काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश पाउन लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गर्नुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहबिच अर्याललाई बिदाइ गर्नुभएको हो। बिदाइका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गर्नुभएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले धन्यवाद ज्ञापन गर्दै आगामी जीवन सुखमय रहोस् भनी कामना गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
पोखराः रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टपटेन छनोट चरण सम्पन्न भएको छ । आइडलमा गायन र नृत्य विधामा प्रतियोगीहरूले आफ्ना प्रस्तुति राखेका छन् । गायनतर्फ सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, सन्तोष विके, सुरज परियार र दीपक सुनार टपटेनमा छनोट भएका छन् । त्यसै गरी, नृत्यतर्फ कृपा विके, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर टपटेनमा परेका छन् । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदीले प्रतियोगिताबाट अब्बल कलाकार जन्मिने विश्वास व्यक्त गरे । गायकसमेत रहेका सुवेदीले गायन र नृत्यका क्षेत्रमा कास्की आइडलले वास्तविक आइडलको जन्म हुने भन्दै स्थानीय तहहरूले कला, साहित्य र सङ्गीतका क्षेत्रमा लगानी गर्न हिच्किचाउन नहुने धारणा राखे । कार्यक्रममा निराजन कोइराला, सुदिप ढुङ्गाना, सुवास खड्का तथा कराते प्रशिक्षक विनोद नेगीलगायतले शुभकामना दिएका थिए । रूपा वाङ्मय प्रतिष्ठानका अजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य तथा स्थानीय प्रतिभा पहिचानमा यसको भूमिकाबारे प्रकाश पारेका कार्यक्रममा स्वागत गीत सनम गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रमको सफल सञ्चालन ज्योति खड्काले गरेकी थिइन् ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्री खरेलले मन्त्रिपरिषद्का १४ निर्णय एकसाथ सार्वजनिक गरेका हुन् ।
काठमाडौं: एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै पोखरेलले शनिबार सार्वजनिक गरेको विस्तृत राजनीतिक–संगठनात्मक अभिव्यक्तिमा आफू नेतृत्वका लागि तयार भएको बताएका छन्। पोखरेलले जननेता मदन भण्डारीदेखि हालसम्मको एमाले राजनीतिक यात्राप्रति सम्मान व्यक्त गर्दै हालको राजनीतिक अवस्थामा पार्टीले गम्भीर आत्मसमीक्षा र संगठन पुनर्गठन गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले भदौ २३ पछिका घटनाले संविधानको मार्गरेखालाई पुनः सही बाटोमा ल्याउने जिम्मेवारी एमालेमाथि आएको टिप्पणी गरे। आफू अध्यक्षमा उठ्न लागेको मुख्य कारणका रूपमा उनले पार्टीमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, संगठन पुननिर्माण र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्नुपर्ने उनले बताए। पार्टीमा दुई कार्यकालको नेतृत्व सीमालाई विधानमै पुनःस्थापना गर्नुपर्ने, अनुशासन, लेखापरीक्षण र संगठनात्मक स्वायत्ततामा स्पष्ट मापदण्ड लागू गर्नुपर्ने उनले अडान राखेका छन् । पोखरेलले पार्टीमा युवा, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम र अल्पसंख्यकको सम्मानजनक सहभागितालाई सुनिश्चित गर्न विधान संशोधन आवश्यक रहेको बताए। उनले जनसंगठनहरूलाई गुटबन्दीबाट मुक्त गरी प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने प्रणाली मजबूत बनाउनुपर्ने उल्लेख गरे। पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पुनः पार्टीमा फर्काउने वातावरण बनाउनुपर्ने कुरा पनि उनले उठाए। भदौ २३ को जेन–जी आन्दोलनप्रति सम्मान व्यक्त गर्दै पोखरेलले आन्दोलनमा भएको हिंसा र घुसपैठप्रति छानबिन माग गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा आफूले राखेको बताउँदै पोखरेलले प्रतिनिधि छनोटदेखि महाधिवेशनसम्म पार्टी सदस्यलाई विवेकपूर्ण सहभागिताका लागि आग्रह गरेका छन्। पोखरेलले महाधिवेशनमा पेश गर्ने विस्तृत राजनीतिक दस्तावेज चाँडै सार्वजनिक हुने जानकारी दिए।
