गौ सेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत

पाेखरा | बैशाख २३, २०८१

गौ सेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत

पोखरा:       राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा रु।७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिनुभयो । 


महायज्ञ सञ्चालनका क्रममा रु।२३ लाख ७२ हजार ७२७ खर्च भएको आयोजकले जनाएको छ । महायज्ञमा रु।४६ लाख ३५ हजार ४० बचत भएको छ । सङ्कलित दान रकममा रु।१ लाख ६६ हजार ६६६ बराबरको चेक नसाटिएको आयोजकले जनाएको छ ।
  

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्र स्थलका रूपमा विकास गर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संसाधनको विकास समेत अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले परम्परागत संस्कार र संस्कृतिको समेत रक्षा गर्नुपर्ने बताउनुभयो ।


कुनै पनि पशुचौपाय अनुत्पादक भएपछि त्यसलाई सडकमा छोड्ने कार्य दण्डनीय हुने भन्दै त्यस्तो कानुन विपरीत र अमानवीय कार्य नगर्न.नगराउन उहाँले आग्रह समेत गर्नुभयो । फोहोरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा गोकुलधाम सञ्चालनमा आएपछि पोखराको सहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको प्रमुख आचार्यले बताउनुभयो । गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने उहाँले बताउनुभयो ।

 

पोखरा महानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने बताउनुभयो । वर्षौँदेखि फोहोर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा १४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्र स्थलका रूपमा विकसित हुँदै गएको उहाँले बताउनुभयो ।

 

राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत आदिशास्त्र बाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले गोकुल धामको प्रारम्भ गरिएको बताउनुभयो । उहाँले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न यो महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

 

‘यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठ मात्र होइन, नजरले हेर्‍यो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ, गौतमले भन्नुभयो, यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउस होइन यो, कान्जी हाउस पहिला थियो, अव यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।’ गोबर र गौमुत्रको प्रशोधनको प्रक्रिया सुरु गरिएको र जसको उपयोग मार्फत दशौँ रोपनी बन्जर जमिनलाई अग्र्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उहाँले बताउनुभयो ।

 

आफूहरू गौशाला परिसरमा ३६५ प्रजातिका डाले घाँसका बिरुवाहरू रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले बताउनुभयो । गो बंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन भन्ने कुरा जगलाई स्मरण गराउनका लागि यो अभियानको थालनी गर्न लागिएको उहाँले बताउनुभयो । गौशालाले विशुद्ध गौ मातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामाग्रीहरू उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजना समेत गौतमले सुनाउनुभयो ।

 

गौ माताको महिमा अपरम्पार रहेको बताउँदै गौतमले विष पान गरेर पनि अमृत प्रदान गर्ने गौहरूको आश्रय स्थल गौशालालाई जीवन्त पाठशालाका रूपमा चित्रण गर्नुभयो । पोखरा आउने पर्यटकहरू, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूहहरू, विद्यार्थीहरू सवैसवैलाई गौशालासम्म पुग्ने अवस्थाको सृजना गरिने उहाँले बताउनुभयो । पवित्र उद्देश्यले थालिएको असल कर्मलाई भगवान्ले पूर्णता प्रदान गर्ने उल्लेख गर्दै भागवत भास्कर गौतमले असल कर्मका लागि उद्धत हुन प्रेरणा समेत प्रदान गर्नुभयो ।

 

राष्ट्रिय परोपकार महासंघको १६ औँ वार्षिक उत्सवका अवसरमा गत पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा माघ ४ गतेसम्म सञ्चालित ज्ञान महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनहरूले कथा श्रवण गरेका थिए । महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिनेछ । हाल गौशालामा ३५० बढी गाईवस्तुहरु संरक्षित छन् ।

 

यसैबिच राष्ट्रिय परोपकार महासंघले नयाँ वर्षको भिट्टेपात्रो समेत विमोचन गरेको छ । नगर प्रमुख आचार्य, महासंघका संस्थापक भागवत भास्कर युवा पण्डित गौतम र महासंघका जिल्ला अध्यक्ष जेबी कुँवर लगायतले भिट्टेपात्रोको विमोचन गर्नुभएको हो । सो क्रममा विभिन्न अक्षयकोष दाताहरूलाई सम्मान समेत गरिएको छ ।

 

पोखरा महानगरपालिकाले महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीहरूलाई जथाभाबी रूपमा सडकमा पशुचौपाय नछोड्न आग्रह गरेको छ । अन्यथा सडकमा छोडिएका पशुचौपायहरुको पहिचान गरी सडकमा छोड्नेलाई आवश्यक कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्