काठमाडौंः नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् । यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
काठमाडौंः नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो । सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने नेकपा ९माओवादी केन्द्र० का नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थन छ । सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । त्यस्तै, आजै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूची रहेको छ । माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै, उम्मेदवारको सूचीमाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौंः नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरूले शपथ लिएका हुन् । एमालेबाट हरि उप्रेती रक्षा, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला तथा बालबालिका, ज्वालाकुमारी साह कृषि, राजेन्द्र राई भूमि व्यवस्था सहकारी र दामोदर भण्डारी उद्योग मन्त्री बन्नुभएको छ । माओवादीबाट रेखा शर्मा सञ्चार , सुदन किराती संस्कृति पर्यटन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुशीला श्रीपाली संस्कृति पर्यटन राज्यमन्त्री हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, डिपी अर्याल श्रम र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको छ । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, ध्रुवबहादुर प्रधान कानुन, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा राज्यमन्त्री हुनुभएको छ ।
काठमाडौं: आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनको लागि संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । निर्वाचनका लागि आवश्यक तयारी भैरहेको संसद सचिवालयले जनाएको छ । गत पुष २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नुभएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो । प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात् प्रस्तावको सुचना भोलि माघ चार गतेका लागि कार्यक्रम राखिएको छ । त्यस्तै सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ । सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ । माघ ५ गतेको प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थनमा बोल्ने कार्यक्रम हुन्छ । सभामुखको निर्वाचन हरेक सदस्यको मत विभाजनबाट हुन्छ । पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् । बहुमत प्राप्त निर्वाचित सभामुखले पदभार ग्रहणअगाडि राष्ट्रपतिसमक्ष शपथग्रहण गर्ने ब्यवस्था छ । सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । सभाध्यक्षले प्रस्तावित सभामुखको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यसरी निर्णयार्थ प्रस्तुत गर्दा पहिला दर्ता भएकोलाई पहिला र पछि दर्ता भएकालाई क्रमश प्रस्तुत गरिन्छ । पहिलो उम्मेदवारबारे निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएमा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्न नपर्ने कानुनी व्यवस्था रहेको छ । पहिलो उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा दोस्रो उम्मेदवारलाई निर्णयार्थ प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । एक जनाको मात्र उम्मेदवारी परेमा निर्विरोध घोषणा हुने व्यवस्था रहेको छ । सभामा कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत उम्मेदवार सभामुख निर्वाचित हुन्छ संवैधानिक ब्यवस्था अनुसार संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले ९ माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ । सभामुखको निर्वाचनको मिति नजिकिदै गर्दा दलहरु सभामुखको उम्मेद्वार तय गर्न आन्तरिक छलफलमा केन्द्रीत बनेका छन् । सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच छलफल भएको छ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन ।
काठमाडौंः राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको छ । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो । पर्सि हुने सभामुखको चुनावका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताउनु भएको छ । गएको पुस १० गतेको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी हुनुहुन्छ । यही पृष्ठभूमि बनाउन कांग्रेसले गएको २६ गतो प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । अघिल्लो संसदीय चुनावमा सहकार्य र पार्टी एकीकरण गरे पनि तिक्त सम्बन्धले अलग भएका दाहाल र ओलीको पुनर्मिलन भए पनि विश्वासको वातावरण बन्न सकेको छैन । हिजो ओलीसँग लामो छलफल गरेका प्रचण्डले विश्वासको मत दिने सबै पार्टीलाई सरकारमा समेट्न खोज्नु भएको छ । यसले एमालेमा शंसय उत्पन्न भएको छ । सर्वदलीय बैठक अघि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
काठमाडौंः सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई उपप्रधानमन्त्रीसँगै उर्जामन्त्रीको बनाउने निर्णय गरेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको सहमति अनुसार एमालेले ८ मन्त्रालय, माओवादीलाई प्रधानमन्त्रीबाहेक ४ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री । साथमा सहरी विकास र खेलकूद मन्त्रालय राप्रपाको भागमा परेको छ भने, जसपालाई २ मन्त्रालय दिने निर्णय भए पनि जसपा सहमत भएको छैन। रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने निर्णय भएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण भोलि १ बजे हुनेछ ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ । पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा हुनुहुन्छ । आइतबार साँझ पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो । आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।
पोखरा: गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धिताललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । आज भएको गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका थिए।