राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार बिहान वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए। रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक महिला अनिवार्यसहित २ जना चुनिनेछन् भने १ जना सभापतिबाट मनोनयन हुनेछन्। तीमध्ये पुरुषतर्फ वाग्ले निर्विरोध चुनिएका हुन्। यसअघि वाग्ले निर्वाचनबाट केन्द्रीय सदस्य चुनिएका थिए। रास्वपाको सभापति पदमा पनि रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १–१ को बराबरीमा खेल्दा दोस्रो म्याचमा हाइटीलाई ३–० ले हराएको थियो। तेस्रो खेलमा पनि ब्राजिलको जितमा भिनिसियस जुनियर नायक बने। उनी एक्लैले २ गोल गरे। यस्तै, म्याथियस कुन्हाको नाममा एक गोल रह्यो। आजको खेलसँगै ब्राजिल अपराजित रहेर नकटआउट चरणमा प्रवेश गरेको छ।
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्रवद्र्धन, परम्परागत खेती प्रणालीको संरक्षण गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिने परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । उनका अनुसार विगत दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको मौलिक संस्कृति, कृषि परम्परा र पर्यटनलाई एकै थलोमा जोड्ने महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । बढ्दो शहरीकरणका कारण ओझेलमा पर्दै गएको धान खेती र असारे संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष पहारीले बताए । महोत्सवमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीको प्रत्यक्ष अनुभव गराइनेछ। साथै कृषकलाई आफ्नो पेशाप्रति गौरव बढाउन, खेतीयोग्य जमिन संरक्षण गर्न तथा लेकनाथ क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा योगदान पुग्ने आयोजकको अपेक्षा छ । कार्यक्रममा विविन्न कलाकारको प्रस्तुती कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहने उनले बताए । कलाकारहरूमा राजु परियार, शिवहरी ढुङ्गाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसी रहेका छन् । महोत्सवको मुख्य आकर्षणका रूपमा हल गोरु दौड, अँसारे भाका सहितको रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, स्वदेशी तथा विदेशी महिला–पुरुषका लागि हिलो दौड, पत्रकार हिलो दौड, रस्साकस्सी प्रतियोगिता तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रम समावेश गरिएको परिषद्का महासचिव तथा कार्यक्रम संयोजक जीवनराज सापकोटाले जानकारी दिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले नयाँ शाखाको औपचारिक उद्घाटन गरे । सो अवसरमा बोल्दै कार्कीले पोखरामा गुणस्तरीय शैक्षिक परामर्शको आवश्यकता रहेको उल्लेख गरे । पोखरामा शैक्षिक परामर्श केन्द्रहरूको संख्या बढ्दै गएको बताउदै नयाँ शाखाको रुपमा आएको मिसन युएसएले विद्यार्थीहरूलाई सही र विश्वसनीय मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे । विगत १८ वर्षदेखि वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै आएको यस कन्सल्टेन्सीको यसअघि काठमाडौँ, बिर्तामोड र चितवनमा शाखाहरू सञ्चालनमा छन् । शाखा विस्तारका लागि राम्रो टिमको खोजीमा रहेको बताउदै नेपालको पश्चिम क्षेत्रमा पनि शाखा विस्तारको योजना रहेको मिसन युएसएका संस्थापक निर्देशक सञ्जय घिमिरेले बताए । कर्ण बहादुर विकको नेतृत्वमा सञ्चालनमा ल्याइएको पोखरा शाखाबाट उच्च शिक्षा हासिल गर्न विदेश जान इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श र उत्कृष्ट सेवा दिने उद्देश्यले पोखरामा शाखा सञ्चालनमा ल्याइएको कन्सल्टेन्सीले जनाएको छ ।
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको हो । यसअघि सेमिफाइनलमा ग्यालेक्सिले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिष्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । विजेता तथा उप–बिजेता टिमले नगदसहित मेडल पुरस्कार प्राप्त गरे । पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कृत गरिन् । यसअघि कलेजले प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फुटवल, बास्केटबल लगायतका प्रतियोगिताहरु आयोजना गरेको थियो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रबर्द्धनमा यो अभियान संचालन गरिएको हो । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने तृकोणीय पर्यटन प्रबर्द्धनको उद्देध्य समेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताए । कालीका नगर प्रमुख रेग्मीले आफ्नो नगरले कृषि पर्यटनमा जोड दिएको बताए । सबै भन्दा धेरै मह र च्याउ उत्पाद गर्ने नगरपालिका कालीका भएको दाबी उनले गरे । होटल संघ नेपालका केन्द्रिय सदस्य सुमन घिमिरेले आन्तरिक पर्यटन प्रबर्द्धनमा जाउँ है पोखरा अनुकरणीय अभियान भएको बताए । सिल्भर ट्र्याङ्गलको अवधारणा अन्तर्गत सयुक्त पर्यटन प्याकेज विकासको प्रस्ताव उनले राखे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले सिल्भर ट्र्याङ्गलको अवधारणा पुन: अगाडि बढाईएको स्मरण गराए । जाउँ है पोखरा अभियानसँग बोर्ड सुरुवाती समयबाटै जोडिएको उनले जानकारी