काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपदमा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् । बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् । यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् । सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् । सर्पदंशका ३०४ घटना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २१७ घटना घटदा २० जानको निधन भएको छ । यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित भएका छन् । विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।
मुस्ताङ: दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ। यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो। केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले मुस्ताङकै किसानका छ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिनुभयो। कर्णाली प्रदेशको जुम्लाबाट ७७५, मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार चार सय भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको पशु चिकित्सक अर्यालले बताउनुभयो। मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने अनुमान गरिएको छ। गतवर्ष दसैँमा मुस्ताङबाट नौ हजार बढी भेडाच्याङ्गा अन्य जिल्ला पठाइएको थियो। गत वर्षको तुलनामा औसत २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला पठाइएको पशु चिकित्सक डा। अर्यालले उल्लेख गर्नुभयो। यस वर्ष ५० प्रतिशत मुस्ताङबाट र ५० प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोम, घाँसा हुँदै पठाइएको हो। कास्कीका भेडाच्याङ्ग्रा व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्याबाट कृषकको खोरबाटै २३५ वटा च्याङ्ग्रा खरिद गरी बिक्रीका लागि पोखरा लैजाने तयारी गरेको बताउनुभयो। उपल्लो मुस्ताङका कृषकहरूको गोठमै पुगेर च्याङ्ग्रा छनोट गरी ल्याएको उहाँको भनाइ छ। यसपटक कृषकको खोरमै गतवर्ष भन्दा केही बढी मूल्य परेको उहाँले बताउनुभयो। यसवर्ष रोज्जा च्याङ्ग्रा प्रतिगोटा ३५ हजार र माउ (च्यालु) को १३ हजार रुपैयाँ मूल्य परेको व्यापारी रानाभाटको भनाइ छ। मुस्ताङबाट खरिद गरिएका च्याङ्ग्रा पैदलै पोखरा लगेर बिक्री गरिने उहाँले बताउनुभयो। सायद पोखरामा लैजाँदा रोज्जा च्याङ्ग्राको ४२ हजार र च्यालु च्याङ्ग्राको १८ हजार रुपैयाँमा बिक्री गरिने व्यापारी रानाभाटले बताउनुभयो। गतवर्ष मुस्ताङबाट २८६ वटा च्याङ्ग्रा पोखरा लगेर बिक्री गर्दा राम्रै फाइदा भएकामा यसवर्ष देशमा उत्पन्न परिस्थितिले गर्दा च्याङ्ग्रा बिक्री नहुने पो होकी भन्ने चिन्ता बढेको व्यापारी रानाभाटले जनाउनुभयो। दसैँका लागि जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको व्यापारी र च्याङ्ग्रा धनीको समन्वयमा खोरमै पुगेर भेटेरिनरी परीक्षण गरिएको छ। यहाँ परीक्षण गरिएका भेडाच्याङ्ग्राको अवघि ७२ घण्टासम्मको हुनेछ। मानव स्वास्थ्यको रक्षा र अस्वस्थकर च्याङ्ग्राका कारण रोगव्याधी नफैलिओस भन्ने अभिप्रायले भेडाच्याङग्राको परीक्षण गरिएको हो। मुस्ताङमा यसवर्ष करिब एक सयभन्दा बढी च्याङ्ग्रा व्यापारी आएका छन्। यहाँबाट खरिद गरिएका च्याङ्ग्रा व्यापारीहरूले पोखरा–काठमाडौँलगायत स्थानमा लगेर बिक्री गर्छन्। कतिपय व्यापारीले मुस्ताङबाट निकासी गरिएका च्याङ्ग्रा पैदल खेदाउँदा म्याग्दी, पर्वत र बाग्लुङलगायत स्थानमा लगेर बिक्री गर्ने गर्छन्। हिमाली जिल्लाको उच्च लेक तथा पाटनमा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले सहर बजारको उपभोक्ता दसैँमा च्याङ्ग्राको मासु खान रुचाउँछन्।
