पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ । विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका साथ नवदुर्गा विशेष पूजा गर्न लागिएको बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि घटस्थापनादेखि मन्दिरका पूजारी वसन्तप्रसाद आचार्य सहितका तीन जना पण्डितहरूबाट मन्दिरमा नियमित दुर्गा शप्तशती पाठ हुनेछ । त्यस्तै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजा गरिने छ । मन्दिरका फूल प्रसादलाई विजयादशमीका दिनमा आसपासका क्षेत्रका स्थानीयका घरघरमा वितरण समेत गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पोखराको भरतपोखरी र आसपासका दर्शनार्थीहरू मन्दिरमा आउने गरेका छन् । मन्दिरमा बलि पूजा भने नहुने जानकारी दिदै उहाँले ठूलोढुङ्गा र आसपासका क्षेत्रबाट विभिन्न भाकल सहित पूजाआजाका लागि दर्शनार्थी आउने गरेको बताउनुभयो । सचिव लामिछानेका अनुुसार मन्दिरको सुरुमा पोखरा महानगरपालिका वडा नं ३३ निवासी स्व.लेखबहादुर गुुरुङबाट टिनको जस्ता प्रयोग गर्न र मन्दिरको गारो लगाउने क्रममा अतुलनीय सहयोग भएको थियो । उक्त मन्दिर निर्माण भइसकेपछि पोखरा ३३ निवासी दिननाथ आचार्यबाट पूजाआजा हुँदै आएकोमा पछि बसन्त आचार्यले हालसम्म नियमित पूजाआजा गर्दै आउनुुभएको उहाँले जानकारी दिनुभयो । दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको विश्वास लिइने यस मन्दिरको स्थापनाको भने अनौठो किंवदन्ती छ । किंवदन्तीअनुसार आजभन्दा करिब दुई सय वर्ष अघि लेकतिरबाट एक जना महिला माइत जान भनी यसै बाटो बाटो हँुदै आएकी र रात परेकाले हालको बालादेवी मन्दिरको नजिकै रहेको ओढारमा वास बसिछन् । निज महिला गर्भवती भएको र वास बस्ने क्रममा बाघले आक्रमण गरेकाले पेट चिरिएर गर्भबाट बालिका निस्किएको किंवदन्ती छ । निज महिलालाई बाघले खाएको र बालिकालाई नागले बेरेर संरक्षण दिएको भन्ने कथन छ । केही समय पश्चात बालिका अलप भएको तर निज बालिकाको दिव्यस्वरुप त्यही नै घुमिरहेको र सो स्थानमा प्रायः बालिका रोएको तथा कराएको आवाज आउन थालेछ । बालिका रोएको र कराएको आवाज निरन्तर सुनिन थाले पछि के रहेछ भनि लामा धामीलाई ल्याई हेराइएछ । खोजी गर्दा उक्त बालिकाको आत्मा धामीमार्फत सबै घटनाबारे सम्पूर्ण वृतान्त बताउनुको साथै म देवी हुँ र यसै स्थानमा मेरो मन्दिर बनाउनु भन्ने निर्देशन भएछ । पछि तिनै बालिकाको नाममा बालादेवी मन्दिर स्थापना भएको र त्यसयता निरन्तर पूजाआजा हुँदै आएको मान्यता छ । यसअघि विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण भएकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको हो । प्रत्येक वर्षको ज्येष्ठी पूर्णिमामा स्थानीयले विशेष पूजाआजा गर्ने गरेका छन् । पहिला पहिला ज्येठी पूर्णिमाका दिन पूजा गर्दा पाठीको बली दिने गरिए पनि स्थानीयवासीको समुहिक निर्णय अनुसार विगत तीन वर्ष यता बलिदिने प्रचलन हटिसकेको सचिव लामिछानेले जानकारी दिनुभयो । विभिन्न महत्वपूर्ण तिथिमितिमा पनि ठाउँ ठाउँबाट दर्शनार्थीहरू मनले चिताएको पुग्ने विश्वासका साथ पूजाआजाका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । मन्दिरको संरक्षण र विकासको लागि बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति क्रियाशिल बनिरहेको छ । मन्दिर निर्माणका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराउनुभएको सचिव लामिछानेले जानकारी दिनुभयो । मन्दिरमा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि पनि थप जग्गा दिने प्रतिवद्धता आचार्यले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । पोखराको बिरौटा हुँदै