अन्तरविद्यालय दौडमा शुभताराका प्रकाश र भ्यू पोइन्टकी सजिना प्रथम
पाेखरा | मंसिर १०, २०८०
पोखरा महानगरपालिका वडा नंं. १५ कार्यालयले शनिबार आयोजना गरेको अन्तर विद्यालय सडक दौड प्रतियोगितामा छात्रतर्फ शुभतारा थ्री एन्जल्सका प्रकाश डाँगी र छात्रातर्फ भ्यू पोइन्ट स्कूलकी सजिना सुनार प्रथम भएकी छन् ।
वडाका १५ विद्यालयका करिब २५० विद्यार्थीले भाग लिएको प्रतियोगितामा छात्रतर्फ केल्स एकेडेमीका देव कुँवर द्वितीय, एसओएस हर्मन माइनरका टिजन बुढामगर तृतीय भए भने गौरब बुढामगर र गणेश भट्टचनले सान्त्वना स्थान प्राप्त गरे । छात्रतर्फ मात्रै करिब १ सय ५० विद्यार्थी सहभागी थिए ।
यस्तै, करिब एक सय छात्रा सहभागी प्रतियोगितामा शुभतारा थ्री एन्जल्सकी अप्सरा बिक द्वितीय, सिद्ध माविकी रचना चौधरी तृतीय र सिद्धकै श्रेया थापा र कृतिका भण्डारी सान्त्वना भइन् । छात्र तथा छात्रा दुवैतर्फ प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई नगद ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत गरियो ।
प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले वडा नं. १५ खेलकुद गतिवधिमा अग्रपंक्तिमा रहेको बताए । उनले धेरै बजेट खेलकुदमा छुट्याएर विभिन्न प्रतियोगिता गर्दै वडालाई स्वस्थ र युवा, विद्यार्थीमैत्री बनाएकोमा खुशी व्यक्त गरे । सांसद बरालले स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा भएकाले यसले स्वस्थ समाजसँगै राष्ट्र निर्माणमा टेवा पुग्ने बताए ।
वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधार विकासमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए।
उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडामा रहेका विद्यालय र विद्यार्थीबीच आपसी सम्बन्ध बढाउने बताए । कार्यक्रमका संयोजक तथा पोखरा १५ का सदस्य आशिष भण्डारीले गत वर्ष पनि संविधान दिवसको अवसर पारेर विद्यार्थीहरूबीच यही प्रतियोगिता गरेको र अहिले पनि निरन्तरता दिएको बताए ।
यस्ता प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्ने उनको भनाइ थियो ।कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ, निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

