पोखरा:  सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ ।   अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ । गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ ।   आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ ।   प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । “सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रस्ताव पठाएका छौँ”, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।    खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुदको रौनक र अपनत्व सबै प्रदेशवासीलाई होस् भनेर सबै जिल्लामा न्यूनतम एक खेल आयोजनाको प्रस्ताव गरिएको उनको भनाइ छ । योगीले भने, “खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षणलगायत पक्षलाई हेरेर प्रस्ताव पठाएका छौँ । केन्द्रको प्राविधिक टोलीले प्रस्तावितस्थलको अनुगमन सुरु गरेको छ ।   केही दिनमै प्रस्तावितस्थलमा नै राखेपले खेल सञ्चालनको तालिका बनाउने छ ।” प्रदेशका सबै जिल्लालाई समावेश गरेर खेल आयोजना गर्दा जिल्लामा खेलप्रतिको आकर्षण बढ्ने र खेलाडीको चापलाई व्यवस्थित गर्न सकिने छ । प्रतियोगिताको तयारी र पूर्वाधारका बारेमा जानकारी लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतको टोली आज पोखरा आउने समितिले जनाएको छ ।   कुन खेल कहाँ ? राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन हुनेछन् ।   यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला–पुरुष) लमजुङ, टेवलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ ।   बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ ।   यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपबाट रु १६ करोड बजेट विनियोजन गरिएको छ ।

काठमाडौं: नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामालाई आज पक्राउ गरेको हो ।   कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट हराएको मोटरसाइकल चोरीमा संलग्न लामालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको बताए ।   लामाले चोरी भएको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२५ प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु ६४ प ७३७५ नं बनाएर सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । मोटरसाइकल हराएपछि गोदावरी नगरपालिका–८ डुकुछापका नवराज घिमिरेले ट्राफिक कार्यालयमा उजुरी दिएका थिए ।   पक्राउ गरिएका व्यक्ति र मोटरसाइकललाई चोरी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय प्रमुख जोशीले बताए ।   यसैगरी नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ११ लाख ६९ हजार जरिवना ठहर भएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन २९ को फैसलानुसार दुई दिन कैद सजाय र बिगो बमोजिम रु ११ लाख ६९ हजार जरिवना तोकेपछि फरार रहेका ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।   ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलबार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ राईले आफ्नो राष्ट्रिय वाणिज्य बैँक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए ।   पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।

मनाङ- बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनको लागि मनोनयन पनि दर्ता भइसकेको छ ।   संविधानले दिएको अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण महिलाहरु खोसिएको भन्दै केही स्थानमा महिलाहरु रुष्ट भइरहेको अवस्था छ । कहीँ भने महिला उम्मेदवार पाउनै मुस्किल छ । हो मनाङमा संविधानद्वारा प्रदत्त अधिकार र अवसर पूर्ति हुन सकेको छैन ।   मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्ति समेत हुन सकेको छैन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न भने चाहने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडाहरुमा आवश्यक सङ्ख्या पुर्‍याउनै मुस्किल भएको छ ।   हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाका पाँच वटा वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन । दलित महिला सदस्यका लागि वडाहरुमा उम्मेदवारी मनोनयन नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   नार्पाभूमि गाउँपालिकाका पाँच वडामा दलित सहित गरी महिला सदस्य १० जनाको सिट सुनिश्चित छ । तर, गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिनुभयो ।   उहाँका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा मनाङका ५६ महिला सदस्यको सिट सुनिश्चित छ । नार्पाभूमिमा १० जना आवश्यक भएकोमा आवश्यकता पूर्ति भएको छैन भने अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् ।   मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्य सहित गरी कुल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पनि सुनिश्चित सिट पूर्ण भएको छैन ।   त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाहरुको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाहरुको सिट सुनिश्चित छ । तर, महिला महिला सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   त्यसैगरी नासों गाउँपालिकामा भने केही महिला सदस्यहरु बीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता भएको छ । नासोंको विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   मनाङमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी लगायतका दल दर्ता भएका छन् । मनाङका केही स्थानको चुनावमा कांग्रेस र एमाले बीच नै गठबन्धन भएको जस्तो देखिएको छ । भागबण्डा लगाएर कांग्रेसले वडा अध्यक्षको उम्मेदवारी दिएको स्थानमा एमालेतर्फबाट उम्मेदवारी परेको छैन भने एमालेले उम्मेदवारी दर्ता गराएको स्थानमा कांग्रेसले उम्मेदवार तयार गरेको छैन ।   चामे गाउँपालिका–३ मा एकिकृत समाजवादी पार्टीकी महिला सदस्यमा सर्वसम्मत हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले उहाँ सर्वसम्मत भएको सार्वजनिक गर्न बाँकी रहेको छ । मनाङमा महिला नेतृत्व बृद्धिका लागि न ठूला राजनीतिक दलले ध्यान दिन सके न त साना दलले नै । सबै राजनीतिक दलले महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्र र दस्तावेजमा राखेपनि मनाङको हकमा पुरा भएको देखिएको छैन ।   महिलाको नेतृत्व कम रहेको मनाङमा पहिलो पटक एक गाउँपालिकाको अध्यक्षमा भने महिला चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । लामो समयदेखि सामाजिक सेवा र पार्टीमा आवद्ध हुँदै आउनुभएकी गुरुङ गत चुनावमा पनि प्रतिस्पर्धामा उत्रिनु भएको थियो ।  नवीन लामिछाने, मनाङ/रासस

