पोखरा:   पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको ...

पोखरा:  पोखराको बुद्धचोकस्थि टप्स सेकेन्डरी स्कुलमा विहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसईई कप २०८२ सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो ।  यही असार १० गतेसम्म संचालन हुने फेस्टमा फुटसल, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष) र साइन्स क्विज कन्टेस्ट खेल हुनेछन् ।  विद्यालयका खेलकुद संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ७४ टीमको सहभागिता रहेको छ ।  यसैगरी बास्केटबलमा २४ छात्र र ४ छात्राको टीम, भलिबलमा ४८ छात्र र २२ छात्राको टीमको सहभागिता रहेको छ भने साइन्स क्विजमा ३२ टीम सहभागी हुदैछन् ।  पहिलो दिन भएको बास्केटबल प्रतियोगितामा ५ खेलमात्र भए । देवकोटाले शैक्षिक गतिविधिसंगै खेलकुदको क्षेत्रमा पनि छुट्टै पहिचान बनाउने उद्देश्यसाथ प्रतियोगिताको आयोजना गरिएको बताए ।  स्पोर्टस् फेस्टको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले खेल गतिविधिले एसईई दिएर बसेका विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताए ।  उनले विद्यार्थीले कितावी ज्ञानले मात्र नभई खेल क्षेत्रबाट पनि आफ्नो भविष्य निर्माण गर्न सक्ने जनाए ।  ‘टप्स स्कुल शैक्षिक लगायत खेलकुदजस्ता गतिविधिका माध्ययमबाट देशकै अग्रणी शैक्षिक संस्थाको रुपमा बिकास भएको देख्न चाहन्छु’, उनले भने । कार्कीले प्रतियोगिताका प्रमुख रेफ्री दीपल गुरुङलाई बल हस्तान्तरण गरेका थिए ।  विद्यालयका अध्यक्ष बलबहादुर थापाले यतिबेला टप्स सेकेन्डरी स्कुलका विषयमा पोखरामात्र नभई बाहिरी जिल्लाबासीले पनि चासोको साथ हेरेको बताए ।  आफुहरुले केही वर्षभित्रै विद्यालयलाई उत्कृष्ट बनाउने योजन साथ अघि बढेको भन्दै थापाले यसैक्रममा एसईई दिइ बसेका विद्यार्थीलाई लक्षित गरी खेल प्रतियोगिताको आयोजना गरिएको बताए ।  विद्यालयका प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटीले विद्यार्थीमा रहेको खेलकुदको प्रतिभालाई प्रदर्शन गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको बताए ।  विद्यालयका खेलकुद शिक्षक ऋषिसरा थापाले खेलकुद अनुशासन र स्वास्थ्यको प्रतिक रहेको बताइन् ।  साइन्स केमेष्ट्री संयोजक विकल रानाभाटले चालु शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनका साथ विद्यालय संचालन भएको भन्दै कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाई सुरु गर्न लागिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक आत्माराम अधिकारीले गरेका थिए । 

पोखरा:  पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो ।  महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन ।    