पोखरा: लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ अन्तर्गत आयोजित प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताएका छन्। अन्तर्राष्ट्रिय नारा (UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS) तथा राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” सहित मनाइएको कार्यक्रममा मन्त्री थापाले नेपाली जनताले दशकौँ लामो राजनीतिक आन्दोलन र संघर्षको जगमा महिलाका अधिकार तथा सशक्तीकरणका क्षेत्रमा प्राप्त प्रगतिलाई ऐतिहासिक उपलब्धि बताए। “नेपालमा तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायहरूमा महिलाको सहभागिता निरन्तर बढिरहेको छ, जुन विश्वकै लागि प्रेरणादायी उदाहरण हो ।”, उनले भने । समानता, समावेशिता र सहभागितामूलक शासन प्रणालीलाई नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री थापाले महिलाविरुद्धको हिंसा उन्मूलनमा कानुनको प्रभावकारी कार्यान्वयन अत्यन्त जरुरी रहेको बताए। देशभर बोक्सी प्रथा, छाउपडी, दाइजो, तिलक तथा छुवाछुत जस्ता कुसंस्कार आज पनि समाप्त हुन नसकेको उल्लेख गर्दै उनले यस्तो सामाजिक अन्धविश्वासका कारण धेरै महिलाहरू हिंसा, विभेद र अपमान सहन बाध्य रहनु परेको बताए। उनले थपे, “हिंसा अन्त्यका लागि परिवार र समुदाय स्तरमै चेतना वृद्धि गर्न निरन्तर अभियान चलाउनुपर्छ ।” डिजिटल प्रविधिबाट बढिरहेका दुव्र्यवहार र अनलाइन हिंसाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री थापाले प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग आवश्यक रहेको बताए। कार्यक्रममा कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र अवसरयुक्त बनाउनु नै हिंसा रोकथामको मूल आधार भएको उल्लेख गरिन् । राज्य, समाज, नागरिक समाज, संघ–संस्था र महिला अधिकारकर्मीबीचको मजबुत सहकार्यले नै समस्याको समाधान हुने भनाई उनको छ । मानव अधिकार आयोग गण्डकी प्रमुख नितु पौडेलले १६ दिने अभियानले सबै सम्बद्ध पक्षमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थपेको बताइन् । “हामी सबै मिलेर महिलाविरुद्धका सबै प्रकारका हिंसा, विभेद, उत्पीडन, अन्धविश्वास र कुसंस्कार अन्त्य गर्दै समानता र न्यायमा आधारित समुन्नत समाज निर्माणतर्फ अघि बढ्नुपर्छ।”, उनले भनिन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दिनेश कुमार आचार्यले लैङ्गिक हिंसामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी मात्र नभई भविष्यका पुस्ताप्रतिको कर्तव्य पनि भएको बताए । उनले हिंसा नियन्त्रणका लागि प्रहरीले समाज सँग मिलेर काम गरिरहेको उल्लेख गरिन् । गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीले समाज परिवर्तनका लागि सकरात्मक सोचको आवश्यकता रहेको बताइन् । लैङ्गिक हिंसा अन्त्यका लागि प्रविधिको सही प्रयोग गर्दै सकरात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकतालाई औंल्याइन् । प्रदेशका विभिन्न सरकारी निकाय, सामाजिक संघ–संस्था, नागरिक समाजका प्रतिनिधि तथा महिला अधिकारकर्मीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा गैसस महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटाले बोलेका थिए ।
तनहुँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकार भएका निकायले एकापसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ । जिल्लाको व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा सोमबार उहाँले मुलुकको विकासका लागि सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य गरी अआपसी सहकार्य बढाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “जिल्लालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयवासीले देखाएको कार्य अनुकरणीय छ”, उहाँले भन्नुभयो, “सबै कुरा सरकारले मात्रै गर्न सक्दैन्, आफ्नो क्षेत्रको विकासका लागि राजनीतिक दल, आमनागरिक पनि एकजुट भएर लाग्न आवश्यक छ ।” जेनजी आन्दोलनपछि मुलुक नयाँ मोडमा गएको चर्चा गर्दै डा वाग्लेले राजनीतिमा देखिएको विकृतिलाई सङ्ल्याउँदै अघि बढ्न आफ्नो पार्टीले पटकपटक प्रतिनिधिसभामा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्नुभयो । युवा विदेश पलायन हुनेलाई न्यूनीकरण गर्दै स्वदेशमा बसेर गरिखाने वातावरण सिर्जना गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा डा वाग्लेले धर्मशाला निर्माणार्थ रु २५ हजार सहयोग गर्नुभएको थियो । महायज्ञका मूल पण्डित कपिलदेव भट्टले वाग्लेलाई टीका, दोसल्ला र प्रमाणपत्रले सम्मान गनुभयो । धर्मशाला, होम कुण्ड र शिवलिङ्ग कुण्ड निर्माण गर्ने उद्देश्यले यही मङ्सिर ६ देखि १३ गतेसम्म महायज्ञको आयोजना गरिएको महायज्ञका मूल समारोह समितिका संयोजक अभिमानसिं बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञबाट करिब रु दुई करोडभन्दा बढी दान सङ्कलन गर्ने अपेक्षा गरिएको छ ।
