पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन् ।    पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।   ‘एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ,’ उनले भने ।     पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो ।    यति हुँदा हुँदै पनि प्रधानमन्त्रीको मुखारविन्दबाट घोषणा हुनु भने सुखद रहेको धारणा राखे  ।    निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गरे ।   २०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले जानकारी दिए ।   होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेको छ ।     

पोखरा:    ‘सीप सिकौं, दक्ष बनौं’ भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ ।    एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।    वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिलाई रोजगार दिलाउने उद्देश्य स्वरुप कार्यक्रम गरिएको उनले बताए ।    ‘वडाको विकास भनेको भौतिक मात्र होइन, नैतिक पनि हो । बेरोजगार युवाहरुलाई सीपमुलक तालिम उपलब्ध गराई रोजगारी दिलाउने उद्देश्य हो । सीप सिकेर दक्ष बनी आर्थिक उपार्जनमा सक्षम बनाउने बाटोमा वडा अग्रसर छ’, उनले भने ।    बरालका अनुसार अहिले सबै गरेर ४५ जना युवायुवतीले निशुल्क तालिम लिइरहेका छन् । निशुल्क तालिम लिन पाउँदा युवायुवतीमा जाँगर भरिएको उनले बताए ।    वडाले उपलब्ध गराएको निशुल्क तालिमले आत्मनिर्भर बन्न सिकाउने उनले उल्लेख गरे । सीप सिकेर खाली बस्नुपर्ने अवस्था सिर्जना नहुने उनले बताए । भौतिक विकास सँगै, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा पोखरा १३ क्रियाशिल छ ।    स्थानीय नागरिकको अपेक्षा अनुसारको कार्यलाई क्रमागत रुपमा अगाडि बढाउदै लैजाने प्रतिबद्धता समेत वडाध्यक्ष किरण बरालले गरेका छन् ।  

कास्की:   पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको  जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।    कास्कीको (साबिक कन्धनीडाँडा गाविस –४ को परिवर्तित लेखनात नगरपालिका –४) पोखरा महानगरपालिका–२६ स्थित सामुदायिक विद्यालय (अमरज्योति आधारभूत विद्यालय) को स्वामित्वमा रहेको (कित्ता नम्बर ७२५ को क्षेत्रफल ३–३–०–० र ७५९ को क्षेत्रफल २–८–०–०) जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।   उजुरीमा उल्लेख भएअनुसार वि.स २०४४ सालमा स्थापित अमरज्योति आधारभूत विद्यालयले स्थापना कालदेखि नै सरकारको स्वामित्वमा छ ।   तर पछिल्लो समय सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै गत चैत्र २७ गते अख्तियारमा उजुरी (सि–०६५५६३) दर्ता भएको छ ।   उजुरीमा भनिएको छ, ‘विद्यालयको जग्गा हो भन्ने जान्दा जान्दै पनि हाल आएर करोडौं रुपैयाँको चलखेल गरी करोडौं पर्ने जग्गा हुँदा बाडचुड गरी खाने दुषित नियत गरी मेल खामोस मिलाई करोडौं रुपैयाँ लिनुदिनु गरी विपक्षहरुसमेत मिली भ्रष्टाचार गरी राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीमा हाल आएर कोही कसैले विद्यालयको जग्गामा दावी गर्न नमिल्नेमा विद्यालयको जग्गालाई २०३२ सालदेखि नै भोगचलन गर्दै आएको भनी झुट्टा कुरा लेखी जग्गा दर्ता गर्न   विपक्षी मध्येका भिम बहादुर बिकको नामबाट निवेदन गर्न लगाई आफु कार्यवहाक भएको मौका छोपी वडा कार्यालयलाई पत्राचार गर्न लगाई कार्यवहाक अध्यक्ष भएको मौका मिलाई सिफारिससमेत  गरी रातारात उक्त आयोगका अध्यक्ष, सदस्यसमेत मिली अख्तियारको दुरुपयोग गरी बदनियतपूर्ण तवले भ्रष्टाचार गरी गैरकानूनी निवेदन एवं वडा कार्यालयको सिफारिस बनाई आयोगबाट जग्गा दर्ता गर्ने निर्णय गरेको सबैकुरा हामीलाई जानकारी हुन आएकाले अख्तियारको दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ एवं ऐ.को  नियामावली २०५९ को नियम ६ बमोजिम निवेदन गर्न आएका छौं ।’   एमाले वडा कमिटी २६​ को आपत्ती   नेकपा एमाले वडा कमिटी २६ ले सामुदायिक विद्यालय व्यक्तिको नाममा दर्ता गरेको भन्दै विज्ञप्तीमार्फत आपत्ती जनाएको छ ।   कार्यवहाक अध्यक्ष मिना श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘शसस्त्र युद्ध, संविधान निर्माणपश्चात पुन: जनाताका लागि आवश्यक बासका निम्ति निरन्तर जनताका पक्षमा लड्दै आइरहेको सन्दर्भमा पोखरा महानगरपालिका वडा २६ को घैटेखोरस्थित अमरज्योति गाउँफर्क माविको संरक्षणमा रहेको (कित्ता नम्बर ७२५, क्षेत्रफल ३–३–०–०) जग्गा राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिका वडा २६ को मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको भन्ने कुरा सम्बन्धित क्षेत्रका जनताबाट जानकारी आएपश्चात   ​ उक्त जग्गा विद्यालयको संरक्षणमा रहदैंआएको र विद्यालयकै नाममा सेतो पुर्जासमेत रहेको हुँदा व्यक्तिलाई आवासमा दिन नमिल्ने जग्गा सिफारिस गरिएको प्रति नेकपा एमाले पोखरा–२६ को गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ उक्त जग्गा साविक विद्यालयलाई फिर्ता गर्नका लागि सबै सरोकारवालाहरुलाई आह्वान गर्दै उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीका लागि हार्दिक अपिल गर्दछौं ।’

