आर्थिक समृद्धिको बाटो
पाेखरा | फागुन ६, २०८०
पोखरा: खराब अवस्थासँग जुध्दै आइरहेको नेपालको अर्थतन्त्र यतिबेला इतिहासकै सबैभन्दा अप्ठ्यारो समयमा छ ।
देशको शाशन व्यवस्था, कुटनितिक सम्बन्ध, प्राकृतिक प्रकोप आदिका कारण विभिन्न समयमा प्रहार भइरहेको नेपालको अर्थतन्त्र सधैँ तंग्रिने प्रयासमा मात्रै रहेको देखिन्छ । अहिलेको अवस्थाबाट नेपाललाई आर्थिक समृद्धितर्फ कसरी लैजान सकिन्छ भन्ने विषयमा आइतबार पोखरामा छलफल भएको छ ।
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन व्यवसायी निर्वाण चौधरी र अर्थशास्त्री समीर खतिवडासँग छलफल भएको हो, जसको सहजीकरण अर्का व्यवसायी निरञ्जन श्रेष्ठले गरेका थिए ।
अर्थशास्त्री खतिवडाका अनुसार नेपालको अर्थतन्त्रमा दिर्घकालिन रुपमा दुई मुख्य ठूला समस्या रहेका छन् । जसमा आर्थिक वृद्धिदर कजोर हुनु र रोजगारी सिर्जना गर्न नसक्नु हुन् । त्यस्तै निजि क्षेत्र र सरोकारवाला निकायबिच समन्वय नहुनु, सहि ठाउँमा लगानी हुन नसक्नु, अस्वस्थ कर्मचारीतन्त्र आदि अहिलेका समस्या रहेको उनले बताए ।
हाल विद्यमान समस्याका बारेमा बोल्दै चौधरीले नेपालको परम्परागत कृषी पद्धती तथा पर्यटन व्यवसायमा परिवर्तन ल्याउनु पहिलो आवश्यकता रहेको जनाए । देश समृद्धि तर्फ उन्मुख हुने सम्भावना अझ रहेको बताउँदै उनले भने, ‘भारतमा पनि १५÷२० वर्ष अगाडि ब्रेन ड्रेनको समस्या थियो । बिस्तारै सहि दिशामा जाँदैछ । भुटान, बंगलादेश, श्रीलंका पनि नेपालका लागि उदाहरण बनिसकेका छन् ।’
‘भारतमा स्पेशल इकोनोमिक जोनमा ठाउँ, कर, तथा नीतिगत रुपमा विभिन्न सुविधा दिइएको हुन्छ । त्यसो गर्दा स्थानियले रोजगार पाउँछन् । यो त्यहाँ पछिल्लो १५ वर्षमा देखिएको परिवर्तन हो ।’ उनले भने, ‘अहिले अस्तित्वमा रहेका प्रविधिको प्रयोग गर्न नसक्दा कृषीमा आधारित अर्थतन्त्र भएर पनि हामीले चामल मगाउनुपर्ने अवस्था छ ।’ रातो चामल, कालो चामल जस्ता नेपालका विभिन्न ठाउँमा उत्पादन हुने मौलिक अन्नलाई विश्व बजारमा लैजान नसक्दा त्यसको फाइदा उठाउन नसकिएको उनले बताए ।
त्यस्तै नीतिगत अस्थिरता नेपालको अर्को कमजोरी रहेको खतिवडाले बताए । निजी क्षेत्र असफल हुँदा देशको अर्थतन्त्रमा पनि धक्का लाग्ने जिकिर गर्दै उनले भने, ‘हाम्रोमा जस्तो करको दायरामा चलखेल अरु देशमा देखिँदैन । नीतिगत भ्रष्टाचारले गर्दा निजी क्षेत्र मारमा परेका छन् ।’ साथै नीतिगत रुपमा सहयोग नहुँदा निजी क्षेत्रबाट सरकारले पनि पाउने आर्थिक लय गुमाउने उनले संकेत गरे ।
नीति बनाउनमा निजी क्षेत्रको प्रत्यक्ष हात नभए पनि निजी क्षेत्रले गर्न सक्ने ठाउँ धेरै रहेको चौधरीले बताए । पछिल्लो पाँच वर्षमा खुलेका १५ चाउचाउ कम्पनी मध्ये १० कम्पनी बन्द भएको बताउँदै त्यसमा ति कम्पनीको बजार व्यवस्थापन तथा आन्तरिक रणनीति नै मुल कारक रहेको उनले जनाए । निजी क्षेत्रमै पनि पुरानोलाई बचाउन गाह्रो भइरहेका बेला नयाँमा कसरी लगानी गर्ने भन्ने मानसिकता रहेको उनको भनाइ थियो । साथै नीतिगत रुपमा स्थिरता आएपछि मात्रै आर्थिक समृद्धि हाँसिल हुनेमा उनले जोड दिए ।
आर्थिक वृद्धिको चाहना गरेर जादुको अपेक्षा गर्ने र सिस्टम मै हेराफेरी गर्नु नेपालको अर्को ठूलो समस्या रहेको अर्थशास्त्री खतिवडाले बताए । ‘विहार र युपीमा पनि औद्योगीकरण नभएसम्म वृद्धि हाँसिल गर्न सकिँदैन भन्ने बुझेर लगानी गरेका छन् ।’ भारतका राज्यको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ गारमेन्टमा काम गर्ने त्यसमा सिप भएका जनशक्ति धेरै छन् । जसलाई मध्यनजर गर्दै त्यहाँको सरोकारवाला निकायले जनतालाई घर मै बसेर काम गर्ने वातावरण बनाइदियो ।’ साथै दक्ष जनशक्ति उत्पादनका लागि राज्यबाट लगानी हुनुपर्ने र त्यसले विदेशी कम्पनीलाई आकर्षित गर्न सक्ने उनले बताए ।
उनका अनुसार नेपालले अहिलेको अवस्थामा बंगलादेशको जस्तो अर्थतन्त्र बनाउनका लागि अझै दश वर्षसम्म ७ प्रतिशतका दरले र श्रीलंका जस्तो बन्नको लागि सोही दर २५ वर्षसम्म निरन्तर आर्थिक वृद्धि गर्नुपर्ने अवस्था छ । नीति बनाउने काम गर्दा उक्त तथ्य सम्झिनुपर्ने र छिमेकी राष्ट्रहरुको सफलताका कथाबाट सिक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बंगलादेशमा १५ वर्ष अगाडी मात्रै पनि गार्मेन्ट क्षेत्र एकदमै कम थियो । जुन क्षेत्र अहिले बंगलादेश इकोनोमीको एंकरको रुपमा रहेको छ ।’ निजी क्षेत्र प्रतिको धारणा फेर्न र निर्यात कसरी बढाउने भन्नेमा गम्भिर भएर सोच्नुपर्ने उनले बताए ।
त्यस्तै चौधरीले नेपालको आर्थतन्त्र सबल बनाउनका लागि देशको भौगोलिक अवस्थिति तथा अन्तरराष्ट्रिय सम्बन्ध तथा यहाँका प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

