काठमाडौँ: आज कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् । दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने सेडुअल छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने तयारी छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको बताइएकाे छ । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज (वैशाख ११) नेपालभर सार्वजनिक बिदा दिएकाे छ । कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् ।
मनाङः विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो । लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो । चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एकजना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ । यहाँको यात्रामा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्छ ।”
काठमाडौंः कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको भ्रमणका लागि आएको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। कतारका अमिरले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्। उहाँ नेपालमा पहिलोपटक आउँदै हुनुहुन्छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताउनुभएको छ। कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उहाँले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताउनुभएको छ। राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता हुनेछ। कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ।
बागलुङः बागलुङमा यस वर्ष २५ स्थानमा तटबन्ध गर्न थालिएको छ । खोला छेउछाउका बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत तटबन्ध तथा नदी नियन्त्रण गर्न थालिएको हो । जिल्लाको सबैभन्दा बढी गलकोट नगरपालिकामा तटबन्ध गर्न थालिएको छ । यस पालिकामा सातव तटबन्धका योजना छन् । बडिगाड गाउँपालिकामा तीन, बागलुङ नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई, ढोरपाटन नगरपालिकामा चार, निसीखोला गाउँपालिकामा तीन, तमानखोला गाउँपालिका एक र काठेखोला गाउँपालिकामा दुई योजना छन् । बागलुङका धेरै बस्ती खोला छेउमा हुँदा कटानको उच्च जोखिममा छन् । कटानबाट बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षमा रु चार करोड ९५ लाखको लागतमा २५ स्थानमा तटबन्ध गर्न थालिएको उहाँको भनाइ छ । उहाँका अनुसार गलकोट–६ खहरेखोला तटबन्ध वडा नं ९ दरमखोला नदी नियन्त्रण, सोही वडामा चुदीखोला तटबन्ध, वडा नं ४ मा खरुवा माध्यमिक विद्यालय तटबन्ध, वडा नं ९ मा पात्रेढुङ्गा–गौतमघाट तटबन्ध, वडा नं ७ मा चोखालघाटबाट प्रगति प्रावि तटबन्ध र वडा नं १० मा अँधेरीखोला तथा लङ्गुरेघाट बस्ती संरक्षण योजना रहेका छन् । बडिगाडको वडा नं २ मा बडिगाड खोला नियन्त्रण, वडा नं ५ मा दीक्षफाँट तटबन्ध र वडा नं ७ मा खोल्टेपानी तटबन्धको काम सुरु भएको उहाँको भनाइ छ । बागलुङ नगरपालिका–१ मा कालीगण्डकी नदी नियन्त्रणको काम भइरहेको पौडेलले बताउनुभयो । सो स्थानमा रहेको लक्ष्मीनारायण मन्दिर संरक्षणका लागि तटबन्ध गरिएको भन्दै वडा नं १० स्थित गलुवाखोलामा समेत तटबन्ध गर्न थालिएको प्रमुख पौडेलको भनाइ छ । बरेङ वडा नं ३ को राउसीखोला र वडा नं २ को गुहिएखोला ठुलो खोलामा पनि तटबन्ध गरिएको छ । ढोरपाटन–६ मा गाडीखोला खाल्टेखुल्टे उत्तरगङ्गा ढोरपाटन बस्ती संरक्षण, वडा नं ६ कै तुलाआवि तटबन्ध वडा नं ५ को दोगाडी स्वास्थ्य चौकी संरक्षण र शिवालय मावि संरक्षणका लागि भुजीखोलामा तटबन्ध गर्न थालिएको उहाँले जानकारी दिनुभयो । निसीखोला–२ मा छन्त्याल गाउँ बस्ती संरक्षण, वडा नं १ मा हुल्दी पहिरो नियन्त्रण, वडा नं ५ मा कालाखेत सानोखोला तटबन्धको काम भइरहेको छ । तमानखोला गाउँपालिका–६ नर्जागाउँ तटबन्ध र काठेखोला गाउँपालिका–४ मा धाकखोला तटबन्धको योजना कार्यान्वयन भइरहेको उहाँ बताउनुहुन्छ । पौडेलले २५ योजनामध्ये पाँच योजना सम्पन्न भएको, १८ योजनाको काम तीव्र गतिमा भएको भन्दै दुई योजना कालाखेत सानोखोला र अँधेरीखोला लङ्गुरेघाट बस्ती संरक्षण योजना सम्झौता नै नभएको जानकारी दिनुभयो । सबै योजना असार मसान्तसम्म सक्नुपर्ने पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुईवटा बाहेक सबै योजना कार्यान्वयन भइरहेका छन्, अहिले तीव्र गतिमा काम भइरहेको हुँदा असार मसान्तअलावै सक्ने सम्भावना देखिन्छ, यी योजना जहाँ बस्ती जोखिममा छन्, खोला किनारका विद्यालय र स्वास्थ्य संस्था पनि छन्, ती सबैलाई संरक्षण गर्नका लागि यो वर्ष तटबन्ध गर्न थालिएको हो ।”
काठमाडौं: प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ। सोमबार सूचना प्रकाशित गरी कार्यालयले सम्पर्कमा नरहेका १६ जना प्रहरीको नाम र दरबन्दी सार्वजनिक गरेको हो गैरहाजिर रहेका प्रहरीमा प्राविधिक प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन्। खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकाले सार्वजनिक सूचना प्रकाशन गरिएको कार्यालयले जनाएको छ। उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने चेतावनी कार्यालयले दिएको छ।
पाल्पाः पाल्पामा शनिबार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा २ जना घाइते भएका छन् । घाइते हुनेमा रैनादेवी छहरा १ का ५५ वर्षीय टोपबहादुर बुढा र माथागढी ४, जामुनडाँडाका ६५ वर्षीय पूर्णबहादुर काम्मु छन् । गम्भीर घाइते भएका बुढालाई थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए। सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिबर बिहानैदेखि आगलागी भएको थियो । स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जंगलमा पसेको र अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् । यसैबीच जिल्ला सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न स्थानमा गरी २ दर्जनबढी स्थानमा डढेलो लागेको छ । तानसेनको बतासेडाँडा, श्रीनगरडाँडा, धरमपानी, वनदेवी, विस्कुनडाँडाको तल्लो भेगलगायतका क्षेत्रमा आगो लागेको हो । यस्तै बगनासकालीको चिर्तुङधारा, बगनास, रिब्दीकोकोटको विभिन्न स्थानमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् ।
काठमाडौंः कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताउनुभयो । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कनुहुने तथा त्यस क्रममा उहाँले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताउनुभयो । राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतारका अमिरबाट पहिलो पटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।