नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्म कर्फ्यु खुकुलो बनाइएको छ ।   प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुला गर्ने वा पुन: लागू गर्नेबारे आवश्यक निर्णय गरिने जनाएको छ। साथै, गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने उल्लेख गर्दै कर्फ्यु खुकुलो भएको अवधिमा पनि ५ जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन सबैलाई आग्रह गरिएको छ।   सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दिनको समयमा कर्फ्यु खुकुलो बनाएको जनाएको छ ।

काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् ।   प्रतियोगितामा कसिस सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेसनल, २०२६ घोषित भइन् ।   काे हुन् दीपमाला?   ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।   उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन् । हाल उनी नेपाल क्यान्सर अस्पतालको गुडविल एम्बास्डरका रूपमा सामाजिक क्षेत्रमा सक्रिय छिन् ।   मिस वल्र्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने आफ्नो अभियानलाई विश्वस्तरमा पु-याउने लक्ष्य रहेको उनले बताइन् । ढकाल परिवार र मिस नेपालबिच विशेष सम्बन्ध छ । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।  

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।   कार्यक्रमका प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव तथा चुनौतीहरूको सामना गर्नुपर्ने भएकाले मानसिक सन्तुलन, सकारात्मक सोच र ध्यान (मेडिटेसन) लाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिए ।   उनले वेलनेस हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार तथा सकारात्मक सञ्चार प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।   ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाकी सञ्चालिका ब्रह्माकुमारी पुनम दिदीले सञ्चारिका समूह गण्डकी प्रदेशसँगको सहकार्यमा पत्रकारहरूका लागि यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा अत्यन्त खुसी लागेको बताइन् ।   उनले सञ्चारकर्मीहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूको मानसिक, आत्मिक तथा भावनात्मक स्वास्थ्य सुदृढ हुनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सञ्चारिका समूहसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् । सञ्चारिका समुह गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले सञ्चार क्षेत्रमा बढ्दो मानसिक दबाबका बीच पत्रकारहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको कार्यक्रम फलदायी भएको सुनाइन् ।   उनले सञ्चारिका समूहले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता विकास र मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।  

नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो।   पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरूङमार्ग उद्घाटन भएको हो।   त्यसपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गरे।   सुरुङमार्ग पूर्ण रूपमा परीक्षण भएपछि केही दिन भित्रै सवारीसाधनलाई सञ्चालन हुनेछ। परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन।    कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ।   सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा ११५ रूपैयाँ र बाहिरिँदा ८० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ।   यस्तै, बस, ट्रकले काठमाडौं आउँदा २६० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तिर्नुपर्नेछ। पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन्।   सुरूङमार्ग सात वर्षअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।   शवलाई पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए।   मृत्युको कारण पोष्टमर्टमपछि खुल्ने उनको भनाइ छ। मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।   एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको छ। शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हुने पोखरा एभेन्जर्सले जनाएको छ।   अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन्। ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन्।   त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन्। जसमा उनले दुई हजार ५५१ रन बनाएका छन्।   उनले भारतीय प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन्। आईपीएलका ७१ खेलमा ७९३ रन बनाएका छन्।   उनले बंगलादेश प्रिमियर लिगसँगै श्रीलंका प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगलगायत सबैजसो चर्चित अन्तर्राष्ट्रिय लिगबाट खेलिसकेका छन्।

पोखरा —   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।   माछापुच्छ्रे गाउँपालिका–१ टुँसे बस्ने सुरेश परियारको घरमा अवैध हतियार लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।   पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ पुर्णगाउँ घर भई हाल पोखरा महानगरपालिका–५ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभाको मकालु गाउँपालिका–३ घर भई हाल कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घाचोक बस्ने २२ वर्षीय सुदिप बिश्वकर्मा रहेका छन्।   बगरस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले सुरेश परियारको घरमा डेरा गरी बस्ने सुदिप बिश्वकर्माको कोठा खानतलासी गर्दा उक्त हतियार फेला पारेको हो।   कोठाभित्र खाटको पछाडि बोरामा लुकाई राखेको अवस्थामा काठ र फलामबाट बनेको, ट्रिगर सहितको २ वटा चिन्नी र तार जडान भएको अवैध घरेलु हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।   पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए ।   छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।   प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।   घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत विषयमा छलफल गरेका थिए ।

