म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ । दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा रातोमाटोको खानी छ । म्याग्दी, पर्वत र बागलुङका ग्रामीण क्षेत्रमा घर रङ्ग्याउन आवश्यक रातोमाटो सालघारीको खानीबाट लैजाने गर्छन् । यसपालि हालसम्म २१ ट्रयाक्टर रातोमाटो बिक्री भइसकेको रत्नेचौरका स्थानीयवासीसमेत रहेका व्यवसायी एकिन्द्र महतले बताए । ‘खानी भएको जग्गाका धनीले प्रतिबोरा एक सयका दरले माटो बेच्छन्’, उनले भने, ‘ट्रयाक्टरमा राखेर गाउँगाउँमा पुर्याएर न्यूनतम प्रतिबोरा पाँच सयका दरले बिक्री हुन्छ ।’ एक दशकअघिसम्म दसैँतिहारको सिजनमा रातोमाटो लिनका लागि सालघारीमा आउने सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । हाल व्यापारीले गाडी र ट्रयाक्टरमा ढुवानी गरेर रातोमाटो घरघरमा पुर्याउने गरेका छन् । वार्षिक ३० ट्रयाक्टरभन्दा बढी रातोमाटो बिक्री हुने व्यवसायी व्यवसायी महतले बताए । खानीबाट बोरामा भरेको माटो ट्रयाक्टरमा राखेर गाउँगाउँमा लगेर बेच्ने गरेको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट माटो किन्नका लागि सालघारी पुगेका सागर सुनारले बताए । सफा र चम्किलो हुने भएकाले रत्नेचौरको रातोमाटोको माग उच्च रहेको उनको भनाइ छ । स्थानीयवासीले माटो बिक्रीका साथै माटो खन्ने काम गरेर पनि आम्दानी तथा रोजगारी पाएका छन् । बेनी, बागलुङ, कुश्मा नगरपालिका, जलजला, काठेखोला, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा रत्नेचौरको रातोमाटो खपत हुन्छ । सालघारीकी जुना किसानले यसपालि मल्लाजका व्यापारीलाई २० हजारमा बारीको रातोमाटो ठेक्कामा बेचेको बताए । माटो निकालेपछि सम्मिने पाखोमा बारी बनाएर खेतीबाली लगाउने गरेको उनले बताए । घडेरी सम्याउनका लागि निस्किएको माटो प्रतिट्रयाक्टर आठ हजारमा बिक्री गरेको स्थानीय भगवती विश्वकर्माले बताए । सालघारीबाट वार्षिक तीन लाखको हाराहारीमा रातोमाटो बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ । पक्की घर बनाउने, रङ र गेरु लगाउने चलन बढेपछि ग्रामीण क्षेत्रका ढुङ्गे घरमा रातोमाटो र कमेरो लगाएर रङ्ग्याउने चलन छ । दसैँअघि घरको सरसफाइ गर्ने, रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन अझै छ । रातोमाटोले लिपपोत गरेका ढुङ्गेघर चिटिक्क र आकर्षक देखिन्छन् । रातोमाटो पाइने भएकाले यो ठाउँको नाम रत्नेचौर नामकरण भएको बताइएको छ । रातोमाटो निकाल्दा खाल्डोमा पुरिने, पहिरो खस्ने जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्छ । विपद् र दुर्घटनाको जोखिम न्यूनीकरण गरी रातोमाटोलाई प्रशोधन र प्याकेजिङ गरेर बजारीकरण गर्न सकिने सम्भावना छ ।
ढोरपाटन: काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याएको थियो । नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका सात वडामा सात स्वास्थ्यचौकी तथा चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । टाढाका गाउँलेलाई लक्षित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उहाँको भनाइ छ । सोह्र महिनामा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले २०८१ साउनदेखि काम सुरु गरको थियो । करिब छ महिनाअगावै काम सकिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक नागरिकले सहज रूपमा स्वास्थ्योपचार गर्न पाउनुपर्छ । त्यसैले पालिकाको विभिन्न वडामा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर पहिलेदेखि नै सेवा दिँदै आएका छौँ, अब एउटा अस्पताल पनि आवश्यक देखिएको हुँदा वडा नं ७ मा पाँच शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ, केही समयमै सेवा सञ्चालन हुनेछ ।” काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले यहाँ स्वास्थ्यचौकी मात्र रहेकाले आधारभूत अस्पताल निर्माण गरेको बताउनुभयो । अब स्वास्थ्यचौकीको सेवा आधारभूत अस्पतालमै गाभिने र सेवा थप गरेर प्रवाह गरिने छ । पछिल्लो पाँच वर्षमा काठेखोलाले वडा नं ८ कादेसमा स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिका– ६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातको समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उनको दाबी छ । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो । पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अलपत्र यात्रुलाई नि:शुल्क खाना यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा यहाँका शनिबार निःशुल्क खाना र खाजा वितरण गरेका छन् । जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए । जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए । पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । मुग्लिन र नारायणगढ दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । जिल्ला प्रशासनको अगुवाइमा पनि शनिबार अलपत्र यात्रुलाई पानी र खाद्यान्न बाँडिएको थियो ।
