चितवन:    यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् ।   कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो ।  उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन ।   कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीरण गर्दै आएको छ ।   सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उहाँले बताउनुभयो ।   यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जीप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस÷ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतको सवारी चालक अनुमतिपत्र दिइने गरिएको छ ।   उहाँले भन्नुभयो “यहाँबाट अत्याधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमतिपत्र लिने गरेका छन् ।” यस जिल्लामा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेको उहाँले बताउनुभयो ।   अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन् । गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९०९ वटा भएको छ ।   सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन् ।   कार्यालयले गत आर्थिक वर्षमा रु ८८ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

पर्वत:   जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् ।   जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् ।   कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिनुभयो ।   गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका–५ बाजुङमा दुईवटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो ।   गत वैशाख १८ मा कुश्मा–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा–२ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ ।   वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त बासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताउनुभयो ।   “गाउँघरमा रातिको समयमा पशचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ । मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो ।   “अहिले खाद्य चक्रमा समस्या आइरहेकाले तिनीहरूको मृत्यु भएको हुन सक्छ । कोही पानी खान जाँदा पोखरीमा डुबेर मरेको पनि भेटियो । बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकाले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन”, उहाँले भन्नुभयो ।   चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय बासस्थानमा नफर्कंदा बच्चाहरू भोकले मरेको हुनसक्ने सापकोटाको भनाइ छ ।   आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उहाँले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृगलगायत जनावरको सङ्ख्या कमी हुँदै जाँदा खाद्य सङ्कट परेको हुन सक्ने उहाँले बताउनुभयो ।   पर्वतमा आव २०७९/८० मा नौवटा चितुवा मृतावस्थामा उद्धार गरिएको थियो । उक्त वर्ष दुई चितुवाको जिउँदै अवस्थामा उद्धार गरिएको थियो ।

काठमाडौँ:   नेपाली सेनाले तनहुँको घाँसीकुवामा खसेको पहिरो हटाउने कार्य तीव्र पारेको छ ।   यही भदौ ४ गतेदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।   “यही भदौ ५ गते साँझ उक्त राजमार्गको मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा पहिरो गई सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ नेपाली सेना परिचालित भएको र पहिरो हटाउने कार्य जारी रहेको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाउने कार्य भइरहेको हो ।   राजमार्गको करिब एक सय ३० मिटर क्षेत्रफलमा फैलिएको उक्त पहिरोमा रहेका रुख नेपाली सेनालगायत अन्य सुरक्षा निकायले हटाएको छ ।   एक्स्काभेटरको प्रयोग गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।   समुहको उपाध्यक्षमा कान्ति गुरुङ, सचिवमा सिता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यहरुमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ सर्वसम्मत चयन गरिएको छ ।   अधिवेशनका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गर्दै आमा समुहले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै वडाबाट हुने तथा व्यक्तिगत सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका थिए  ।   सो अबसरमा राष्ट्रिय भुमि अधिकार मञ्च कास्कीका संरक्षक आस बहादुर गुरुङ, नेपाली कांग्रेस पोखरा १५ का सभापति सुशील पराजुली, राष्ट्रिय भुमि अधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष राम लामिछाने, भुमि अधिकार तथा श्रमिक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टेकबहादुर पुन, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सहारा क्लबका उपाध्यक्ष पुर्ण बहादुर गुरुङ, रिभर साइट युवा क्लबका अध्यक्ष नारायण भण्डारी, समुहकी संस्थापक अध्यक्ष भिम कुमारी गुरुङ, सेतिगंगा आमा समुहकी अध्यक्ष रमा रानाभाटले शुभकामना मन्तव्य राखेका थिए ।   समुहकी सचिव कुमारी गुरुङले संस्थाले गरेका गतिविधि तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।   कार्यक्रममा समाजसेवी लिला लामिछाने, भलिबल प्रशिक्षकद्वय ठाकुर प्रसाद गुरुङ र रामबहादुर थापा, एस ई इ उत्तीर्ण छोराछोरीहरु अञ्जिला गुरुङ, महेश गुरुङ र वासिकल गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।   समुहकी अध्यक्ष शशि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष र संचालन सचीव कुमारी गुरुङले गरेकी थिइन् ।

सुर्खेत:    कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई रु छ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ ।   विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म तीन सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमावापत रु छ करोड ८८ लाख राहतस्वरूप उपलब्ध गराएको हो ।   पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत रु एक करोड १८ लाख रकम प्रदान गरिएको थियो ।   प्रतिव्यक्ति रु दुई लाखका दरले दोस्रो चरणमा ४७ जनालाई रु ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई रु एक करोड ३२ लाख र चौथो चरणमा एक सय ७२ जनालाई रु तीन करोड ४४ लाख बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।   उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।   मन्त्रालयले आव २०८०/८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका एक सय ७१ जनाका परिवारलाई रु तीन करोड ४२ लाख भुक्तानी गरेको छ ।   विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई रु दुई लाखका दरले रु तीन करोड बीमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।    उहाँका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ ।   त्यसैगरी गत वर्ष भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाका परिवारलाई रु ४० लाख बीमामार्फत भुक्तानी गरिएको छ ।   कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

नवलपुर:   बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।   जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।   जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो ।   पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।   वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।   कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ ।   अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो ।   सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानीका होटल व्यवसायी तारा पुनले बताउनुभयो ।   “गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीय याम सुरु हुन लागेपनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।”   घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् ।   पोखरेबगर–चित्रे–घोडेपानी सडकअन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुनसकेको छैन ।   वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् ।   पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।   अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।   अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो ।   अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेट गरी पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

पोखरा:   गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।   शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।  उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे ।  “सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक छ।”, उनले भने ।  मन्त्री थापाले काम सानो नहुने र सीपसँगै प्राप्त भएको सर्टिफिकेटको महत्व ठूलो भएको उल्लेख गरे ।  उनले नागरिकलाई दक्ष बनाउन प्रदेश सरकारले समयानुसार सीपमुलक कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताए ।  नागरिकले चाहेनुसारको रोजगार उपलब्ध गराउन र स्वरोजगारमुखी वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध भएको भनाई उनको छ ।  मन्त्रालयको उपसचिव तोयानाथ लम्सालले सीपमुुलक कार्यक्रमका लागि स्थानीय तहले ६० लाख, संघीय सशर्तबाट २५ लाख, प्रदेशबाट १६ लाख विनियोजन भएको जानकारी गराए ।  सिटीईभिटी गण्डकी प्रदेशका निर्देशक कल्प बस्नेतले परीक्षार्थीले प्राप्त गरेको सर्टिफिकेटको उपयोग सही हुने विश्वास लिएका छन् । कार्यक्रममा ६८ जना परीक्षार्थीलाई प्रमाण पत्र उपलब्ध गराइएको थियो ।  

कास्की:  पोखरा -६ लेकसाइडमा सञ्चालित क्याटवाकले दोस्रो वार्षिकोत्सवको अवसर पारेर निशुल्क आँखा जाच तथा रक्तदान कार्यक्रम गर्ने भएको छ ।    हस्पिटालिटीको क्षेत्रमा युवाहरुको रोजाइ बन्दै आएको क्याटवाकले भदौ १ गते रक्तदानसँगै निशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो ।    कार्यक्रम बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ ।    यस्तै वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रमहरुसमेत आयोजना गर्ने बताइएको छ ।