मोटरसाइकलले ठक्कर दिएको बदला लिन हत्या, स्वीकार्दै भण्डारीले लेखे– ‘आइकिल्ड फोर पिपल’
काठमाडाैं | भदौ ३१, २०८०
काठमाडौं: काठमाडौंको तीनकुनेस्थित काठ मिलमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या स्वीकार गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिए ।
उनका अनुसार बोल्न नसक्ने भण्डारीले लेखेर हत्या स्वीकार गरेका थिए ।
घटनाक्रम...
केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए ।
ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक–पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए ।
कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए ।
मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ ।
भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको पनि हत्या गरेका थिए ।
चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदी–भिनाजुको घरमा गएर बसेका थिए ।
आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए ।
सोही समयमा सिसिटिभी फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए । भण्डारीले सिन्धुपाल्चोकमा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए ।
उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो । भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए, ‘आइकिल्ड फोर पिपल ।’
भण्डारीले हत्या गरेको स्वीकारेपछि प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईलाई रिहा गरिदिएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