पोखरा:    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको  ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् ।  सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन्  । यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा रहेका छन् । स्याङजाबाट दिलिप कुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन बिक र शोभा परियार, बागलुङबाट प्रेम बिक र ललिता घर्ती छनोट भएका छन् ।  म्याग्दीबाट विजय परियार र गरिमा परियार, तनहुँबाट अन्जना गुरुङ, कमल आले, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ, लमजुङबाट मन बहादुर गुरुङ रञ्जित र युगेश परियार, नवलपुरबाट यजीकल परियार र कोपिला गुरुङ रहेका छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भने प्रतिष्ठानको शाखा छैन । विश्व सङ्गीत दिवसको दिन  असार ७ गते हुने अन्तिम प्रतिष्पर्धाको लागि उनीहरू आ–आफ्नो जिल्लामा भएको जिल्ला अडिसनबाट छानिएको प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।  नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेको उनीहरूको प्रतिभा बाहिर ल्याएर अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाइ छ । कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि  बढिरहेको  उनले बताए ।  प्रतियोगितामा प्रथम हुन सफल प्रतिभाले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ समेत हात पार्नेछन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रथम, द्वितीय र तृतीयले निःशुल्क एउटा अडियो रेकर्ड गर्ने अवसर समेत पाउनेछन् । प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी रहेका छन् । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ रहेका छन् ।  सेमिफाइनल र फाइनल प्रतिष्पर्धा असार ७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ ।  प्रतियोगीले ५ मिनेटको प्रस्तुती राखेपछि उत्कृष्ट १० छनोट गरिने कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उत्कृष्ट १० पुग्नेले आयोजकले दिएका १९ वटा गीत मध्येबाट एउटा गीत र आफ्नो इच्छा अनुसारको एउटा गीत गाउनुपर्ने कार्यक्रम संयोजक सुवेदीले खुलाए । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान गण्डकीले गर्ने कार्यक्रम आउन एक महिना बाँकी हुँदै गर्दा तयारी तीव्रताका साथ अगाडि बढाइरहेको कार्कीले बताए ।  यो वर्ष अधिवेशनको वर्ष समेत भएको र यो कार्यक्रम आफ्नो कार्यकालको विशेष कार्यक्रम समेत भएको भन्दै कार्कीले सबैको साथ सर्पोटमा भव्यताका साथ कार्यक्रम सम्पन्न हुने विश्वास गरेको सुनाए ।  प्रतियोगितामा मुख्य प्रायोजन पोखराको सिर्जनाचोकमा रहेको आरके हस्पिटालिटी ह्युमन रिर्सोस मेनेजमेन्ट प्रालिले गरेको छ ।   

पोखरा:  अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गौरा आयोजित जेष्ठ नागरिक सम्मान एवं खुल्ला रक्तदानमा ६० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा  ६० जनाले रक्तदान गरेका थिए ।  समाजले वार्षिकरुपमा गर्दै आएको रक्तदान कार्यक्रम यस वर्ष विश्व रक्तदाता दिवसकै अवसर पारेर आयोजना गरिएको समितिका अपाध्यक्ष एवम कार्यक्रम संयोजक श्रीराम अधिकारीले बताए । कार्यक्रमको अधिकारी समाज कास्की जील्ला अध्यक्ष हेमन्त अधिकारीले समाजकै आजीवन सदस्य ओम प्रसाद अधिकारीलाई व्लडव्याग हस्तान्तरण गरि उद्घाटन गरे ।  कार्यक्रममा बोल्दै अधिकारीले इकाइ समितिको सक्रियताको प्रंशसा गर्र्दै समाजिक कार्यमा सबै एकजुट हुन आग्रह गरे ।  उनले किशोर किशोरीहरुले आफ्नो युवा अवस्थामा प्रवेश गरिरहदा आफ्नो १८ औं जन्मदिन रक्तदान गरेर सामाजिक एवम् मानविय धर्म कार्यको सुरुवात गर्नुपर्ने बताए । प्रादेशिक रक्त सञ्चार सेवा कास्कीका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रगतको विकल्प रगत मात्रै भएको बताउदै दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता मानिसको जीवन संग जोडिएको बताए । सो अवसरमा समाजका जिल्ला सदस्य पूर्णभद्र अधिकारी , पुर्व जील्ला अध्यक्ष शंकर प्रसाद अधिकारी लगाएत बोलेका थिए । कार्यक्रममा ८० वर्ष पुरा भएका इकाइ समिति भित्रका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान हनेमा रविलाल , वालाकृष्ण, नन्दकली, धनमाया, चुडामणी र वसन्धरी अधिकारी रहेका छन् । अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गका अध्यक्ष रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव पुष्पराज अधिकारीले गरेका थिए ।