पोखरा:  पोखरा महानगरपालिका वडा कार्यालय १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी समाग्री वितरण गरेको छ ।    वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी  सामाग्री वितरण गरेको हो ।     वडा कार्यालयले कालिका नमुना मावि, कुँडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा २ सय थान स्टेशनरी सामाग्री वितरण गरेको वडाध्यक्ष राजेश गुरुङले जानकारी दिए ।   उनका अनुसार कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको छ ।   पोखरा महानगरभित्र रहेर पनि हालसम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच थान कम्प्युटरसमेत प्रदान गरिसकेको अध्यक्ष गुरुङले स्मरण गर्दै शिक्षालाई गुणस्तरीय बनाउनका लागि वडा सदैब पहल गर्ने बताएका थिए ।   उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्यहरु नरदेवी गुरुङ, सुनिमाया नेपाली, परमेश्वर बहादुर कार्की, वडा सचिव दमयन्ती पराजुली, कालिका माविका प्रध्यानाध्यापक बलराम गिरी, कुँडहर आधारभुत विद्यालयका प्रध्यानाध्यापक नन्दकिशोर बराल, पल टासी छ्योयलिङ गुम्बाका विद्यालयका प्रमुख अनिता गुरुङ, कुँडहर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिना, कालिका उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक थापा लगायतको उपस्थिती रहेको थियो । 

पोखरा:  कास्की प्रहरीले ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा अरविन थापामगरविरुद्द मुद्धा चलाएको छ ।    जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार थापामगरले गत ४ गते पोखरा ५ फिर्के पुलमा चेकिङमा रहेका प्रहरीलाई अभद्र व्यवहारसहित हातपात गरेका थिए ।    त्यसपछि नियन्त्रणमा लिएर उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको प्रहरी निरीक्षक भानु शर्माले बताए ।    ‘हाइवेलक्षित नियमित चेकिङ योजना अनुसार काम गरिरहेको अवस्था छ । फिर्केपुलमा चेकिङको क्रममा बा ०२०२४ प ३५४८ नम्बरको बुलेट र ग १३ प ८७२ नम्बरको स्कुटर चालक मापसे गरेको अवस्थामा भेटिएपछि नियमअनुसार कारवाही गर्ने क्रममा प्रहरीमाथि नियोजित तवरले हातपात भयो, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘त्यसपछि हातपात र मुक्का प्रहार गर्ने स्कुटर चालक अरविन थापामगरविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको हो ।’   उनले हाइवेलक्षित नियमित चेकिङ योजनाको कार्यक्रमले निरन्तरता पाउने बताए ।   कास्की प्रहरीले पछिल्लो समय स्वरुप परिवर्तन गरिएको मोटरसाइकल र मिटरमा चल्न नमान्ने ट्याक्सीहरुमाथि पनि निगरानी बढाएको छ ।  