काठमाडौं: आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आइतबार अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा भट्टराईले बताउनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । चाडपर्व यज्ञयज्ञादि तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरू पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रूपमा दिइएका विकल्पअनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठुला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथि सोह्र श्राद्धमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीजस्ता श्राद्धहरू प्रचलित छन् । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको छ । सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको घुइँचो लाग्छ । पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । असोज ६ गते सोमबार घटस्थापना गरेसँगै दुर्गापक्ष सुरु हुन्छ ।
काठमाडौं: इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ। समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना कैदी बन्दी रहेको बताएको छ। जसमा नेपालमा विपिन जोशी पनि छन्। हमासले बन्दी भन्दै सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन्। कसको मृत्यु भएको हो र को(को जीवित छन् भन्ने चाहिँ खुलेको छैन। नेपालका विपिन अहिलेसम्म जीवितै रहेको आसा गरिएको छ। यद्यपि, इजरायली अधिकारीहरूले करिब २० जना बन्दीहरू अझै पनि गाजामा जिउँदै राखिएको विश्वास व्यक्त गरेका छन्। सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad” राखिएको छ। सन् १९६८ देखि लेबनानमा हराइरहेका इजरायली वायु सेनाका क्याप्टेनको नाममा उक्त क्याप्सन राखिएको हो। हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ( ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’ त्यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भएको नरसंहारकारी युद्ध अन्त्य गर्न हमाससँग सम्झौता गर्न गरेको अस्वीकार तथा इजरायली सेनाप्रमुख एयाल जामिरको नेतृत्वमा भइरहेको स्थल तथा हवाई आक्रमणतर्फ संकेत गरेको अलजजिराको भनाइ छ। इजरायलले गाजा सहरलाई पूर्णरुपमा कब्जामा लिने घोषणा गरेको छ। उक्त घोषणापछि गाजामा स्थल र हवाई आक्रमणमा तिब्रता दिएको छ। सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा सरप्राइज खालको आक्रमण गरेर करिब १ हजार जनाको हत्या गरेपछि इजरायलले त्यसको बदलामा गरेको आक्रमणमा अहिलेसम्म ६५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
काठमाडौं: मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो। ठुलो पहिरो खसेपछि रातभर सडक खुल्ने सम्भावना कम देखिएको प्रहरीले जनाएको छ। अहिले निरन्तर पहिरो खसिरहेकाले तत्काल सडक खुल्ने अवस्था छैन। सडकको दुई तर्फबाट पहिरो हटाउनेकाम भए पनि पहिरो निरन्तर झरिरहेकाले समस्या भएको छ। थप पहिरो खस्नेक्रम रोकिएमा चार घण्टामा पहिरो हटाउने सकिने अनुमान गरिएको छ। शुक्रबार साँझदेखि मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहँदा पहिरो आएर समस्या बनाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुङ्गा झरिरहेको छ । शनिबार बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाई र १६ मिटर उचाइमा पहिरो रहेको छ । अहिले पनि सानो पहिरो र ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको उहाँले बताउनुभयो ।
बागलुङ: चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । रु आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल विसं २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएसरएसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उनको भनाइ छ । पालिकाबाट भुक्तान गर्न बाँकी रहेको रु एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्नसके काम गर्न समस्या नहुने उनी बताउछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । पोहोर सालनै सकिनुपर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो । बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउछन् । अदैले भने, “यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्योबाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्नसके काम अगाडि बढ्थ्यो, बजेट नआउँदा काम गर्न सकिएन ?” निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले रु एक करोड ५० लाख सङ्घीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताए । सङ्घीय सरकारअन्तर्गतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उनको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थमन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुनमगरले बताए । अहिले पनि बजेटका लागि पहल भइरहेको उनी बताउछन् ।
