विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने फेवा नवबर्ष महोत्सवको निम्तो प्रदान गरेको हो । पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म यो महोत्सव हुँदै छ । विराटनगरमा आयोजित कार्यक्रममा होटन संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठले २५ बर्षदेखी जाउँ है पोखरा अभियानलाई निरन्तर संचालन गर्नु सराहनीय कदम भएको बताए । प्रबर्द्धनका यस्ता अभियानलाई भारतका उत्तर प्रदेश र बिहारमा पनि संचालन गर्न उनले सुझाव दिए । कोशी प्रदेशले पनि पर्यटनको अपार संभावना बोकेको भन्दै उनले प्रचारप्रशारको अभावले यो प्रदेश पछि परेको बताए । आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले पोखरा पर्यटनका हिसाबले निकै सस्तो गन्तब्य भएको बताउँदै फेवा महोत्सवका पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशत सम्म छुट प्रदान गरिएको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा अन्नपूर्ण क्षेत्र प्रवेशको आधार क्षेत्र मात्र नभई प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता साहसिक पर्यटनको गन्तब्य समेत भएको बताए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो पटकको जाउँ है पोखरा अभियान संचालन भईरहेको हो । अभियान १३ चैतसम्म चल्ने छ । कार्यक्रममा कोशी भ्रमण बर्ष २०८२ का संयोजक भविस श्रेठले नेपाल र भारतमा समेत नेपाल पर्यटन बोर्डले प्रबर्द्धनका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने सुझाव राखे । पोखरा र पूर्वी नेपालविच हवाई र गुणस्तरीय स्थल यातायात सेवा संचालनका लागि पहल जरुरी भएको उनले बताए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपाली पर्यटनमा कोशी प्रदेशको योगदान उच्च रहेको बताउँदै पोखरा र वरपरका लामाछोटा पदयात्रा गन्तब्यका बारेमा अबगत गराए । नाट्टा कोशीका अध्यक्ष पुण्य भट्टराईले पोखरामा पूर्वबाट पर्यटक पठाउन आफूले पनि भूमिका खेलिरहेको अवगत गराए । कार्यक्रमा होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वता पाण्डेले गरेकी थिईन् ।
पोखरा: माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रेको केन्द्र–४,लाहाचोकमा बुधवार देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । उद्घाटनको पहिलो खेल शुक्लागण्डकी नगरपालिका तनहुँ र माछापुच्छ्रे गाउँपालिका निलो बिच भएको खेलमा निरन्तर तिन सेटले पछि पर्दै सुक्ला गण्डकीले विजय सुरुवात गरेको छ । आयोजकको खेल तालिका अनुसार दोस्रो खेल अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका वडा न।२३ बिच थियो तर आयोजकले तोकेको निर्धारित समयमा वडा २३ उपस्थित हुन नसक्दा अन्नपूर्ण गाउँपालिकालाई आयोजकले आगामी यात्राका लागि विजय घोषण ग¥यो । महिला तर्फ पहिलो खेलमा आयोजक माछापुच्छ्रे निलो लाई एलिट भलिबल एकेडेमी,नदीपुर पोखराले सोझो ३ सेट जित्दै पछि पार्न सफल भयो । दोस्रो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले माछापुच्छ्रे« रातोलाई सोझो ३ सेट जित्दै पछि पार्दै आगामी यात्रा तय ग¥यो । कार्यक्रमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले “खेलसँगै पर्यटन प्रवर्द्धन र पर्यटनसँगै संस्कार–संस्कृतिको जगेर्ना गर्न सकिने बताए । खेल अनुशासनको प्रतीक भएको उल्लेख गर्दे अनुशासनसहित खेल प्रस्तुत गर्दै उपाधि हात पार्न सहभागी सबै टिमलाई शुभकामना दिए । उपाध्यक्ष सीता अधिकारीले गाउँपालिकाले खेलकुदलाई महत्त्वपूर्ण प्राथमिकतामा राख्दै विभिन्न समयमा पालिकाभित्र विभिन्न विधाका प्रतियोगिता सम्पन्न गर्दै आएको बताइन। खेल अनुशासन र भाइचाराको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलकुदले