पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

काठमाण्डौँ:   खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातीत उत्पादनले विस्थापित गरेको किसानको पीडा छ ।      सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्याले बाहिरबाट आएका उत्पादनले आफूहरुको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका–७ का किसान विजयसिंह केवट बताउनुहुन्छ । आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ ।      भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युत्लगायतमा सहयोग पुर्याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ । नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका–१४ का किसान पन्नेलाल केवट गुनासो गर्नुहुन्छ । नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका–१२ का किसान राधेश्याम  लोध बताउनुहुन्छ ।      सङ्घ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रुपन्देही कृषि उद्यमी बताउँछन् ।  सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले नगर क्षेत्रमा तरकारी खेती उत्पादन गर्ने किसानका लागि अब विशेष प्याकेज ल्याउने भन्दै भारतीय तरकारीको विकल्प खोज्ने बताउनुभएको छ ।

सङ्खुवासभा:    सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्र्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्र्याक्टर पल्टिएर ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो  ।       मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । ६६ वर्षीय भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो ।      दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरीचौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  । ट्र्याक्टर  ‘लोडपिन’ अचानक भाँचिन गई रोडको बायाँतर्फ पल्टिइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ:   आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।       मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।       देशभर धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १ र मधेस प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।      नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

  काठमाण्डौँ:   सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइको रेडियो बनाउनुपर्ने बताउनुभएको छ ।    रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तालिम समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषाभाषी, जातजाती र भूगोलालाई एकीकृत र प्रोत्साहन गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको रोजाई बन्नुपर्ने बताउनुभयो ।    “अहिले रेडियो सबैको पहुँचमा छ, सबैको पहुँचमा मात्रै होइन, यसलाई स्वदेश र विदेशमा रहेका सबै नेपालीको रोजाई बनाउँदै हरेक भाषामा बज्ने समाचार, गीत र कार्यक्रम सबैको लागि लोकप्रिय बनोस्, त्यस उद्देश्यका साथ अगाडि बढनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री कार्कीले रेडियो नेपालले प्रकाशन गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक’को विमोचन गर्दै नेपालको आर्थिक र सामाजिक, धरातलीय यर्थातलाई मनन गर्दै रेडियो नेपालको गरिमालाई अझै अभिवृद्धि गर्ने उद्देश्य र समर्पणका साथ लाग्न निर्देशनसमेत दिनुभयो ।    सरकारका प्रवक्ता कार्कीले नेपालको विविध भाषाभाषी, जातजाती, पहाड, हिमाल र तराई सबै भू–भागलाई राष्ट्रिय पूँजीको रुपमा विकास गरेर मधेश, पहाडबीचमा भएको अन्तरसम्वन्धलाई अझ सुदृढ गरेर मुलुकलाई जतिसक्दो चाँडो विकासको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।    मन्त्री कार्कीले भन्नुभयो, “हाम्रो मुलुक भूगोलका हिसाबले हिमाल, पहाड र तराई मधेसमा विभाजन छ, जातजातीको, भाषाको हिसाबले विविधतामा छ, यो हाम्रो मुलुकको विशिष्ट पहिचान हो, विश्वमा नै यस किसिमको भौगोलिक विविधता भएको र यती धेरै भाषाभाषि भएको देश धोरै छन्, नेपालको जातीय सद्भावलाई अझ समृद्ध गर्दै लैजानुपर्छ । सबै भाषाभाषीको संरक्षण गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउनुपर्छ ।”    सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले रेडियो नेपालले स्रोताको मन जित्ने गरी समाचार तथा कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । तीन दिनसम्म सञ्चालित सो तालिममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, पत्रकार टिकाराम यात्री र विज्ञ अनिता गुरुङले प्रशिक्षण दिनुभएको थियो ।

  काठमाण्डौँ:  आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले  इन्टरनेटको माध्यमद्वारा निर्वाचन गर्नुपर्ने बताएका छन् ।    आज (शुक्रबार)काठमाण्डौँमा  डेमोक्रेटिक सोसलिस्ट एलायन्सले आयोजना गरेको “स्वच्छ निर्वाचन ” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले इन्टरनेको माध्यमद्वारा निर्वाचन घरबाटै हुने पर्ने बताएका हुन् ।    ‘आम जनताहरुलाई सहजता र अपाङ्ग भएका व्यक्तिहरुका लागि पनि निष्पक्षरुपमा भोटिङ गराउनको लागि इन्टरनेको माध्यमद्वारा घरैबाट भोटिङ प्रणाली लागु हुनुुपर्छ ।’ उनले भने ।    पौडेलले गत स्थानीय तहको निर्वाचनमा फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिहरुलाई निर्वाचनमा सहभागिता गराउन तर्फ सरकारले चाँसो नदिएको धारणा राखे ।    अपाङ्गहरुको पक्षमा बोल्दै निर्वाचन प्रक्रिया कम खर्चिलो गराउने बताउदै भने  ‘निर्वाचनमा खर्च कम गराउने उत्तम उपाय ईन्टरनेटको माध्यमबाट भोट गर्नु हो । हालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो छ । जसको कारण जनताले एउटा सक्षम प्रतिनिधि पाउन सकेका छैनन् ।’

