गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

पोखरा:  नेपाल बास्केट बल संघ गण्डकी प्रदेशको आयोजनामा निर्णायक प्रशिक्षक तालिम पोखरामा सम्पन्न भएको छ । तालिममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक तथा पूर्व बास्केटबल खेलाडी हरु गरि ३२ जनाको सहभागीता रहेको थियो । तीन दिन सम्म सञ्चालित उक्त तालिमको समापन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुद प्रतियोगितालाई कुशलताका साथ सम्पन्न गर्नु नै निर्णायकको प्रमुख भुमिका रहने बताउदै त्यस तर्फ चनाखो रहेर काम गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे । सो अवसरमा वोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले खेलकुद सम्पन्न गर्नका लागि निर्णायकको भुमिका मुख्य हुने भएकाले तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सकेको खण्डमा प्रतियोगिताहरु सहज र सफल रुपमा सम्पन्न हुने बताए । त्यस्तै प्रशिक्षार्थी इन्द्र गुरुङले बास्केटबल संघले प्रदेश भरका निर्णायकहरुलाई सहभार्गी गराई तिन दिन सम्म तालिमको आयोजना गरेर आफुहरुमा थप उर्जा थप्ने काम भएको बताए । कार्यक्रममा बास्केट बल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ , बास्केट बल संघका सल्लाहकारद्धव सुनिल , नारायण शर्मा , लगायतले तालिमबाट प्राप्त ज्ञानलाई ब्यावहारमा उतार्दै अघि बढ्नुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा फिफा रेफ्री राज कुमार महर्जनले सहभागीहरुलाई सहजीकरण गरेका थिए । नेपाल बास्केट बल संघ गण्डकी प्रदेशका अध्यक्ष ध्वोज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष किरण सापकोटाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव विष्णु कुमार गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए । 

पोखरा:   गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमका सहभागी पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै मन्त्रीले समय सान्दर्भिक र अत्यन्तै आवश्यक यो तालिम आयोजना गरेकोमा महासंघप्रति धन्यवाद व्यक्त गरे ।  “गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयलाई थप सुदृढ गर्दै अब प्रेस दर्ता, नवीकरण तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण प्रक्रिया अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी बनाउँदैछौं”, उनले भने, “यसले सञ्चारमाध्यम तथा पत्रकारहरूलाई समयमै सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नेछ।” उनका अनुसार श्रमजीवी पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने तथा सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले सरोकारवाला निकायहरूसँगको समन्वयमा नयाँ सञ्चारसम्बन्धी कानून निर्माण प्रक्रिया अगाडि बढाइएको छ । “यसले पत्रकारको हक, हित र सुरक्षालाई अझ मजबुत बनाउने विश्वास लिएको छु”, मन्त्रीले स्पष्ट पारे । पत्रकार लेखनवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले अनुसन्धानमूलक, तथ्यमा आधारित तथा विकासमुखी पत्रकारितालाई प्रोत्साहन गरिरहेको पनि उनले बताए । “मल्टिमिडिया रिपोर्टिङजस्ता तालिमहरूले पत्रकारहरूको दक्षता, विषयवस्तुमा गहिरो पकड र प्रविधिमा पहुँचलाई विस्तार गर्छन् । आजको डिजिटल युगमा सूचनाको बहुआयामिक प्रस्तुति अपरिहार्य भइसकेको छ, र यस्तो तालिमले त्यसलाई सशक्त बनाउँछ भन्नेमा म विश्वास गर्छु,” मन्त्रीको भनाइ छ। उनले समाजप्रति उत्तरदायी, तथ्यमा आधारित र नागरिकलाई सशक्त पार्ने पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । यसका लागि सरकार सधैं साथ र समर्थन दिन तयार रहेको मन्त्री थापाले बताए । गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले पे्रस रजिष्टारको कार्यालयले पत्रकारको हक,हित र अधिकारका लागि काम गर्ने उल्लेख गरिन् । पत्रकारको क्षमता अभिवृद्धिका लागि विविध तालिमको व्यवस्था गरि दक्षता बढाउने कार्य गरिने भनाई उनको छ । नेपाल पत्रकार महासंघ केन्द्रकी उपाध्यक्ष नीतू पण्डितले राज्यले श्रमजीवि पत्रकारको अधिकारलाई सुनिश्चित गर्ने कानून ल्याउनुपर्नेमा जोड दिएकी छिन् । जसका लागि पत्रकार महासंघ सदैव वकालत गरि रहने भनाई उनको छ । पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले गण्डकी प्रदेश सरकारले आगामी बजेटमा प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई दिल फुकाएर सम्बोधन गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनका अनुसार यस्ता तालिमले आगामी समयमा पनि निरन्तरता पाउनेछ । महासचिव जमुना वर्षा शर्माले तालिममा गण्डकीका ११ वटै जिल्लाका महिला पत्रकारहरुको उपस्थिति रहेको जानकारी गराइन् ।  महिला पत्रकारलाई मात्र लक्षित गरि मल्टिमिडिया सम्बन्धी तालिम दिइएको भनाई उनको छ । 

