नेपालीहरुको जीमेल र फेसबुकको पासवर्ड असुरक्षित, गोपनीयता भंग हुने जोखिम

काठमाडाैं | असार १३, २०७९

नेपालीहरुको जीमेल र फेसबुकको पासवर्ड असुरक्षित, गोपनीयता भंग हुने जोखिम

काठमाडौँ, अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । 

 

पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त गर्न थालेका छन् । यसअघि सम्बन्धित कम्पनीकै नाम र सर्ट कोडबाट प्राप्त हुने त्यस्ता ओटीपी व्यक्तिगत नम्बरबाट आउन थालेपछि प्रयोगकर्ता भयमा छन् ।

 

पछिल्लो समय ९८२९६२८४९२, ९८२५५९९०६८, ९८२५५९९७४७ जस्ता मोबाइल नम्बरबाट यस किसिमको ओटीपी आउन थालेको छ । यस्ता नम्बरको सङ्ख्या दर्जनौँ पुगिसकेको छ । अन्तर्राष्ट्रिय गेटवेमार्फत प्राप्त हुने त्यस्ता ओटीपी एसएमएस बीचमा नै बाइपास गरेर सेवाप्रदायकलाई छल्दै व्यक्तिका नम्बरबाट प्राप्त हुने गरेका छन् । 

 

यसले प्रयोगकर्ताको महìवपूर्ण डेटासँग पहुँच राख्न सक्ने गम्भीर अवस्था सिर्जना हुने साइबर सुरक्षाविज्ञ विजय लिम्बू बताउनुहुन्छ । “एसएमएस बाइपास गर्नेले ओटीपीमा पहुँच राख्ने भएकाले त्यसबाट प्रयोगकर्ताको गोपनीयता बाहिरिन सक्ने जोखिम सधैँ हुन्छ,” उहाँले भन्नुभयो । यस्तोमा पठाउनेलाई ओटीपी पुगे नपुगेको निश्चित पनि नहुने उहाँले बताउनुभयो । केही समयअघि उहाँ आफैँले पनि जिमेल लग इन गर्दा नेपालको मोबाइल नम्बरबाट ओटीपी प्राप्त भएपछि त्यो प्रयोग गर्ने कि नगर्ने भन्ने द्विविधामा पर्दै प्रयोग गरेको सुनाउनुभयो ।

 

ओटीपी बाइपास हुँदा प्रयोगकर्ताको डेटासम्म पहुँच राख्ने जोखिमसँगै सेवाप्रदायकको आम्दानी गुम्ने अवस्था पनि बन्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । “यो आफैँमा गम्भीर कुरा हो । गोपनीयता भङ्ग हुने जोखिमसँगै ओटीपीबाट हुने आम्दानीलाई पनि यसले असर गर्छ,” उहाँले भन्नुभयो । यद्यपि अहिलेसम्म टेलिकमका नम्बरबाट त्यसरी ओटीपी नगएको उहाँले स्पष्ट पार्नुभयो । ओटीपी बाइपासका घटना बढेपछि टेलिकमले ‘फिल्टरिङ’ भने गरिरहेको उहाँले जानकारी दिनुभयो । 

 

सुरक्षाका लागि ओटीपीको प्रयोग बढेपछि दूरसञ्चार सेवाप्रदायकलाई यो आम्दानीको नयाँ स्रोत पनि बनेको छ । ओटीपीबाट नै सेवाप्रदायकले वार्षिक २० करोड रुपियाँभन्दा बढी आम्दानी गर्छन् । ओटीपीका रूपमा प्राप्त हुने एसएमएस बाइपास भइरहेको जानकारी भएको र यसलाई रोक्ने प्रयत्नसमेत भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिनुभयो । उहाँका अनुसार एउटै नम्बरबाट अत्यधिक एसएमएस गए नगएको परीक्षण गर्ने र त्यसो भएमा प्राधिकरणले ब्लक गर्न सक्नेछ । बाइपास हुँदा सबै पक्षलाई क्षति हुने भए पनि गोपनीयता बाहिरिनु सबैभन्दा जोखिम भएकाले प्रयोगकर्तालाई बढी असर पर्ने उहाँको भनाइ छ । 

 

के हो ओटीपी ?

 

ओटीपी एक किसिमको एसएमएस (म्यासेज) हो । जहाँ म्यासेज पठाउनेले सुरक्षाका लागि निश्चित अङ्क प्रयोगकर्तालाई पठाएको हुन्छ । सो अङ्क राखेपछि पठाउनेलाई सम्बन्धित व्यक्तिले नै प्रयोग गरिरहेको निश्चित हुन्छ । मोबाइल नम्बरमा एसएमएसका रूपमा ओटीपी पठाइने भएकोले ‘भेरिफिकेसन’का लागि यो अहिलेसम्मकै सबैभन्दा भरपर्दो माध्यमका रूपमा हेरिँदै आएको छ । 

 

नेपालमा पनि बैङ्क, भुक्तानी सेवाप्रदायक अथवा कतिपय सरकारी कार्यालयले सम्बन्धित व्यक्तिको पहिचानका लागि ओटीपीलाई नै विश्वस्त आधारका रूपमा लिइरहेका छन् । चर्चित प्रविधि कम्पनीले पनि आफ्नो प्रयोगकर्ताको पहिचान र सुरक्षा गोपनीयताको संरक्षणका लागि ओटीपी प्रयोग गर्छन् । ‘टु वे भेरिफिकेसन’ तथा लग इनका क्रममा ओटीपीको प्रयोग हुन्छ । 

 

कसरी हुन्छ बाइपास ?

सामान्यतया ओटीपी एप्लिकेसनबाट व्यक्तिसम्म पुग्छ, जसलाई एटुपी अर्थात् ‘एप्लिकेसन टु पर्सन’ पनि भनिन्छ । यस बीचमा अन्तर्राष्ट्रिय एप्लिकेसनबाट प्राप्त हुने एसएमएस बीचका ‘क्यारियर’ले सम्बन्धित देशका दूरसञ्चार सेवाप्रदायकसम्म पु¥याउँछन् ।

 

यसरी एप्लिकेसनबाट प्राप्त एसएमएस पु-याउन क्यारियरले सेवाप्रदायकसँग व्यापारिक सम्झौता गर्छन् । जुन सामान्य एसएमएसको शुल्कको तुलनामा बढी हुन्छ तर क्यारियरबाट सेवाप्रदायकसम्म नपुगी बीचबाटै अन्य कसैले यसलाई आफ्नो नेटवर्कमा ल्याएर ‘बाइपास’ गरिदिन सक्छन् ।  कल बाइपास र एसएमएस बाइपासको एउटै तरिका हुन्छ तर बाइपास गर्नेले एसएसएस सजिलै बुझ्न सक्ने भएकाले कल बाइपासभन्दा यो गोपनीयताको हिसाबले एकदमै गम्भीर मानिन्छ । 

- गाेरखापत्रबाट साभार

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्