनि जानकारी गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज १०.०० देखि ११.०० बजेसम्म, राष्ट्रिय प्रजातन्त्र पार्टीले दिउँसो १.०० बजे उम्मेदवारी दर्ता गर्न आउने जानकारी गराएको उनले बताए । नेकपा (एमाले)ले १.०० देखि २.०० बजेसम्म उम्मेदवारी दर्ताका लागि आउने जानकारी गराएको र अन्य दलबाट जानकारी आउने क्रममा रहेको उनले बताए । जिल्लामा निर्वाचनका लागि एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ । कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै, क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड्दै निर्वाचन नलड्ने जानकारी गराएपछि कांग्रेसले उक्त क्षेत्रको टिकट नैनसिंह महरलाई दिएको छ। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्दै आएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अगाडि देउवाको सचिवालयले चुनाव नलड्ने विषयमा जानकारी गराएको हो।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । उम्मेदवार मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ । उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि आवश्यक पर्दछ । सम्बन्धित अनुसूचीबमोजिमका प्रतिनिधि मुकरर गरेको फाराम पनि आवश्यक पर्नेछ । प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक भई विवरण भरी सहिछाप गरेको मनोनयन पत्र आवश्यक पर्नेछ । दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । यस्तै, एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि उपलब्ध गराउनुपर्नेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि रु १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । आर्थिक विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि जरुरी पर्ने आयोगले जनाएको छ । उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि उपलब्ध गराउनुपर्नेछ । यस्तै, आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ । वैयक्तिक विवरण फाराम भर्नुपर्नेछ । उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फर्छ्योट भएको ब्यहोराको निस्सा पनि उपलब्ध गराउनुपर्नेछ । लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्छ्योट गरेको निस्सा पनि जरुरी पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्रामा मिलेको हो । महोत्सवको सातौं दिन हजारौं दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार दिन प्रतिदिन बढ्दै गइरहेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा विशेष गरी लत्ता कपडा, घरायसी सामाग्री, कृषिजन्य सामाग्रीको बिक्री बढिरहेको उनको भनाइ रहेको थियो । महोत्सवकै आयोजना गरि सामाजिक काम गर्ने भएकाले पनि युनाईटेड क्लबको पोखरा महोत्सवलाई दर्शकको साथ पाएको महोत्सवका कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पोखरा महोत्सव दर्शकहरुकै साथले १४ औं संस्करण सम्म आइपुगेको बताउदै १४ औं संस्करणको पोखरा महोत्सवको आम्दानीको मुख्य हिस्सा क्लबले आफ्नै जग्गामा निर्माण गरिरहेको छात्राबासमा खर्च खरिने बताए । युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य खेलकुद पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको छ । महोत्सवमा दिन प्रतिदिन फरक फरक चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि पोखरा महोत्सवमा दर्शकको उल्लेख्य साथ रहेको महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार दिनमा लोकदोहोरी र महोत्सव अवधिभर हरेक साँझ लाईभ ब्याण्डको प्रस्तुति हुने भएकाले पनि युवाहरु दिनमा भन्दा साँझको समयमा बढी मात्रामा महोत्सवको अवलोकनको लागि आउने गरेका छन । महोत्सवको सातौं दिन लोकदोहोरी गायक अर्जुन सापकोटाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अर्जुन संगै सोमबार चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुतीमा दर्शक झुमे । साँझको लाइभब्याण्ड तर्फ लेकाली ब्याण्डको प्रस्तुतीमा पोखरेलीहरु झुमे । त्यसैगरी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहेको प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको आठौं दिन मंगलबार लोकदोहोरी तर्फ प्रीति आले, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुनिता नेपाली, सरला पाण्डे, प्रशान्त तामाङ, पुजा तामाङ लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ ब्याण्ड तर्फ एवाइजीको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