कञ्चनपुर:   सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।  गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो । यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन ।  त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति थिए । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मङ्गलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मङ्गलबारदेखि नाकामा परीक्षण सुरु गरिएको बताउनुभयो ।  “हामीसँग १०० कीट मात्रै आएको छ यो पर्याप्त होइन”, उहाँले भन्नुभयो, “अहिले नाकामा लक्षण देखिएकाहरुको मात्रै परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।” उहाँका अनुसार मङ्गलबार गड्डाचौकी नाकामा सात जनाको परीक्षण गरिएको थियो ।  स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् ।  “आउने आप्रवासीहरुलाई कडाइ त गरेका छौँ तर कीटको अभावले परीक्षण गर्न सकिएको छैन”, गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भन्नुभयो, “शंकास्पद देखिएकालाई एक हप्ता घर परिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौँ ।”   विगतका वर्षहरुमा समयमा नाकामा कडाइ गर्न नसक्दा सङ्क्रमण फैलिएकाले सरकारले नाकामा कडाइ गर्नुपर्ने स्थानीय बताउँछन् । “गड्डाचौकी नाकाबाट आउनेहरुको कोभिड परीक्षण हुन सकेको छैन”, स्थानीय पदम थापाले भन्नुभयो, “नाकाबाट फर्किनेहरु स्वाथ्य परीक्षणका लागि हेल्थ डेस्कमा जाँदैनन् सुरक्षाकर्मीले रोकेको देखिदैन ।”  उहाँले भारतबाट आउने जीप, कार र बसहरु नाकामा नरोकी सिधैँ नेपाल प्रवेश गर्ने गरेको उल्लेख गर्दै प्रशासनले नाकामा रोकेर हेल्थ डेस्कमा जाँच गराउनुपर्ने बताउनुभयो । कोरोना महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन् ।

काठमाडौं:  सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ । ‘भिजिट भिसा’ प्रकरणलाई लिएर विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटकपटक सहमतिका लागि दलहरूबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

काठमाडौं:  हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर आंशिदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।   देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनो छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौं:  आइसिसी क्रिकेट विश्वकप लिग–२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । नेपालले यसअघि भएको पहिलो खेलमा पनि नेदरल्याण्ड्सलाई हराएको थियो । स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन बनाएको थियो । तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई दिनु परेपछि नेदरल्यान्ड्सले २२७ रनमात्र बनाउनुपर्ने थियो । तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भएको हो । नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन÷तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारे । नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले ६० बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । त्यसैगरी कप्तान स्कट एडवार्डस ४७ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भए । नोहा क्रोसले २७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । क्लेनले ४६ बलमा १ छक्काको सहयोगमा २५ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५÷३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११÷११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए । नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिएका थिए । त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले चार मध्ये तीन खेल जितेको छ । नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेलमा दुई रनले पराजित भएको थियो । नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

