काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताउनुभएको छ । संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संसद्मा रहेको सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन अघि बढाइने विश्वास दिलाउनुभयो । “संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै हेर्ने छैनौँ, सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानलाई समयानुकूल बनाउनुपर्छ, समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो, ‘लिखत र मर्म’ अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो ।” प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा र कार्यान्वयन अबको लडाईं भएको उल्लेख गर्दै राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । “एउटा युवाले देशभित्रै रोजगारी पाउँछु भनेर ढुक्क हुन पाओस्, श्रमिकले मर्यादित काम पाउँछु भनेर विश्वास गर्न सकोस्, नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच होस्, कसैको भोको शरीरले ओछ्यान छुन नपरोस् । बालबालिका सडकमा होइन, विद्यालयमा भेटिउन्, किसानले कृषि उपजको बजार र मूल्य पाऊन्” भन्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकार सचेततापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो । सो वातावरण बनाउन सरकारले प्रथमतः मौलिक हक कार्यानवनयका लागि आवश्यक कार्यायोजना तयार पार्ने काम गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले नीतिगतले रुपमा अहिले मौलिक हक कार्यान्वयनका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वय गर्न आवश्यक कार्ययोजना बनाउने कामले तीव्रता पाएको स्पष्ट पार्नुभयो । मौलिक हक कार्यानवयनका लागि आर्थिक स्रोत जुटाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानमा किटान गरिएको मौलिक हकको कार्यान्वयन गर्न लाग्ने आवश्यक आर्थिक स्रोत तत्काल उपलब्ध छैन, स्रोतसाधनको व्यवस्था गरी जनतालाई राहत दिन सरकार क्रियाशील छ ।” अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको जनाउँदै उहाँले वर्तमान सरकार सबै नागरिकलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न लागि परेको बताउनुभयो । “यो अवस्था अन्त्य गरेर मात्र समाजलाई समतामुलक बनाउन सक्छौँ, समतामुलक समाजबाट मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्छ”, प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रो विकासको ढाँचालाई समावेशी बनाउनुपर्दछ ।” संविधानले सबैलाई प्रतिस्पर्धाका लागि समान आधार तयार गरेको जनाउँदै प्रधानमन्त्री ओलीले सर्वकालिक सामाजिक सुरक्षाबाट ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यसेवासहित संरक्षण थालनी गरिएको स्पष्ट पार्नुभयो । उहाँले ज्यालामा आधारित रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने र योगदानमा आधारित सामाजिक सुरक्षामार्फत सेवा निवृत्तपछि नागरिकको जीवन सहज र सुखी बनाउनेमा सरकार दृढ रहेको बताउनुभयो । स्टार्टअप, स्वरोजगारी एवं उद्यमशीलतामा लगानी गर्ने र त्यसमा धेरैभन्दा धेरै युवालाई संलग्न गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भविश्यका लागि अहिले युवा र बालबालिकामा धेरै लगानी गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो । विकासका लागि स्थायित्व अनिवार्य सर्त भएको उल्लेख गर्दै उहाँले नीति र राजनीतिक दुवै क्षेत्रमा स्थायित्व आवश्यक भएको बताउनुभयो । मुलुकले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था भएको जनाउँदै प्रधानमन्त्री ओलीले ‘सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा’ सहितको लोकतन्त्र नै असली लोकतन्त्र भएको बताउनुभयो । उहाँले कानुनी राज, पारदर्शीता र उत्तरदायित्व नेपाली लोकतन्त्रको अभिन्न सर्त भएको स्पष्ट पार्नुभयो । “हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्ना शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो”, प्रधानमन्त्रीले भन्नुभयो, “अब यो प्रणालीबाट पछाडि फर्किँदैन, जनता आफैँले सिर्जना गरेको विद्यमान राजनीतिक शासन व्यवस्था हो, यसलाई बलियो बनाउनु र यसका पक्षमा उभिनु हामी सबैको कर्तव्य र दायित्व हो ।” ‘संविधानमा हाम्रा सामूहिक इच्छा र साझा दृष्टिकोण प्रतिविम्बित छन्’ नेपाल र नेपालीका लागि आज विशेष दिन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्षौं लामो सङ्घर्ष, हजारौँको बदिलान र अथक मेहिनेतबाट आजैका दिन देशको मुलुक कानुन बनेको स्मरण