कास्की कांग्रेसका ‘अन्तर्घाती’विरुद्धको उजुरी केन्द्र पुग्यो, होला त कारवाही ?
पाेखरा | साउन १४, २०८०
पोखराः पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस कास्कीका केही नेता, कार्यकर्ताले अन्तर्घात गरेको प्रमाणसहित पेश गरिएको उजुरी पार्टीको केन्द्रीय अनुशासन समितिमा पुगेको छ ।
समितिले यस उपर छानबीन गरी अन्तर्घातीलाई कारवाही गर्ने आशमा कास्की कांग्रेस रहेको छ । तर अनुशासन समितिको संयोजक चुनिएपनि बाँकी सदस्य मनोनयन गर्न बाँकी छ ।
स्रोतका अ्नुसार कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले निवर्तमान सभापति कृष्ण केसीविरुद्ध समितिमा निवेदन दिएका छन् । बरालले निर्वाचनमा अन्तर्घात र असहयोग गरेको भन्दै प्रमाणसहित निवेदन दिएका हुन् । कांग्रेसमा अन्तर्घात भएको प्रमाणसहित स्वयं उम्मेदवारले निवेदन दिन सकिने प्रावधान छ ।
त्यस्तै, जिल्ला समन्वय शाखामार्फत पनि उजुरी अघि बढाउन मिल्नेछ । कास्की सभापति बरालले आफुले पनि सोझै कारवाही गरिपाउँ भनि निवेदन दिएको प्रष्ट्याए ।
‘निर्वाचनका दौरान खटिएका कार्यकर्ताले प्रत्यक्ष देखे, भोगेको कुरा हो’ बराल भन्छन् ‘पछि सम्पूर्ण प्रमाण जुटाएर केन्द्रीय अनुशासन समितिसमक्ष पु¥याएका छौं ।’ बरालले आफुलाई चुनावमा कृष्ण केसीले असहयोग र अन्तर्घात गरेको प्रमाणसहित निवेदन दिएको बताए ।
बराल प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा नेकपा एमालेका मनबहादुर गुरुङसँग २ हजार ५१९ मतले पराजित भएका हुन् । उनी पराजित भएपछि कांग्रेस कार्यकर्ताले निवर्तमान सभापति केसीको घरमा तोडफोडको प्रयाससमेत गरेका थिए ।
वर्तमान सभापति बराल भन्छन् ‘म हार्नुको कारण सबैलाई थाहा छ, अडियो–भिडियो प्रमाणसहित कारवाहीकालागि समितिमा निवेदन दिएको छु ।’
यता, निवर्तमान सभापति केसी भने आफुमाथि झुठो आरोप लगाइएको बताउँछन् । केही अघि सम्वाददातासँग भएको कुराकानीमा निर्वाचनमा पराजित भएपछि त्यसको जस, अपजस स्वयं उम्मेदवारले लिनुपर्ने बताउँदै हारेपछि प्रोपोगण्डा गर्नु गलत भएको प्रतिक्रिया दिएका थिए ।
सोहीबेला उनले भनेका थिए ‘मैले अन्तर्घात गरेको, चाल चलेको प्रमाणित होस्, जस्तोसुकै कार्वाही भोग्न म तयार छु ।’
त्यस्तै, कास्कीबाट प्रदेशसभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापाले पनि आफुमाथि अन्तर्घात र असहयोग गरिएको भन्दै समितिमा निवेदन दिएको सभापति बरालले बताए ।
‘उहाँले जित्नुभयो तर हराउने प्रयास डरलाग्दो थियो’ बराल भन्छन् ‘प्राप्त मतको लेखाजोखा गर्दा उहाँमाथि पनि ठूलै अन्तर्घात भएको हो ।’ थापालाई असहयोग गर्नेमा पार्टीबाट सँगै प्रदेशसभामा विजयी भएका कुमार खड्काको नाम मुछिएको छ ।
थापाले कास्की–२ (२) मा नेकपा एमालेकी उम्मेदवार मिना गुरुङलाई १ हजार ३१० मतान्तरले हराएका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पनि अन्तर्घातीलाई तत्काल कारवाही गर्ने आवाज उठेको बरालले बताए । केन्द्रीय बैठकमा ७७ जिल्लाका सभापतिलाई पनि बोलाइएको बताउँदै उनले अधिकांश सभापतिले निर्वाचनताका अन्तर्घात भएको धारणा राखेको बरालले सुनाए ।
कारवाही होला त ? भन्ने प्रश्नमा बराल भन्छन् ‘म स्वयं पीडित हो, मैले न्याय पाउनुपर्छ, यस्ता तत्व पार्टीभित्र रहिरहे कांग्रेसको भविष्य बन्दैन ।’ यस विषयमा धेरै कार्यकर्ताले आफुलाई बाराम्बार प्रश्न गरिहेको र कारवाहीको माग गरिरहेकाले पनि अनुशासन समिति सक्रिय हुनुपर्ने उनको धारणा छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

