विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै स्याङ्जाकाे भुम्रे मावि
स्याङ्जा | जेठ २८, २०८१
स्याङ्जा: स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ ।
व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताएका हुन् ।
जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।
विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो । “विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रअ पराजुलीले भने, “आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”
भविष्यमा स्वदेशमै व्यावसायिकरुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उनको छ । वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उनले बताए ।
“विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो”, उनले भने, “आगामी दिनमा विद्यार्थीको रुचिअनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ ।” विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो ।
प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्त्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताए । विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आएका छन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

