पोखरा: एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ । यसअघि रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले रक्तदान गरेर जीवन बचाउन सकिने बताईन् । रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदान गर्नेलाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने बताए । एभरेस्ट मिडिया हाउसले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले एभरेस्ट मिडियाको प्रशंसा गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले रक्तदान सबैभन्दा पूण्य काम भएको बताए । उनले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताए । एभरेस्ट मिडिया हाउसका प्रमुख÷सम्पादक दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट्याए । उनले रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवादसमेत ज्ञापन गरे । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।
पोखरा: स्किन केयरका लागि स्थापित कोरियन एस्थेटिक ‘लेट मि इन’ ले पोखरामा शाखा विस्तार गरेको छ । चिप्लेढुंगामा रहेको पोखरा टे«ड मलको चौंथो तलामा शुक्रबारदेखि शाखा सञ्चालनमा आएको हो । ‘लेट मि इन’ को उद्घाटन कलाकार नीति शाह, डिजिटल कन्टेन्ट क्रियटर तथा भ्लगर सिसन बानियाँ र प्रबन्ध निर्देशक लि मिन क्योङले गरे । काठमाडौंको बानेश्वर र महाराजगञ्जपछि पोखरामा यो तेस्रो शाखा हो । शाखा उद्घाटनमा नायिका नीति शाहले ‘लेट मि इन’ को सेवाबाट आफू प्रभावित भएको बताइन् । लेट मि इनको ब्रान्ड एम्बास्डर समेत रहेकी उनले कोरियन स्किन प्रडक्ट विश्वबजारमा चम्किरहेको अवस्थामा नेपालीका लागि पनि उपयुक्त हुने बताइन् । ‘लेट मि इनको सेवा मात्रै राम्रो छैन, प्रविधि र उपकरणमा पनि अब्बल छ,’ उनले भनिन्, ‘ब्रान्ड एम्बेस्डरको रुपमा मात्रै होइन, एक उपभोक्ताको रुपमा पनि खुसी छु ।’ भ्लगर सिसन बानियाँले विश्वव्यापी रुपमा प्राप्त हुने सुविधा अब पोखरामा आएको बताए । उनले लेट मि इनसँगको आफ्नो अनुभव उत्कृष्ट रहेको बताउँदै यहाँ प्राप्त हुने सेवाले आत्मविश्वासी बनाउने उल्लेख गरे । कोरियन एस्थेटिकका प्रबन्ध निर्देशक मा दोङ सोले सफा, सुन्दर र शान्त वातावरणमा उत्कृष्ट उत्पादनको प्रयोग गर्ने उद्देश्यले शाखा विस्तार गरेको बताए । ‘यो मानिसलाई सुन्दर बनाउने कुरा मात्रै होइन, त्यसभन्दा एक कदम अगाडि बढेर सेवा दिन पनि आएका हौं,’ पोखरामा आउनुको कारणबारे उनले भने, ‘उपभोक्तालाई खुसी बनाउनु हाम्रो लक्ष्य हो ।’ उनले काठमाडौंमा जत्तिकै सेवा सुविधा पोखराको शाखामा पनि उपलब्ध हुने जानकारी गराए । भने, ‘अनुसन्धानपछि आएका नयाँ–नयाँ प्रविधि भित्र्याउने हाम्रो लक्ष्य छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवराम तिवारीले स्किन केयरका लागि लेट मि इन उत्कृष्ट रोजाइ हुने बताए । कम्पनीका कन्ट्री म्यानेजर विनोद सुवेदीका अनुसार झण्डै ४ करोड रुपैयाँको लगानीमा पोखरा शाखा सञ्चालनमा आएको हो । पोखरा शाखामा हाल डाक्टर, नर्स सहित १५ कर्मचारी कार्यरत छन् । बानेश्वर, महाराजगञ्ज र पोखरा समेत गरी ७५ जनाले रोजगारी पाएका छन् । उनले स्किन केयरका लागि लेट मि इनमा जत्तिकै उपकरण अन्यत्र नभएको उल्लेख गरे । पोखरा शाखामा कार्यरत नर्स सदिक्षा थापाले शाखा सञ्चालनको अवसरमा नोभेम्बर ३० सम्म डाक्टर परामर्श निःशुल्क गरिएको र अन्य सेवामा ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिइन् । कोरियन सौन्दर्य सामग्रीमा एउटा किन्दा अर्को सित्तैमा दिने अफर पनि यही अवधिमा रहेको उनले सुनाइन् । उनका अनुसार पोखरा शाखाबाट हेयर ट्रान्सप्लान्ट, हेयर रिडक्सन ट्रिटमेन्ट, फेसियल्स, एन्टी एजिङ ट्रिटमेन्ट, स्कार ट्रिटमेन्ट, हेयर रेस्टोरेसन ट्रिटमेन्ट, टाटु रिमुभल, डन्डिफोर, कालोपोतो लगायतको उपचार, हाइपरबेरिक अक्सिजन थेरापी लगायत सेवा प्रदान हुन्छ ।
पोखरा: जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ । नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्रबन्ध निर्देशक युटो गोटो सहितको प्रतिनिधिमण्डललाई पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली लगायतले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतोले आँफू पोखरा दोस्रोपटक आएको र यो धेरै मनपर्ने ठाउँ भएको बताउनुभयो । जापानमा ज्येष्ठ नागरिकलाई गरिने हेरचाह, औषत आयु लगायतका विषयमा उहाँले जानकारी दिनुभयो । पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले २०५३ सालमा समाजसेवी स्व.