बागमारा जाने सडकखण्डको ठूलोढुङ्गा चोकबाट नजिक पर्ने उक्त मन्दिर सडककको सहज पहुँचमा रहेको छ । पूर्णरुपमा कालोपत्रे सडक भएका कारण पछिल्ला वर्षमा यहाँको महिमा र गरिमा अझै बढ्दै गएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु लामा, सल्लाहकार जयकुमार परियार, दोहोरी व्यवसायी ठागु गुरुङ, भोज गुरुङ र निस्चल गुरुङले सँयुक्त रुपमा ३ थान कम्प्युटर र २ थान प्रिन्टर सहयोग हस्तान्तरण गरेको हो । सँघका अध्यक्ष जीवन गुरुङले आन्दोलनकारीले जिप्रका कास्कीमासमेत तोडफोड तथा आगजनी गरी नागरिकको हितविपरित कार्य गरेको भन्दै दुख व्यक्त गरे । नागरिकको शान्ति सुरक्षासँग जोडिएको कार्यालयमा आक्रमण गरिनु दुखद रहेकाे बताउँदै तत्काल कम्प्युटर तथा प्रिन्टर अभाव देखिएकाले सहयोग गरेको बताए । ‘प्रहरी कार्यालय भनेको जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यालय हो । यति कुरा पनि हेक्का नराखिकन ध्वस्त पार्नु भनेको निकै दुखद कुरा हो, उनले भने, ‘सबै ध्वस्त भएको खबरपछि हाम्रो संस्थाले तत्काल आवश्यक महसुस गरी कम्प्युटर र प्रिन्टर सहयोग गरेका हौं । यसले केही हदसम्म मलम लगाउने विश्वास लिएका छौं ।’ उनले आगामी दिनमासमेत कास्की प्रहरीसँग समन्व्य गर्दै समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए । सरकारविरुद्ध गत २३ र २४ गते जेनजीको नाममा सडकमा उत्रेको आन्दोलनकारीकाे समूहले जिल्ला प्रहरी कार्यालयमा तोडफोडसहित आगजनी गरेको थियो ।
शिवकुमार आले मगर, तनहुँ । हामी सबै नेपाली राजनीतिक दल र दलका कार्यकर्ताले समिक्षा गर्नुपर्छ । आत्मालोचित हुनुपर्छ किनभने, देशका प्रमुख राजनीतिक दलहरूले कम्तिमा दलजस्तो बन्ने प्रयास गरेको भए आजको यो अवस्था आउने थिएन । निजी कम्पनीझैँ विचार र सिद्धान्तका चर्का आदर्शवादी कुरा गर्ने तर जनताको जीवनशैली र आफ्नै जीवनशैलीसँग कतै मेल खान नसक्ने प्रवृत्तिले जनतामा भएको धैर्यता, साथ, आशा र भरोसा तुहियो । “म झोले हुँ” भन्ने जस्ता अनावश्यक (ट्रेण्ड) ले झन् निराशामा बाँचिरहेका आम नेपालीहरूमा आवेश र क्रोध सिर्जना गर्यो । कुनै नेता वा कार्यकर्ताले यो गलत हो भन्न सकेनन् । एकाध हामी जस्ता भुइँमान्छेले बोले पनि “टिकट नपाएको कुण्ठा” हो भनेर बेवास्ता गरियो । चर्को भाषणबाजी कम गरी प्रत्यक्ष जनताको दैनिकीसँग सरोकार राखेका कुराहरू समाधान गर्न कोसिस गरौँ भन्ने कुरा हाम्रा लागि पाच्य भएन । नेताहरूलाई मञ्चहरूमा खादामाला लगाइदिँदैमा जनताको निराशा बुझ्ने फुर्सद नै भएन । कुलमान घिसिङ प्रकरण, इम्बोष्ट नम्बर हुँदै एमालेको विधान सम्मेलनमा एकतर्फी पद कब्जा गर्ने कार्यमा नेताकार्यकर्ताले साथ दिँदा आम नेपालीमा ठूलो निराशा पैदा भएको हेक्का हुन्छ । यति हुँदाहुँदै देशमा सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा जायज थियो । तर, विकल्प नखोजीकन एक्कासी निष्कृय गर्दा सरकारले आम नागरिक र नेपालीहरूको समर्थन गुमायो । परिणाम आज हामी सबैले देखिरहेका छौँ, भोगिरहेका छौं । अहिले देश विषम परिस्थितिमा छ । अरूलाई दोष लगाएर सरकारको नेतृत्व गरिरहेको पार्टी वा सोही दलका कार्यकर्ता जवाफदेहीताबाट भाग्ने छुट छैन । “हाम्रो पनि कमजोरी हो” भन्ने आत्मालोचना गर्न सक्नैपर्छ । जेनजी आन्दोलन हाँसो र मजाकको विषय होइन । यो आन्दोलन नेपालको इतिहासमा जनताको आवाज “प्रमाणु बम” जसरी विस्फोट भई राजनीतिक दलसँग हाम्रो भविष्य खै? भन्ने प्रश्नसहित पारदर्शी, सुशासन, जनताप्रति उत्तरदायी सरकार र नेतृत्वको माग प्रमुख रूपमा उठाइएको छ । जुन माग अघिल्लो पुस्ताले कहिल्यै गर्न सकेन भन्दा फरक नपर्ला । जेनजी आन्दोलनमा घुसपैठ भएको