बेनी-दरबाङ सडक अवरुद्ध
म्याग्दी | साउन २६, २०८१
म्याग्दी: पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।
पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् ।
बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम मोलेर पहिरो पारगरी आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।
पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबार साँझदेखि अवरुद्ध भएको हो ।
यस सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।
यस सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताउनुभयो ।
पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् ।
यात्रुहरु जोखिम मोलेर पैदल नै आआफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङमा हरिकृष्ण पौडेलले बताउनुभयो ।
ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
“वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो त बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