पोखरा:  पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो । पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् । तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय र स्वदिष्ट खाना पस्किन तालिम उपयोगी हुने बताए ।  तालिम लिन व्यक्ति, काम गर्न सस्था र देशकै लागि पनि तालिम प्राप्त व्यक्ति हुदाँ फाइदा पुग्ने बताए । उनले तालिम लिइ सकेपछि इमान्दारीता पनि देखाउन आवश्यक रहेको बताए । कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले तालिमले अझ काममा अझ निखारता ल्याउने बताउदै तालिम पछि स्तरीय सेवा प्रदान गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल, रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतम, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा सीप विकास एकाईका फोकल पर्सन सञ्जिब बहादुर कोइराला लगाएतले तालिमले खानाको गुणस्तरीयता बढाउने बताए । उनीहरुले विदेशमा थोरै जनशक्तीले पनि धेरै काम गर्ने प्रबृतिको उदाहरण दिदै तालिम पछि  उनीहरु पनिले पनि राम्रो काम गर्न विश्वस व्यक्त गरे । तालिम पछि सहभागीले व्यावसायिक खाना पकाउने सक्ने छन् । तालिममा अनुभवी शेफ, दिपक शर्मा, बिजय पौडेल लगाएतले इन्डियन परिकारजस्तै बटर चिकन, बिर्यानी, पनीर टिक्का लगायत र कन्टिनेन्टल परिकारहरु पास्ता, सिज्लर, स्टेक आदि बनाउने सीप स्तरोन्नति गर्न सक्ने बताउने छन् ।

पोखरा:  नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट बक्तव्य मार्फत सुनका गहनामा कर  र हिरा जवाहरात लगायतका बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणासँगै सुनचाँदी व्यवसायी महासंघले चरणबद्ध रुपमा आन्दोलका घोषणा गरेका छन् ।  सरकारले सुनमा २ प्रतिशत कर र हिरा जवाहरात बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आज संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।   सरकारले आर्थिक वर्ष २०८२/८२ को बजेट बक्तव्य मार्फत सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा जवाहरात लगायतका बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने भएपछि तीन व्यवसायी महासंघले विरोधका कार्यक्रमसहित आन्दोलनको घोषणा गरेको हुन् ।  विज्ञप्तीमा भनिएको छ, आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत सरकारले घोषणा गरेको सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगायतका बहुमुल्य हिरा पत्थरमा लागु गरिएको १३ प्रतिशत भ्याट पूर्णरुपमा खारेज गर्न सरकारसँग आग्रह गर्ने महासंघहरूको संयुक्त कार्यदल बैठकमा निर्णय भएको छ ।  महासंघले छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गरिनुपर्ने समेत माग गरेको छ ।  यस्तै महासंघहरुले दिएको फर्म्याट अनुसार ३×२ साईजको व्यानरमा विरोधका नाराहरु समावेश गरी पसल पसलमा व्यानर राख्ने र A4 साईजको कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध पत्रको रजिष्ट्रर तयार गरी ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने र जिल्लारनगर संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने जस्ता कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।  यस्तै जेठ २९ र ३० गते दुई दिन व्यवसाय बन्द गरी विरोधस्वरुप पसलको चावी सहित स्थानिय जिल्ला प्रशासन कार्यालयमा जाने संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।    

पोखरा महानगरपालिका ८ बगालेटोलमा सञ्चालित हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाइनामिक एकेडेमीले हिमाल फुड फेष्ट–२०८२ को आयोजना गर्ने भएको छ ।   आगामी असार पहिलो हप्ता फुड फेष्टको आयोजना गर्ने तयारीमा कलजे जुटेको हो ।   सो फेष्टकाेकाे प्रचारप्रसार गर्ने लक्ष्यसहित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमीका शिक्षकहरुबीच मैत्रिपूर्ण फुटसल सम्पन्न भएको छ ।   स्पोर्टस क्यासलमा साेमबार भएको खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ८–६ को गोल अन्तरले कलेजलाई पराजित गर्याे ।   सो अवसरमा एकेडेमीका अध्यक्ष चेतनाथ भण्डारीले हिमाल फुड फेष्ट–२०८२ पूर्वसन्ध्यामा आयोजना गरेको फुटसलले एक आपसमा पत्रकार र शिक्षकबीचको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।   उनले खेलकुदले स्वस्थ्य रहन र अनुसाशित हुन प्रेरित गर्ने उनको धारणा थियो ।   यस्तै नेपाल खेलकुद पत्रकार मञ्च गण्ककीका अध्यक्ष एमबी आस्था मगरले संस्थागत सम्बन्ध सुमधुर र सामिप्यता कायम गर्ने बताए ।    उनले हिमाल कलेज र मञ्चबीच दोहोरो सहयोग जरुरी रहने उल्लेख गर्दै कलेजको सकरात्मक कार्यका लागि मञ्च सदैब सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएका थिए ।    हिमाल कलेजले आफ्नै प्राङ्गणमा यही असारको पहिलो साता फुड फेष्ट–२०८२ आयोजना गर्दैछ ।