पोखरा:  ब्रान्डेड र गुणस्तरीय पर्फ्युमका पारखीहरुलाई लक्षित गरी ‘इना सेन्टर’ले आफ्नो पाँचौं आउटलेट पोखरा सभागृहचोकको मिडटाउनमा खोलेको छ ।   ब्रान्डेड पर्फ्युमको व्यवसाय गर्दै आएको इना सेन्टरका काठमाडौंको सिभिल मल, बबरमहल रिभिजिटेड, धर्मपथ र दरबार मलसँगै पोखरामा पनि पाँचौं आउटलेटको रुपमा सञ्चालनमा ल्याएको हो    पोखरामा शनिबारदेखि सञ्चालनमा आएको सेन्टर बिहान ११ बजेदेखि साँझ साढे ७ बजेसम्म खुला रहने प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए ।   उनका अनुसार सेन्टरमा क्लिभ क्रिस्टियन, लिक्विड्स इमेजिनरिज, निसेन, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत पर्फ्युमहरू उपलब्ध रहेको छ ।   पोखरामा पनि ब्रान्डेड पर्फ्युमका पारखीहरु रहेको हुँदा उनीहरुको सेवाका लागि नयाँ आउटलेट थपेको बताए ।   ‘कतिपयले अनलाइनबाटै अर्डर गर्नुहुन्थ्यो, कतिपय काठमाडौं नै पुगेर पनि किन्नुहुन्थ्यो, उनले भने, ‘अब पोखरेली ग्राहक भएकै ठाउँमा हामी आएका छौं । पोखराको आउटलेटमा अहिले २ हजारदेखि ५० हजारसम्मका पर्फ्युम उपलब्ध छ ।’   काठमाडौं बाहिर पोखरासँगै धरान, इटहरी र चितवन लगायत सहरमा पनि इना सेन्टरकोे आफ्नै आउटलेट थप्ने योजना छ ।   इना सेन्टर पोखरा आउटलेटको नेपाली फिल्मकी कलाकार वर्षा राउत, युवा उद्यमी वैभव पौडेल र पत्रकार रामकृष्ण ज्ञवालीले शनिबार संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

पोखरा:  युनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसरमा १२ औं संस्करणको पोखरा महोत्सवको आयव्यय सार्वजनिक गरेको छ ।     अमरसिंहचौरमा गत पुषको २६ देखि माघको ८ गतेसम्म आयोजना गरेकोे पोखरा महोत्सवबाट कुल ३८ लाख ९५ हजार बचत भएको क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाले जानकारी दिए ।   उनका अनुसार महोत्सवमा कुल आम्दानी १ करोड ७४ लाख ३० हजार भएको थियो भने खर्च १ करोड ३५ लाख ३५ हजार खर्च भएको थियो ।    उनले महोत्सवबाट बचत भएको (३८ लाख ९५ हजार) बचत रकमले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य निर्माणमा खर्च गरिने बताए ।   सोही कार्यक्रमको अवसरमा क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान अर्पण गर्याे ।    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, मालाले सम्मान गरे ।    सो अवसरमा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका बेदबहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब युनाइटेड क्लब रहेको धारणा व्यक्त गरेका थिए ।   क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेस सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । 

