कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

मुस्ताङ | चैत २६, २०८०

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

मुस्ताङ:     मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।


कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।


कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए ।


‘चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ’, उनले भने, ‘नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।’


बडादसैँ र चैतेदसैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास छ । कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्दछन् ।


मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, एक सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा डुबिल्की मारेमा जान अञ्जानमा गरेका पाप नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार एक हजार दुई सय सात वटा गाडीमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ जना विदेशी, शनिबार चार सय ३७ वटा गाडीमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए ।


शनिबार र आइतबार मुस्ताङ भित्रिएकामध्ये अधिकांश कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन रहेका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।


‘तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर जोमसोममा प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ’, उनले भने, ‘तीर्थयात्रुको सुरक्षा, पूजा व्यवस्थापन र यातायात व्यवस्थापनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’


बडादसैँ र चैतैदसैँअघिको सोह्रश्रद्धा तथा औँशी तिथिमा कागबेनीमा दिवङ्गत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीको भीड लाग्ने गर्दछ । गत बर्खामा बाढीले क्षती पुर्‍याएको कागबेनीमा अस्थायी संरचना बनाएर पिण्डदान गर्ने व्यवस्था मिलाएको कागबेनीका अगुवा धारा गुरुङले बताए ।


वार्षिक परीक्षापछि विद्यालय बिदा भएको, अनुकूल मौसमका कारण मुस्ताङ घुम्नेको पनि चहलपहल बढेको छ । बिदाको फुर्सदमा परिवारसहित मुक्तिनाथ हुँदै कोरलासम्म घुम्न निस्किएको धवलागिरि गाउँपालिका(७ ताकमका शिक्षक जीवन पौडेलले बताए ।

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्