कञ्चनपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिनुभयो । सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उहाँले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गर्नुभयो । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गर्नुभएको थियो ।
काठमाडौं: आगामी वैशाख १५ गते हुने उपनिर्वाच्नका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् । सोमबार निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनका लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएको पनि जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे) ले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
काठमाडौंः राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो । नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुभयो । उहाँले नवनिर्वाचित सभापति पन्तलाई बधाई तथा शुभकामनासमेत दिनुभयो । राष्ट्रिय सभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रिय सभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गर्नुभयो । समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ । सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्वपूर्ण विषयलाई प्रभावकारी रुपमा उठाउने बताउनुभयो । सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ ९समूहमा मिलेर गरिने काम० मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताउनुभयो । भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उहाँले त्यसतर्फ समिति क्रियाशील रहने बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनर्गगठन भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र बनेका राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । राजीवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने बताइएकाेछ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे तय गरिएको छ ।
पोखरा: गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ । प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् । मनाङेले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेश सभा सचिवालयमा पत्र दिएका छन् । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । कांग्रेसबाट निर्वाचित पाण्डेले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरेपछि माओवादीले समर्थन फिर्ता लिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् । यो स्थितिमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले–माओवादीले पनि सजिलै सरकार बनाउन सक्ने अवस्था छैन । गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङे पनि स्वतन्त्र बसिदिँदा अहिलेको सत्ता समीकरणको सरकार सजिलै बन्ने स्थिति नदेखिएको हो ।
पोखरा: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबिच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘कांग्रेसबाट पटक पटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।’ प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए । उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै छौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेसलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेसलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।’ गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए। प्रधानमन्त्रीले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दै छौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।’ केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए। उनले भने, ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशको राजनीति सही बाटोमा आएको छ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र( का महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय भएको छ । पार्टी एकताका लागि वैचारिक एकरुपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र का तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव यादव रहनुभएको छ । बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङ सहभागी हुनुहुन्थ्यो भने समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव सहभागी हुनुहुन्थ्यो ।