हलेसीमा पन्ध्र दिने रामनवमी मेला सुरु

खोटाङ | बैशाख ४, २०८१

हलेसीमा पन्ध्र दिने रामनवमी मेला सुरु

खोटाङः  प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो । भोलि बुधबार रामनवमी पर्व हो । 

 

यसै अवसर पारेर आयोजित मेलामा आउने दर्शनार्थीलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरी परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो । “रामनवमीको अघिल्लो रात अर्थात आज बेलुका जाग्राम बस्ने चलन छ । भोलि पञ्चेबाजासहित गहना लगेर महादेवलाई पहिर्याउने गरिन्छ”, उहाँले भन्नुभयो, “महादेवलाई गहना पहिर्याउने समयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसै पर्वको अवसरमा यस वर्ष मेला आयोजना गरिएकाले मन्दिरमा धेरै भक्तजनको घुइँचो लागेको छ ।” 

 

मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन् । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याएर आउना गरेकाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राईका अनुसार रामनवमीका दिन सबैभन्दा बढी दर्शनार्थी यहाँ आउने भएकाले उनीहरुलाई सहजरुपमा पूजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक र प्रहरी परिचालन गरिएको छ । राजधानी काठमाडौंलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएपछि यहाँ आउने अधिकांश दर्शनार्थीले आफैँले सवारीसाधन लिएर आउने गरेका उहाँले जानकारी दिनुभयो ।

 

पन्ध्र दिनसम्म लाग्ने रामनवमी मेला अवधिभर अप्रिय घटना हुन नदिन, मेलालाई व्यवस्थित र शान्तिपूर्णरुपमा सञ्चालन गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताउनुभयो । उहाँका अनुसार धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपासमा महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्वारलगायत द्वारहरु अवस्थित छन् । 

 

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमुना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तीज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । रामनवमीको अवसरमा लाग्ने मेलामा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

 

पछिल्लो समय त्रिधार्मिकस्थलको मेलामा दर्शनार्थीको बाल्लो उपस्थिति हुन थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो । दैनिक सैयौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत वडा नम्बर १, प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको दश लाख लागतमा विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हलेसी तुवाचुङ(७ महादेवस्थानका वडाध्यक्ष एवम् नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । 

 

मन्दिर परिसरमा सौर्यबत्ती नहुँदा साँझ र बिहान दर्शन गर्न आउनेलाई असहज भइरहेको गुनासो आएपछि सौर्यबत्ती जडान गरिएको उहाँको भनाइ छ । “महेन्द्रद्वय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठ वटा ब्याट्रीमार्फत एक केभिए विद्युत उत्पादन गरिएको छ”, उहाँले भन्नुभयो, “प्रत्येक पोलपोलमा विद्युत पुर्याएर सेन्सर (अध्याँरोमा आफैँ बल्ने उज्यालोमा आफैँ बन्द हुने) सौर्यबत्ती जडान गरिएको हो ।” रामनवमीको अवसरमा भोलि जिल्लाका बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङलगायत विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने गरेको छ । 

 

त्रिधार्मिकस्थल हलेसीमा बाहेक अन्य ठाउँमा भोलि एक दिन मात्र मेला लाग्ने गरेको स्थानीयले बताएका छन् । पछिल्लो समय जिल्लाका पर्यटकीयस्थलमा घुम्न तथा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभञ्ज्याङस्थित पेन टावर, लेखगाउँको काङ्साहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङलगायत स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिनुभयो । 

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्