पोखरा:   गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ । ...

पोखरा:  कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि, गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

पोखरा:  २१ औं संस्करणको लेखनाथ महोत्सव पुस पहिलो सातादेखि हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ देखि १४ गतेसम्म २१ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो ।  लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी  प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताईन । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने वताए । पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबावु भटृराईले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपुर्ण रहेको वताउँदै व्यवसायी तथा आम सर्वसाधारणहरुको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशिल बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए ।   यसरी आयोजना गरिने मेला महोत्सवले स्थानिय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने साथै क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने भटृराईको दावी छ ।  देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउन महोत्सव सफल हुने उनले बताए । महोत्सवका विशेष आर्कषणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन । थप आकर्षणको रुपमा यस वर्ष महोत्सवमा गतवर्ष जस्तै एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुतः गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् । महोत्सव अवलोकन गर्ने सर्वसाधारणहरुको लागी प्रवेश टिकटको मुल्य रु १ सय, विद्यार्थीहरुको लागी रु ५० र बेलुका सुगम संगित÷कन्सर्ट का लागि रु २ सय कायम गरिएको छ । महोत्सवको बचत रकमवाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औधोगिक क्षेत्र निर्माणको लागि पहल, पर्यटन प्रर्वद्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पँगेनीले लेखनाथ क्षेत्रलाई विकासको दृष्टिकोणले पछि पारिएको वताउँदै यस क्षेत्रको विकास र प्रर्वद्धनको लागी सम्बन्धीत निकाय र संघ संस्थाले ध्यान दिन नसकेको बताएकी थिईन । यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरेका थिए । कार्यक्रममा महोत्सवको मुख्य प्रायोजक रहेको गृहलक्ष्मी ग्याँस कम्पनी प्रालीका महाप्रबन्धक भिमराज लामिछानेले लेखनाथ महोत्सव सग सहकाय गर्ने मौका प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरुका विषयमा वताउनुभएको थियो । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । करिब ३३५ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।

सिमकोट: सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।  स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत घाइते भएका हुन् । आज बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुले उनीहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।  उनका अनुसार आक्रमणबाट लक्ष्य र उनकी श्रीमतीको टाउकामा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।

काठमाडौं:  बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज  सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज एक तोला सुनको मोल रु. दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु। दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो ।  त्यसैगरी, चाँदीको मूल्य  प्रतितोला रु। तीन हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु। तीन हजार १०० मा खरिदबिक्री भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

पोखरा:  एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ ।  एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् ।   रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएको एभरेस्ट मिडिया हाउसले जनाएको छ ।    यसअघि रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्काले पहिलो रक्तदाता नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले रक्तदान गरेर जीवन बचाउन सकिने बताईन् ।   रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदान गर्नेलाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने बताए । एभरेस्ट मिडिया हाउसले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले एभरेस्ट मिडियाको प्रशंसा गरे ।   नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले रक्तदान सबैभन्दा पूण्य काम भएको बताए । उनले रगतको विकल्प रगत मात्र भएकाले रगत आपूर्तीको एकमात्र माध्यम रक्तदान नै भएको बताए । एभरेस्ट मिडिया हाउसका प्रमुख÷सम्पादक दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट्याए । उनले रक्तदानमा सहभागी सम्पूर्णलाई धन्यवादसमेत ज्ञापन गरे ।  रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । 