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको १७  लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।  कृषि विकास बैंकमा नगद जम्मा गर्न जाँदा कालिगढ मनोहर पवँरले हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।  ‘पोखरा–८ पृथ्वीचोकस्थित माता श्री ज्वैलर्समा कार्यरत कालिगढ मनोहरले कृषि विकास बैंकमा नगद जम्मा गर्न जाने क्रममा १७ लाख रुपैयाँ हराएको खवर कास्की प्रहरीलाई गरेका थिए’, शर्माले भने, ‘नगद हराएको खवरपछि खोजतलाज गर्ने क्रममा भारत घर भई पालिखे चोक बस्दै आएका छोटुवाल शर्माले फेला पारेको भन्ने सूचनापछि उनैको रोहबरमा सम्बन्धित धनीलाई बुझाएका छौं ।’ माता श्री ज्वैलर्समा कार्यरत कालिगढ मनोहरले बैंकमा नगद जम्मा गर्ने जाने क्रममा मोटरसाइकलको लेगार्डमा झोलाभित्र राखेका १७ लाख रुपैयाँ आज दिउँसो हराएका थिए ।  पैसा हराएको सूचनापछि प्रहरीले खोजतलाज गर्ने क्रममा पालिखेचोक बस्दै आएका शर्माले फेला पारेको सूचनापछि उनैको रोहबरमा प्रहरीले माता श्री ज्वैलर्सका सञ्चालक धुव्रकुमार सुनारलाई बुझाएको हो ।   

पोखरा:    यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।  क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामग्री वितरण गरेको हो ।  खाद्यान्न सामग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरि खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लब परिवार प्रति आभार प्रकट गर्दै यूनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरि आगामी आर्थिक वर्षदेखी वडाले रातो किताबमा समेटेर बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।  त्यस्तै पछिल्लो समय कुष्ट प्रभावितहरुको संख्या विस्तारै बढ्दै गएको र आफ्नो वडामा समेत हाल ४ जना मानिसमा कुष्टरोग देखा परेकाले यसको बारेमा सचेत बन्दै जनचेतना फैल्याउन आवश्यक रहेको समेत बताए । सो अवसरमा बोल्दै नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले महोत्सव गर्नु आफैमा गार्हाे  काम भएका बताउदै गाह्रो कामबाट बचत भएको रकम सामाजिक सेवामा खर्चिनु अत्यन्तै श्रहानिय काम भएको बताए ।  कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष सुभाष तझ्याले पोखरा आरोग्य आश्रम कुष्ठ प्रभावितहरुका लागि स्थापना गरिएको वताउदै हाल संघमा १३ जना आश्रित रहेको र उनीहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमानै खाद्यान्न उपलब्ध गराउदै आइरहँदा यूनाइटेड क्लबको सहयोग पाउदा आफुहरु गौरवान्वित भएको बताए । संघको संयोजनमा कुष्ठ प्रभावितहरुलाई लक्षित गरी पोखराको लामतरामा १८ र ठूलिमझुवामा १२ परिवारलाई बासस्थानको ब्यवस्था मिलाएको भएतापनि उनीहरुले सरकारबाट भत्ता बाहेक केही नपाएको उनको भनाइ रहेको थियो ।  उक्त बस्तीहरुका १८ जना विद्यार्थीहरुले छात्रवत्ति मार्फट पढाइ भइरहेको समेत उनले बताए ।  कार्यक्रममा यूनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खाद्यान्न वितरण कार्यक्रमका संयोजक पूर्ण कुमार श्रेष्ठले यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा गत बैशाख १ गते देखी सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र सोही क्रममा छैठौ दिनको दिन पोखर आरोग्य आश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरिएको बताए ।   कार्यक्रममा बोल्दै यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत वैशाख १ देखी ७ गते सम्म शिक्षा, स्वास्थ्य, विभिन्न आश्रमहरुमा पुगी खाद्यान्न तथा विभिन्न सहयोग गर्दै आइरहदा छैठौ दिन पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको बताए ।  क्लबले सेती नदी संरक्षणका लागि समेत रकम छुट्याउदै आएको र सेती नदी संग जोडिएका पोखरा महानगरका वडा हरु संग सहकार्य गरेर सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य बनाउनका लागि समेत सहकार्य गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए ।