उत्कृष्ट होडमा भलिबलका हिमालसहित क्रिकेटका अर्जुन र टेनिसका प्रदीप

पाेखरा | बैशाख २६, २०८१

उत्कृष्ट होडमा भलिबलका हिमालसहित क्रिकेटका अर्जुन र टेनिसका प्रदीप

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । 


उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । 


यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् ।  


अर्जुन कुमाल – क्रिकेट


गुल्मीको छत्रकोट–५ खज्र्याङ घर भएका अर्जुन कुमालको जन्म भारतको नयाँदिल्लीमा भएको हो । त्यसैले पनि उमेरले १८ टेकेका अर्जुन भारतको क्रिकेट संस्कारबाट अर्जुन टाढा हुन सकेनन् । 


उनले भारतमा गण्डकीका राहुल शर्मासँग क्रिकेट सिके । अहिले पनि उनी समय मिलाएर राहुलसँग प्रशिक्षण लिन भारत गइरहन्छन् । 


राहुलको आग्रहमै उनी पोखरा आएर गण्डकीबाट खेल्न सुरु गरे । १३ वर्षकै उमेरमा यू–१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा टियुमा खेलेका थिए । 


२०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यू खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए । 


पाँच वर्षअघि यू–१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । 


२०१९ मा थाइल्याण्डमा सम्पन्न यू–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे । 


सानै उमेर यू–१९ को विश्वकप खेलेका अर्जुन २०८० सालको प्रदर्शनका आधारमा नै पोखरा स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका छन् । 


अर्जुन यू–१९ टोलीमा पुगेको करिब एक वर्ष भइसकेको छ । २०८० सालमा उनले ४ वटा अन्तर्राष्ट्रिय टुर गरे । यो सँगै आयरल्याण्ड र क्यानडासँग नेपाल ‘ए’ बाट खेले । 


यू–१९ को विश्वकपमा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्डसँगै नेपाल समुह ‘डि’ मा थिए । जसमा अर्जुनको प्रदर्शन उत्कृष्ट थियो । उनले न्युजिल्यान्डसँग ९० रन प्रहार गरेका थिए । उनकै प्रदर्शनमा विश्वकपको सुपर सिक्समा पुगेको थियो । 


मलेसियामा आयोजना भएको यू १९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्वपूर्ण इनिङ्स खेलेका थिए । त्यहाँ उनले साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार गरे । फाइनलमा यूएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले । 


उनले यू–१९ एशिया कप पनि खेले । जहाँ उनले अफगानिस्तानविरुद्ध ९१ रनको इनिङ्स खेलेका थिए । यो बाहेक उनी २०८० सालमा गण्डकी प्रदेशबाट पिएम कप टि–२० र एक दिवसीय खेल खेलेका थिए । 

 

प्रदीप खड्का – टेनिस


मनोनयनमा परेका प्रदीप खड्का कास्की बस्छन् । उनी टेनिसका खेलाडी हुन् । २०५० साल वैशाख ७ गते पोखरामा जन्मिएका प्रदीप सानैदेखि टेनिस कोर्टसँग नजिक भए । 


जुनियर गेम खेल्दै १७ वर्षको उमेरमा उनले छैटौं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिता खेले । अहिले उनी नेपालको टेनिसमा पुरुषतर्फ सिंगल र डबल दुबैमा नम्बर १ मा छन् । 


उनको यात्रा अहिलेसम्म जारी नै छ । उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल हात पार्दै आफूलाई राष्ट्रिय प्रतियोगितामा उभ्याएका हुन् । 


त्यसलगत्तै १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जिते । 


नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । यो विचमा उनले नेपाल र विदेशमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । दश जोड २ पूरा गरेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बन्नु पनि उनको अर्को सफलता हो ।


२०८० साल उनका लागि अझै उत्कृष्ट रह्यो । उनी १९ औं एसियन खेलकुदमा नेपालबाट सहभागिता जनाउँदै दोस्रो चरणमा पुगे । बहराइनमा भएको डेभिस कपमा पनि उनी सहभागी बने । दोस्रो सिलीगुरी मनिप्राइजमा सहभागी बनी दोस्रो भए ।