मुस्ताङ: मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ । केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गत वर्षभन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो । त्यसैगरी, गत वर्षको तुलनामा चालु आवमा यहाँ प्रतिहेक्टर करिब दुई मेट्रिक टन आलु उत्पादन वृद्धि भएको छ । चालु आवमा जिल्लाका किसानले फार्म गेट औसत मूल्य प्रतिकेजी ६५ मा बिक्री भएकाले सोहीअनुसार कुल उत्पादन मूल्यको लेखाजोखा गरिएको केन्द्र प्रमुख गुरुङको भनाइ छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त समन्वय र सहकार्यमा स्थानीय तहका कृषि प्राविधिकको उपस्थितिमा गरिएको क्रप कटिङ विधिबाट आलु उत्पादनको लेखाजोखा गरिएको उनले बताए । उनका अनुसार माथिल्लो मुस्ताङ, मध्यमुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी त्यहाँका विभिन्न आलु उत्पादनकर्ता किसानको खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्याङ्क सङ्कलन गरी औसत उत्पादनको मापन गरिएको छ । गत वर्ष जिल्लाका पाँच स्थानीय तहमा गरी कुल चार सय ६० हेक्टर क्षेत्रमा आठ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष यहाँ प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार गत वर्षको तुलनामा चालु वर्षमा १३ दशमलव ७६ प्रतिशत स्याउ उत्पादन भएको छ । त्यसैगरी, गत वर्ष चालु वर्ष एक हजार १६९ मेट्रिक टन आलु उत्पादन वृद्धि भएको केन्द्र प्रमुख गुरुङले बताए । गत वर्ष मुस्ताङमा प्रतिकेजी ६० मा आलु बिक्री भएकामा चालु वर्ष पाँच वृद्धि भई ६५ मा बिक्री भएको उनको भनाइ छ । चालु आवमा यहाँका पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउ प्रयोजनका रूपमा खपत भएको हो । यहाँ घरायसी प्रयोजन र होटल रेष्टुराँमा एकतिहाइ आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जानकारी दिए । यहाँ स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको छ । हिमाली जिल्ला उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ । मुस्ताङको आलु तरकारी, उसिनेर तथा साँधेर खाने प्रचलन छ । यहाँ उत्पादन गरिने लोकल सेतो आलु सहरबजारका उपभोक्ता तथा जिल्लामा आएका पर्यटकले औधी रुचाउने गर्छन् । सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्ता माझ स्थापित भइसकेकाले पनि मुस्ताङी आलुको माग अधिक छ । पछिल्लो समय कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको माग बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताए ।
तनहुँ: बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।” उहाँका अनुसार वैशाखमा तीन हजार २९७, जेठमा तीन हजार ३४२, असारमा दुई हजार ७६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८३२, असोजमा तीन हजार ७८६ र कात्तिकमा चार हजार ६२७ जनाले भ्रमण गरेका छन् । त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा एक हजार ८९८, जेठमा दुई हजार १३५, असारमा दुई हजार ११५, साउनमा दुई हजार ४५१, भदौमा एक हजार ९८२, असोजमा पाँच हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ । विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्, उहाँले भन्नुभयो ।
काठमाडौं: मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । उहाँले मङ्गलबारदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उहाँ नियुक्त हुनुभएको थियो । मुख्यसचिवका रूपमा उहाँले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गर्नुभयो । उहाँको कार्यकालमा नीतिगत एवम् कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पार्नुभयो । यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ । एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उहाँको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ । योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ । उहाँको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ । उहाँको कार्यकालमा अन्तर्राष्ट्रिय सहभागितासहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ ।