कुरा अस्वीकार गर्न सकिँदैन । तर, अहिलेको अवस्थामा देश खरानी भएको दोष जेनजीलाई मात्र लगाएर राजनीतिक रूपमा खिचडी पकाउने काम कुनै दल वा दलका कार्यकर्ताले गर्नुहुँदैन । यसको श्रेय अपाच्य तवरले ठुला कहलिएका दलले लिनैपर्छ । जे नहुनु पर्ने थियो, भइसकेको छ । अब सुझबुझका साथ आम नेपाली र दशकौँ वर्षको बलिदानीबाट प्राप्त संविधान र व्यवस्थालाई अझ सुधार्दै समस्याको समाधानमा ऐक्यबद्ध भएर अघि बढ्नु बाहेक विकल्प छैन । यदि त्यसो हुन सकेन भने न राजनीतिक पार्टी रहनेछ, न देश रहनेछ, न हाम्रो पहिचान र अस्तित्व । त्यसैले सबैले संकल्प र प्रण गरौँ—देशलाई सकेसम्म छिट्टै यो अवस्थाबाट मुक्त गरौं । जेनजीहरूको मुद्दा, माग र आवाजहरूलाई सम्बोधन गर्ने पहल गरौँ । देशको भविष्य यतिबेला गाभाको पानी जस्तै भएको छ । मुलुक विषम परिस्थितिमा भएको बेला राजनितिक स्वार्थको रोटी सेक्ने काम गरेर देश बर्वाद बनाउने काम कुनै दल र नेता कार्यकर्ताले गर्नुहुुदैन । सहभागिता, सहमति, सहकार्य र एकताविना देशमा दिगो शान्ति र स्थायित्व सम्भव छैन । त्यसैले आत्मालोचना गर्नुपर्छ ।
पोखरा: हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भदौ २४ गतेको जेन्जीको आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा जडान गरिएका सम्पूर्ण सिसिटीभि क्यामेराहरु आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएपछि लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले प्रहरीको काम कारबाहीमा सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप शनिवार सिसिटीभी क्यामेरा मर्मत संगै नयाँ सिसिटीभी जडान गरेको लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष राबत गोम्जा तामाङले बताए । गोम्जाका अनुसार जिल्ला प्रहरी कार्यालय हामी सबैको लागि सुरक्षा प्रदान गर्ने स्थान भएकाले आन्दोलनको क्रममा आगलागीबाट क्षति भएको सिसिटीभी क्यामेराहरुले काम नगर्ने भएकाले आफुहरुले मर्मत र नयाँ सिसिटीभी क्यामेरा जडान गरेको बताए । सिसिटीभी जडान कार्यक्रमका संयोजक स्वयंभु कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा १६ थान सिसिटीभी क्यामेरा जडान गरिएको छ । जस मध्ये ९ वटा सिसिटीभी क्यामेरा नयाँ जडान गरिएको हो । शनिबार जडान सम्पन्न गरी हस्तान्तरण गरिएको उक्त क्यामेराहरुको मर्मत संभार समेत लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले नै गरिदिने र आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने समेत कुँवरले जानकारी दिए । यस अघि पार्दी माविमा समेत लायन्स क्लव अफ इन्फर्मेशन टेक्नोलोजीले सिसिटीभी क्यामेरा जडान गरेको बताउदै आफुहरुले पोखरा ८ का केही सामुदायिक विद्यालयहरुमा सिसिटीभी क्यामेरा जडान गर्ने योजनाका साथ अगाडी बढिरहदा जेन्जीको आन्दोलनका कारण आगलागीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालयमा सिसिटीभी क्यामेरा जडान गरिएको अध्यक्ष गोम्जाले जानकारी दिए ।
गण्डकी: जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ । सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि राख्न लागेको जानकारी दिँदै उनले सेवा प्रवाह सुरु गर्ने सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सानाठूला गरी करिब ८० कार्यालयमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको छ । केही दिनयता सुरक्षा अवस्थालाई दृष्टिगत गरी लगाइएको निषेधाज्ञा एवं कफ्र्यू शनिबारदेखि खुला गरिएसँगै पोखरामा व्यापार व्यवसाय एवं सार्वजनिक यातायातहरू पूर्ववत् सञ्चालनमा आउन थालेका छन् । आन्दोलनकै कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन गराउने तयारी गरिएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।