पाँचथर: वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुग्नु भएकै थिएन । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उहाँ झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहनु भएको थियो । गत भदौ तेश्रो साता मोबाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैँसम्ममा घरको भुईं तलाको काम सक्ने बताउनुभएको थियो । “दसैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो”, गणेशले भन्नुभयो, “तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो ।” गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहा नै थिएन । घर निर्माण गरिरहेका कमल ‘जेनजी’ प्रदर्शन चर्किएको समयमा भदौ २४ गते साँझ आन्दोलनमा सहभागी हुन झापाको विर्तामोड जानुभएको थियो । कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिन । एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लाग्नुभएको थियो । रात पर्दै गएपनि कमलको फोन उठेन । श्रीमती सीता, बहिनी मायालगायतले रातैभरी मोबाइलमा फोन गरे । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो । बहिनी मायाका अनुसार गत भदौ २५ गते बिहान १० बजे कमलको फोन बिएण्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए । सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ । आएर लिएर जानु’ भने । “हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्”, मायाले भन्नुभयो, “दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।” जेनजी प्रदर्शन उत्कर्षमा पुगेका बेला भदौ २४ गते साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आउनुभएको थियो । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएण्डसी अस्पताल पुर्याएका थिए । कमलका परिवारजनले भोलिपल्ट मात्रै उहाँ ‘भेण्टिलेटर’मा भएको जानकारी पाए । “दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो”, बहिनी मायाले भन्नुभयो, “चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनु भएन भन्नुभयो । हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।” कमलको शवलाई भदौ २८ गते अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बस्नुभएको छ । ५७ वर्षका बाबु गणेश आफैँ बिरामले थलिनुभएको छ । बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ । बिरामी बाबु गणेशका गला अवरुद्ध छन् । गर्भवती श्रीमती सीता अझैँसम्म ‘अर्धचेत’ हुनुहुन्छ । सिकुवामा ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेर ३० वर्षका छोराको तस्बिर राखिएको छ । आफन्त र छरछिमेकी घरभरि छन् । तर गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास । झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गर्दै आउनुभएको थियो । परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै । “हामीलाई पनि घर बनाइ सकेर झापा नै लैजाने भन्दै थियो । तर खोइ आज के आइलाग्यो रु”, भक्कानिदै बाबु गणेशले भन्नुभयो । भुइ तला ढलान सकिएको घर फिनिसिङ गर्न बाँकी छ । कमल दसैँमा घर सिङ्गार्न आइपुग्नु भएन नै दसैँको मुखका परिवार र सिङ्गो गाउँ शोकमा डुबेको छ । तीस वर्षीय कमलको आठ वर्ष खाडीमै वितिसकेको थियो । खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरीद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ । कमलका पाँच वर्षका छोराले अब कहिल्यै बाबु भेट्ने छैनन्, गर्भमा रहेको सन्तानले बाबु देख्न पनि पाउने छैन । अर्धचेत श्रीमती सीताले सहयात्राको सात वर्षमै श्रीमान् गुमाउनु परेको छ । “यिनीहरुको भविश्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ”, काका शान्तिरामले भन्नुभयो । सहिद परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन् । “हामीलाई भेट्न वडाध्यक्षसमेत आउनुभएको छैन्”, सहिद कमलकी बहिनी मायाले भन्नुभयो, “देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ वित्दा कसैले वास्ता पनि गर्नुभएन ।” जेनजी आन्दोलनका सहादत प्राप्त गरेकाका परिवारलाई दिइने भनेको राहतवारे पनि भण्डारी परिवार जानकार छैन ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ । शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

