पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।  सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठसुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

काठमाडौं: दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर पूर्वको विराटनगर शहरबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबारदेखि ट्रफी टुर औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले ट्रफी टुर मेचीदेखि महाकालीसम्म पुग्ने बताए ।  ट्रफीलाई एनपिएलको आठवटै फ्रेन्चाइज टोलीले प्रतिनिधित्व गर्ने सहरमा लगिने छ । जसको सुरुवात शनिबार कोशी प्रदेशको विराटनगर किङ्ग्सबाट हुँदैछ । त्यसपछि साविक विजेता जनकपुर बोल्ट्सको प्रदेश मधेश प्रदेश, चितवन राइनोजको चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली हुँदै अन्तिममा सुदूरपश्चिम पुगेर ट्रफी टुर सकिने छ । क्यानले देशभर क्रिकेटको माहोल बनाउन ट्रफी टुर आयोजना गरेको हो । शुक्रबार आयोजित कार्यक्रमबिच ट्रफीको कीर्तिमानी पर्वतारोहीहरू फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले सार्वजनिक गरे । यसपटकको ट्रफी टुरलाई क्यानले ग्लोबल वार्मिङ र वतावरण संरक्षणको जनचेतनासँग जोडेको छ । एनपिएल मङ्सिर १ गतेदेति त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ । 

काठमाडौं:  नेपाल र बङ्गलादेशबिचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोल रहित बराबरीमा सकिएको छ ।  दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए ।  मैत्रीपूर्ण खेलको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रेफ्रीलाई बल प्रदान गरी उद्घाटन गरेका थिए ।  यस खेल विश्व फुटबल महासङ्घ (फिफा) विन्डो अन्तर्गत आयोजना भएको हो । दुई टोलीबिचको दोस्रो खेल मङ्गलबार हुनेछ । 

ललितपुर:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाविधेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सकिएको छ। ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि जारी दोस्रो महाधिवेशनमा आज प्रस्तुत गरिएका सात वटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएसँगै आजको बन्दसत्र सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै छलफल गरेका थिए। यस्तै, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना तथा केन्द्रीय निकायले प्रतिवेदनमाथि छलफल गरेका थिए। प्रचार विभाग प्रमुख गौतमले आइतबार बिहान ८ बजेबाट सुरु हुने महाधिवेशनमा आज प्रतिवेदनमाथि छलफल गरेका समूहका टोली नेताले आआफ्नो समूहका तर्फबाट प्रतिवेदनमाथि सुझाव दिने कार्यक्रम रहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “त्यसरी आएका सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ। भोलि नै समसामयिक प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न हुनेछ। ” महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  यस्तै, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसम्बन्धी प्रस्तावमा पनि समूहगत छलफल गरिएको थियो। महाधिवेशनमा भोलि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित हिजोदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ।  

भक्तपुर:   सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए।  तेस्रोपटक  प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए। यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मीकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई शिनबार ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए । ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ’, उनले भने, ‘प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा  सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।’ चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनउमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा। पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए। नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा डा। श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ ।

पोखरा:   एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । मधेशले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो । मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।  आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो । लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ ।  भोलिको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

पोखरा: खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।  समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो ।  रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गरी सुभारम्भ गर्दै समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे ।  साथै सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमाम जोड पनि उनले दिए । ‘रक्तदान जस्तो जीवन दानको अभियान सञ्चालन गर्नु ठूलो पुण्यको काम हो’, वडाध्यक्ष बरालले भने, ‘यस्ता सामाजिक कामहरुलाई समाजले निरन्तरता दिइरहोस् । मेरो सधै साथसहयोग रहनेछ ।’  समाजका अध्यक्ष पिताम्बर पौडेलले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।  मन, वचन र कर्मले सहयोग गरेमा सामाजिक कामले सार्थकता पाउने भन्दै उनले समाज निरन्तर रुपमा सामाजिक गतिवविधिमा सक्रिय भएको र समाजका सदस्यहरुको सहयोगले सबै कार्यक्रमहरु सफल हुँदै गएको बताए ।   समाजका वरिष्ठ उपाध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक लालप्रसाद शर्माले स्वागत गर्दै संस्थाको परिचय दिएका थिए ।  उनले समाजले आगामी वर्षहरुमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताए ।  समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले समाज स्थापना भएको छोटो अवधिमै विभिन्न सामाजिक काम गर्दै अगाडि बढ्न सकेकोमा खुशी व्यक्त गरे । सल्लाहकार दुर्गाराज सुवेदीले समाजले सराहनीय कार्यहरु गर्दै आएको भन्दै सबै साथसहयोगले नै यो संभव भएको बताए ।  कार्यक्रममा स्केटीङका राष्ट्रिय खेलाडी आशिष श्रेष्ठलगायतले रक्तदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रेम सुवेदीले गरेका थिए ।    

पोखरा:  सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ ।  क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो ।  फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रतिभा छनोट समितिमा क्लबका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एम.बि. आस्था, क्लब अध्यक्ष केशवराज बराल, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र महासचिव रामजीप्रसाद अधिकारी सदस्य रहनुभएको थियो ।  पर्वत जिल्ला स्थायी घर भई हाल पोखरा ८ निवासी पत्रकार पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।  नेपाल पत्रकार महासंघ कास्कीका सदस्य उहाँ पोखरा स्पोर्टस् डटकमका सम्पादक हुनुहुन्छ । उहाँ प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष हुनुुहुन्छ ।  साथै, उहाँ युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबाट वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, प्रेस चौतारी पत्रकार सम्मान, नेपाल हवाई खेलकुद संघबाट उत्कृष्ट खेलकुद पत्रकार लगायत विभिन्न संघसंस्थाबाट सम्मानित भइसक्नुभएको छ ।   यसैगरी, क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गर्ने निर्णय गरेको छ । पोखरा–१७ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गर्नुभएको थियो । उहाँ क्लबमा रही हरेक गतिविधिमा क्रियाशील रहँदै आउनुभएको छ । हाल उहाँ सिनियर सदस्य हुनुहुन्छ ।   संस्थाको २७ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन अवसरमा यही भदौ ३० गते पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा हुने समारोहमा पुरस्कार तथा सम्मान अर्पण गरिनेछ ।   

पोखरा:  एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित ग¥यो ।  पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो । तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते हुँदै मैदान बाहिरिएपछि लुम्बिनीले लय गुमाएको थियो । कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यसअघि शनिबार भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।  आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच प्रतिस्पर्धा भइरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।