काठमाडौं: सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो । आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ । पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गरे । “पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ”, पूर्वसचिव खनालले भने, “विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।” खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए । अर्थशास्त्री डा समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए । उनले भने, “अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।” अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । “विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताए । उनले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए। सिइओ जोशीले भने, “पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।” उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन्भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उनले बताए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । “पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ”, उनले भने, “विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो । नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उनले भने, “देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो । होटललगायत पूर्वाधारमा ठूलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।” प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।” नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम् परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् । होटलमा करिब २५ अर्बको नोक्सानी जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ । काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।
पोखरा: नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । ‘सामाजिक सञ्जालमा आधारित सयौं आम्दानीका स्रोतहरु प्रभावमा परेका छन् भने यसले लाखौं मानिसको दैनिकी र रोजगारीमासमेत प्रभाव पारेको छ,’ महासंघले सिडिओमार्फत बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘घुम्न आउने पर्यटकहरुले बुकिङ गर्न छाडेका छन् भने बुकिङ गरिरहेकाहरुले पनि रद्ध गर्न थालेका छन् ।’ महासंघले विश्वभरि रहेका व्यावसायिक संस्थाहरुबीचको सम्बन्ध, सम्पर्कमै असर पारेको बताएको छ । सामाजिक सञ्जाललाई व्यवस्थित नियमन गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा असहमति नभएको तर पर्याप्त कानुनी आधार र कुटनीतिक प्रयासबिना बन्द गर्ने निर्णयप्रति भने असहमति रहेको महासचिव गौतमले बताए । ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकलाई प्रभावित पार्नु कानुनी शासन र लोकतान्त्रिक मूल्यविपरीत रहेको हाम्रो निश्कर्ष छ,’ गौतमले भने । नेपालमा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसद्मा विचाराधीन रहिरहेको अवस्थामा सरकारले पुरानो २०६३ सालको कानुनलाई टेकेर बनाएको निर्देशिकाअनुसार बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न अध्यक्ष जितुले माग गरे । ‘कुटनीतिक पहल गर्दै सामाजिक सञ्जाल नियमनको प्रक्रिया थाल्न अनुरोध छ,’ उनले भने, ‘देशमा सिर्जित लाखौंको रोजगारी खोस्ने, अर्थतन्त्रलाई नै प्रभावित पार्ने कदमबाट पछि हट्दै व्यवसायी तथा आम नागरिकको पक्षमा निर्णय गर्न माग गर्दै श्रीमान प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’ फिने गण्डकीका प्रवक्ता कृष्ण आचार्यले पदमार्गमा जाने बल्ल सिजन लाग्दै गर्दा सरकारको निर्णयले धेरै असर गरेको सुनाए । फेसबुकसँगै अधिकतम सम्पर्क र व्यावसायिक कुराकानी ह्वाट्सयपबाट हुने गरेको उनले बताए । अहिले त्यो नै नचलेपछि ब्यापारिक सम्बन्ध नै टुटेको उनले दुखेसो गरे । पर्यटकले सामाजिक सञ्जाल नै नचल्ने तिमीहरुको देशमा किन आउने भन्न थालेको उनले दुखेसो गरे ।
