कञ्चनपुर: परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उहाँ गर्नुहुन्छ । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, हसुला, सकरगरेला लगाउने गर्दथे । पाखुरामा लगौरा, नाडीमा पहुँची, औंँलामा कलात्मक औंँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दथे । गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउने गर्दथे । “टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यतिबेलाको समाजमा उच्च सम्मान गरिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रूपमा लिने गरिन्थ्यो ।” हाल ती गहना थोरै महिलासँग मात्र छन् । धेरैले आधुनिक बजारमा चलनचल्तीका गहना लगाउने कार्यले पुराना गहनाको महत्त्व घट्दै गएको उहाँको भनाइ छ । पुराना गहना बनाउने कारिगर पाउन मुस्किल छ । रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्दथे । हाल पुराना पहिरन, गहना हराउँदै गएको रामदास रानाले बताउनुभयो । “पुरूषले लगाउने पुरानो पहिरन लगाउनै छाडेका छन्”, उहाँले भन्नुभयो, “जनचेतनामा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन भने हालसम्म सकिएको छ, तर पहिरनमा आधुनिकताको छाप भने परेको छ ।” रानाथारू समुदायले माघ शुक्ल पूर्णिमाका दिनदेखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरिन्छ । यसबेला मथुराबाट होलीलाई बोलाउने ९आह्वान० गरिन्छ । प्रतीक स्थापना गरेको एक महिनासम्म रातिका बेला महिला पुरूषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ । गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलिका पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म रातिका बेला खेलिनेलाई जिउँदो होली भन्ने गरिन्छ । होलिका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टीका नलाग्ने चलन रानाथारू समुदायमा रहेको थारू अगुवा जगता रानाले बताउनुभयो । त्यसै दिनदेखि आठ दिनसम्म मरेकी होली खेलिन्छ । आठौँ दिनको बेलुका खखडेहरा खेलिन्छ । “यस क्रममा होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिन्छ”, उहाँले भन्नुभयो, “खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोड्ने कार्य गरिन्छ ।” फोड्ने काममा गाउँका अगुवा भलमन्सा, गुरूवालगायत मात्र जाने चलन छ । यसो गरेपछि दुष्टआत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारू समुदायका बुढापाकाको छ । उहाँहरूका अनुसार प्रतिमा फोरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नु हँुदैन । हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ । पुरूषको होली त्यसै बेलादेखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ । होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरकफरक समयमा फरकफरक होलीका गीत गाइने गरिन्छ । होलीमा गीतको सुरूआत गर्ने (अगुवाइ गर्ने) महिलालाई मोढी भनिन्छ । मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ । होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेकोप्रति रानाथारू समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन् । होली प्रत्येकको घरमा परम्परागत चलनअनुसार खेल्ने गरिन्छ । होलीमा सगुनका रूपमा गुड भेली दिने चलन रानाथारू समुदायमा छ । फगुवाका रूपमा पैसा दिने चलन पनि छ ।
काभ्रेपलाञ्चोक: जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताउनुभयो । उहाँका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ । रातको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको ढकालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय एवं पशु क्षति भएको छैन । यसअघि गत माघ पहिलो साता सोही क्षेत्र महाभारत पर्वतशृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेखडाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो । खानीखोलाको थामलेख डाँडाबाट सुरु भएको आगलागी बेथानचोक गाउँपालिका–५, ३, १ र २ को सीमाक्षेत्रमा समेत आइपुगेपछि हेलिकप्टर मगाइएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायको जनशक्ति परिचालन गर्दा पनि नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाई नियन्त्रणको प्रयास थालेको थियो ।
सप्तरी: एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यथार्थ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ । घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उहाँकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, उहाँका जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छन् । नेपाली भएको प्रमुख पहिचान नै नागरिकता नपाएका ती परिवारका सदस्यहरूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै सेवासुविधाबाट वञ्चित भएको दुखसो पोख्छन् । स्थानीय साहुमहाजनमा खेतीपातीको काम गर्दै आउनुभएका मागैनले नागरिकताका लागि सबै निकायमा धाउँदै आए पनि पहिचान पाउन नसकिएको बताउनुभयो । जन्मेपछि कानुनी रूपमा राज्यको नागरिकहरूको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबा फनि सदा र आमा चरी सदाको नागरिकता नहुँदा अहिले मागैन सदाको