ऋषिकेशव पराजुलीले स्थापना गर्नुभएको पोखरा बृद्धाश्रमले स्थापनाकालदेखि असहाय ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा सेवा दिइरहेको बताउनुभयो । यस अघि नायोरोमा ज्येष्ठ नागरिककको सेवा सम्बन्धमा आँफूहरूले स्थलगत रुपमा नै धेरै कुरा जान्ने र सिक्ने अवसर पाएको बताउँदै उहाँले त्यहाँ प्राप्त गरेका ज्ञानसिपलाई सिमित साधनस्रोतका बीच पनि यहाँ कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागेको जानकारी दिनुभयो । कार्यक्रममा नायरोका समाजकल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका शतोसी फुजी, पोखरा बृद्धाश्रमका उपाध्यक्ष केशव लम्साल लगायतले बोल्नुभएको थियो । पोखरा बृद्धाश्रमका अध्यक्ष पराजुलीले जापानको नायोरो नगर तथा समाजकल्याण शाखाका लागि नेपालको पहिचान झल्काउने किसिमको मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कास्की: पृथ्वीराजमार्ग शनिबारदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म सडक बन्द हुने जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्णरआंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिनेसमेत जानकारी दिनुभयो । योजना प्रमुख कुँबरले भन्नुभयो पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ । सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।” मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठुला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने÷जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तरगत काम भइरहेको छ । मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकाँस काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिनुभयो । यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ । यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिएका हुन् । देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको बताए । राष्ट्रपति पौडेलले भने, ‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु ।’ राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता भएको बताए । देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको उल्लेख गरे । ‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने । शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्नु भएको उनको भनाइ थियो । ‘मुुुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पाइन्छन्, उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थीहरू बिदेसिने क्रम बढ्दो छ, यो यथार्थतालाई मध्यनजर गरी आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने । कुनै पनि मुलुकको विकासका लागि शिक्षाको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । साथै, नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताए ।
काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।
म्याग्दी: घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो । यो ठाउँ समुद्री सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित छ । हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने तीनचुले सुनसान छ । धर्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले तीनचुलेको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए। ‘हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मंगलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन्’, उनले भने, ‘आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रयासमा छौँ ।’ तीनचुलेको आकर्षण तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । सिस्नेदेखि माछापुच्छ्रे रेञ्चका हिमशृङ्खला अवलोकन गर्न सकिने विरलै ठाउँमध्येको एक हो तीनचुले । सूर्योदय र सूर्यास्तका साथै म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, नागबेली परेर बगेको म्याग्दी नदी, पहाडी भूगोल जङ्गलको बीच भागको उच्च ठाउँमा अवस्थित तीनचुलेको थप विशेषता हो । मंगला गाउँपालिका–२ का हरि भट्टराईले तीनचुलेमा धार्मिक आस्थासँगै हिमशृङ्खला अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन सकिने अनुभव सुनाए । तीनचुलेमा रहेको गोलो आकारको बराहतालमा हरेक वर्षको कात्तिक पूर्णिमाका दिन प्रकृतिलाई खुसी पार्न तोरण तार्ने चलन छ । शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको ताराखोलाका भपिन्द्र घर्तीमगरले बताए। ‘चुलो आकार हुनेगरी तीनवटा ढुङ्गाका थुम्का भेटेपछि गोठालाले तीनचुले नामकरण गरेका किंवदन्ती छ’, उनले भने, ‘शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो ।’ विसं २०२४ देखि बैकुण्ठ चतुदर्शीका दिन तीनचुले नजिकैको माझखर्कमा जम्मा भएर रातभर भजन गाएर जाग्राम बस्ने र कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा तथा बराहतालमा तोरण तार्ने चलन सुरु भएको थियो । तपस्याका लागि तीनचुले पुगेका तत्कालीन अर्मन गाउँ पञ्चायतका केयरसिंह पुर्जाले २०३१ सालमा बनाएको मन्दिरलाई पुनर्निर्माण र व्यवस्थित गरेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गोलो आकारको तीनचुलेको बराहतालमा जस्तोसुकै खडेरीमा पनि पानी नसुक्ने र पानीको स्रोत पनि नदेखिने स्थानीयवासी बताउँछन् । पूर्वाधार तयार गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको छ । ताराखोला गाउँपालिकाको २० लाख बजेटबाट गत आर्थिक वर्षमा तीनचुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर स्लेट ढुङ्गा बिछ्याएर पदमार्ग निर्माण भएको समितिका सचिव पूर्णभद्र निउरेले बताए । स्थानीयवासीले चन्दा संकलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र दुई सय मिटर पदमार्ग निर्माण भएको थियो । तीनचुलेमा दृश्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानमार्फत करिब तीन लाख संकलन भएको समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको ७५ लाख र तालाखोला गाउँपालिकाको १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तीनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ। मङ्गला गाउँपालिका–५ देउरालीदेखि तीनचुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्यांकीमा संकलन र दुईवटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ । कसरी पुग्ने ? तीनचुले म्याग्दीको अर्मन र बागलुङको ताराखोला हुँदै सडक तथा पदमार्गको प्रयोग गरेर पुग्न सकिन्छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हँदै दुई घण्टा कच्ची सडकको यात्रा गरेपछि तीनचुले पुगिन्छ । ताराखोलाको दोगाडी, नागबेलीखोला गाउँदेखि तीनचुले नजिकैको माझखर्कसम्म पुग्ने कच्ची सडक छ । टिकावाङ, किमचौर, दोगाडी र नागबेलीखोलाका बासिन्दाले पाहुनालाई खाजा, खाना खुवाउने गर्छन् । ‘क्यापिङ’ पदयात्रा गर्नेहरूका लागि पनि यो ठाउँ उपयुक्त छ । ताराखोला र मङ्गला गाउँपालिकामा मगर समुदायको बाहुल्य बसोबास छ । मगर समुदायको जीवनशैली, संस्कार, संस्कृति, रहनसहन र मेलाजात्रामा रमाउन सकिन्छ । दुई जिल्लाको सम्बन्धको सेतु तीनचुलेले बागलुङ र म्याग्दीको सम्बन्धका सेतुको पनि काम गरेको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने सोलेडाँडालगायत सीमाक्षेत्रमा पर्ने पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको उपभोगको विषयमा विवाद छ । तर ताराखोला र मङ्गलाका बासिन्दाले सहकार्य, समन्वय र साझेदारीमा तीनचुलेको विकासमा जुटेर सकारात्मक सन्देश दिएका छन् । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ९हिमाल०ले पालिकाको केन्द्र अर्गलस्थित सहिद पार्कदेखि दशवर्षे ‘जनयुद्ध’का समयमा लडाकु र विद्रोही पक्षका नेता कार्यकर्ता आवतजावत गर्ने बाटोलाई गुरिल्ला पदमार्गका रूपमा विकास गर्न लागिएको बताए। अर्गलदेखि सहिदपार्क हुँदै तीनचुले, हिले, दुरलेक जोड्ने पदमार्गको परिकल्पना गरेको र हिलेमा होमस्टे सञ्चालन भएको उनले बताए। मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बेनी नगरपालिका र काठेखोलाको सिमाना बेलढुङ्गा, ताराखोलाको सिमाना गम्फाको धुरी, झाँक्रीपानी, तीनचुले, चाङ्गालगायत स्थानलाई समेटेर पदमार्गको सम्भाव्यता अध्ययन गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरेको बताए। ‘तीनचुलेलाई केन्द्र बनाएर सातदेखि १० दिनको नयाँ पदमार्ग बनाउन अन्तरपालिकाहरूसँग छलफल चलाएका छौँ’, उनले भने, ‘पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सृजना गराउन सम्भव हुन्छ ।’
काठमाडौं: सुरक्षा परिषदको बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१र८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । नेपालमा असोज–कात्तिकलाई मुख्य पर्यटकीय यामका रूपमा लिइन्छ । दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताए। आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडकमार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा. कडरियाले बताए। कात्तिकमा पर्यटकीय यामसँगै मुख्य चाडपर्व र बिदाको समय पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको हो । यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ । मुक्तिनाथसहित अन्य धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।

