श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ: प्रधानमन्त्री दाहाल
काठमाडाैं | बैशाख १९, २०८१
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभएको छ ।
विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताउनुभयो ।
श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयो ।
“यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो”, प्रधानमन्त्रीले भन्नुभयो, “श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।”
उहाँले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्नुहुँदै उहाँले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गर्नुभएको हो ।
मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ ।
प्रधानमन्त्री दाहालले मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