पोखरा: काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाडौंका फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् । वेष्ट अफ इलाभेन आधारमा भएको फाइनल खेलमा जित हासिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी हाइएस्ट ब्रेकरको उपाधि बाडे । उनीहरुले नगद १०÷१० हजार पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, कास्की बिलियार्ड स्नूकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका बरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खलि थापा, संघका महासचिव सविन जिसी, कोषाध्यक्ष धिर बहादुर लामा, खेलाडी होम नेपाली, प्रतियोगिताका संयोजक सोम बि.क. लगायतले पुरस्कार वितरण गरेका थिए । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौं १७ गते देखि सुरु भएको थियो । पोखरा महानगरको प्रबद्र्धनमा संचालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागि भएको प्रा.लि.का संचालक प्रताप गुरुङले बताए । देशको विसम परिस्थिमा पनि उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने प्रति उनले धन्यवाद समेत व्यक्त गरे । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा भएको उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुगेकोे संयोजक बि.क.ले बताए । जेनजी आन्दोलनका कारण प्रतियोगिता केही दिन स्थगित हुँदा भदौं २८ गते सकिने प्रतियोगिता ३ दिन लम्बिदै भदौं ३१ गते समापन भएको हो ।
पोखरा: विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २५० जना खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले बताए । फष्ट कम फष्ट सर्भिस आधारमा २५० जना खेलाडीहरुको नाम दर्ता पुग्नसाथ फर्म बन्द गरिनेछ । फर्म भर्न चाहनेले पोखरा क्लिक अनलाइनमा गई भर्नुपर्नेछ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता यसअघि असोज ४ मा हुने भनिए पनि जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म हुने दौडमा ६ इभेन्ट समावेश गरिएको छ । विभिन्न इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था रहेको आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, सिटिजन्स फर्निचर, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार, गण्डकी प्रादेशिक क्रिकेट संघ, बुमह््रयाङ रेष्टुरेण्ट लगायतको सहयोग छ । प्रदेश खेलकुद परिषद् गण्डकी समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । प्रतियोगितामा खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।
काठमाडौं: गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ। हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए । आक्रमणका क्रममा देउवालाई पछाडिबाट धारिलो हतियारले हानिएको खुलेको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सानेपामा बसेको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिएका हुन् । ‘आजको बैठक पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथिको अमानवीय र बर्बर भौतिक आक्रमणको कडा निन्दा गरेको छ’, उनले भने, ‘साथै उहाँहरूको घरमा गरिएको आगजनीको पनि भर्त्सना गरेको छ। बैठक सुरू हुनुअघि नै उपसभापति पूर्णबहादुर खड्काले दुवैको स्वास्थ्य सुधार भइरहेको ब्रिफिङ गर्नु भयो ।’ देउवाको गर्धनभन्दामाथि र तल लागेको चोट गहिरो भएकाले सुरूमा आत्तिनपुरेको विश्वकर्माले बताए । ‘हामी सुरूमा अत्तालिएका छौँ । तर अहिले दुवैजनाको सुधार भएको छ’, विश्वकर्माले भने । उनका अनुसार देउवाको टाउकोको पछाडि गर्धनभन्दा माथि गहिरो चोट लागेको छ । उक्त घाउमा १२ वटा टाँका लगाएर सिलाउनुपरेको विश्वकर्माले बताए । विश्वकर्माका अनुसार जेन(जीका नाममा छिरेका अराजक समूहले देउवा दम्पतीलाई कुटपिटसहित लछारपछार पनि गरेका थिए । ‘गर्धनमुनि पनि चोट लागेको छ । उपचार जारी छ । सभापति देउवा अहिले हिँडडुल गर्ने, फोन गर्ने गर्दै हुनुहुन्छ । पार्टीसँग सम्पर्कमै हुनुहुन्छ’, उनले भने, ‘तर डाक्टरको परामर्शले उहाँलाई अस्पतालमै राखिएको छ। उठ्दा चक्कर लाग्ने समस्या छ । बोल्दा गाह्रो भएको छ। डाक्टरले अझै केही दिन राखौँ भन्नु भएको छ।’ विश्वकर्माकाअनुसार देउवालाई डाक्टरले धारिलो हतियारले हानेको बताएका छन् । ‘सभापतिमाथि आक्रमणका क्रममा रेन्च, मार्तल र ह्यामरहरू प्रयोग गरिएको देखिएका छन्’, उनले भने, ‘चोट गहिरो भएकाले सिलाउनुपरेको हो । अहिले सैनिक अस्पतालमा उपचाररत हुनु हुन्छ । चाँडै निको हुने विश्वास हामीलाई छ।’