गर्नुभयो । प्रधानमन्त्रीले ‘जनताद्वारा जनताका लागि’ लिपिबद्ध गरिएको यस ऐतिहासिक दस्तावेज बनाउने संविधानसभाले आधा दशकभन्दा बढी समय लगानी गरेको बताउनुभयो । “आज विसं १९९३ देखि अधिकार प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको सङ्गठित आन्दोलनलाई संस्थागत गर्ने र २००७ सालदेखि ‘आफूद्वारा आफैँलाई शासन गर्ने, संविधान आफँैले लेख्ने’ जनताका चाहना पूरा भएको दिन पनि हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । विगतको सङ्घर्षसँगै तय भएका गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई संविधान दिवसले सम्झाउने उल्लेख गर्दै प्रधानमन्त्रीले अनेक जालझेल र घेराबन्दी छिचोल्दै बनेको संविधानको रक्षा, संवद्र्धन र विकासका लागि प्रण गर्ने तथा यसको प्रभावकारी कार्यान्वयनका लागि उत्प्रेरित गरिरहेको अनुभूति प्रकट गर्नुभयो । उहाँले संविधानसभाबाट जारी संविधानबाट हाम्रा सामूहिक इच्छा र साझा दृष्टिकोण प्रतिविम्बित भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधानमा मजदुर, किसान, शिक्षक, विद्यार्थी, युवा तथा पाका सबैको आवाज गुञ्जिएको छ, महिला, दलित, आदिवासी÷जनतजाति, थारू, मुसलमान, मधेसी–पहाडी, हिमाली, अल्पसङ्ख्यक÷उत्पीडित र सम्पूर्ण पिछडिएका वर्ग तथा क्षेत्रका नेपालीको सपना र आकाङ्क्षा उल्लेख भएको छ ।” संविधानले प्रत्येक नागरिकलाई अधिकार दिलाएको, आफ्नो कर्तव्य र मर्यादा सिकाएको तथा सबै नेपालीको सुन्दर भविष्यका लागि प्रतिबद्धता व्यक्त गरेको उहाँको भनाइ छ । “अपवादलाई छाडेर यस संविधानले सबै नेपालीको भावनालाई समेटेको छ, यदि सबैको भावना नसमेटिएको हुन्थ्यो भने ९ वर्षअघि संविधान जारी हुँदाको ‘असहमति’ त्यत्तिकै शान्त हुने थिएन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “‘असहमति’को आडमा हामीबीचको सद्भाव खल्बल्याउन खोज्ने शक्तिका विरुद्ध एक हुने आमनेपाली जनताको सुझबुझपूर्ण सहयोगको स्मरण गर्दै विशेष धन्यवाद भन्न चाहन्छु ।” समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत नागरिक समाजका तर्फबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । समारोहस्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत ‘संविधान तथा राष्ट्रिय दिवस २०८१’ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो क्रममा शान्तिको प्रतीक सेतो परेवासमेत उडाइएको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सङ्घीय सांसद, जनप्रतिनिधि, संवैधानिक निकाय तथा सुरक्षा अङ्गका प्रमुख, विदेशी मित्रराष्ट्र तथा कूटनीतिक नियोगका प्रमुख, सामाजिक जीवनमा लब्ध–प्रतिष्ठित विशिष्ट महानुभाव र राष्ट्रसेवक कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ । रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गर्नुभएको छ । रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो ।
दाङ: दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मुस्ताङ: चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् । यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ्ग’ गुफा । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने सङ्केत अहिले पनि देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए । प्राचिन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।” समुन्द्रि सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित जोङ्ग गुफाका नामले चिनिने यस गुफालाई स्थानीयले ‘सिजा जोङ्ग’ भन्दछन् । भुइँसहित छ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन् । हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन् । एउटा तलादेखि अर्को तलामा उक्लने झ¥याङ छ । गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताउनुभयो । असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल हुन्छ । “यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन”, उहाँले भन्नुभयो, “परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो ।” किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए । आक्रमणकारी समूहले पानीको मुहान थुनिदिए छन् तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटेपछि त्यसको प्रतिकारमा आतङ्ककारी समूहले गुफाभरि तेल पोखिदिएको थियो । त्यसैकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ । गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताउनुभयो । मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ्ग ठूलो र फरक पहिचान भएको गुफा मानिने गरेको उहाँको भनाइ छ । यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग रु एक सय शुल्क लिने गरेको छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलैगौडाबाट आएका सन्देश भट्टराईले गुफा अवलोकन गर्दा ढुङ्गे युगको जस्तो कल्पना भएको प्रतिक्रिया दिनुभयो । “बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्र पस्दा अनौठो र आश्चार्य लाग्यो”, उहाँले भन्नुभयो,“परापूर्वकालमा मानिसको बसाइँ कस्तो थियो भन्ने झल्को यो गुफाले दिन्छ ।” लोमान्थाङ गाउँपालिकाले यहाँ आउने पर्यटकको सहजताका लागि अत्यावश्यक पूर्वाधार बनाएको छ । गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतिक्षालय भवन निर्माण गरेको अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । “जोङ्ग गुफाको संरक्षण र आम्दानीलाई व्यवस्थित गरी सोही ठाउँको प्रवर्द्धनमा परिचालन गर्न स्थानीयसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन,” उहाँले भन्नुभयो “जमिनदेखि पहाडको भित्तामा रहेका गुफामा पुग्ने पक्की र तला उक्लने काठको भ¥याङ पनि गाउँपालिकाले नै बनाएको छ ।” बेनी–जोमसोम–कोरला सडकको लोमन्थाङ नेचुङ खण्डदेखि जोङ्ग गुफाको परिसरसम्म गाडीमा पुग्न सकिन्छ । चीन र नेपालको सिमानामा रहेको कोराला नाका जाने अधिकांश पर्यटकले यो गुफा अवलोकन गर्छन् । यसरी अवलोकनका लागि आउनेहरूले यहाँ राखिएको पुस्तिकामा अवलोकनपश्चात अर्कै संसारमा पुगेको अनुभूति हुने गरेको विचार व्यक्त गरेका छन् । कतिपयले ‘आश्चर्यजनक प्राकृतिक सम्पदा’ भनेर आफ्ना विचार व्यक्त गरेका छन् । यस गुफाबारे अनुसन्धान गरी ऐतिहासिक महत्व र तथ्यको पहिचान तथा तिनको संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । यसो गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीमा समेत हुने सम्भावना छ । हाल भइरहेको आम्दानीलाई पनि गाउँपालिकाले सङ्कलन र परिचालन गरी सोहीअनुसार गुफाको संरक्षण, विकास र प्रवर्द्धनमा लाग्नुपर्नेमा धेरैको जोड छ ।
तुलसीपुर: कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो । अचेल त्यही पुल प्रयोगविहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन हुन पुगेको स्थानीय शान्तकुमार बुढाले बताउनुभयो । “पहिले यही पुल नै हाम्रो लागि नदी वारपार गर्ने माध्यम थियो । त्यसताका बरदानजस्तै बनेको थियो झोलुङ्गे पुल”, उहाँले भन्नुभयो, “तर अचेल नजिकै मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुगेको छ ।” विगतमा राजपुर गाउँपालिकासँग राजमार्ग नजोडिएकाले यही पुलले सम्बन्ध जोडेको थियो । हाल प्रयोगविहीन भएकाले त्यसलाई अन्य आवश्कता भएको ठाउँमा लैजान सकिएमा त्यसको उपयोगिता हुने स्थानीको भनाइ छ । “धेरै ठाउँमा पुल छैनन्, तर यहाँ एकै ठाउँमा दुईवटा पुल भए । त्यसैले झोलुङ्गे पुल नभएको ठाउँमा लैजान सकिए नागरिकलाई सहज हुन्थ्यो”, बुढाले भन्नुभयो । यहाँ चार वर्षअघि रु ३५ करोडको लागतमा दुई सय ८० मिटर लामो मोटरेवल पुल बनेको छ । उक्त पुल बनेपछि सवारीसाधन सञ्चालन र स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । यही पुल तरेर हुलाकी राजमार्ग जान सकिन्छ । यहाँ पुल निर्माण भए पनि सडक स्तरवृद्धि भने हुन सकेको छैन ।
पर्वत: वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन् । अनुगमन समिति निष्क्रिय रहँदा प्राकृतिक स्रोत संरक्षणमा चुनौती थपिएको छ । कुश्मा नगरपालिकाको मालढुङ्गा आसपास, दमुवाखोला, जलजला गाउँपालिकाको लस्ती, मिलनचोक, खनियाघाट, केरावारी, बगरफाँट र मोदीखोलाको दोबिल्लालगायत स्थानमा नदीको धार नै परिवर्तन गरेर उत्खनन गरिएको पाइएको छ । नदीबाट निकालिएको बालुवा, ढुङ्गा, गिट्टी मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, दोबिल्ला–फलेवास सडक किनारमा उरुङ लगाइएको छ । कालीगण्डकी किनारमा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योगले लुकिछिपी बालुवाका झिकेर अनधिकृत दोहन गरेका स्थानीय हरेमबहादुर खत्रीले बताउनुभयो । कहिलेकाँही प्रहरीले एकदुई जनालाई पक्राउ गरेर सम्बन्धित पालिकामा बुझाएपनि कारबाही नगर्दा उनीहरू हतोत्साही नभएका उहाँले बताउनुभयो । सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ । अदालतको आदेशपछि कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न पाएका छैनन् । गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड कार्यविधि, २०७५ तयार गरे पनि त्यो पालना भएको छैन । कार्यविधिअनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, उत्खनन गर्दा ‘डोजर, स्काभेटर, लोडर’जस्ता भारी उपकरण प्रयोग गर्न पाइदैन । कुश्मा नगरपालिकाकी राजश्व शाखा प्रमु डिलकुमारी शर्माले नदी तथा खोलाबाट निर्माण सामाग्री उत्खनन गरेर सडक किनारमा थुपारिएको गुनासोको अनुसन्धान जारी रहेको बताउनुभयो ।