समाजमा एकता र सद्भाव बढाउने विश्वास व्यक्त गरिन । कार्यक्रममा वडा-४ का वडा अध्यक्ष मधुसूदन अधिकारीले पालिकाले खेलकुदका माध्यम बाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न वडामा खेलकुद प्रतियोगिता सञ्चालन गरेको स्मरण गर्दै चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता लाहाचोक गाउँमा सञ्चालन गर्ने पाउँदा पर्यटन प्रवर्द्धन थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्णमा हार्दिकता साथ स्वागत व्यक्त गरे । माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न ४ का अध्यक्ष मधुसूदन अधिकारीले गरेका थिए भने सञ्चालन खेलकुद विकास समिति सदस्य सचिव हुम व। गुरुङले गरेका हुन । मा छापुच्छ्रे गाउँपालिका वडा-४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म प्रतियोगिता चल्नेछ । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५/२५ हजार रहेको छ । महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५/१५ हजार रहेको छ । त्यसै गरी पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ । आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ । प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । वैशाख महिनाभरि वडामा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । सार्वजनिक कार्यतालिकाअनुसार जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी आगामी जेठ मसान्तसम्म केन्द्रमा पठाउनु पर्नेछ । केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी आगामी असार १५ गतेसम्म टुङ्गो लगाउने समयसीमा तोकिएको छ । यस्तै, अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्तसम्मलाई तोकिएको छ । केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुपूर्व नै निर्वाचन समितिलाई उपलब्ध गराई अधिवेशन प्रक्रिया अगाडि बढाउने पार्टीले निर्णय गरेको छ । कार्यतालिकाअनुसार, आगामी भदौ २ गते सबै वडा समितिको सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ भने भदौ ७ गते गाउँ नगरपालिका अधिवेशन गरिनेछ । भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने र महाधिवेशन गरिनेछ । यस्तै, आगामी असोज २ र ३ गते जिल्ला अधिवेशन गरिनेछ । यस्तै, महाविधेशनका अन्य कार्यक्रम तय गर्नुका साथै विभिन्न १६ वटा निर्णय गरिएका पार्टी केन्द्रीय कार्यालयका कावा मुख्यसचिव दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले राससलाई जानकारी दिनुभयो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको सिलिन्डर लिक भएपछि आगलागी भएको हो । भीषण आगलागी भएपछि किचन, डाइनिङ, स्टोर र ९ वटा बेडरुम जलेर पूर्ण नष्ट भएको उनले बताए । यस्तै आगलागीबाट पर्यटकका ५ वटा आइफोन र १ वटा डिएसएलआर र लत्ताकपडा जलेका छन् । उनका अनुसार मानवीय क्षति भने भएको छ । हाल अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) मा आधा दर्जन बढी होटल सञ्चालनमा छन् ।
काठमाडौं: प्रहरी वृत्त लैनचौरले ३ जनालाई लागुऔधष खैरो हिरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ घर भई जिल्ला काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजमुना मार्ग बस्ने १९ वर्षीय आदित्य मण्डल, सिन्धुलीको दुधौली नगरपालिका ५ का ४१ वर्षीय उत्तर बहादुर कार्की भन्ने शम्भु कार्की र भारतको सितामडीका २७ वर्षीय जितु कुमार राय रहेका छन् । यसअघि शम्भु कार्कीविरुद्ध २०७० साल पुष ३० गते डाँका र २०७७ भदौ ४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको देखिएको छ । हाल पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन १८ ग्राम, मोबाइल थान ३, नेपाली नगद ५६ हजार ८ सय ९५ रुपैयाँ र भारतीय नगद २ हजार ८ सय बरामत गरिएको छ । पक्राउ परेका उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दिन ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदको विकाससँगै गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि अध्यक्ष कप आयोजना गरिएको बताए । उनका अनुसार पुरुषतर्फ १६ र महिलातर्फ ८ गरी २४ समूहको टिम दर्ता भएको छ । प्रतियोगितामा पुरुषतर्फ विजेता बन्ने टिमले नगद रु २ लाख र उपविजेतलो नगद रु १ लाख र ट्रफि मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सेमिफाइनल प्रवेश गर्ने अन्य दुई टिमलाई नगद रु २५/२५ हजार प्रदान गरिने छ । यसैगरी महिलातर्फ विजेताले नगद रु ६० हजार र उपविजेताले नगद रु ३० हजार, ट्रफि र मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सेमिफाइनल प्रवेश गर्ने अन्य दुई टिमलाई नगद रु १५/१५ हजार प्रदान गरिने छ । यस्तै पुरुष तथा महिला भलिबलमा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयीमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार स्वरुप प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर विकको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शोको तयारी करिब सकिएको आज (सोमबार) आयोजित पत्रकारसम्मेलनमार्फत जानकारी दिइएको हो । उक्त अटो शो बाराहीघाट खेलमैदानमा यही ११ गतदेखि १५ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए । उनका अनुसार उक्त शोमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे , ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका २ पाङ्ग्रे र १ वटा हेभी कमर्सियल लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण लगायतका २० वटा स्टल रहनेछन् । उनले डिपल, अथर, बिवाइडी, चेरीवान्डा, न्यू गो नाव, सुजुकी, टाटा, टिभिएस, यामाहा, निशान, ओमोडा, किया, हुन्डाई लगायतका २ दर्जन भन्दा बढी ब्राण्डका चार तथा दुई पाङ्ग्रे साधनको प्रदर्शनी तथा विक्री वितरण हुने बताए । ‘गत वर्षको शोमा करिब १ सय ५० वटा भन्दा बढी कारको बुकिङ भएको थियो, ‘यो वर्ष हाम्रो लक्ष्य त्यो भन्दा बढी छ । त्यसैले शोमा भिजिट गर्न करिब ४५ हजार बढी आउनुहुन्छ भन्ने विश्वास छ’, उनले भने । यस्तै संस्थाका महासचिव विनय थापाले उक्त शोमा आकर्षणका रुपमा भिन्टेज कार शो र युनिट्री जि वान ह्युमानोइड रोबट, युनिट्री गो टु र चंखेजस्ता रोबटहरुलाई पनि समावेश गरिएको जानकारी दिए । उनका अनुसार अटो शोमा प्रवेश शुल्क १ सय रुपैयाँ निर्धारण गरिएको छ भने, विद्यार्थीका लागि प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । सवारीमा लागू ३ सय प्रतिशत हटाउने सम्भावना कम पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) का उपाध्यक्ष निरन केसीले पछिल्लो समय सामाजिक सञ्चालमा आएको सवारी साधनमा सरकारले लगाएको ३ सय प्रतिशत कर हटाउने सम्भावना कम रहेको बताए । उनले मिडिया ट्रायलका रुपमा ३ सय प्रतिशतको विषयलाई प्रोपोगण्डा मच्चाएको उल्लेख गरे । ‘३ सय प्रतिशतको कुरा मिडिया ट्रायल मात्रै हो । यो विविध कारणले सम्भावना कम छ । तर इभी गाडीमा त्यो लागु छैन, उनले भने ‘सरकारले नै सहुलियत दिएको छ । त्यसैले इभी गाडीको प्रयोग ह्वात्तै बढेको छ ।’ उनले इभी गाडीको विक्री तुलनात्मक रुपमा बढी भएकाले अटोमोवाइलको दक्ष जनशक्ति नभएको सुनाए । ‘अहिले इभी गाडीको व्यापार र प्रयोग एकदमै धेरै बढेको छ, उनले भने, ‘यसको क्षेत्रमा दक्ष मेकानिक र इन्जिनियरको कमी छ । त्यसैले हामीले त्यस्तो योग्य र दक्ष जनशक्तिको खोजीमा छौं ।’