काठमाडौँ:    संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र रु दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि आमाको अहं भूमिका हुन्छ । बालबालिका हुर्किएर विद्यालय जान थालेपछि उनीहरुको शैक्षिक उन्नयनका लागि अभिभावक विद्यालयप्रति विश्वस्त हुन्छन् । आमा–बाबा घर, व्यवसाय र कार्यालयका काममा व्यस्त हुनुपर्ने बाध्यता पनि छ । जाँगरिलो  र पेसाप्रति प्रतिबद्ध शिक्षकले अभिभावककोे त्यो विश्वासलाई आफ्नो कर्तव्यमा रुपान्तरण पनि गरिरहेका हुन्छन् । विद्यालयको एक्लो प्रयासले विद्यार्थीको गुणस्तरीय शिक्षाको लक्ष्य पूरा हुन सक्दैन ।            शिक्षाविद् प्रा डा विनयकुमार कुसियतले आफूले पढाइमा ढिलासुस्ती गर्दा आमाले सम्झाउने गरेको र त्यसबाट प्रेरित भएको हालै एक आलेखमा व्यक्त गर्नुभएको छ । “बाबु तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगेँ । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहान्छु ।” आमाका ती भनाइलाई डा कुसियतले सम्झनुमात्र भएको छैन, नयाँ पुस्ताका लागि प्रेरणा मिलोस् भनेर सार्वजनिक गर्नुभएको छ ।     शैक्षिक गुणस्तर सुधारमा आमाहरुको त्यही भूमिकालाई विद्यालयले अनुभूत गर्ने गरी प्रयोग गराउन पहल हुन थालेको छ । काठमाडौँको मुटु पद्मोदयमोडस्थित पद्मोदय माध्यमिक विद्यालयले विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका आमाहरुलाई बोलाएर आजदेखि बालबालिकाको शिक्षाबारे विमर्श सुरु गरेको छ । विद्यालय र घरमा बालबालिका कसरी पढिरहेका छन् ? त्यसबारे अभिभावकसँग सामुदायिक विद्यालयमा कमै मात्रामा दोहोरो संवाद हुने अवस्थामा उक्त विद्यालयको निमन्त्रणालाई आमाहरुले सहर्ष स्वीकारेर शिक्षा सुधारको यात्रामा सामेल हुने सङ्कल्प गरेका छन् ।       ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने आदर्श वाक्य बोकेको यस ऐतिहासिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतम आमाहरु सक्रिय नभई विद्यार्थीले राम्रोसँग सिक्न नसक्ने पक्षलाई आत्मसात् गरेर चरणबद्धरुपमा आमाहरुको भेला आयोजना गरिएको र यो प्रयोगलाई निरन्तरता दिने बताउनुभयो । “छोराछोरीले गृहकार्य गरेका छन् कि छैनन् भनेर नियमित हेर्दिनु । सफासुग्घरमा ध्यान दिन लगाउनु । विद्यालयले नबोलाए पनि समय समयमा आएर सोधपुछ गर्दिनु ।” आमाहरुसँगका अपेक्षा राससलाई सुनाउँदै प्रधानाध्यापक गौतमले भन्नुभयो ।      आमा समूहको बैठकमा सहभागी निर्मला खत्रीले यस प्रकारको बैठक विद्यालयमा पहिलो पटक भएको र यसमा बच्चाहरुको पढाइबारे शिक्षक र अभिभावकबीच दोहोरो संवादको अवसर मिलेको प्रतिक्रिया दिनुभयो । अभिभावक शिक्षक सङ्घकी सदस्य खत्रीका दुई सन्तान सोही विद्यालयमा अध्ययनरत छन् ।     विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र ९तुल्सीप्रसाद० अवस्थीले पढाइमा सुधार ल्याउन अभिभावलाई बोलाएर विद्यार्थीका समस्या बुझ्ने र समाधान गर्ने कोसिस भइरहेको बताउनुभयो । आधारभूत तहदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइने सो विद्यालय स्थानीय व्यापारी र व्यवसायीका छोराछोरी बढी अध्ययन गर्छन् ।            पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रधानन्यायाधीशहरु केदारनाथ उपाध्याय, अनुपराज शर्मा, पूर्वमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, कमल थापा, कलाकारहरु हरिवंश आचार्य, मनोज गजुरेल, रामकृष्ण ढकालका पूर्वविद्यालयको रुपमा रहेको  पद्मोदयमा पछिल्लो समयमा विद्यार्थीको सङ्ख्या क्रमशः बढ्दो छ । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा १ देखि ३ सम्म मन्टेश्वरी ढाँचामा सिकाइन्छ । विद्यालयले खेल्दै सिक्दैको मान्यतालाई कार्यान्वयन गरेको छ । विद्यालयमा हाल पूर्वप्राथमिकदेखि कक्षा १० सम्म ४९० र कक्षा ११ र १२ मा ५७० विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारीतर्फ कक्षा १० सम्म ४२ र माथिल्लो कक्षामा २८ जना कार्यरत छन् ।       आठ रोपनी जग्गामा फैलिएको सो विद्यालयले विद्यार्थीको चाप थेग्न कक्षा ६ देखि ९ सम्म भर्ना गर्नुपूर्व प्रवेश परीक्षा लिने गरेको छ । यस वर्ष ती कक्षामा ३५० जनाले प्रवेश परीक्षा दिएकामा १५० नयाँ विद्यार्थीलाई मात्रै भर्ना गरिएको प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो । उहाँले पुरानो कमला भवन भूकम्पपछि पुनः निर्माण भइनसकेकाले भवन र शिक्षकको अभावका कारण आए जति विद्यार्थी लिन नसकिने बताउनुभयो । केन्द्रीय सरकारको नमूना विद्यालयको अनुदान पाउने मापदण्डका लागि दुई रोपनी जग्गा नपुग्दा यस विद्यायले त्यस कार्यक्रममा आवेदन दिन पाएको छैन ।      विसं २००३ मा स्थापित सो विद्यालयलाई काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा विज्ञानतर्फ नमूना बनाउने लक्ष्यसहित अनुदान दिन थालेको छ । उक्त रकम न्यून भएको विज्ञान प्रयोगशालाको पूर्वाधार निर्माणका लागि करिब रु एक करोडको जोहो गर्न विद्यालयले कसरत गरिरहेको छ ।     काठमाडौँ महानगरपालिकाका–२८ का अध्यक्ष भाइराम खड्गीले सो विद्यालयको पूर्वाधारका लागि सक्दो लगानी गर्न योजना तय गरिएको बताउनुभयो । विद्यालयको भवनमा विभिन्न १४ वटा सटर भाडाबाट मासिक रु साढे पाँच लाख आम्दानी हुने गरेको छ । उक्त आयबाट पूर्व प्राथमिक तहलाई सवलीकरण र निजी स्रोतका शिक्षकको पारिश्रमिक दिने गरिएको छ ।  