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार एक अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत गरेका जानकारी दिएको हो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो ।   गत वैशाख ३१ गते पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ ले गरेको थियो । सह–प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल रहेका थिए।   कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यवसायिक प्रतिष्ठान तथा देश–विदेशमा रहेका खेलप्रेमी र पूर्वखेलाडीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ ।   खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ । खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, ट्रफी तथा ट्रयाक सेट खरिदमा ४ लाख २२ हजार रुपैयाँ, सांगीतिक कार्यक्रम सञ्चालनमा ४ लाख ५० हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, व्यवसायिक संस्था, खेल संस्था, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।   कार्यक्रममा मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको विकाससँगै खेलकुद पत्रकारिताको शैलीमा पनि सुधार ल्याउनुपर्नेमा उनको जोड थियो ।   उनले राजधानी केन्द्रित ठूला कार्यक्रमको प्रभावलाई तोड्दै पोखरा स्पोट्र्स अवार्डले देशभर बेग्लै पहिचान बनाउन सफल भएको बताए ।   ‘विगतका समयमा भएका गल्ती र कमजोरीहरूलाई सुधारेर अझ व्यवस्थित रूपमा अगाडि बढ्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘काठमाडौंमा मात्र भव्य कार्यक्रम हुन्छन् भन्ने भ्रमलाई पोखरा स्पोट्र्स अवार्डले चिर्न सफल भएको छ र देशकै प्रतिष्ठित अवार्डको रूपमा यसले आफ्नो स्थान सुरक्षित गरेको छ ।’ आगामी वर्ष मञ्चको अधिवेशनको वर्ष समेत रहेकाले नयाँ नेतृत्वले अझै रचनात्मक र सिर्जनात्मक रूपमा संस्थालाई अगाडि बढाउने विश्वास उनले व्यक्त गरे ।   नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पत्रकारिता क्षेत्रमा हुने अवार्ड कार्यक्रमलाई पोखराको विशिष्ट पहिचान वा ‘ब्राण्ड’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । अवार्डलाई थप भव्य र व्यवस्थित बनाउन सबै पक्षबीचको सहकार्य र एकता आवश्यक रहेको उनले उल्लेख गरे । उनले भने, ‘यसलाई पोखराको एउटा ब्राण्ड कार्यक्रम बनाउनका लागि तपाईं हामी सबैको सहकार्य र एकताको हिसाबले अगाडि बढ्नुपर्छ ।’   मञ्चका पूर्वअध्यक्ष केशव पाठकले पोखरा स्पोट्र्स अवार्डको सफलता र यसको गरिमालाई अझ उच्च बनाउन संस्थागत पारदर्शिता र नियमित समीक्षा अनिवार्य रहेको बताए । पाठकले कुनै पनि ठूला आयोजना वा कार्यक्रमको वास्तविक सफलता त्यसको आर्थिक पारदर्शितामा निर्भर रहने उल्लेख गरे । उनले मञ्चले हरेक वर्ष अवार्ड सम्पन्न भएपछि सार्वजनिक रूपमै आम्दानी र खर्चको फेहरिस्त पेश गर्ने परम्परा बसालेर सुशासन र जवाफदेहिताको एउटा नमूना पेश गरेको बताए ।   आर्थिक पाटो स्पष्ट र पारदर्शी हुँदा दाता, प्रायोजक र शुभेच्छुकहरूको संस्थाप्रतिको विश्वास थप प्रगाढ हुने पूर्वअध्यक्ष पाठकले बताए । अवार्ड भव्य र सभ्य रूपमा सम्पन्न भए तापनि केही प्राविधिक र व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी दिनको खाका तयार गर्नुपर्ने उनको सुझाव थियो ।   मञ्च गण्डकीका पूर्व अध्यक्ष एकराज गिरीले मञ्चले आयोजना गर्दै आएको स्पोट्र्स अवार्डलाई आगामी दिनमा अझ परिष्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए । अवार्डको १०औँ संस्करणसम्म आइपुग्दा यसले ठूलो आर्थिक कारोबार र प्रभाव जमाउन सफल भएको उल्लेख गर्दै गिरीले आगामी दिनमा यसको गरिमालाई अझ उचाइमा पु¥याउनुपर्ने धारणा राखे ।   अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले यसको गरिमा र भविष्यबारे आफ्ना धारणा राखे । उनले झण्डै ५ लाख रुपैयाँको न्यून बजेटबाट सुरु गरिएको यो अभियान अहिले ३५ लाख रुपैयाँ संकलन र परिचालन गर्न सक्ने हैसियतमा पुग्नु गौरवको विषय भएको बताए ।   अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको यो कार्यक्रमले अहिले एउटा स्थापित ब्रान्डको रूप लिएको उनको भनाइ थियो । उनले भने, ‘बचत भएको रकम फ्रिज गरेर मात्र राख्नु हुँदैन, यसलाई खेलकुद पत्रकारहरूको व्यावसायिकता र विश्लेषणात्मक समाचार लेख्ने क्षमता बढाउन लगानी गर्नुपर्छ ।’