नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगित गरेको थियो। आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो।   स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।   राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ। आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।   मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।   नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ।   आयोगले मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा  महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ।   उक्त भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक, सदस्यहरू ,सम्बन्धित सरकारवाला एवं स्थानीयहरूको उल्लेखनीय  उपस्थिति रहेको थियो।   छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको  कार्यसम्पादन प्रस्तुत गरेका थिए ।   भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको  निष्कर्ष निकालेको छ । साथै उक्त भेलाले २०८२ चैत्र २३ गतेका दिन विष्णुपादुका खेलमैदानमा अवस्थित क्लब भवन प्राङ्गण दिनको ठिक १ बजे महोत्सवको पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।   महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहनुभएका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले भेलाका बिच आलु महोत्सव पोखराको मात्र नभई समग्र देशकै ब्रान्ड बनेको उल्लेख गर्नुहुँदै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारेका थिए  ।    हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत् प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको थप उल्लेख गरे  ।   भेलामा पूर्व अध्यक्ष रमेश कार्की एवं निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवमा भएका कमी कमजोरीलाई मूल्याङ्कन गर्दै आगामी दिनमा त्यसको सुधार गर्नुपर्ने र नयाँपन झल्कने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए।   ‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रूपमा आलु तथा ताजा तरकारीहरूको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी समेत रहने छ ।   मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव विकल थापाले  सञ्चालन गरे ।

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियानअन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिए ।   प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेस प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए ।   यस्तै २० गते मधेश प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौँ उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिकस्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन् । प्रवक्ता काफ्लेले अभियान जारी रहने बताए ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै नियम उल्लङ्घन नगरेको दाबी गरेका हुन् ।   ‘जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं । कुनै बैकको ऋण छैनÚ, उनले थप लेखेका छन्, ‘एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ । तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’   शाक्यले लेकसाइडमा वाटर फ्रन्ट होटल सञ्चालनमा ल्याएका थिए । यो होटेलको संरचना फेवा तालको क्षेत्रभित्र पर्ने भन्दै शनिबार महानगरपालिकाले केही संरचना हटाएको थियो ।   शाक्यले कुनै सूचनाबिनै संरचना हटाएको भन्दै आपत्ति पनि जनाएका छन् । तर, यसअघि नै पटक-पटक महानगरपालिकाले त्यस क्षेत्रमा नयाँ संरचना नबनाउन र बनाएका संरचना हटाउन अनुरोध गर्दै आएको थियो । बेलाबेला केही संरचना हटाउनेसमेत गरेको थियो ।   फेवातालको ६५ मिटरको मापदण्ड तोकिएको छ । त्यस क्षेत्रभित्र पर्ने संरचना हटाउन अदालतले आदेश दिइसकेको छ । त्यसपछि व्यवसायी अदालत गएका थिए । तर, अदालतले स्टेअर्डर नदिएपछि महानगरपालिकाले संरचना हटाउन सुरु गरेको हो ।    

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३।५ रेक्टर स्केलको भूकम्प गएको छ ।   यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । 

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने, नयाँ व्यापार र लगानीका अवसरहरू पहिचान गराउने उद्देश्यसहित गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेश राज श्रेष्ठले हीरक जयन्तीको ब्यानर सार्वजनिक गर्दै उद्घाटन गरे ।    सो अवसरमा हीरक जयन्ती समारोहका संयोजकसमेत रहेका श्रेष्ठले विभिन्न क्षेत्रका उद्योगपति तथा व्यवसायीहरुमाझ आफ्ना व्यवसायीक अनुभव सुनाए ।    उनले विशेष गरी बाह्य मुलुकसँग व्यापारिक सम्बन्ध बनाउन सके सफल व्यवसायी बन्न सकिने धारणा राखे ।    चीनको कोरला नाका खुला भइसकेकाले चीनबाट समाग्री नेपाल भित्राउन सकिने सुझाव दिँदै त्यसका लागि आफ्नो तर्फबाट र नेपाल चेम्बर अफ कमर्सको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।    यस्तै चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले संस्थाले व्यवसायीक हक हितको पक्षमा मात्र नभई सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको स्मरण गराए ।   उनले समसामयीक राजनीतिको सन्दर्भमा बोल्दै हालको सरकारले निजी क्षेत्रको लगानीकर्ताको मनोबल उच्च हुने खालका नीति तथा कार्यक्रमसहित बजेट ल्याउनुपर्ने धारणा राखे ।    नयाँ सरकारलाई अत्याधिक अवसर रहेको उल्लेख गर्दै सोही अनुसारको व्यवसायीमैत्री कानून तर्जुमा गर्नुपर्नेमासमेत जोड दिए ।    कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय बिस्तारका रणनीतिहरू सम्बन्धी विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।   चेम्बर अफ कमर्स गण्डकीका महासचिव देवराज शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्रका बागलङ, पर्वत, तनहुँ, स्याङ्जासँगै पोखराका व्यवसायी, उद्योगपति, विज्ञ तथा चेम्बर अफ कमर्स जिल्ला समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।    हीरक जयन्तीको अवसरमा नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा ७५ जना महिलालाई सम्मानसमेत गरिसकेको छ भने, विभिन्न कार्यक्रमहरु आयोजना गरी हीरक जयन्ती मनाइरहेको छ ।