सोही वर्ष नै उनी १२ औं सहविर मेमोरियल ओपन टेनिसमा सिंगलतर्फ विजेता र डबल्समा उपविजेता भए । छैटौं बुटवल ओपन टेनिसमा विजेता (सिंगल) बने । २० औं माछापुच्छ«े ओपनमा सिंगततफै दोस्रो भए ।


यस्तै पहिलो राइजिङ स्टार ओपनमा सिंगलतर्फ दोस्रो, तेस्रो विर गणेशमान सिंगल र डबल्समा प्रथम, नवौं सिटीजन बैंक ओपनमा मिक्स डबल्समा पहिलो र सिओएस राष्ट्रिय ओपस टेनिसमा मिक्स डबल्समा पनि प्रथम भएका थिए । 


हिमाल सुनारी मगर – भलिबल


गण्डकी प्रदेशबाट भलिबल खेल्ने हिमाल सुनारी मगरको जन्म २०५५ मंसिर २० गते पाल्पाको निस्दी गाउँपालिका ४ मा भएको हो । 


अहिले उनी नवलपुरको बौदीकाली ४ आमडाँडा बस्दै आएका छन् । उनको सानैदेखि भलिबलमा औधि रुचि थियो । दाइ होमबहादुर सुनारीको पछिपछि झुम्राको बल लिएर हिड्दाहिडदै उनी पनि भलिबल खेलाडी भए । 


सानैदेखि टोल, गाउँ, विद्यालय, पालिकाहुँदै जिल्ला स्तरीय प्रतियोगिता खेलेका उनी ६ वर्ष अघि नवलपुरको जिएम समाजसँग जोडिए । त्यसपछि गण्डकी प्रदेश भलिबल टिममा पर्न थाले । 


उनले २०७८ सालमा दोस्रो टाइगर कप पनि खेले । त्यो प्रतियोगितामा गण्डकीले उपाधि त जित्न सकेन तर, हिमालको क्वीक स्पाइकले सबैको ध्यान तानेको थियो । दोस्रो टाइगर कपमा उपाधि विहिन बनेको गण्डकीले तेस्रोमा भने उपाधि नै उचाल्यो । 


२०८० साल उनको लागि निकै उपलब्धीमुलक रह्यो । गण्डकीले सहभागिता जनाएको धेरैजसो प्रतियोगितामा उपाधि हात प¥यो । 


उनको उत्कृष्ट प्रदर्शनमा चितवनमा भएको अन्तर प्रदेश स्तरीय खेलकुदमा भलिबलतर्फ गण्डकीले स्वर्ण पदक हात पा¥यो । त्यहाँ हिमाल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । यस्तै पोखरा मै भएको लामाचौर कप, मुख्यमन्त्री कप (झापा) र विरजंग कपमा गण्डकी प्रथम भयो । 


पोखरा भएको चौथो टाइगर कपमा गण्डकी दोस्रो बन्दा उनले उत्कृष्ट सर्भरको पुरस्कार हात पारे । कञ्चनपुरमा भएको मुख्यमन्त्री कप र बुटवलमा भएको मणिमुकुन्द कप गण्डकी द्वितिय भयो । 


यस्तै, ३४ औं राष्ट्रिय खेलकुद भलिबल र नवलपुरमा भएको जिएम कपमा तेस्रो बनेको गण्की एनभिए कप र बागलुङमा भएको बुकी कपमा चौथो बन्यो । उनले जिल्ला तथा पालिका स्तरीय प्रतियोगिताहरु पनि जितेका छन् ।  


उनी २०८० सालमा दुवै र मलेसिया भलिबल खेल्न कै लागि पुगे । तनहुँ सेवा समाजको निमन्त्रणामा दुबै उत्कृष्ट खेल प्रस्तुत गरे । सगरमाथा क्लबको निमन्त्रणामा मलेसिया खेली उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी भएका थिए ।


अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।


मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ ।


प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।


अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

काठमाडौं:     ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...

थप पढ्नुहोस्

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...

थप पढ्नुहोस्