आममाफीको जसअपजसको भागी सरकार नै हुनुपर्छ: राष्ट्रपति पौडेल
काठमाडाैं | असोज १५, २०८०
तस्बिर फाइल
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनु भएको छ ।
संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो ।
संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जसअपसजको भागी सरकार नै हुने संवैधानिक व्यवस्था रहेको उहाँले बताउनु भयो । संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको उहाँले बताउनु भयो ।
ुहाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईँहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैनु, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘तपाईंहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यही तपाईँहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्थाअनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो ।’
उहाँले कहिलेकाँही यहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्छ तर यसपटक आएको चाँहि उल्टो भयो कि जस्तो लागेको बताउनुभयो । ‘संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमा विधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृह मन्त्रालयमा फर्काइदिएको छु’, पौडेलले भन्नुभयो, ‘जहाँसम्म छ सय ७० जनाको बाँकी कैद मिनाहाको विषय छ त्यो सबै प्रक्रिया पुर्याएर मन्त्रिपरिषद्ले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।’
राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसद्लाई भएको बताउनु भयो । यतिबेला संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको भन्ने चिन्ता उठिरहेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो,‘तपाईंहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताले होसियार भएर सोच्न जरुरी छ । म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिँदैछ, यसमा तपाईँहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईँहरूको दायित्व हो ।’
यस क्रममा रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताउनुभयो । उहाँले देशकै अभिभावक भएको नाताले राष्ट्रपतिसँग सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्नु आफूहरूको हक भएको बताउनुभयो ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