पोखरा:  पोखरा घुम्न आएकी बुटवलकी युवतीको होटलको छतबाट खसेर गएराति मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–६ जरेबरस्थित होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।  ‘बुटवलबाट जेठ २९ गते पोखरा घुम्न आएकी भण्डारी होटलको छतबाट खसेर गम्भिर घाइते भएकी थिईन, सूचना अधिकारी बस्नेतले भने, ‘ होटलको छतबाट खसेर गम्भिर घाइते भएकी भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।’ रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रानीवन घर भएकी ३२ वर्षीय सरिता भण्डारी जेठ २९ गते दुईछोरा र श्रीमानसहित पोखरा घुम्न आएकी थिईन् ।  दुईछोरा अहिले होटलमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पोखरा: पछिल्लो समय जन्मदिनमा तडकभडक नभई सामाजिक एवम् शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ भन्ने सोच बढेको छ । सो भावनाले प्रेरित भई यहाँका एक युवाले जन्मदिनको खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेर छन् । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडाका युवा एलेक्स शर्मा भण्डारीले जानकी माध्यमिक विद्यालयमा ५५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना र विद्यार्थीलाई १० हजार मुल्य बरावरको शैक्षिक सामाग्री वितरण गरेर आप्mनो जन्मदिन मनाएका हुन । इन्फोम्याटिक कलेज रानीपौवामा स्नातक तह प्रथम बर्षमा अध्ययनरत भण्डारीले खाजा खर्च कटाएर जम्मा गरेको रकमले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन भने बुबा नगेन्द्र शर्मा र आमाव्दय लक्ष्मी र अनितासंगको अनुरोधमा विद्यालयमा अक्षयकोषको स्थापना गर्न सफल भएको राससलाई बताए ।  विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी, व्यवस्थापन समितिका सदस्यहरु, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा  शैक्षिक सामाग्री र उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । २०३५ सालमा स्थापना भएको सो विदालयमा हाल तीन सय भन्दा बढी अध्ययनरत छन् ।पछिल्लो समय सामुदायिक विद्यालय समाजका विपन्न, र असहाय वर्गका विद्यार्थीको अध्ययनको थलो बन्दै आएको छ ।  विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका सामाग्री बनाउने सिपमूलक कार्यक्रम समेत सञ्चालन गरेको छ । जसका लागि गण्डकी प्रदेश सरकारले यस आर्थिक बर्षमा पाँच लाख रुपैया विनियोजन गरेको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।     

पोखरा:   पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम विहिबार सम्पन्न भएको छ ।  तालिमको समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा.सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गर्नुभयो ।  पछिल्लो पुस्ता विज्ञान र प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिदै कोइरालाले डिजिटलमा आधारित शिपले बेरोजगार नरहने बताउनुभयो ।  राज्यले अनुसन्धानको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिदै कोइरालाले अनुसन्धान विनाको योजना कार्यान्वयन हुन नसक्ने स्पष्ट पार्नु भयो ।  कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनु पर्ने बताउनुभयो । डिन अधिकारी पछिल्लो पुस्ता प्रश्न सोध्ने भन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रबृत्तिका रहेको बताउनु भयो । समस्यासँग जुध्ने भन्दा पनि भाग्ने प्रकृतिले युवापुस्ता पलायन हुँदै गएको उल्लेख गर्नुभयो ।  युवा बैज्ञानिक विकल्प ढुंगानाले शिप सिक्ने भन्दा पनि त्यसको निरन्तरता ठुलो कुरा भएको बताउनुभयो । उहाँले एउटा उमेर समूहमा जिज्ञासु बन्नेहरुले त्यसलाई निरन्तरता दिए मात्र लक्ष्य प्राप्ती हुने उल्लेख गर्नुभयो ।  समापन कार्यक्रमका अध्यक्ष समेत रहनु भएका पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्ने उल्लेख गर्दै, वडालाई प्रविधि मैत्री बनाउने गरी योजना शुरु गरिएको बताउनुभयो ।  अध्यक्ष थापाले युवा पुस्ताले प्रविधिको सिकाईपछि त्यसलाई आय आर्जनको माध्यमका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।  उहाँले वडाले तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे को अवधारणा अनुसार शिपविकासको प्रविधिलाई अगाडी बढाएको बताउनुभयो ।  ४५ दिनसम्म संचालन गरिएको तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाईनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासको तालिममा १८ जना सहभागी रहेका थिए ।  समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तयार गरेको रिमोट कन्ट्रोल रोवटिक्स सिजरबाट रिवन काटेर शुभारंभ गरिएको थियो । साथै विद्यार्थीहरुले तयार पारेका छ वटा रोवटिक्स प्रोजेक्ट, बर्ष भरिका चाड पर्व विशेष दिनको ग्राफिक्स डिजाईन र छोटो डकुमेन्ट्री प्रदर्शनीमा राखिएको थियो ।  तालिममा प्रशिक्षार्थीका रुपमा रहेका विद्यार्थिहरुले पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रविधि प्रतिस्पर्धामा सहभागी भै स्मार्ट कृषि र स्मार्ट डस्ठबिनमा दोश्रो र तेश्रो स्थान हासिल गर्नेलाई वडाध्यक्ष थापाले सम्मान गर्नु भएको थियो ।   