काठमाडौं: उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरश: कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । संविधान दिवस–२०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुने बताउनुभयो । उपराष्ट्रपति यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेका समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशीतालगायत प्रावधानलाई सबैले पालना गर्न सक्नुपर्नेमा जोड दिनुभयमे । “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँड गर्न अझै पनि विलम्ब हुनुले सङ्घीयताप्रति नै वितृष्णा बढेको जस्तो देखिएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधानसम्मत अधिकारसम्पन्न गराउन अतिआवश्यक र अपरिहार्य छ,” उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । उहाँले संविधानको मर्म र भावनाअनुसार प्रत्येक नेपाली नागरिकलाई स्वदेशमै रोजगारका अवसर प्राप्त हुनेगरी काम गर्न सबैलाई संविधान दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ । उपराष्ट्रपति यादवले संविधानको प्रस्तावनामै ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य’ उल्लेख हुनु र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत हुनुले संविधानको गरिमा र जनताको सर्वोच्चतालाई पुष्टि गरेको उल्लेख गर्नुभएको छ । संविधानले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा पनि परिभाषित गरेको जनाउनुहुँदै उहाँले नेपाली नागरिकलाई न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूति गर्दै एकता र बन्धुत्व भावलाई बढावा दिने प्रयास संविधानले गरेको उल्लेख गर्नुभएको छ । “सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानता र न्यायसम्बन्धी हक तथा शिक्षा, स्वास्थ्य, खाद्य, रोजगार, स्वच्छ वातावरण र सामाजिक न्यायलगायत अधिकार ‘मौलिक हक र कर्तव्य’ मै समावेश गरिनु सकारात्मक त छँदैछ, यसले संवैधानिक उच्चता र गरिमालाई पनि दर्शाउँदछ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ पटक–पटक भएका जनआन्दोलन, विद्रोह र अधिकार प्राप्तिका सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली, घाइते र अङ्गभङ्ग भएकाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले लोकतन्त्र, समावेशीता एवं अग्रगामी परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण अग्रजप्रति सम्मानका साथ संविधानको कार्यान्वयनमार्फत् नेपाली नागरिक र राष्ट्रहित तथा मुलुकको समृद्धि एवं दिगो विकासको शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभयो । “नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन” शुभकामना सन्देशमा भनिएको छ,“तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो ।” सभामुख घिमिरेले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र सङ्घीय संसद्ले संविधानको एक तिहाईभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गर्नुभयो । सन्देशमा संविधान कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहबाट समेत कानुन बनाइएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ, “संविधान दिवसका दिन सम्पूर्ण राजनीतिक शक्तिलाई साझा विन्दुमा उभिएर बाँकी कानुन निर्माणमा समझदारी पहिल्याउन अपिल गर्दछु । संविधान जारी भएको १० वर्ष प्रवेश गरेसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित अभ्यासहरू भइसकेका छन् । नयाँ संविधान बमोजिम तीनवटै तहका निर्वाचन सम्पन्न भएका छन् । लोकतान्त्रिक मूल्य र सङ्घीयतामा आधारित शासन प्रणालीलाई स्थापित गरेको नेपालको संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्था समेत पार भएको छ ।” सभामुख घिमिरले नेपाललाई लोकतान्त्रिक शासन व्यवस्थासम्म ल्याउन भएका आन्दोलन तथा सङ्घर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंककानुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २० रुपैयाँ ०३ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ३६ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।