पूरै परिवार नै पहिचानबाट वञ्चित छन् । “बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहुँदा श्रीमती र छोराहरूको पहिचान बन्न नसकेको हो”, उहाँ भन्नुहुन्छ, “जन्मदर्ता नबन्दा छोराहरूले विद्यालयमा पढ्न पाएनन् र उनीहरू सानै उमेरमा कमाउन भारत जानुपर्ने अवस्था आयो ।” आर्थिक विपन्नताका कारण केही समय रोजगारीका लागि भारतको पञ्जाबमा काम गरेर फर्केका मागैन अब स्वदेशमै मेहेनत गर्न चाहे पनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाउनुहुन्छ । उहाँका अनुसार नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म नागरिकताको सिफारिसका लागि धाउँदै आएँ तर सकिएन । “नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोज्छन्, श्रीमान्को नागरिकता र आमाबुबाको नागरिकता माग्छन्”, उर्मिला सदा भन्नुहुन्छ, “तर न आफ्नो जन्मदर्ता छ, न श्रीमान्को नागरिकता नै, नेपाली भएको कुनै प्रमाण नै छैन ।” त्यसैले त नेपाली भएर पनि आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ ।” नागरिकता नहुँदा राज्यको मात्र होइन, समाज तथा समुदायबाट पनि अलग हुनुपरेको दुखेसो सुनाउँदै उर्मिला भन्नुहुन्छ, “नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी छुइनँ ।” यस्तै समस्यासँग जुध्दैछन् सोही ठाउँका चन्दर सदाको परिवार पनि । उहाँका बुबा धोथर सदाको नागरिकता नहुँदा चन्दरको सिङ्गो परिवार नै नागरिकता पाउनबाट वञ्चित छन् । चन्दरको नागरिकता नहुँदा उहाँकी ३५ वर्षीया श्रीमती कदमीदेवी, जेठी छोरी १७ वर्षीया पूजा, १५ वर्षीया छोरी श्रद्धा, १० वर्षीय छोरा फुलेशरा, छ वर्षीया छोरी फुलेश्वरी सदा र चार वर्षीय छोरा आयुष सदा पनि जन्मदर्ता र नागरिकताबाट वञ्चित छन् । चन्दर सदाका बुबा धोथर सदाको नागरिकता नबन्दा अहिले पूरै परिवार पहिचानविहीन छन् । यो समस्या सप्तरीको शम्भुनाथ नगरपालिकामा मात्र होइन, सप्तरीको विभिन्न स्थानीय तहमा छ । सप्तरीका विभिन्न स्थानीय तहमा जन्मदर्ता, विवाह दर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दर्ताका लागि सचेतना कार्यक्रमसमेत सुरु गरिएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीमा हरवाचरवा दलित समुदाय लक्षित घटना दर्ता अभियान सञ्चालन गरेको हो । अभियानका क्रममा शम्भुनाथ नगरपालिकाका विभिन्न वडा तथा जिल्लाका विभिन्न स्थानीय तहमा नागरिकताबाट वञ्चित भएकाहरूको तथ्याङ्क सङ्कलन गरी जन्मदर्ता र नागरिकता बनाउनसमेत पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली राम बताउनुहुन्छ । उहाँका अनुसार सप्तरीको शम्भुनाथ, बोदेबर्साइन, डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा तथ्याङ्क सङ्कलनसँगै नागरिकता जन्मदर्ता बनाउने अभियान सञ्चालन गर्दै आएको छ । यसरी जन्मदर्ताबाट वञ्चित रहेका तीमध्ये अधिकांशले जन्मदर्ताकै कारण पढ्न नसकेको समेत नपाइएको तथ्य पाइएको छ । चेतना आभावमा नागरिकता र जन्मदर्ताको महत्त्व नबुझेर पूर्वजहरूले समयमै जन्म, विवाह र मृत्युदर्ता बनाउन होस नपु¥याउँदा अहिलेको सन्ततिले नराम्ररी दुःख पाइरहेको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीको भनाइ छ । “त्यतिखेर पूर्वजहरूले नागरिकताको खासै महत्त्व बुझेन र बनाउने प्रयास पनि गरेन”, कार्यवाहक नगरप्रमुख चौधरीले भन्नुभयो, “अहिले त्यहीँ भएर सन्ततिले दुःख पाइरहेका छन्, अब कानुनी जटिलता छ, हामीले चाहेर पनि नागरिकताका लागि सिफारिस गर्न सक्ने अवस्था छैन”, उहाँको कथन छ । प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै शम्भुनाथ नगरपालिका–३ का वडाध्यक्ष नवीनकुमार चौधरी ती परिवारको नागरिकता समस्या समाधानका लागि पहल गरिरहेको बताउनुहुन्छ । ७२ वर्षमा पनि भत्ता पाउनु भएन सतोदेवीले शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका सतोदेवी सदा उमेरले ७२ वर्ष पूरा गरिसक्नुभएको छ तर अझै नागरिकता पाउन सक्नुभएको छैन । पच्चीस वर्षकै उमेरमा पति धोतर सदालाई गुमाएकी सतोदेवीले नागरिकता नभएकै कारण अझै राज्यबाट प्राप्त हुने हरेक सुविधाबाट वञ्चित हुनुपरेको दुखेसो सुनाउनुभयो । दलित मुसहर बस्तीमा एउटा फुसको छाप्रोमा कष्टकर जीवन बिताउँदै आउनुभएकी सतोदेवीले नागरिकताका लागि थुप्रै ठाउँमा गुहारे पनि सफलता पाउनुभएन । “छोराहरु सानै थिए, त्यत्तिबेलै पतिको मृत्यु भयो, पतिको नागरिकता थिएन”, सतोदेवी भन्नुहुन्छ, “पतिको नागरिकता नहुँदा मेरो नागरिकता पनि बन्नेन, अहिले सबै सुविधाबाट वञ्चित छु ।” बुढेसकालमा पेट पाल्न न त कुनै काम गर्न सकिरहेकी छु, न सरकारले कुनै सुविधा नै दिन्छ, त्यसैले त अहिले गाउँ बस्तीमै भिक्षाटन गरेर भए पनि दुई छाक पेट पाल्दैछु, सतोदेवीले आँखाबाट आँशु झाँर्दै भन्नुभयो । “श्रीमान्को मृत्यु भएको करिब ४५ वर्ष भन्दा बढी भइसक्यो, तर म अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाउन सकेकी छुइन्”, सतोदेवी भन्नुहुन्छ, “सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता खोज्छ, तर नागरिकता नै छैन ।” श्रीमान्को मृत्युपश्चात हरेक एकल महिलाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । तर