पर्वत: उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भासिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भासिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र भइसकेको सेतीवेणी–फलेबास खण्डमा बिग्रिएको सडक मर्मत हुन नसक्दा यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ । करिडोरको पाङ्राङ खण्डको सडक अविरल वर्षात्का कारण भासिएको हो । लोकमार्ग निर्माणको काम सम्पन्न भएको स्थानमा सडक भासिने तथा भत्कने क्रम वर्षात्का क्रममा रोकिएको छैन । सडक भासिएपछि यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ । अहिले एकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइरहेका कालीगण्डकी करिडोर आयोजना कार्यालय, पाल्पाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिनुभयो । सडक नियमित रुपमा मर्मतको काम नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । सडकखण्डको सेतीवेणीदेखि कुर्घासम्मको सडक निर्माण कार्य अधिकांश सम्पन्न भए पनि केही भागको काम भने अझै अलपत्र छ । कुर्घादेखि पाङ्राङ जोड्ने स्थानमा सडक जीर्ण अवस्थामा छ । काम सम्पन्न भए जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या आएको इञ्जिनियर गौतमले बताउनुभयो । राष्ट्रिय सडक सञ्जालमा सूचीकरण हुन नसक्दा सडक विभागले मर्मतलगायतको काम गर्न नपाएको उहाँको भनाइ छ । पर्वत खण्डको २९ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । कुन निकायले रेखदेख गर्ने भन्ने स्पष्ट नहुँदा सडक मर्मत तथा रेखदेखमा समस्या भएको इञ्जिनियर गौतमले बताउनुभयो । पर्वत खण्डको सेतीबेनीदेखि फलेबास ढिकसम्मको सबै खण्ड कालोपत्र भइसकेको छ । कालोपत्र भइसकेको खण्डलाई राष्ट्रिय राजमार्गमा सूचीकरण नगर्दा कुन निकायले मर्मत र रेखदेख गर्ने भन्ने समस्या भएको उहाँले बताउनुभयो । सम्पन्न भइसकेको खण्डमा वर्षायाममा खसेको पहिरोसमेत पन्छाउन समस्या भएको कार्यालयले जनाएको छ । लोकमार्गअन्तर्गत पर्वतको सेतीवेणीदेखि अर्मादीसम्म ४३ किलोमिटर सडकको काम धमाधम भइरहेको छ । त्यसैगरी फलेबास–अर्मादी सडकखण्डको १४ किलोमिटर भने निर्माण कम्पनीको लापरबाही कारण समयसमा काम नहुँदा कालोपत्रको काम अगाडि बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रको कामको टेन्डर आह्वानसमेत हुन नसकेको र चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता नभएको कार्यालयले जनाएको छ । स्याङ्जाको मिर्मीदेखि पर्वतको सेतीबेनीसम्मको १० किलोमिटर सडक पनि कालोपत्र हुँदै छ भने पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडकसमेत चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिनुभएको हो । “जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा ठूलो क्षति पुर्याइएपछि हाल संसद् भवन नै छैन । त्यसैले अब यो या त्यो बहानामा काममा ढिलाइ गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर परिचालित भई समय अगावै कार्यसम्पन्न गर्नुपर्छ”, मन्त्री घिसिङले भन्नुभयो । संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ । राष्ट्रिय र प्रतिनिधिसभा हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको ‘मल्टिपरपज’ हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस निर्माण, इलेक्ट्रिकलअन्तर्गत मुख्य ‘एलटी प्यानल’, सहायक ‘एलटी प्यानल’, इलेक्ट्रिकल फायर फाइटिङ राख्नेलगायत काम बाँकी छन् । अनियमितता फेला परे तुरुन्तै कारबाही मन्त्री घिसिङले आफ्नो कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिनुभएको छ । उहाँले अनियमितता फेला परेमा त्यसमा संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिनुभयो । “विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ । त्यसैले अनियमिता हुने छिद्र पहिचान गरी त्यसलाई बन्द गर्नुहोस् । एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा संलग्नलाई छाडिने छैन । सेवा प्रवाहमा पनि सुधार गर्नुस्”, उहाँले निर्देशन दिनुभयो ।
काठमाडौं: संविधान सभाबाट नयाँ संविधान जारी भएको १० वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभालगायत सहभागी भएका थिए । समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी लगायतले मार्सपास गरेका थिए भने शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । अहिलेको विशेष परिस्थितिका कारण दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन गरिएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।