पोखरा ।   होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी तिब्र पारिएको छ ।   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिँदै आयोजना हुने महोत्सवमा संघमा आबद्ध होटलहरुले विशेष छुट दिने संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।    उनका अनुसार सो महोत्सवमा नौमती बाजा प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकारको प्रदर्शनी, लोकदोहोरी तथा आधुनिक सांगीतिक प्रस्तुति, पर्यटक दौड प्रतियोगिता लगायत विविध कार्यक्रमहरू समावेश गरिएका छन् । उनले पश्चिमा मुलुकमा भएको द्वन्दका कारण यतिबेला पर्यटकको आवागमनमा प्रभाव परेको बताए ।    पोखरा रहेका पर्यटकको बसाई लम्बाउका लागि उक्त महोत्सवले थप सघाउ पुग्ने अध्यक्ष सुवेदीको भनाई छ ।   ३ दिन चल्ने महोत्सव सफल बनाउन २० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।   महोत्सव अवधिमा आन्तरिक तथा बाह्य गरी झण्डै ३ लाख पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।   महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने, सह–प्रायोजन एक्सिट्रिम इनर्जी ड्रिंकसले गरेको छ । यस्तै नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका तथा गण्डकी प्रदेश सरकारको समेत महोत्सवमा सहयोग रहेको छ ।   होटल संघ पोखरामा आवद्ध कुल ४ सय २५ वटा होटलमा ४० हजार बेड रहेका छन् भने १५ हजारले रोजकारीको अवसर पाएका छन् ।

  पाेखरा ।    गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।   बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने विश्वास व्यक्त गरे ।    विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई नभएको भन्दै सरकारले गर्ने  निर्णय र क्षमतामा आगामी यात्रा तयार हुने तर्क उनको छ । सरकारलाई सफल बनाउन आफ्नो ठाउँबाट सघाउने प्रतिवद्धता उनको छ ।   मन्त्री पौडेलले गण्डकी प्रदेश सरकारका मन्त्रालय मध्यबाट सबैभन्दा बढी आफ्नो मन्त्रालयबाट भएको दावी गरे। अ​र्को प्रसंगमा उनले आफ्नो मन्त्रालयले राजश्व सङ्कलनको मात्रा बढाएको र अझै बढाउने उल्लेख गरे ।   आफू निजी क्षेत्रबाट आएको व्यक्ति भएको कारण समेत प्रगति हासिल गर्न सहज भएको उनको भनाइ छ । लमजुङ उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी समेत रहेका उनले व्यवस्थापन पक्षलाई ध्यान दिँदा राजस्व सङ्कलनमा वृद्धि भएको दावी गरे । लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले सिटी वान टेलिभिजनले स्थापनाको छोटो समयमा गरेको काम लोकप्रियता गौरव गर्न लायक रहेको उल्लेख गरे । टेलिभिजन सञ्चालन गर्नको लागि सहज अवस्था नभएपनि सबै क्षेत्रलाई समेटेर काम गरेकोले आवाज बिहीनको आवाज र दृष्टिबिहिनको दृष्टि बन्न सफल भएको भन्दै उनले प्रसंशा गरे ।    पोखरा च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नयाँ सरकार निर्माण पत्श्चात निजी क्षेत्र उत्साहित रहेको भन्दै विगतमा कमीकमजोरीमा सुधार हुनुपर्ने बताए ।   पोखरा भ्रमण वर्ष २०२५ र २०२६  कार्य सम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले पर्यटन क्षेत्रको प्रमोसन र मार्केटिङमा टेलिभिजनले खेलेको भूमिकाको तारिफ गरे ।   नयाँ सरकारले केही गर्ने आशा देखाएकोले आउने दिन सुखमय बन्ने विश्वास उनको थियो । सबैले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भन्दै २०८३ सालमा टेलिभिजनसँग  सहकार्य  गर्ने प्रतिवद्दता  समेत जनाए ।   लेखनाथ उद्योग वाणिज्य संघ उपाध्यक्ष विक्रम कर्माचार्यले यतिबेला डलरको रेटमा भएको वृद्धि र इन्धनको अभाव लगायतको कारण व्यवसाय क्षेत्रमा असर परेको बताए । अब सरकारले देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।   कार्यक्रममा पोखराका उद्योगि, व्यवसायी, शैक्षिक व्यक्तित्व, सञ्चारकर्मी टेलिभिजन सेयर सदस्य, शुभचिन्तक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।   स्टार नेपाल मिडिया हब प्रा.लि.द्वारा सञ्चालित सिटीवान टेलिभिजनले वि‍.सं. २०७८ मंसिर २१ गतेदेखि नियमित प्रसारण सुरु भएको थियो ।    टेलिभिजनले हरेक वर्ष क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।  