जुम्लाः तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।   आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो ।   “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उहाँले बताउनुभयो ।   आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उहाँले जनाउनुभयो । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  रुकुम पश्चिम, वैशाख ९ गते । रुकुम पश्चिमका राजनितीक दलहरुले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्बन्धिका आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । दलहरू चुनावमा निर्वाचन आयोगले बनाएका आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध भएका हुन् ।    मुसिकोट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सबै क्रियासिल राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्न एकमत भएको बताइएको छ । रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले आचारसंहिता पालना गर्ने र गराउन सबै दलहरु प्रतिबद्ध भएको बताउनुभयो । छलफल कार्यक्रममा उहाँले सबै सरोकारावालाले आचारसंहितामा पालना गर्यौँ भने उल्लङ्घन हुने सम्भावना नै रहन्न भन्नुहुँदै राजनीतिक दल र सन्चारमाध्यमले आचारसंहिता पालना गर्नु कर्तव्य भएको बताउनुभयो ।    कार्यक्रममा आचारसंहितको कानुनी आधार, उद्देश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि सञ्चारमाध्यम सबैले पालना गर्नुपर्ने आचरसंहिता, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन तथा त्यसका अन्य व्यवस्था, राजनीतिक दल र उम्मेदवारको भूमिका, निर्वाचनसम्बन्धी कार्यक्रम, मनोनयन दाखिला, उम्मेदवारको धरौटीलगायतका विषयमा छलफल भएको थियो । निर्वाचनको लागि रुकुम पश्चिममा सात दल दर्ता भएका छन् ।

वालिङ, वैशाख ९ गते । स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लास्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको हो ।   अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् । त्यस्तै, ७३ मतदान केन्द्र संवेदनशील र ५३ मतदान केन्द्र सामान्य रहेका छन् ।   २०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।    “भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गिकरण गरिएको छ ।” पौडेलको भनाइ छ ।    जिल्लामा स्थानीयतहको निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा जनशक्ति अभाव छ । स्याङ्जामा एक हजार ६२४ म्यादी प्रहरी भर्ना गरिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने अन्तिम तयारी गरिएको छ ।   सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिरहेकोको प्रशासनले जनाएको छ ।    निर्वाचनलाई स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा अघि बढाउन जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार संवेदनशीलतालाई आधार बनाएर सुरक्षाकर्मी खटाउने काम अन्तिम चरणमा पुगेको छ । ५ नगरपालिका र ६ गाँउपालिका गरी ११ पालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै मतदानस्थल र मतदाता वालिङमा रहेका छन् । 

