मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न,वनमा पोखरी निर्माण

म्याग्दी | असार ६, २०७९

मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न,वनमा पोखरी निर्माण


म्याग्दी :       वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

  

 “वन्यजन्तु पानी र आहारको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो”, उहाँले भन्नुभयो, “वनमै पानी र आहार भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।” सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनोट भएका दशवटै समूहले कार्य सम्पन्न गरेका हुन् । प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी गरिएको सहायक वन अधिकृत क्षेत्रीले बताउनुभयो । 

    

बेनी –९ को गलेश्वर ठूलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालाबन्दी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पँधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो । 

  

 ६२.७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । टाड बिसाउना सामुदायिक वन धापुङका दलवीर पुनले जङ्गलको बीचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर सङ्कलन गरिएको जानकारी दिनुभयो । 

  

पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ । घोर्लास सामुदायिक वन उपभोक्ता समूह तोरीपानीका ज्ञानबहादुर विकले पोखरीले जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेकोे बताउनुभयो । 

    

जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा यसलाई निभाउन पनि सहज हुने उहाँले बताउनुभयो । पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु मानव बस्तीमा आएर क्षति पुर्याउन थालेका छन् । आहार र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृतलगायत वन्यजन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका बताइएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्