पोखरा: खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो । रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गरी सुभारम्भ गर्दै समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे । साथै सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमाम जोड पनि उनले दिए । ‘रक्तदान जस्तो जीवन दानको अभियान सञ्चालन गर्नु ठूलो पुण्यको काम हो’, वडाध्यक्ष बरालले भने, ‘यस्ता सामाजिक कामहरुलाई समाजले निरन्तरता दिइरहोस् । मेरो सधै साथसहयोग रहनेछ ।’ समाजका अध्यक्ष पिताम्बर पौडेलले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । मन, वचन र कर्मले सहयोग गरेमा सामाजिक कामले सार्थकता पाउने भन्दै उनले समाज निरन्तर रुपमा सामाजिक गतिवविधिमा सक्रिय भएको र समाजका सदस्यहरुको सहयोगले सबै कार्यक्रमहरु सफल हुँदै गएको बताए । समाजका वरिष्ठ उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक लालप्रसाद शर्माले स्वागत गर्दै संस्थाको परिचय दिएका थिए । उनले समाजले आगामी वर्षहरुमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताए । समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले समाज स्थापना भएको छोटो अवधिमै विभिन्न सामाजिक काम गर्दै अगाडि बढ्न सकेकोमा खुशी व्यक्त गरे । सल्लाहकार दुर्गाराज सुवेदीले समाजले सराहनीय कार्यहरु गर्दै आएको भन्दै सबै साथसहयोगले नै यो संभव भएको बताए । कार्यक्रममा स्केटीङका राष्ट्रिय खेलाडी आशिष श्रेष्ठलगायतले रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रेम सुवेदीले गरेका थिए ।
पोखरा: सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रतिभा छनोट समितिमा क्लबका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एम.बि. आस्था, क्लब अध्यक्ष केशवराज बराल, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र महासचिव रामजीप्रसाद अधिकारी सदस्य रहनुभएको थियो । पर्वत जिल्ला स्थायी घर भई हाल पोखरा ८ निवासी पत्रकार पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील हुनुहुन्छ । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य उहाँ पोखरा स्पोर्टस् डटकमका सम्पादक हुनुहुन्छ । उहाँ प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष हुनुुहुन्छ । साथै, उहाँ युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबाट वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, प्रेस चौतारी पत्रकार सम्मान, नेपाल हवाई खेलकुद संघबाट उत्कृष्ट खेलकुद पत्रकार लगायत विभिन्न संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ । यसैगरी, क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गर्ने निर्णय गरेको छ । पोखरा–१७ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गर्नुभएको थियो । उहाँ क्लबमा रही हरेक गतिविधिमा क्रियाशील रहँदै आउनुभएको छ । हाल उहाँ सिनियर सदस्य हुनुहुन्छ । संस्थाको २७ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन अवसरमा यही भदौ ३० गते पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा हुने समारोहमा पुरस्कार तथा सम्मान अर्पण गरिनेछ ।