तम्घास, बैशाख ८ गते । गुल्मीमा जवरजस्ती करणी गरी फरार रहेका आरोपी बुटवलबाट पक्राउ परेका छन् । जिल्लाको इश्मा गाउँपालिका ३ का २९ वर्षीय कृष्णबहादुर नेपालीले  वैशाख ४ गते साँझपख सोही स्थानकी २७ वर्षीय सुस्त मनस्थिति महिलालाई जबरजस्ती करणी गरी फरार थिए ।    नेपालीले जबरजस्ती करणी गरी फरार रहेको भन्ने कार्यालयमा प्राप्त  सूचनाको आधारमा खोजतलासी गर्दा निजलाई बुटवलबाट पक्राउ गरी गुल्मी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले जानकारी दिनुभयो ।   नेपालीले ठाडढुङ्गाको खोल्सामा जवरजस्ती करणी गरी फरार रहेको भन्ने आरोप लागेको छ । निजलाई वैशाख ७ गते जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  सुर्खेत, वैशाख ८ गते । कर्णाली प्रदेशका  मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो छ महिने प्रगति विवरण बुधबार सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्धको खोपलगायत विभिन्न विकासका कामलाई उपलब्धिका रूपमा सार्वजनिक गरेकोे हो ।    कुल जनसङ्ख्याको ५४ प्रतिशतले पहिलो र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोज लगाएको सार्वजनिक गर्दै सरकारले १८ वर्षभन्दा माथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएको जनाएको छ ।   मुख्यमन्त्री शाहीले छ महिनाको अवधिमा प्रदेशभरि ११ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको बताउनुभयो । यो अवधिमा प्रदेशभर १७० किलोमिटर नयाँ सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको र ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको उल्लेख गर्नुभयो ।      यस्तै यस अवधिमा सातवटा सडक पुल बनेको, प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को राजस्व सङ्कलन लक्ष्यबमोजिम ६० दशमलव ७३ प्रतिशत अर्थात् ३६ करोड ४४ लाख रुपियाँ सङ्कलन भएको बताइएको छ । यस अवधिमा चालू खर्च २७ दशमलव ७० र पुँजीगत खर्च १७ दशमलव ९४ प्रतिशत गरी कुल प्रगति २१ दशमलव ८० प्रतिशत छ ।   यस्तै जनता आवास कार्यक्रमअन्तर्गत यस अवधिमा कुल ६१३ वटा आवास निर्माण सम्पन्न भएका छन् भने ९७० वटा एकाइ निर्माण कार्यमा सम्झौता भई कार्यान्वयनमा छन् । थप दुई सय घरधुरी जनता आवास कार्यक्रमअन्तर्गत र विपन्न आवास कार्यक्रममार्फत दुई सय गरेर चार सय घरधुरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रिया पूरा भएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।    कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन–२०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रिया अगाडि बढाइएको, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालमा पठाइएको जानकारी उहाँले दिनुभयो ।   रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पतालका भवन निर्माणले गति लिएको, प्रदेशभरका ६६ वटा सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना भएर स्थानीय तहमार्फत कार्य सुचारु भएको उहाँको भनाइ छ । मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजनाका रूपमा प्रदेश रङ्गशालाको ट्र्याक र फिल्डको काम ५० प्रतिशत सम्पन्न भएको, अन्तर्राष्ट्रिय भलिबल कबर्ड हलको जग निर्माणको काम भइरहेको साथै कर्णाली प्रदेशका १० वटै जिल्लामा ८१ वटा खेल मैदान निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।   सरकारले जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्ति आन्दोलनका घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि १५ करोड रुपियाँ स्थानीय तहमा पठाइएको जनाएको छ ।   मुख्यमन्त्री शाहीले कर्णालीको कृषि क्षेत्रले समेत फड्को मारेको दाबी गर्नुभएको छ । चालू आर्थिक वर्षमा कर्णालीका एक हजार २३९ हेक्टर जमिनमा सिंँचाइ सुविधा पुग्नुका साथै १० हजार २८६ जना स्वरोजगार बनेका छन् ।    दुईवटा बाख्रा स्रोत केन्द्र, दुईवटा माछा स्रोत केन्द्र, एउटा चौँरी स्रोत केन्द्र, एक/एकवटा भेडा/च्याङ्ग्रा/भैँसी/कुखुरा स्रोत केन्द्र स्थापना गरिएका छन् । चक्लाबन्दी कार्यक्रममार्फत एक हजार २०५ रोपनीमा आलु, बदाम, स्याउ, ओखर, किवी उत्पादन सुरु भएको छ । ३१० जना व्यवसायीलाई बैङ्कमार्फत ५७ करोड रुपियाँ ऋण लगानी गरिएको छ । मन्त्रालयबाट दुई करोड पाँच लाख रुपियाँ ब्याज भुक्तानी गरिएको छ । कर्णाली प्रदेशको भू–उपयोग योजना/नीतिको प्रक्रिया अगाडि बढेको छ ।    मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रममार्फत ७९ वटा पालिकामा महिला सहकारीलाई जगेडा कोषमार्फत पुँजी परिचालन गरिएको छ । जाजरकोट र दैलेखमा मकै मिसन कार्यक्रम, मार्सी धान प्रवद्र्धन कार्यक्रम, भटमास र रैथाने बाली प्रवर्धन कार्यक्रम तथा चैते धानको क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ । स्वास्थ्यतर्फ सरकारले कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसंँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाएको छ ।  प्रदेश सरकारले प्रदेशमा लगानी प्रवर्धन गर्ने उद्देश्यले दैलेखमा रारा हाइड्रोपावर कम्पनीबाट उत्पादन हुन केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिएपछि बढीमा पाँच करोड रुपियाँ प्रदेश सरकारबाट सेयरका रूपमा लगानीका साथै जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले कर्णाली प्रदेश सरकारलाई छुट्याएको ११ लाख ७१ हजार ५०० कित्ता सेयर स्वीकार गरी लगानी सुनिश्चित गरेको बताइएको छ ।