पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ ।   आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्स...

काठमाडौं: आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु. ४०० ले घटेको छ भने चाँदी रु. ६० ले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु. तीन हजार २८० कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला रु। दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार २२० मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

काठमाडौं:  नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।  साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।  राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो।  चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको मध्य भागमा नेपालको नक्सा रहेको छ।  त्यसैगरि नयाँ नोटमा तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।  नयाँ नोट दृष्टिविहीन अनुकूलको रहेको छ। दृष्टिविहीनहरूले छामेरै थाहा पाउनेगरि नयाँ नोट डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ।   

काठमाडौं:  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा जारी विज्ञप्तिमा २० सदस्यीय सचिवालयबाट प्रधानमन्त्री कार्कीले १४ जनालाई हटाउनुभएको हो । यससँगै अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ । ‘‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम भएपनि अनि जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको थियो ।’’ विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले यी ६ जना पहिले नियुक्त व्यक्ति नै भएको जानकारी दिनुभयो । अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत ९फोटोग्राफर० र जनस्वास्थ्य विज्ञ मात्र रहने छन् ।  

सुनसरी:  कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन्।  आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन्। जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उनले चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको जानकारी दिए। छावाको जन्म भएको ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए। उनले आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको बताए। ‘शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन्। उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ’, प्रमुख यादवले भने। यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ। आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन्। नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उनले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूले जनाएका बताए। कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ। आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्‍याउँदै आएको आरक्ष कार्यालयले जनाएको छ। 

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सह–प्राध्यापक डिल्लीराम प्रसाईसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गर्दै उनीहरूले झुट्टा शैक्षिक विवरण पेश गरी सह–परीक्षा नियन्त्रक पद प्राप्त गरेको आरोप लगाएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सह–प्राध्यापक प्रसाईले २०८१ भदौ २६ गते सह–परीक्षा नियन्त्रक पदका लागि आवेदन दिँदा आफ्नो व्यक्तिगत विवरण (सीभी) मा ‘डा. डिल्ली आर. प्रसाई’ र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा ‘डा। डिल्लीराम प्रसाई’ लेखिएको पाइएको छ। प्रस्तुत प्रमाणपत्रहरू विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न भएको देखाइ पेस गरिएको भए पनि ती विवरण वास्तविक नभएको आयोगको ठहर छ। उक्त प्रमाणपत्रका आधारमा उनी २०८१ कात्तिक १२ गते सह–परीक्षा नियन्त्रक छनोट समितिबाट क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए। त्यसपछि त्रिवि रजिष्ट्रार कार्यालयले २०८१ मङ्सिर १८ गते निर्णय गरी मङ्सिर १९ गतेदेखि लागू हुने गरी प्रसाईलाई सह–परीक्षा नियन्त्रक पदमा नियुक्त गरेको थियो। आयोगका अनुसार चयन प्रक्रियामा संलग्न समितिका संयोजक प्रा. डा. जयालक्ष्मी प्रधान र सदस्यहरू प्रा। डा। मोतिलाल शर्मा तथा प्रा. डा. मेघराज पोखरेलले प्रसाईसँग मिलेमतो गरी विद्यावारिधि गरेको भनी आठ अंकको झुट्टा विवरण समावेश गराई परीक्षाफलमा हेरफेर गरेका थिए। यसरी बदनियतपूर्वक तथ्य लुकाई–छिपाई गलत प्रतिवेदनसहित नियुक्तिको सिफारिस गरेको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ। अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

धादिङ:   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ ।  धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समाहारोमा संयोजक दाहालले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तहको भूमिकालाई मजबुत बनाउनुपर्ने उल्लेख गर्नुभयो। आफ्नो संवोधनका क्रममा दाहालले ग्रामीण विकासको आधारभूत केन्द्र नै स्थानीय सरकार हुने टिप्पणी समेत गर्नुभयो । दाहालले गाउँ-गाउँमा सुविधा, सेवा र प्रशासनिक पहुँच पुर्‍याउन यस्ता संरचनाले नागरिकलाई सरकार समक्ष नजिक ल्याउने भन्दै अब भवन मात्र होइन, सेवाको गुणस्तरबाट जनतालाई परिवर्तनको अनुभूति गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

काठमाडौं:  नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा आज यहाँ सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।  उक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीले महाधिवेशन रोकेको आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन ।”  कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले बीसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “कसको हो नक्कली हस्ताक्षर ? निकाल्न हामी चुनौती दिन्छौँ । पार्टीका साथीहरूको योगदानका आधारमा पदमा बसेर साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन ।” कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् । आजको उक्त सभाका वक्ताहरुले विशेष महाधिवेशनमा जोड दिएका थिए ।

काठमाडौं:  नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा गएराति उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय विशाल थापामगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेका २२ वर्षीय सञ्जय लामा, दाङकी २० वर्षीया प्रतिमा डाँगी र दाङकै २१ वर्षीया प्रमिला पुनमगर छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिने तथा लुटपाटमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई प्रहरीले अभद्र व्यवहारको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

काठमाडौं:   निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अवधि मंसिर १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।  आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको बुधबार बसेको बैठकले सो निर्णय गरेको छ ।  एक सय ६ दल दर्ता यसअघि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि मंसिर १० गतेसम्मको अवधि तोकेको थियो ।  उहाँका अनुसार आयोगमा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार अन्तिम दिनसम्म एक सय ६ वटा दलबाट निवेदन प्राप्त भएको छ । यसैगरी, २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरुले सो निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि मङ्सिरर १ देखि ७ गतेसम्म तोकिएकोमा उक्त अवधिमा १३ वटा दलबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।