पोखरा:  स्किन केयरका लागि स्थापित कोरियन एस्थेटिक ‘लेट मि इन’ ले पोखरामा शाखा विस्तार गरेको छ ।  चिप्लेढुंगामा रहेको पोखरा टे«ड मलको चौंथो तलामा शुक्रबारदेखि शाखा सञ्चालनमा आएको हो । ‘लेट मि इन’ को उद्घाटन कलाकार नीति शाह, डिजिटल कन्टेन्ट क्रियटर तथा भ्लगर सिसन बानियाँ र प्रबन्ध निर्देशक लि मिन क्योङले गरे । काठमाडौंको बानेश्वर र महाराजगञ्जपछि पोखरामा यो तेस्रो शाखा हो । शाखा उद्घाटनमा नायिका नीति शाहले ‘लेट मि इन’ को सेवाबाट आफू प्रभावित भएको बताइन् । लेट मि इनको ब्रान्ड एम्बास्डर समेत रहेकी उनले कोरियन स्किन प्रडक्ट विश्वबजारमा चम्किरहेको अवस्थामा नेपालीका लागि पनि उपयुक्त हुने बताइन् । ‘लेट मि इनको सेवा मात्रै राम्रो छैन, प्रविधि र उपकरणमा पनि अब्बल छ,’ उनले भनिन्, ‘ब्रान्ड एम्बेस्डरको रुपमा मात्रै होइन, एक उपभोक्ताको रुपमा पनि खुसी छु ।’ भ्लगर सिसन बानियाँले विश्वव्यापी रुपमा प्राप्त हुने सुविधा अब पोखरामा आएको बताए । उनले लेट मि इनसँगको आफ्नो अनुभव उत्कृष्ट रहेको बताउँदै यहाँ प्राप्त हुने सेवाले आत्मविश्वासी बनाउने उल्लेख गरे । कोरियन एस्थेटिकका प्रबन्ध निर्देशक मा दोङ सोले सफा, सुन्दर र शान्त वातावरणमा उत्कृष्ट उत्पादनको प्रयोग गर्ने उद्देश्यले शाखा विस्तार गरेको बताए ।  ‘यो मानिसलाई सुन्दर बनाउने कुरा मात्रै होइन, त्यसभन्दा एक कदम अगाडि बढेर सेवा दिन पनि आएका हौं,’ पोखरामा आउनुको कारणबारे उनले भने, ‘उपभोक्तालाई खुसी बनाउनु हाम्रो लक्ष्य हो ।’ उनले काठमाडौंमा जत्तिकै सेवा सुविधा पोखराको शाखामा पनि उपलब्ध हुने जानकारी गराए । भने, ‘अनुसन्धानपछि आएका नयाँ–नयाँ प्रविधि भित्र्याउने हाम्रो लक्ष्य छ ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवराम तिवारीले स्किन केयरका लागि लेट मि इन उत्कृष्ट रोजाइ हुने बताए । कम्पनीका कन्ट्री म्यानेजर विनोद सुवेदीका अनुसार झण्डै ४ करोड रुपैयाँको लगानीमा पोखरा शाखा सञ्चालनमा आएको हो ।  पोखरा शाखामा हाल डाक्टर, नर्स सहित १५ कर्मचारी कार्यरत छन् । बानेश्वर, महाराजगञ्ज र पोखरा समेत गरी ७५ जनाले रोजगारी पाएका छन् । उनले स्किन केयरका लागि लेट मि इनमा जत्तिकै उपकरण अन्यत्र नभएको उल्लेख गरे । पोखरा शाखामा कार्यरत नर्स सदिक्षा थापाले शाखा सञ्चालनको अवसरमा नोभेम्बर ३० सम्म डाक्टर परामर्श निःशुल्क गरिएको र अन्य सेवामा ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिइन् ।  कोरियन सौन्दर्य सामग्रीमा एउटा किन्दा अर्को सित्तैमा दिने अफर पनि यही अवधिमा रहेको उनले सुनाइन् । उनका अनुसार पोखरा शाखाबाट हेयर ट्रान्सप्लान्ट, हेयर रिडक्सन ट्रिटमेन्ट, फेसियल्स, एन्टी एजिङ ट्रिटमेन्ट, स्कार ट्रिटमेन्ट, हेयर रेस्टोरेसन ट्रिटमेन्ट, टाटु रिमुभल, डन्डिफोर, कालोपोतो लगायतको उपचार, हाइपरबेरिक अक्सिजन थेरापी लगायत सेवा प्रदान हुन्छ ।

पोखरा: जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ ।      नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्रबन्ध निर्देशक युटो गोटो सहितको प्रतिनिधिमण्डललाई पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली लगायतले स्वागत गर्नुभएको थियो ।      कार्यक्रममा नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतोले आँफू पोखरा दोस्रोपटक आएको र यो धेरै मनपर्ने ठाउँ भएको बताउनुभयो । जापानमा ज्येष्ठ नागरिकलाई गरिने हेरचाह, औषत आयु लगायतका विषयमा उहाँले जानकारी दिनुभयो ।      पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले २०५३ सालमा समाजसेवी स्व.ऋषिकेशव पराजुलीले स्थापना गर्नुभएको पोखरा बृद्धाश्रमले स्थापनाकालदेखि असहाय ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा सेवा दिइरहेको बताउनुभयो ।      यस अघि नायोरोमा ज्येष्ठ नागरिककको सेवा सम्बन्धमा आँफूहरूले स्थलगत रुपमा नै धेरै कुरा जान्ने र सिक्ने अवसर पाएको बताउँदै उहाँले त्यहाँ प्राप्त गरेका ज्ञानसिपलाई सिमित साधनस्रोतका बीच पनि यहाँ कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागेको जानकारी दिनुभयो ।      कार्यक्रममा नायरोका समाजकल्याण शाखाका प्रमुख युटो गोटो, विदेश मानव संसाधन विभागका शतोसी फुजी, पोखरा बृद्धाश्रमका उपाध्यक्ष केशव लम्साल लगायतले बोल्नुभएको थियो ।      पोखरा बृद्धाश्रमका अध्यक्ष पराजुलीले जापानको नायोरो नगर तथा समाजकल्याण शाखाका लागि नेपालको पहिचान झल्काउने किसिमको मायाको चिनो प्रदान गर्नुभएको थियो । 

कास्की:  पृथ्वीराजमार्ग शनिबारदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म सडक बन्द हुने जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्णरआंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिनेसमेत जानकारी दिनुभयो । योजना प्रमुख कुँबरले भन्नुभयो पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ । सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।” मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठुला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने÷जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तरगत काम भइरहेको छ । मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकाँस काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिनुभयो । यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ ।  त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ । यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।  

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।  पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उनले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिएका हुन् । देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको बताए ।  राष्ट्रपति पौडेलले भने, ‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु ।’ राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता भएको बताए । देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको उल्लेख गरे ।  ‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।   शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्नु भएको उनको भनाइ थियो ।  ‘मुुुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पाइन्छन्, उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थीहरू बिदेसिने क्रम बढ्दो छ, यो यथार्थतालाई मध्यनजर गरी आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने ।   कुनै पनि मुलुकको विकासका लागि शिक्षाको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । साथै, नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताए ।