चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

तनहुँ:    तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् ।  श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।  बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।  हत्या अभियुक्त श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताउनुभयो ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

धनगढी:   लोड गरिएको अवस्थामा दुई नाल भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ परेका छन् ।    अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको गोदावरी नगरपालिका ४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई मंगलबार साँझ दुई नाल भरुवा बन्दुक, गोली, बारुदसहित पक्राउ गरेको हो ।   बुढामगरको घरबाट करिब ५० मिटर पूर्व रहेको चैतडा सामुदायिक जङ्गलको खोल्सामा लुकाई–छिपाई राखेको अवस्थामा २ नाल लोड गरेको भरुवा बन्दुक, सोही बन्दुक नजिकै रहेको कालो रङको झोलाभित्र ४ ओटा फलाम र ४ ओटा सिसाको गोली गरी जम्मा ८ ओटा गोली र अन्दाजी १००/२०० ग्राम बारुद बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।   बुढामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

पोखरा:   गण्डकी प्रदेशसभा सदस्य  तथा पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।   उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । सर्वाेच्चले उनलाई दोषी ठहर गरेको छ ।    उनी गण्डी प्रदेशमा सबैभन्दा बढी पटक मन्त्री बन्ने सांसद हुन् ।   पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित सांसद हुन् । स्वतन्त्र निर्वाचित भएपनि उनी सत्तामोहका लागि कहिले नेकपा (एमाले) कहिले एकिकृत समाजवादी बन्ने गरेका थिए । पछिल्लो सयम उनी स्वतन्त्र भएको दाबी गर्दै आएका छन् ।   कसरी लाग्यो मनाङेलाई मुद्धा ?   चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा २०६१ सालमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।   यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो ।   उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ७६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।   दीपक मनाङे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।   ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो। आक्रमणमा मनाङे समूहले चक्रेको हात नै छिनाएको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडिएको थियो ।   ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनायो । तर जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारवादी उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा दायर भयो ।   पुनरावेदनले जिल्ला अदालतको फैसलामा केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत मनाङेलाई ५ वर्षको जेल सजाय तोक्यो भने मनाङेसँगै अन्य आरोपितलाई सफाई दिएको थियो ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।   अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत बसाई लम्बिने भएको छ ।   आज उनलाई कास्की जिल्ला अदालत लगिएको थियो ।    कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको तेस्रो पटक म्याद थप गरिएको हो ।   मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।    कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले हिरासतमा राखेर सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।   उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाको तत्कालिन प्रबन्धक निर्देशक हुँदा सो मिडियामा लगेर अपचलन गरेको आरोप छ ।  

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई  पुन: म्याद थपका लागि अदालत लगिएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो ।    कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालतमा पेस गरिएको हो ।    आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ ।    यसैबीच उनका समर्थकले रिहाइको माग गर्दै आज पोखरामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।   उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् ।   आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो ।   अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकामा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो ।   साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको र बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाहीका लागि काठमाडौँ ल्याइएको हो ।   उनलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।   उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ ।   जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने तयारी गरेको छ ।   उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरी हिरासतमा छन् ।   कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिएको थियो । तर, तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् ।   मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने रूपन्देही प्रहरीको तयारी छ ।   बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो ।   प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल ल्याउने तयारी गरेको हो ।   बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यो खबर कन्तिपुरमा घनश्याम गौतमले लेखेका छन् ।