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्।   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।   जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २ सय ८८ र बागलुङमा ४ हजार २ सय ३९ विद्यार्थी रहेका छन्।   त्यस्तै गोरखामा ३ हजार ७ सय ९७, लमजुङमा २ हजार ८ सय ६२, पर्वतमा २ हजार २ सय १७ र म्याग्दीमा २ हजार २२ विद्यार्थी सहभागी हुनेछन् । सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा १ सय ८६ जना विद्यार्थी रहेको विवरणमा उल्लेख छ।   प्रदेशभर १८७ वटा परीक्षा केन्द्र तोकिएको छ भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको जनाइएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।   गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले एसईई परीक्षालाई विद्यार्थीमैत्री, सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाहरूलाई समन्वय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।   मन्त्रालयका अनुसार एसईई विद्यार्थीहरूको शैक्षिक जीवनको महत्वपूर्ण मोड भएकाले यसलाई तनावमुक्त, अनुशासित र सकारात्मक वातावरणमा सम्पन्न गराउन अभिभावक, शिक्षक, विद्यालय प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीबीच सहकार्य आवश्यक छ।   अभिभावकहरूलाई घरमै शान्त र अध्ययनमैत्री वातावरण सिर्जना गर्न, बालबालिकासँग नियमित संवाद गर्न र अनावश्यक दबाब नदिन आग्रह गरिएको छ। “निश्चित ग्रेड ल्याउनैपर्छ” भन्ने सोचभन्दा प्रयासको कदर गर्दै आत्मविश्वास बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। साथै पोषिलो आहार, पर्याप्त निद्रा र अध्ययनबीच सन्तुलन कायम गर्न तथा मोबाइलजस्ता उपकरणको प्रयोग सीमित गर्न सुझाइएको छ।   विद्यालय र शिक्षकहरूलाई विद्यार्थीको शैक्षिक अवस्था र मनोस्थिति बुझी अभिभावकसँग समन्वय गर्न, डररहित वातावरण सिर्जना गर्न तथा आवश्यक परे अतिरिक्त सहयोग उपलब्ध गराउन निर्देशन दिइएको छ । टाढाबाट आएका विद्यार्थीहरूको व्यवस्थापनमा पनि विशेष ध्यान दिन भनिएको छ।   केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षाकर्मीहरूलाई परीक्षा वातावरण बालमैत्री बनाउन, अनावश्यक कडाइ वा त्रास नदेखाउन तथा परीक्षार्थीको गोपनीयता कायम गर्न निर्देशन दिइएको छ। परीक्षा केन्द्रमा स्वच्छ खानेपानी, शौचालय, सेनिटरी प्याड र प्राथमिक उपचारको व्यवस्था अनिवार्य गरिएको छ।   नक्कल तथा नक्कली परीक्षार्थी नियन्त्रणमा सजग रहन र परीक्षा आचारसंहिता पूर्ण रूपमा पालना गराउन मन्त्रालयले जोड दिएको छ।   सरोकारवाला सबै पक्षको सहकार्य, जिम्मेवारी र संवेदनशीलताबाट मात्रै एसईई परीक्षा सफल, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सकिने विश्वास गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । एसईई परीक्षा २०८२ चैत १९ गतेदेखि २९ गतेसम्म हुँदैछ ।