पोखरा:  कास्कीमा असारबाट नदिजन्य तथा खानीजन्य  पदार्थको उत्खनन तथा संकलन कार्यमा   रोक लगाइएको छ। नदिजन्य  तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको हो । ढुङ्गा,  गिटि ,बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७ को कानुनी ब्यबस्था बमोजिम उक्त निर्णय गरिएको हो । सो ब्यबस्था अनुसार असार ,साउन र भदौ महिनामा उत्खनन तथा संकलन कार्य गर्न नपाइने उल्लेख छ। सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने र अवज्ञा गरेमा कानुन अनुसार कडा कारबाही गरीने सो समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनु भयो । पौडेलले सो कार्यमा सम्लग्न ब्यबसायी तथा आपूर्तिकर्ता र  सरोकारवालाहरू सहित आम जनसमुदाय सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन आग्रह गर्नुभयो। बैठकले नदिजन्य पदार्थको मौज्दात आर्थिक बर्षको अन्त्य सम्म शून्य गर्नुपर्ने र सो हुन नसकेमा बाकी मौज्दात सम्बन्धित पालिकाले जफत गरि लिलाम गर्ने कानुनी ब्यबस्थालाइ कडाइका साथ लागू गर्न कास्कीका सबै पालिकालाइ अनुरोध समेत गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गरे। संचालनमा रहेका खानी ,क्रसर तथा प्रसोधन उध्योगले असार मसान्त भित्र आफ्नो उत्पादनको बार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्बजनिक गरि सो को जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने ब्यबस्थालाई समेत कडाइका साथ अनुगमन गरिने निर्णय भएको  बरालले बताउनुभयो ।

पोखरा:   नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आपत्ति जनाउँदै आज देशभरका सुनचाँदी व्यवसायीहरुले पसल बन्द गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ  र नेपाल हस्तकला महासंघले आज र भोली पसल बन्द गर्दै बजेटमा आपत्ति जनाएका हुन् ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा विलासिता कर लगाएको , सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएपछि व्यवसायीहरुल विरोध गर्दै आएका छन् ।  सुनचाँदी व्यवसायीहरुको तीन महासंघको केन्द्रिय सर्कुलर अनुसार व्यवसायीहरुले आज कास्कीका प्रमुख जिल्ला अधिकारी लाई ७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।  व्यवसायीहरुले पोखराको सृजनाचोकमा जम्मा भएर नारा जुलुससहित रत्नचोक, वाइचोकहुँदै जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर ज्ञापन पत्र बुझाएका हुन् ।  व्यवसायीहरुले हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मुल्य अभिवृद्धि कर तत्काल पुनविचार गरी खारेज गरिनुपर्ने, सुनचाँदी कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहन गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गरिनुपर्ने माग गरेका छन् ।  यस्तै कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दुरगामी प्रभावहरुको विस्तृत अध्ययन गरियोस् र त्यसबिना करको दायरा नबढाइनुपर्ने । छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने । विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्र्तराष्ट्रिय मान्यता प्राप्त को व्यवस्था गरिनुपर्ने ।  यस्तै निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिपर्ने माग गरिएको छ ।  सुनचाँदी व्यवसायीहरुले माग सम्बोधनमा सरकारले वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।