स्याङ्जाका सबै पालिकाका खानेपानीमा भेटियो दिसामा पाइने ‘कोलीफर्म’

स्याङ्जा | साउन १९, २०८०

स्याङ्जाका सबै पालिकाका खानेपानीमा भेटियो दिसामा पाइने ‘कोलीफर्म’

स्याङ्जा:     स्याङ्जाका सबै पालिकाका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । 


जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार जिल्लाका ११ पालिकाबाट खानेपानीका ९४ नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आँधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमुना सङ्कलन गरी परीक्षण गरेको थियो ।


‘मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको किटाणु अत्यधिक मात्रा पाइएको छ’, प्रमुख शर्माले भन्नुभयो, ‘सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमुना परीक्षण गरिएका थिए ।’


सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ । चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलव ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताउनुभयो । यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका किटाणु भेटिएका थिए ।


प्रमुख शर्माले गएको वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताउनुभयो । उहाँले पानीको शुद्धता बढे पनि अत्यधिक कोलीर्फम भेटिनु सुखद नतिजा नभएको उल्लेख गर्नुभयो । गएको आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमुना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ ।

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...

थप पढ्नुहोस्

काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

थप पढ्नुहोस्

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...

थप पढ्नुहोस्