नागरिकता नहुँदा आफू ती सुविधाबाट वञ्चित हुनुपरेको सतोदेवीको भनाइ छ । नागरिकता बनाइदिन वडाध्यक्षदेखि सिडिओसम्म गुहारे तर, अझै नागरिकता बन्न सकेन उहाँ दुखेसो पोख्नुहुन्छ । “वडाध्यक्षकहाँ पुग्दाँ पतिको नागरिकता ल्याउनु, सनाखत गर्ने मान्छे बोलाउनु भन्छन्”, सतोदेवी भन्नुहुन्छ, “तर न पतिको नागरिकता छ, न सनाखत गर्ने भाइभतिजा नै छन् ।” एउटा भाइको मृत्यु भइसक्यो, अर्को भाइबुहारी रोजगारीका लागि भारत गएका उतै हराए, त्यसैले सनाखत गर्ने व्यक्ति नै पाइनँ । जीवनको अन्तिम क्षणसम्म पनि नागरिकता पाउने सपना पूरा हुनसकेको छैन”, उहाँले थप्नुभयो । नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने हरेका सेवा सुविधाबाट वञ्चित हुनुमात्र परेको छैन, आफ्नै देशभित्र गैरनागरिकका रूपमा बस्नुपर्ने अवस्था रहेको उहाँको दुखेसो छ ।
दमौली (तनहुँ): जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”
जुम्ला: जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो । जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि रु ४५ लाख प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो । मन्त्रालयको कार्यविध अनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका दुई सय ३० जना भेडापालक किसानलाई रु १८ हजारका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढ्थापाले बताउनुभयो । जिल्लामा भेडा मात्र पाल्ने किसान करिब एक हजार सात सयभन्दा बढी छन् । यहाँका आठवटै स्थानीय तहमा रु ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन् । प्रोत्साहन भत्ताबापत् रु १८ हजार पाएपछि थप भेडापालनमा टेवा पुगेको छ । आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारले भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको ५० वटा भेडापालक किसान सिँजा गाउँपालिका–६ का सुवा रावतको भनाइ छ । सबैभन्दा बढी तातोपानी गाउँपालिकाका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
काठमाडौं: नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुरÞ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । “पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,“हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुरÞ्याउँदै नेपालमा अन्तरराष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।” छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जानेछ । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ । “यी प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नाका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ”, बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकार भएकाहरूप्रति आभार व्यक्त गरेको छ । साथै यस कार्यले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने बोर्डले अपेक्षा गरेको छ ।
नवलपरासी: एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो । तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते राससमा ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो । रोजगारीका लागि मलेसिया जानुभएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीय छोरी आमाको जिम्मा लगाएर मलेसिया जानुभएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए । छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाउनुभएको थियो । तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो । शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । “लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानुभएको छ ।” मलेसियादेखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्ने भएको छ । शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिनुभयो । “वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत काठमाडौँबाट घरसम्म शव ल्याइने छ”, उहाँले भन्नुभयो, “आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ ।” लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहनुभएको थियो । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गर्नुभएको थियो । तिलमायाको हत्या भएको खबरलगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि ढिलाइ भएपछि राससमार्फत समाचार प्रकाशन गरिएको थियो । मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताउनुभयो । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । “तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा पछि बुझाइने छ”, लम्सालले भन्नुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको बताउनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्ने छ ।
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ । स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । स्थानीयले खबर गरेपछि आइतबार साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको प्रनाउ श्रेष्ठको भनाइ छ । वृद्धको घटनास्थलमै मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