गराए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले चितवनका पर्यटकीय क्षेत्रबारे अवगत गराए । पर्यटकलाई सहज हुने खालका नीति सरकारले ल्याउनुपर्ने उनले सुझाव राखे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नयाँ पदमार्गहरुको खोजी, उत्थान र प्रबर्द्धनमा आफ्नो संस्था लगिरहेको जानकारी दिए । पर्यटनलाई भिन्न र नयाँ ढंगले अगाडि बढाउनु पर्ने अवस्था आएको उनले बताए । कार्यक्रममा पर्यटन विज्ञ विश्व सुवेदीले दामोदर कुण्ड र त्रिवेणी धाम जोड्ने गरी हरिहर परिक्रमा पथ विकासको प्रस्ताव राखे । कुमरोज मध्यवर्ती सामुदायिक बनका अध्यक्ष राजु सिलवाल र रत्ननगर नगरपालिका ७ का वडा सदस्य सूर्यबहादुर तामाङले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वाती पाण्डेले गरेकी थिईन् ।
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई २–० गोल अन्तरले पराजित गर्दै प्याराडाइम च्याम्पियन बनेको हो । प्याराडाइमको जीतमा खेमे र मिस्टर फुडीले समान १/१ गोलको योगदान दिए । सो प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीका रुपमा सोही टिमकै विवश पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा खेमे घोषित भए । प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको टोलीले शिल्ड तथा मेडल प्राप्त गरे । हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा आयोजित सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू (कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत) आबद्ध ४ वटा टोलीले सहभागिता जनाएका थिए । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए । चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए । सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू (कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत) आबद्ध ४ वटा टोलीहरूले सहभागिता जनाउँदैछन् । उनका अनुसार रंगशालाको बहुद्देश्यीय भवनममा हुने उद्घाटन खेलमा टिम कर्पाेरेट र टिम क्रियटर्सबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल आयोजक चंगा र काठमाडौंको टिम प्याराडाइमबीच प्रतिस्पर्धा हुने चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए । केसीका अनुसार निशुल्क प्रवेशको व्यवस्था रहेको सो कार्यक्रम विभिन्न स्टलहरु रहनेछन् । दिउँसो ३ बजेदेखि सुरु हुने सो इभेन्टको चंगा स्पोर्टस्बाट प्रत्यक्ष प्रशारण हुनेछ । चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थी लक्षित कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा (Cyber Security) र डेटा विज्ञान (Data Science) सम्बन्धी पाठ्यक्रम सार्वजनिक गरेको हो । उक्त कार्यक्रमको उद्घाटन चेम्बर अफ कमर्सका तत्कालिन अध्यक्ष राजेन्द्र मल्लले गरे । सो अवसरमा बोल्दै उनले गण्डकी प्रदेशमा पनि भित्राइएको तीन वटा पाठ्यक्रमले प्रविधिको युगतर्फ उन्मुख र सशक्तिकरण गर्न नयाँ पुस्तालाई महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले टेकपाइलालाई सो पाठ्यक्रम सहर केन्द्रीत नभएर गाउँगाउँका विद्यायमा पनि पुर्याउनु पर्नेमा जोड दिए । ‘अहिलेको समय प्रविधिको छ । औपचारिक शिक्षासँगै समयको माग अनुसारको शिक्षा दिलाउने सरकारको कर्तव्य नै हो तर हामी सधैं सरकारसँग मात्र भर परेर हुँदैन । यहाँहरुको यो अभियान एकदमै राम्रो छ त्यसैले गाउँकुनामा पनि पुर्याउनुपर्छ,’ उनले भने । यस्तै टेकपाइलाको यो अभियानलाई देशव्यापी रूपमा प्रभावकारी र व्यापक बनाउन सम्पूर्ण टिम क्रियाशील टेकपाइलाका एसोसियट डाइरेक्टर चिरन्जिवी अधिकारीले बताए । उनले अबको युग एआई र प्रविधिको भएकाले हरेक घरघरमा प्रविधिमैत्री जनशक्ति हुनुपर्ने उल्लेख गरे । यसले हाम्रो घरघरमा राम्रो जनशक्ति उत्पादन गर्न सघाउ पुर्याएछ । घरमा गेट बलियो बनाएजस्तो कुकुर पालेजस्तो अब प्रविधिबाट पनि सुरक्षित हुनुपर्छ, उनले भने ‘त्यसैले यो कोर्स अबको पुस्ताको लागि अपरिहार्य छ ।’ यस्तै टेकपाइला गण्डकी प्रदेशका निर्देशक किसान सुनारले डिजी स्कुलमार्फत यसअघि पनि कम्प्युटरसम्बन्धि कोर्स पोखरामा भित्राएको स्मरण गराउँदै शैक्षिक क्षेत्रमा योगदान दिने उद्देश्यसहित नयाँ र समय सान्दर्भिक कोर्सहरु भित्राएको स्पष्ट पारे । उनका अनुसार सफ्टवारिका कलेजको अनुसन्धान र विकास (आर एण्ड डी) टोलीद्वारा विकसित ‘टेकसेन्स प्रोग्राम’ (TechSense Programme) को औपचारिक परिचय गराइएको थियो । पूर्ण रूपमा नि:शुल्क र अनलाइन माध्यमबाट सञ्चालन हुने यस कार्यक्रमले डिजिटल साक्षरता र आधुनिक प्रविधिमा युवाहरूको पहुँच बढाउने लक्ष्य राखेको छ । टेकपाइला कार्यक्रममा अध्ययन गरेका प्रतिभाशाली विद्यार्थीहरूलाई सफ्टवारिका कलेज र सनवे कलेजमा उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने टेकपाइला गण्डकीका निर्देशकसुनारले बताए । सो कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका प्राचार्य र निर्देशकहरू, इक्यानका पदाधिकारी तथा सदस्यहरु तथा शैक्षिक क्षेत्रमा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