सङ्खुवासभा:   सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् ।       आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।      मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।       मलामी बोकेर फर्किंदै गरेको ट्र्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  बर्दिया:   बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को मिर्चैया गाउँका स्थानीयवासीले बर्खायाममा पनि पानी नपरेर खडेरी भएपछि भ्यागुताको बिहे गरिदिएका छन् । असार महिना सकिन लाग्दा पनि आकाशबाट पानी नपरेकाले लामो खडेरीका कारण चिन्तित बनेका स्थानीय किसान भेला भइ गाउँमा पूजापाठ गरी भ्यागुताको बिहे गरिदिएका हुन् ।   बर्खा लागिसक्दा पनि पानी नपरेर अत्यधिक गर्मी भएर खडेरी परेपछि वर्षाका देवता इन्द्रदेवलाई खुसी बनाउन भन्दै बेला–बेला विभिन्न खाले परम्परागत जुक्ति लगाइन्छ । कतै महिलाले दौरासुरुवाल लगाएर हलो जोत्छन् त कतै महायज्ञ लगाइन्छ, कतै बाजागाजासहित भ्यागुताको बिहे गरिदिने चलन पनि छ ।   त्यही चलनअनुसार भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वास रहेकाले मिर्चैयाका स्थानीयवासीले पनि भ्यागुताको बिहे गरेका मिर्चैया गाउँका बडघर राजु थारुले बताउनुभयो । परम्पराअनुसार गाउँका स्थानीय बालबालिकाहरू वर्षाका देवता इन्द्रलाई पानी पारिदिन प्रार्थना गर्दै पानीको आहाल बनाएर लडीबुडी खेल्ने पनि गरेका बडघर थारुले बताउनुभयो ।    बर्खाको समयमा पानी नपरेपछि बर्दियाका धेरैजसो किसानले धान खेती लगाउन पाएका छैनन् भने अत्यधिक गर्मीका कारण जनजीवन पनि प्रभावित भएको छ । 

काठमाण्डौँ:   बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् ।        सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा उक्त दुई विधेयक पेश भएका थिए ।        संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको हो ।