पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् ।   इतिहास तथा संस्कार र संस्कृति गरि दुई भागमा विभाजित ‘‘मगर जातिको इतिहास’’ पुस्तक १७६ पृष्ठको छ ।   पुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामाकरण रु मगरात, मगरको मुल थलो, मगर राज्य र राजाहरु, मगरका थर र उपथर  , मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजा लगायतका विषय समेटिएका छन् । पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।   यसैगरि २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ । पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुस्तक हो ।    ‘भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खासगरिः मगर, गुरुङ, राई, लिम्बू लगायतका समुदायहरूको जीवन, संस्कार, संघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ प्रकाशन संस्था पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोकामगरले भनिन्,‘तत्कालिन समयमा राज्यले नै केही निश्चित जातिलाई छानिछानि भर्ती पठाइएको र त्यसले नेपाली समाजमा पारेको गहिरो असरलाई कृतिले उजागर गरेको छ ।’   पुस्तकले “लाहुरे” संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।   अध्यक्ष रोकामगरका अनुसार पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास समेत गरेको छ । यसले राज्य, समाज र व्यक्तिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्दै, विगतका अभ्यासहरूको वर्तमानमा परेको प्रभावबारे गम्भीर बहसको ढोका खोलेको छ । “भर्तीको फन्दा” ले पाठक, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकारवालाहरूबीच अर्थपूर्ण संवाद र बहसलाई थप सशक्त बनाउनेछ ।   लेखक मनोज घर्तीमगरले केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरि किताबको विमोचन गर्ने बताएका छन् । उनले पाठकलाई सहज रुपमा उपलब्ध होस् भन्ने हेतुले विमोचन अगावै पुस्तक बजारमा पठाइएको सुनाए ।   नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टडिजका अध्यापक लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दैछन् ।

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।    नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वअध्यक्ष घलेले फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए ।    सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार घलेलाई धन्यवाद ज्ञापन गरे ।   उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।   कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।   

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई प्रदान गरिन् ।   नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार पेश भएको प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका गतिविधि, पहल र उपलब्धि समेटिएको छ ।   प्रतिवेदनमा मधेशी समुदायको अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, समावेशी विकास तथा नीतिनिर्माणका क्षेत्रमा आयोगले गरेका कामकारबाहीलाई विस्तृत रूपमा समेटिएको सदस्य सिंहले जनाइन् ।   कार्यक्रममा प्रदेश प्रमुख भट्टले मधेशी समुदायको हकहित सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताए । आयोगले सरकारी सेवामा मधेसीहरूको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकामा खुशी व्यक्त गरे ।   भट्टले मधेसको समस्या मधेसको मात्र नभएर सबैको साझा समस्या भएकाले देश, सरकार, समाजले एकजुट भएर समाधान गर्नुपर्ने बताए । प्रदेश प्रमुखको कार्यालयले सिफारिस कार्यान्वयनका लागि प्रतिवेदनलाई प्रदेशसभामा पठाइने पनि जानकारी दिए ।   सबैभन्दा बढी जनसंख्या रहेको मधेशमा धेरै समुदाय रहेको उल्लेख गर्दै उनले मधेशमा रहेका दलित समुदायको पक्षमा काम गर्न पनि आग्रह गरे ।   आयोगकी सदस्य सिंहले मधेशी समुदायको हकहितका लागि नीति, नियम बनाउन आग्रह गर्दै मधेशी समुदायको पक्षमा काम गर्न प्रादेशिक रुपमा बजेटको विनियोजन गर्न पनि अनुरोध गरिन् ।

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।      मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गरेको छ । उहाँले राष्ट्र बैङ्कको सुपरीवेक्षण विभाग, बैङ्क तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गर्नुभएको छ ।      पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गर्दै सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सामान्य प्रशासनमन्त्री रावलले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ । मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन ।”      सामान्य प्रशासनमन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थमा सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब रु ११ अर्ब ७२ करोड घाटा भइरहेको छ । इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र इभी ९विद्युतीय सवारी० तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो ।      यस्तै, मन्त्रिपरिषद्को बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैङ्कले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।      बैठकले ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुरकै गोदावरीमा स्थानान्तरण गरी जल तथा ऊर्जा आयोगको सचिवालयो कार्यालयलाई पुल्चोकमा हाल जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।      समस्याग्रस्ता सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।      त्यसैगरी, पूर्वाधार विकासतर्फ नागढुङ्गा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेँसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति प्रदान गरेको छ ।      काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि काठमाडौँ, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६।३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र १८ हजार ८९८ वटा रूख काट्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   मेलाको मुख्य आकर्षणका रुपमा खुला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र माछापुच्छ्रे गाउँपालिकास्तरीय सामूहिक नृत्य प्रतियोगिता रहेका छन् ।    खुला क्लबस्तरीय पुरुष भलिबलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले ६० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुषतर्फको खेल तालिका बुधबार नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।    महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ र दोस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिला भलिबलमा १० टिमको सहभागिता रहेको छ । भलिबल प्रतियोगिताका विजेतालाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, डिफेन्डर, सेटर र ब्लकरले ट्रफी प्राप्त गर्नेछन् ।    यसैगरी, माछापुच्छ्रे गाउँपालिकाका स्थानीयका लागि मात्र आयोजना गरिएको सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने छन् । नृत्य प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क निःशुल्क गरिएको छ ।   मेलाका अवसरमा अन्य विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, छेलो प्रतियोगिता, रसाकस्सी, म्युजिकल चेयर, बेलुन फुटाई र भाले निकाल्ने प्रतियोगिता हुने आयोजकले बताए ।   ल्वाङ्ग गाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ एकै दिन करिब ६ सय जना पर्यटकलाई राख्न सक्ने क्षमताका होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।  

काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।

पोखरा ।    स्वदेशी लगानी र नेपाली आतिथ्यतालाई प्राथमिकता दिँदै आएको होटल पौवा ग्रुपले आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ ।    १० वर्षअघि रुपन्देहीको सालझण्डीबाट सेवा सुरु गरेको यस ग्रुपले वार्षिकोत्सवको अवसरमा देशभरका आफ्ना शाखाहरूमा तीन दिने ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको हो ।   नेपाली स्वाद र संस्कारलाई विश्वस्तरमा चिनाउने लक्ष्य राखेको होटल पौवा अहिले देशका २० विभिन्न स्थानमा विस्तार भइसकेको छ ।    ग्रुपले आफ्नो १०औँ गौरवमय यात्रा पूरा गरेको अवसरमा यही चैत २६, २७ र २८ गते विशेष ‘स्वाद उत्सव’ सञ्चालन गर्दैछ ।   सो उत्सवमा ग्राहकहरूले नेपाली रैथाने स्वादका साथै विशेष अतिथि सत्कारको अनुभव लिन पाउने होटलका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी  दिए ।    उनका अनुसार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा अधिकांश शाखामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसहित ‘शुभकामना साँझ’ आयोजना गर्ने ग्रुपको तयारी छ ।   होटल पौवा ग्रुपले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा महत्वकांक्षी ‘मिसन १००’ कोसमेत घोषणा गरेको छ ।   ७ वटा कोठाबाट सुरु भएको होटल पौवाको यात्रा १० वर्षमा आइपुग्दा २० वटा शाखा र १ हजार भन्दा बढी कर्मचारीसम्म विस्तार भएको छ ।    ‘मिसन १००’ लक्ष्य केवल संख्यात्मक मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र नेपाली हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने योजना रहेको भण्डारीले बताए ।   २५० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको यस ग्रुपले चैत २८ गते भैरहवामा लगानीकर्ता सम्मेलन गरी भावी रणनीतिक योजना तय गर्ने जनाएको छ ।  

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको हो ।   अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्सालले बैठकमा आआफ्नो धारणा राख्नुभएको छ ।   उहाँहरुले आ–आफ्नो धारणा राख्नुभएपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको बैठकसमक्ष घोषणा गर्नुभयो ।   यसैगरी, सभामुख पदमा निर्वाचित अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुहुनेछ ।शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।   को हुन् डोलप्रसाद अर्याल ?   डोलप्रसाद अर्याल नेपाली राजनीतिज्ञ हुनुहुन्छ । उहाँ वि.सं. २०७९ माघमा प्रचण्ड नेतृत्वको सरकारमा २० दिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहनुभएको थियो ।   वि.सं. २०७९ को निर्वाचनमा उहाँ खस जनताको वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भई विघटित प्रतिनिधि सभाका पूर्व सदस्य हुनुहुन्थ्यो । हाल उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिको रुपमा क्रियाशील हुनुहुन्छ ।   उहाँ माघ २०७९ मा सर्वोच्च अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सबै सार्वजनिक पदबाट हटाएपछि छोटो समयका लागि कार्यवाहक अध्यक्ष नियुक्त भएका हुनुभएको थियो ।   त्यसपछि सहकारी मुद्दामा लामिछाने कारागारमा रहँदा पनि अर्यालले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका हुनुहुन्थ्यो । लामिछाने कारागार मुक्त भएपछि अर्याल उपसभापति पदमा कायम हुनुभएको छ ।   अर्याल दुई पटक श्रम मन्त्री बनिसक्नुभएको छ । जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उहाँ रास्वपाबाट काठमाडौँ–९ निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगित गरेको थियो। आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो।   स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।   राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ। आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।   मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।   नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ।   आयोगले मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।